नेपालका कुखुरा र भैंसीसमेत परनिर्भर, ५१ अर्बको मकै आयात

काठमाडौं । नेपालमा धानपछि सबैभन्दा बढी उत्पादन हुने बाली हो मकै । नेपाली समाजमा मकै दैनिक उपाभोग्य खाद्यान्न हो । तर मानिसले खानेभन्दा दुई गुणा बढी मकै पोल्ट्री र दाना उद्योगमा कच्चा पदार्थको रूपमा खपत हुन्छ । र, मकै मानिसले भन्दा बढी कुखुरा, गाईभैंसीले खान्छन् ।

त्यसैले खेतीबाली, पशुपालन र कृषि उद्योगको मेरुदण्ड नै मानिन्छ मकैखेतीलाई । कृषि मन्त्रालयका अनुसार देशका झण्डै २२ लाख परिवारले मकैखेती गर्छन् । उनीहरूले वार्षिक करिब २७ लाख मेट्रिक टन मकै उत्पादन गर्दछन् ।

आन्तरिक उत्पादनले मकैको माग धान्दैन । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार देशले ६ लाख ८ हजार मेट्रिक टन मकै विदेशबाट आयात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार भारतबाट ४ लाख ९० हजार मेट्रिक टन, ब्राजिल र अर्जेन्टिनाबाट १ लाख १ हजार मेट्रिक टन तथा  युक्रेनबाट ८० हजार मेट्रिक टन मकै आयात भएको छ ।

कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार आव २०८१/८२ मा मकैको औसत उत्पादकत्व प्रति हेक्टर २ दशमलव ९ मेट्रिक टन रहेको छ । उन्नत बीउ, सिँचाइ र मौसमको अनुकूलता भएमा उत्पादकत्व ५ मेट्रिक टन भन्दा माथि पुर्याउने सकिन्छ । प्रतिहेक्टर उत्पादन ५ मेट्रिक टन गर्न सकिएमा देशको माग धान्न सकिने भएकोले मन्त्रालयले त्यसतर्फ जोड दिएको उनी बताउँछन् ।


पोल्ट्री र पशुदानामा मकै

नेपालमा पोल्ट्री र पशुपालन क्षेत्रमा मकैको महत्वपूर्ण देन रहेको बताइन्छ । दाना उद्योगी केके टिवडेवालाका अनुसार मकै प्रमुख रूपमा पशु दानाको आधारभूत कच्चा पदार्थ हो । विशेषगरी ब्रोइलर, लेयर, बाख्रा, सुँगुर, गाईभैंसीजस्ता पशुपालन व्यवसायमा मकैले दानाको ऊर्जाको काम गर्ने उनले बताए ।

टिवडेवालाका अनुसार मकैले दानाको स्रोतमा करिब ६० प्रतिशतसम्मको हिस्सा ओगटेको छ । ब्रोइलर दानामा त करिब ७० प्रतिशतसम्म मकै स्रोतको रूपमा रहने गर्छ । त्यस्तै, लेयर दानामा मकैको हिस्सा ६० प्रतिशतसम्म रहने जानकारी उनले दिए । सुँगुर, बाख्रा, गाईभैंसी लगायतका पशुको दानामा पनि मकै करिब ४५ प्रतिशतसम्म मिसाइने गर्छ ।

कृषि मन्त्रालयको अनुमान अनुसार नेपालमा उत्पादित मकैको ६० प्रतिशतभन्दा बढी पोल्ट्री उद्योगमै खपत हुने गर्छ । त्यसैले मकै र पोल्ट्रीबीचको सम्बन्ध निकै घनिष्ठ छ । मकैको उत्पादन बढ्दा बजारमा यसको मूल्य घट्छ र यसले अण्डा तथा मासुको मूल्यमा समेत गिरावट ल्याउने टिवडेवालाको दाबी छ । उनका अनुसार मकैको मूल्य १० प्रतिशतले बढ्दा अण्डा र मासुको मूल्य ७ प्रतिशतसम्म बढ्ने गर्छ ।

मकैको मूल्य पनि ठाउँ विशेष र जात विशेष फरक पाइन्छ । दाना उद्योगीहरू अहिले बजारबाट नेपाली मकै प्रतिकिलो ३० रुपैयाँमा किनिरहेका छन् । भारत, ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्दा यसको लागि प्रतिकेजी मूल्य ४० रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरू बताउँछन् । सरकारले धान र गहुँको समर्थन मूल्य तोकेपनि मकैको समर्थन मूल्य भने तोक्ने गरेको छैन ।


आयातमा निर्भर दाना उद्योग

​​​​फिड उद्योग व्यवसायीहरूका अनुसार नेपालमा दर्ता भएका फिड मिल करिब १५० भन्दा बढी छन् । जसको वार्षिक दाना उत्पादन क्षमता १८ देखि २० लाख मेट्रिक टन रहेको छ । यसमा करिब १० देखि १२ लाख मेट्रिक मेट्रिक टन मकैको खपत हुने गर्छ । कुल फिड उद्योगको वार्षिक कारोबार करिब ८० देखि ९० अर्ब रुपैयाँसम्म पुग्छ, जसमा मकैको हिस्सा करिब ३६ अर्ब बराबरको हुने टिवडेवालाले जानकारी दिए ।

नेपालमा उत्पादन हुने मकै प्रायः परम्परागत जातको हुने भएकाले पोल्ट्री फिडमा चाहिने उच्च ऊर्जा भएको उत्पादन सीमित हुन्छ । यसैले उद्योगहरू आयातमा निर्भर भएको अर्का दाना उद्योगी विनोद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘आयातमा कुनै अवरोध आए वा भारतमा मूल्य बढ्दा नेपालमा मासु, अण्डा र दूधको मूल्यमा तत्काल असर पर्न सक्छ ।’

चितवनका मकै किसान रमेश काफ्लेका अनुसार विदेशी उत्पादन बढाउन उच्च गुणस्तरको मकैका जातहरूको खेती विस्तार, किसान र फिड मिलबीच सहकार्य आवश्यक छ ।

कृषि विज्ञ डा.ठानेश्वर भण्डारीले नेपालको पोल्ट्री र पशुपालनको भविष्य मकै उत्पादन क्षमतासँग गाँसिएको बताए । उनका अनुसार स्वदेशमै गुणस्तरीय मकैको उत्पादन विस्तार नगरेसम्म आयात निर्भरता घट्ने मात्र होइन, दाना उद्योग पनि धराशायी हुन सक्छ ।

यसैले दीर्घकालीन रूपमा मकै उत्पादन वृद्धि, दाना उद्योगमा प्रविधिको प्रयोग, र बजार स्थायित्वको संयोजनले मात्र पोल्ट्री तथा पशुपालन उद्योगलाई दिगो बनाउन सकिने डा. भण्डारीको विश्लेषण छ ।


आपूर्ति र खपतको अवस्था

हाल नेपालका फिड मिल उद्योगको क्षमता ३८ दशमलव ८ लाख मेट्रिक टन मकै उपयोग गर्नसक्ने अनुमान गरिएको छ । उत्पादन र मागमा रहेको ठूलो खाडलले नै मकैको आयात बढ्दै गएको देखिन्छ ।

श्रेष्ठका अनुसार अहिले फिड उद्योगहरूले वार्षिक २० लाख मेट्रिक टन मकै प्रयोग गरिरहेका छन् । महङ्गो आयात र नेपाली मकैको अभावका कारण क्षमता बराबरको उत्पादन हुने सकेको छैन । त्यसका परिणाम किसानले दाना खरीद उच्च मूल्य तिर्नु परेको छ ।

कृषि विज्ञ डा.ठानेस्वर भण्डारीका अनुसार नेपालमा बार्षिक करिव ३२ लाख मेट्रिक टन मकै खपत हुन्छ । मानिसको भोजनमा वार्षिक १० लाख मेट्रिक टन मकै खपत हुन्छ । त्यसको दोब्बर अर्थात वार्षिक २० लाख मेट्रिक टन मकै फिड उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । अन्य प्रयोगका लागि वार्षिक करिब २ लाख मेट्रिक टन मकैको खपत भइरहेको छ ।

५१ अर्बको मकै आयात

भन्सार विभागको प्रारम्भिक विवरणअनुसार २०८१/८२ मा मकै आयातमा ५१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यसले देखाउँछ कि नेपालको दाना उद्योग विदेशी मकैमा अत्यधिक निर्भर रहेको छ ।

स्थानीय मकै पोल्ट्री ग्रेडको हुँदैन । चिस्यान अत्यधिक हुने, प्रशोधन नहुने र गुणस्तर घट्ने भएकाले फिड उद्योग विदेशी मकैमा निर्भर रहेको टिवडेवालाको दावी छ । विदेशी मकै आयात नभए नेपालमा पशु र कुखुरालाई खुवाउने दानाको पनि हाहाकार हुने व्यवसायीहरू बताउँछन् । 

विशेषज्ञहरू नेपालमा फिड उद्योगसँग सम्बन्धित मकैको खपत आगामी वर्षहरूमा अझै बढ्ने बताउँछन् । त्यसैले स्वदेशमै मकै उत्पादन वृद्धि, भण्डारण प्रविधिको सुधार र आपूर्ति सञ्जाल बलियो बनाउनु देशको आवश्यकता देखिन्छ ।

Share News