काठमाडौं । जब आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती)बीच मर्जरको छलफल चल्यो, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रबिन रेग्मीले थुप्रै प्रश्नको सामना गर्नुपर्याे । विभिन्न प्रसंग र फोरममा मार्केट लिडर कम्पनी मर्ज भएका उदाहरण छैनन् । दुईटा मार्केट लिडर कम्पनी (आइएमई पे र खल्ती) किन मर्जर हुनुपर्याे ? संघर्ष गर्न नसकेको हो ? सस्टेनेबिलिटीमा च्यालेन्ज देखेर हो ? प्रतिस्पर्धा बढ्दो भएर हो ? लगायत प्रश्नको उनले सामना गर्थे ।
‘मार्केट सेयर मात्रै डिफेण्ड गर्नु लिडरसिप होइन, सम्भावना विस्तार गर्नु पनि एउटा अवसर हो,’ उनले सरल जवाफ दिन्थे । साथै, दुइटा कम्पनी एक भएपछिका सम्भावना विस्तार, प्रयोगकर्ता, काम गर्ने कर्मचारी, समग्र अर्थतन्त्र र भविष्यका लागि मर्जरमा सामेल हुनुपरेको भन्दै रेग्मीको जवाफ हुन्थ्यो ।
आइएमई पे र खल्ती वालेट इन्डस्ट्रिजका लिडर भएपनि अर्थतन्त्रको विस्तारका लागि मर्जर गरिएको रेग्मी बताउँछन् । कुनै संकटबाट उत्पत्ति नभई पूर्वाधार, बजार र टिमलाई एक ठाउँमा जोड्न मर्जरको बाटो रोजिएको उनको भनाइ छ । आइएमई पे र खल्तीबीचको मर्जरले डिजिटल पेमेन्ट इकोसिस्टमलाई सशक्त बनाउने उनको दाबी छ ।
७० लाख प्रयोगकर्ता रहेको खल्ती र ५७ लाख प्रयोगकर्ता रहेको आइएमई पे मर्ज भइ आज साउन १ गतेदेखि ‘आइएमई खल्ती लिमिटड’काे नामबाट कारोबार सुरु गरेका छन् । लामो प्रयासपछि यी दुई कम्पनीबीच मर्जर सम्पन्न भएको हो । दुईटा कम्पनी मर्जर मात्रै नभई साझा उद्देश्य र समान धारणा बनाउँदै डिजिटल नेपालको अवधारणा पूरा गर्ने वृहत् अभियानमा सामेल भएका छन् ।
लाखौं नेपालीले प्रयोग गर्ने दुईटा एप अब करोडौं नेपालीले प्रयोग गर्ने गरी एउटै एप बनेको छ । अब आइएमई पेमा भएको ब्याजदरको फिचरलाई खल्ती प्रयोगकर्ताहरुले सहज रुपमा प्रयोग गर्न पाउने छन् भने युवा पुस्तामा लोकप्रिय र जीवनशैलीसँग जोडिएको खल्ती एपका फिचरलाई आइएमई पेका प्रयोगकर्ताहरुले प्रयोग गर्न पाउनेछन् ।
एउटा कारोबारमा मात्रै सीमित नभई सबैको दैनिकीको अभिन्न हिस्सा बनिरहेको छ, डिजिटल भुक्तानी । जीवनशैली सजिलो बनाउने एक साधन, भिजन बन्दैछ । वर्षाैंदेखि डिजिटल सेवा दिँदै आएका आइएमई पे र खल्ती अब सँगै एउटै लक्ष्यमा खल्ती बाइ आइएमईको ब्राण्डिङबाट पाइला अघि सारेका छन् ।
यस्तो बन्यो सञ्चालक समिति
आइएमई पे र खल्ती मर्जरपश्चात् बनेको आइएमई खल्तीको ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्षमा कृष्ण प्रसाद शर्मा चयन भएका छन् । शर्मासँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
यस्तै, कम्पनीको सञ्चालकमा आइएमई रेमिटका सीईओ दिवाकर पौडेल, चार्टर्ड एकाउन्टेन्ट्स सिताराम थापा र प्रबीन रेग्मी चयन भएका छन् । रेग्मी साविक आइएमई पेका पूर्वसीईओ हुन् । यस्तै, खल्तीका सहसंस्थापक अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदी पनि कम्पनीको सञ्चालक नियुक्त भएका छन् ।
कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनी ठूलो भएसँगै अपेक्षा पनि बढेका छन् । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातफै लैजाने अपेक्षा अधिकांशले गरेका छन् । सञ्चालकहरूको ज्ञान, दक्षता र अनुभवबाट कम्पनीले उचाइ लिने विश्वास पनि लिएको छ । कम्पनीको सीईओमा विनय खड्का नियुक्त भएका छन् । उनी यसअघि खल्तीको पनि सीईओ थिए ।
साविक खल्तीका सह संस्थापक ध्रुव अधिकारी दुवै संस्थाले देखेको डिजिटल नेपालको सपना र डिजिटल भुक्तानीलाई घरघरमा पुर्याउने योजना विशाल बनेको बताउँछन् । अब दुइटा कम्पनीको उद्देश्य र योजना साझा बनेको उनको भनाइ छ ।
‘आज म हर्षित छु । किनभने आजभन्दा एक दशक अगाडि दुवै संस्थाले देखेको डिजिटल नेपालको मूल प्रारुपभित्र रहेर जनता र घर घरमा पुर्याउने सपना देखेका थियौं । त्यो आजको दिनमा धेरै नै विशाल भइसकेको छ । यो हाम्रो लागि मात्रै नभई समग्र उद्योग, ग्राहक, इकोसिस्टमका साझेदार संस्थाहरूका लागि विशेष हो,’ उनले भने ।
उनका अनुसार खल्ती र आइएमई पेबीचको बर्जर नेपालको फिनटेक उद्योगकै सबैभन्दा ठूलो हो । यो तहको मर्जर भविष्यमा हुन्छ/हुँदैन त्यसको पर्खाइमा रहेको उनले बताए । उनका अनुसार २८ घण्टाको माइग्रेसन अवधिमा १७६ वटा एप्लिकेसनलाई माइग्रेट गरिएको छ । साथै, डिजिटल कारोबारमा लागत महँगो भएकाले निशुल्क नहुनुपर्ने उनले बताए ।
‘डिजिलट भुक्तानी निशुल्क हुनुपर्छ भन्ने आवाज उठ्छ । तर, हिसाब गर्दा एउटा कारोबारमा ३८ पैसा लागत लाग्छ । भुक्तानी गरौं, क्यास ब्याक वा जुनसुकै कारोबार गर्दा खल्तीमा ३८ पैसाको लागत लाग्छ । बैंक लिंकबाट कुनै भुक्तानी गर्याे १५२ पैसा डाइरेक्ट इन्फ्रास्ट्रक्चर कस्ट लाग्छ,’ उनले भने ।
आइएमई खल्तीका सञ्चालक प्रबिन रेग्मी आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभई फिनटेक इण्डस्ट्रि, बैंक तथा वित्तीय संस्था लगायतको ऐतिहासिक दिन भएको बताउँछन् । पहिला कहिल्यै नभएको र कल्पना पनि नगरिएको सफल मर्जर गरिएको उनले बताए ।
‘फिनटेक इण्डस्ट्रिमा डिस्प्रसन शब्दलाई एकदमै धेरै ग्लोरीफाइ गरिन्छ । नयाँ प्रडक्ट आउने बित्तिकै त्यसलाई डिस्प्रसनको संज्ञा दिन्छौं । तर, अथाह सम्भावना बोकेका दुई संस्था एक गर्नु भन्दा ठूलो डिस्प्रसन अरु हुन सक्दैन । फिनटेक इण्डस्ट्रिका दुईटा कम्पनीलाई एकआपसमा कोलाब्रेट वा मर्जर गराउनु समग्र फिनटेक इण्डस्ट्रिका लागि सार्थक यात्रा हो,’ उनले भने ।
उनका अनुसार आइएमई ग्रुपका डीएनएमा मर्जर रहेको छ । आफू कम्पनीको सञ्चालकको भूमिकामा रहेकाले सधै सहयोग गर्न तयार रहेको उनले बताए ।
‘२०/२२ वटा बैंक मर्जर होस्, चाहे त्यो पहिलो रेमिट्यान्स कम्पनीको मर्जर होस्, आज डिजिटल वालेट मर्जर होस् । आइएमई ग्रुपले मर्जर, कन्सोलिडेसन र एक्सपान्सन अफ द पोसिबिलिटिजलाई जहिले पनि अगाडि लिएर जान्छ,’ उनले भने, ‘दुइटा एप एक ठाउँमा हुनु मर्जर मात्रै होइन, यो एउटा कथा हो हामीसँग काम गर्ने साथीहरुको । जसले आइडियाजलाई कोलाइड गरेर, करियरलाई एक्सिलेरिड गरेका छन् ।’
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवाल मर्जर सहज नभएपनि आफ्नो टिमले सफल बनाएको बताउँछन् । साथै, दुई वालेटबीचको मर्जरले अर्थतन्त्रको इकोसिस्टमलाई बलियो बनाउने दाबी गरे ।
आइएमई खल्तीका सीईओ विनय खड्काले भविष्यमा जस्तोसुकै स्थिति आएपनि वित्तीय पहुँचलाई व्यापक बनाउने बताए । २ वर्ष अगाडिको एउटा तथ्याङ्क अनुसार ५७ प्रतिशत नेपाली बैंक खाताको पहुँच रहेको र अझैपनि गाउँगाउँमा वित्तीय सेवा पुग्न बाँकी रहेकाले दूरदराजमा सेवा पुर्याउने लक्ष्य लिएको उनको भनाइ छ ।
‘जस्तोसुकै परिस्थिति र भूगोल भएपनि सबै नेपालीलाई आइएमई खल्तीले समेट्नेछ । वित्तीय पहुँचलाई दूर्त गतिमा लिएर जनोछौं । त्यो भिजन पूरा गर्न विभिन्न इनोभेटिभ डिजिटल फाइनान्सियल सर्भिस, प्रडक्टहरु डेलिभर गर्नेछौँ,’ उनले भने, ‘२ वर्ष अगाडि एउटा अध्ययनले ५७ प्रतिशत नेपालीको बैंक खातामा पहुँच थियो । अहिले अलिकति बढेको होला तर, अझैपनि गाउँगाउँमा वित्तीय सेवा पुग्न सकेको छैन । त्यसमा हामीले ठूलो अवसर, उत्तरदायित्व देखेका छौं । र, मर्जरपछि दूरदराजका मानिसलाई वित्तीय पहुँचमा पुर्याउन विभिन्न इनोभेटिभ सर्भिस र प्रडक्टलाई ल्याउनेछौं ।’
देश, जनता, स्टेकहोल्डरले आफूहरूबाट धेरै अपेक्षा गरेको र त्यो अपेक्षा पूर्ति गर्न डीएनएमा सधैँभरि इनोभेसन रहने उनले बताए । प्रयोगकर्तालाई केन्द्रित भएर प्रडक्ट ल्याउने उनले बताए ।
‘नेपालमा ९ लाख ६३ हजार एमएसएमईजहरु दर्ता छन् । यीमध्ये कति सञ्चालनमा छैनन् होला । ती सबैले डिजिटल फाइनान्स पाइरहेका छैनन् । त्यसमा ग्याप छ । त्यहाँ ठूलो अवसर देखिन्छ,’ उनले भने, ‘३ सयभन्दा बढी कर्मचारीहरूको टिममा एउटै यात्रा तय गरेको छ । विगतमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्छौँ ।’