काठमाडौं । नेपालको बीमाक्षेत्र पछिल्लो दशकमा उल्लेख्य रूपमा विस्तार भएको छ । बीमामा पहुँच विस्तार हुँदैछ । साथसाथै कम्पनीहरूको लगानीयोग्य कोष पनि बढ्दै गएको छ । साथै नेपाल बीमा प्राधिकरणले कम्पनीहरूको लगानी विस्तारको लागि लगानीको क्षेत्रमा समेत विविधिकरण गरेको छ ।
प्राधिकरणले लगानीको विविधिकरणमा जोड दिएसँगै बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएका छन् । बीमा कम्पनीहरूको लगानीको क्षेत्र हेर्ने हो भने सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा छ । यद्यपि पछिल्लो समय पर्यटन, कृषि, केबलकार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् ।
जीवन र निर्जीवन बीमकको निर्देशिका, २०७९ बमोजिम बीमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीतभण्डार, गृह, पर्यटन, उद्योग, जलविद्युत, सौर्यऊर्जा, नवीकरणीय ऊर्जा, परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा कुल लगानीको बढीमा १.५ प्रतिशतसम्म लगानी सीमा निर्धारण गरेको थियो । एकै फण्डमा बढीमा एक प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था पनि गरेको थियो ।
यस्तै, एउटै परियोजनामा कुल लगानी रकमको ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ ।
प्राधिकरणले बीमा कम्पनीहरूको लगानी विविधीकरणमा जोड दिएसँगै कडाइसमेत गरेको छ । पछिल्लो समय बीमा कम्पनीहरूले अनुत्पादक क्षेत्र विशेषगरी घरजग्गा, सेयरजस्ता क्षेत्रमा अस्वाभाविक कारोबार गर्न थालेको घटना बाहिरिएसँगै लगानीको क्षेत्रमा थप कडाइ गर्न सुरु गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० (पहिलो संशोधन) गर्दै लगानीको क्षेत्रमा कडाइ गरेको छ । प्राधिकरणले उक्त निर्देशिकाको दफा १६ मा संशोधन गरेको छ । नयाँ संशोधनअनुसार बीमकले सौर्यऊर्जा, पर्यटन, वायुसेवा, कृषि, केवलकार, शिक्षा, स्वास्थ्य, घरजग्गा र प्राइभेट इक्युटी फण्ड र भेन्चर क्यापिटल फण्ड क्षेत्रमा बीमा कम्पनीले लगानी गरेको छ भने वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने उल्लेख छ ।
सो व्यवस्थाबमोजिम बीमकले सेयरमा लगानी गरेको भए सेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले पाँच वर्षसम्म धितोपत्रसम्बन्धी कानुन बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफामा घटाउनुपर्ने छ ।
यसैगरी, जलविद्युत परियोजनामा लगानी गरेको भए परियोजनाको आवश्यक व्यवसायिक सञ्चालन मिति लगानी गरेको मितिले ५ वर्षभन्दा पछि भएको अवस्थामा आवश्यक व्यवसायिक सञ्चालन मितिभित्र लगानी गरेको कम्पनी सूचीकृत नभएमा बीमकले यस क्षेत्रमा भएको लगानी रकमलाई वितरणयोग्य मुनाफामा घटाउनुपर्ने व्यवस्था छ ।
त्यस्तै, कृषि क्षेत्रमा लगानी गरेको अवस्थामा पाँच करोड वा सोभन्दा कम पुँजी लगानी भएको खण्डमा बीमकले लगानी गरेको तीन वर्ष अवधिपश्चात उक्त कम्पनी खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेमा दुई वर्षपश्चात उक्त संस्था खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको रकमलाई नोक्सानी भएको आवमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, केबलकारतर्फ लगानी गर्ने भए बीमकले सेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ६ वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।
बीमकले शिक्षा र स्वास्थ्य सेवातर्फ लगानी गर्ने भए लगानी गरेको मितिले पाँच वर्षसम्म धितोपत्रसम्बन्धी कानुन बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने छ ।
बीमकले गर्नुपूर्व नै सञ्चालनमा रहेको संस्थाको हकमा उक्त कम्पनी सूचीकृत नहुञ्जेल लगानी गरेको मितिले दुई वर्षपश्चात् उक्त संस्था खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीको गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ ।
घरजग्गा व्यवसाय क्षेत्रमा गरेको लगानी रकमलाई परियोजना निर्माण अवधिसम्म उक्त परियोजना सम्पन्न हुन नसकेकोमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्छ ।
बीमा कम्पनीले प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गरेको भए बीमकले लगानीको लेखाङ्कन गरेको रकम भन्दा उक्त फण्डमा भएको लगानीको खुद सम्पत्ति मूल्य (न्याभ) कम भएमा लेखाङ्कन गरेको रकम र फण्डमा भएको लगानीको न्याभ फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ।
सुरक्षित लगानीमा जोड
बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई लगानी गर्ने क्षेत्रहरूमा विविधिकरणसँगै कडाइ गर्नुको एउटै उद्देश्य लगानीलाई सुरक्षित बनाउने नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।
‘हाम्रो उद्देश्य भनेको बीमा कम्पनीहरूको लगानी अनुत्पादक क्षेत्रमा जथाभावी लगानी नगरोस् भनेर नै यसलाई व्यवस्थित र मर्यादित बनाउन खोजेका हौं, यसले बीमा कम्पनीहरूको लगानी सुरक्षित हुनुका साथै त्यसले समग्र बीमा बजारलाई नै सकारात्मक प्रभाव हुन्छ ।’
यसरी क्षेत्र नै तोकेर कम्पनीले लगानीलाई व्यवस्थित बनाउन खोज्दा अहिले बीमा कम्पनीहरू सजग भएर लगानी गर्न थालेको कार्यकारी निर्देशक सुवेदी बताउँछन् । ‘कम्पनीहरूको सोच्ने धारणा नै परिवर्तन भएको छ, उहाँहरूले सोच-विचार गरेर, अध्ययन गरेर मात्रै लगानी गर्न थाल्नुभएको छ,’ उनले भने ।
रिलायबल लाइफ इन्स्यारेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिपेशबाबु तिवारीले पछिल्लो समय बीमा कम्पनीहरूले विस्तारै विभिन्न क्षेत्रमा लगानी बढाउँदै लगाएको बताए ।
उनका अनुसार प्राधिकरणले लगानीको नयाँ सेक्टर खोलिदिएको भए पनि एकैचोटि ती सेक्टरहरूमा जान नसक्ने सुनाउँछन् । ‘बीमा कम्पनीहरूको ठूलो लगानी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा छ, त्यो लगानीलाई एकैचोटि अरू सेक्टरमा लगाउन सकिँदैन, विस्तारै बढाउँदै जाने हो,’ उनले भने ।
लगानीको क्षेत्रमा अवसरसँगै चुनौती औंल्याउँदै उनले ती क्षेत्रमा नबुझिकनै हाम फाल्न नमिल्ने तर्क राख्छन् । डीसीईओ तिवारी भन्छन्, ‘अवसर खुल्यो भन्दैमा नसोची नयाँ क्षेत्रमा लगानी गर्दा भोलि त्यसको जोखिम कम्पनीले नै बेहोर्ने, त्यसैले हामीले नयाँ क्षेत्रमा अध्ययन गरेर मात्रै लगानी गर्छौं ।’
प्रभु इन्स्यारेन्सका अध्यक्ष राजेन्द्र मल्ल पनि प्राधिकरणले लगानीको क्षेत्रमा विविधिकरण गर्नु सकारात्मक रहेको औंल्याउँछन् । अध्यक्ष मल्लले प्राधिकरणले लगानीको क्षेत्रमा विविधीकरणसँगै कडाइ गर्नु पनि सकारात्मक पक्ष भएको बताए । ‘नियमअनुसार चल्नैपर्छ, यसले कम्पनीलाई पनि राम्रै गर्छ, प्राधिकरणले लगानीको क्षेत्रमा थप दायरा बढाउँदै लैजानुपर्छ,’ उनले भने ।
युनाइटेड अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रिना रिजाल भने प्राधिकरणले लगानीको क्षेत्रमा कडाइ गर्दा लगानीमा ठूलो असर पर्ने बताउँछिन् । ‘अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको अवस्था छ, यो बेला अरु सेक्टरमा लगानी गरौं भन्ने हुन्छ, तर प्राधिकरणले यसरी कडाइ गर्दा अरू क्षेत्रमा जान हामीलाई सहज हुँदैन,’ उनले भनिन् ।
समग्रमा प्राधिकरणले लगानीमा गरेको शंसोधन निर्जीवन बीमाको लागि भने सरकारात्मक रहेको उनले बताईन् ।
बीमकले कुन क्षेत्रमा कति लगानी गर्न पाउँछ ?
प्राधिकरणले बीमक कम्पनीहरूलाई कुन क्षेत्रमा कति प्रतिशतसम्म लगानी गर्न पाउने भनेर लगानीको क्षेत्र र सीमा नै तोकिदिएको छ । निर्जीवन बीमकको हकमा निर्जीवन बीमा कम्पनीहरूले सरकारी बचतपत्र वा ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको बैंक वा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै, ‘ख’ वर्गको विकास बैंकमा कुल लागनीको १० प्रतिशत र ‘ग’ वर्गको बैंकमा ५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ । ‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्रधिकार सेयर, बण्ड, डिभेञ्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनियमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बण्ड, डिवेञ्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्न सकिने व्यवस्था छ ।
विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेडको कम्पनी साधारण सेयरमा लगानी गर्न नपाइने व्यवस्था छ । यस्तै, नागरिक लगानी कोष तथा म्युचल फण्डका योजनामा कुल लगानीको पाँच प्रतिशत, घरजग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य, नवीकरणीय ऊर्जा परियोजना, केबलकार, विद्युत प्रशारण लाइन शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल लगानीको १० प्रतिशतसम्म्म लगानी गर्न पाउँछन् । त्यस्तै, इन्भेष्ट कम्पनीको सेयरमा कुल लगानीको पाँच प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
कम्पनीले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन, उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
जीवन बीमा कम्पनीको हकमा
जीवन बीमा कम्पनीहरूको हकमा सरकारी ऋणपत्र वा नेपाल सरकारको जमानत बचतपत्र वा ऋणपत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको छ । ‘क’ वर्गको बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।
त्यस्तै, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थामा कुल लगानीको १० प्रतिशतसम्म, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थामा कुल लगानीको ५ प्रतिशतसम्म, ‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिभेञ्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिभेञ्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्रमा कुल लगानीको १० प्रतिशत, विनिमय बजारमा सुचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा लगानी गर्न नपाइने उल्लेख छ । नागरिक लगानीकोष तथा म्युचल फण्डमा कुल लगानीको ५ प्रतिशत । घरजग्गामा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ । इन्भेष्ट कम्पनीको सेयरमा कुल लगानीको पाँच प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।