काठमाडौं । विसं २०७२ सालको भूकम्पले चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भयो । त्यसपछि उक्त नाका सञ्चालनमा आउन झण्डै एक दशक समय लाग्यो । पछिल्लो समय तातोपानी नाका सञ्चालन रहे तापनि व्यवसायीहरूले अधिकांश वस्तु तथा सेवा भने रसुवाको रसुवागढी नाकाबाट आयात गर्दै आएका थिए।
तातोपानी नाकाबाट आयात गर्दा सडकको अवस्था नाजुक र लागत धेरै लाग्ने भएको हुँदा अधिकांश व्यवसायीहरूले रसुवागढी नाका हुँदै चीनबाट सामान आयात गर्दै आएको बताए । तर, सोमबार रातीको भारी वर्षा र भोटेकोशी नदीमा आएको बाढीले छिमेकी मुलुक चीनसँगको व्यापारिक सम्पर्क टुटेको छ । अर्बाैं रुपैयाँ बराबरको सामान आयात हुने रसुवागढी नाका चीनसँगको ठूलो सीमा नाका पनि हो ।
चिनियाँ सामग्री आयातका लागि सहज मानिएको यस नाकाबाट स्याउ, लसुन, अदुवा, ओखर, चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान र विद्युतीय सवारी साधन (ईभी) आयात हुने गरेको छ । साथै, नेपालमा निर्माणाधीन जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, बच्चाबच्चीहरुका खेलौना लगायत अन्य सामान आयात हुने गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई बताउँछन् ।
रसुवागढी नाकाबाट सबैभन्दा धेरै सवारी साधन आयात हुने गरेको उनले बताए । रसुवागढी नाकाबाट निर्यात भने न्यून रहेको छ । नेपालबाट ऊनी गलैँचा, तयारी कपडा, चाउचाउ, जडीबुटी, अगरबत्ती, भाँडामा माझ्ने स्टिल उड र काठका सामग्री निर्यात हुने गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएसँगै चीनसँग हुने कारोबार अनिश्चित समयका लागि रोकिएको छ । बाढीले मितेरी पुलसँगै भन्सार नाकामा राखिएका दर्जनौं सवारी साधनहरु बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
हालसम्मको तथ्याङ्क अनुसार १८ जना बेपत्ता भएका छन् । भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० भन्दा बढी गाडीहरू बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको प्रशासनले जनाएको छ । साथै, आधा दर्जन जलविद्युत कम्पनीहरूमा क्षति पुर्याएको छ भने सुक्खा बन्दरगाहमा पनि असर पारेको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली काठमाडौं ल्याउन तयारी अवस्थामा रहेका ३५/४० वटा कन्टेनर, १ सयभन्दा बढी ईभी गाडी बगाएको जानकारी आफूले पाएको बताउँछन् । तथ्याङ्क संकलनको काम भइरहेकाले अर्बाैंको क्षति भएको हुन सक्ने उनको भनाइ छ ।
‘धेरै व्यवसायीहरू रोडमा आउनुपर्ने स्थिति हुनसक्छ । किनभने एउटै गाडीमा करोडौंको सामान चीनबाट आयात गरिन्छ । ती गाडीहरू सामानसहित हराएका छन् । खोलाले खाएको छ । क्षतिको कल्पना नै गर्न सकिँदैन । यसको असर विस्तारै देखिन्छ,’ उनले भने, ‘हाम्रो व्यापार व्यवसाय ठप्प भयो । नाकामा चीनतर्फको भूभागमा रहेका सामानहरू अड्किएका छन् ।’
उनी कपडा, पार्ट्स, इलेक्ट्रोनिक्स सामाग्रीहरु आयात गर्छन् । ‘मेरो एउटा गाडीमा आंशिक क्षति भएको छ । ५ करोड भन्दा बढीको क्षति भएको छ । तर, अरु व्यवसायी साथीहरूको त पूर्ण क्षति भएको छ,’ उनले भने ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ मितेरी पुल बगाएपछि ठूलो असर व्यापार व्यवसायमा पर्ने बताउँछन् । पुल बन्न लामो लाग्ने भएकाले व्यवसायीहरूलाई पीडा भइरहेको उनी सुनाउँछन् । साथै, सामानहरूको लागत उच्च हुने भएकाले मूल्य बढ्न सक्ने खतरा रहेको उनले सुनाए ।
उनका अनुसार स्याउ, रेडिमेट सामान र ईभी गाडीमा धेरै क्षति पुर्याएको छ । बाढी पहिरोबाट अर्बाैं रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
‘कन्टेनर बगाएको छ, ईभी गाडी बगाएको छ । त्यहाँका सबै पूर्वाधार सबै बगाएको छ । अब यार्डमा भएका थप सामान पनि बगाउला भन्ने चिन्ता छ,’ उनले भने, ‘उत्तरी नाका रसुवाबाट हुने व्यापार ६ महिनाभन्दा बढी समयका लागि ठप्प भयो,’ उनले भने ।
अब केरुङमा आएको सामान तातोपानी नाका भएर ल्याउनुपर्ने उनको भनाइ छ । तर, तातोपानी नाकाको सडक भने सहज नरहेको उनको भनाइ छ । तातोपानी नाका सडक दिनकै बिग्रिने र दिनकै बन्ने भइरहेकाले तातोपानी नााकालाई दबाब हुने उनले बताए ।
अर्थविद् डा. गोविन्द नेपाल बाढीले गरेको क्षतिबाट अर्थतन्त्रमा ठूलो असर गर्ने बताउँछन् । चीनसँगको मुख्य नाका भएकाले त्यसको असर दीर्घकालसम्म पर्न सक्ने उनको भनाइ छ ।
‘रसुवागढी नाका चीनसँगको व्यापारिक कारोबार हुने मुख्य मार्ग हो । यो मार्ग हुँदै धेरै सामानहरू आयात हुन्छन् । यसको असर दीर्घकासम्म पर्न सक्ने देखिन्छ । किनभने धेरै पछि मात्रै यो नाका सञ्चालन आएको हो,’ उनले भने ।
उनका अनुसार भूकम्प क्षति पुर्याएपछि तातोपानी नाका नाका खुल्न धेरै समय लागेको थियो । त्यसैले रसुवागढी नाका पनि पुन निर्माण हुन समय लाग्न सक्ने उनको बुझाइ छ । सीमा क्षेत्रमा कुटनैतिक प्रश्न उठ्ने भएकोले पनि पुन निर्माण हुन समय लाग्ने गरेको उनले सुनाए ।
‘अब रसुवागढी नाकालाई लिएर चीनले विभिन्न सर्त राख्न सक्छ । जसले रसुवागढी नाका तत्काल बन्ने छाँटकाँट देखिंदैन । किनभने तातोपानी नाका बन्न पनि धेरै समय लागेको थियो,’ उनले भने, ‘अब महँगी बढ्न सक्ने सम्भावना छ । सो नाकाबाट खाद्यान्न सामाग्री भन्दा पनि फलफूलहरू, जुत्ता, चप्पल आयात हुन्छ । ती वस्तुहरूको मूल्य बढ्ने देखिन्छ ।’ चीनबाट आयात हुने सामाग्री ठप्प भएपछि भारतको सप्लाइ बढ्ने उनले बताए ।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य के कति क्षति भएको हो सो आधारमा मात्रै त्यसले पार्ने असरको गणना हुने बताउँछन् । सीमा नाका नै बन्द भएपछि सरकारले तत्काल केही न केही विकल्प अपनाउनुपर्ने उनले बताए । तर, सीमामा पूर्वाधार निर्माण भने मनसुन पछि मात्रै सम्भव हुने उनको भनाइ छ ।
नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाका अनुसार कुन व्यवसायीको कति गाडीहरू बगाएका छन् भनेर यकिन तथ्याङ्क आएको छैन । तर, १ सयभन्दा बढी गाडी बगाएको जानकारी आएको उनले बताए । तर, धेरैले बजेट अगाडि नै गाडीहरू ल्याइसकेको हुँदा क्षति धेरै हुन नपाएको उनको बुझाइ छ । आफूले गाडी काठमाडौं ल्याइसकेको हुँदा क्षति नभएको उनले जानकारी दिए ।
रसुवागढी नाका विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म यस नाकाबाट मात्रै ८० अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ । असार मसान्तसम्ममा १०० अर्ब भन्दा बढी कारोबार हुँदै थियो । जेठसम्म जिप, कार, भ्यान ६ हजार २६६ वटा, ४६९ वटा तीन पाङ्ग्रे र १ हजार १७६ वटा विद्युतीय माइक्रोबस तथा बस ट्रक आयात भएको कार्यालयले जनाएको छ । जेठसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।
रसुवाको सुक्खा बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । भोटेकोशी बगरमा ७ सय मिटर लामो र साढे ५ मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण गरी बन्दरगाह निर्माण गरिएको थियो । बन्दरगाहमा संयुक्त निरीक्षण स्थल, गोदाम भवन, ३ सय माल बाहक र १ सय साना सवारी साधन पार्किङ गर्न सकिने थियो ।