काठमाडौं । नेपालमा दशैं–तिहारलाई केवल धार्मिक वा सांस्कृतिक पर्वका रूपमा मात्रै होइन, आर्थिक र व्यावसायिक दृष्टिले पनि वर्षकै सबैभन्दा महत्त्वपूर्ण समय मानिन्छ ।
यही अवसरमा उपभोक्ताले वर्षभरिमा सबैभन्दा ठूलो किनमेल गर्ने गर्छन् भने ठूला खुद्रा पसल र सुपरमार्केटहरूले समेत वर्षकै सबैभन्दा ठूलो व्यापार गर्ने लक्ष्य राख्छन् । यही कारण दशैं–तिहार नजिकिँदै गर्दा ठूला मार्टहरूबीच विशेष अफर र छुटको होड चल्ने गरेको छ ।
२०८२ को दशैं सम्मुख आइपुग्दा उपभोक्ताले पर्खेको ठोस अफर ठूला मार्टहरूले सार्वजनिक गरिसकेका छैनन् । गत साल अफरहरूको राम्रो उपभोग गरेका उपभोक्ता यो वर्ष पनि केही आउला भन्ने अनुमान गरिरहेका छन् ।
यस वर्षको दशैं र तिहारमा पनि सबै मार्टहरूले विशेष छुटसहित उपभोक्ता केन्द्रित योजना ल्याउने तयारी गरेको बताएका छन् । नेपालका ठूला मार्टहरू भाटभटेनी, बिगमार्ट र सेल्सबेरीले मोटामोटी असोज १ गतेबाट उपभोक्ता केन्द्रित अफर ल्याउने तयारी गरेको जनाएका छन् ।
गत सालभन्दा खासै फरक नभए पनि यस वर्ष पनि उपभोक्ताको दशैंलाई विशेष बनाउने तयारी भाटभटेनीले गरिरहेको जानकारी उक्त मार्टका सञ्चालन प्रमुख पानुदत्त पौडेलले दिए । ‘गत सालको भन्दा फरक तर नयाँ अफरसहित हामी आउँदैछौं,’ उनले भने ।
देशको अर्को ठूलो चेन मार्ट सेल्सबेरीका कार्यकारी प्रमुख सुशील प्रधानाङ्ग पनि दशैं–तिहार र छठलाई लक्षित गरेर नयाँ स्किमको तयारीमा रहेको बताउँछन् । ‘अर्को सातादेखि नै हाम्रा अफर सबै चेनबाट लागू हुनेछन्,’ प्रधानाङ्गले भने ।
बिगमार्टले भने असोज १ गतेवाट चाडवाड केन्द्रित अफर सुरु गर्ने बताएको छ । उक्त मार्टका बिक्री प्रमुख प्रमोद पुन भन्छन्, ‘गतसाल जस्तै अनलाइन पेमेन्ट र कार्डहरूबाट हुने पेमेन्टमा भारी छुट दिने तयारी बिगमार्टले गरेको छ ।’
कस्ता रहलान् यस वर्षका अफरहरू ?
दशैं–तिहार नजिकिँदै गर्दा उपभोक्तामाझ ठूला मार्टहरूले ल्याउने अफरबारे चासो बढ्दै गएको छ मार्टहरूले छुट, क्यासब्याक, गिफ्ट प्याकेज र बम्पर पुरस्कार योजना ल्याउने अनुमान गरिएको छ ।
बिगमार्टले यसपटक पनि बैंक तथा भुक्तानी प्रणालीसँग सहकार्य गर्दै १० देखि २० प्रतिशतसम्म क्यासब्याक, क्युआर र युपीआई कार्ड प्रयोगमा छुट र दशैं–तिहार विशेष फेस्टिभल कम्बो प्याक ल्याउने बताएको छ ।
भाटभटेनी सुपरमार्केटले भने आफ्ना ग्राहकलाई आकर्षित गर्न ३० देखि ५० प्रतिशतसम्म छुट दिनेगरी स्किमको तयारी गरेको चिफ अपरेटिङ अफिसर पौडेलले जानकारी दिए ।
विशेषगरी कपडा, जुत्ता र गिफ्ट सामग्रीमा ‘बाइ वन गेट वन फ्री’ अफर पनि हुन सक्नुका साथै ५ हजारभन्दा बढीको खरिदमा बम्पर प्राइज कुपन वितरण गर्ने सम्भावना रहेको पौडेलले बताए ।
अहिले उच्च व्यवस्थापनको बैठक सोही स्किमलाई लिएर बसेकोले केही थपघट हुनसक्ने उनको भनाइ छ ।
त्यसैगरी, सेल्सबेरीले आउँदो दशैं–तिहारलाई लक्षित गर्दै उपभोक्ताका लागि आकर्षक अफर र छुट योजना तयार गरिरहेको छ । कम्पनीले विगतका वर्षका ट्रेन्डको आधारमा यसपटक पनि इलेक्ट्रोनिक्स, घरेलु उपकरण, ग्रोसरीमा विशेष फेष्टिभल कम्बो प्याकमार्फत ग्राहकलाई उत्सवको अनुभव अझ विशेष बनाउने योजना बनाएको छ ।
सेल्सबेरीले वण्डल अफरमार्फत गिफ्ट प्रकारका प्याकेजहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यस्तै, मोबाइल एपमार्फत किनमेल गर्दा विशेष क्यासब्याक, पोइन्ट्स वा निःशुल्क होम डेलिभरीको सुविधासमेत रहने सम्भावना रहेको उनले बताए ।
पर्व विशेष लक्की ड्र र स्क्रयाच कार्ड योजना पनि दोहोरिन सक्ने जनाइएको छ जसमा ग्राहकले मोटरसाइकल, मोबाइल वा घरेलु उपकरण जित्ने मौका पाउनेछन्। साथै ५ हजार रुपैयाँभन्दा माथिको किनमेलमा ‘बाइ मोर सेभ मोर’ स्किम अन्तर्गत अतिरिक्त छुट वा उपहार प्राप्त हुने अपेक्षा गरिएको छ ।सेल्सबेरीको यो चाडपर्व अफरले ग्राहकलाई पारिवारिक र सांस्कृतिक उत्सवमा किनमेलको सहजता र रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
के छ सरकारको तयारी ?
सरकारले पनि उपभोक्ताको हितका लागि फेयर प्राइस पसल सञ्चालन गर्ने तयारी गरेको छ । चामल, तेल, नुन, दाल, घ्यूजस्ता आवश्यक उपभोग्य वस्तुमा सस्तो मूल्यमा उपलब्ध गराइने तयारी भएको जनाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ ३० बाट सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । खसीबोकाको मूल्य तय भइनसकेकोले कहिलेबाट बेच्ने भन्ने तय नभएपनि अन्य खाद्य सामग्री भने ३० गतेबााट बेच्न सुरु गर्ने एक अधिकारीले जानकारी दिए ।
के भन्छन् उपभोक्ता ?
उपभोक्ताका दृष्टिले हेर्दा दशैं–तिहार केवल किनमेलको मात्रै अवसर होइन, परिवारसँग खुसी साट्ने र वर्षभरि पर्खेको चाहना पूरा गर्ने समय पनि हो । यही कारण उपभोक्ताले दशैं नजिकिँदै गर्दा तलब, बोनस र बचतलाई लक्षित गरेर ठूलो किनमेल गर्ने योजना बनाउँछन् ।
ठूला सुपरमार्केटहरूले छुट, उपहार, लक्की ड्र र आकर्षक अफरमार्फत ग्राहकलाई आफूतर्फ तान्ने गर्छन् । यसले बजारमा प्रतिस्पर्धा मात्र बढाउँदैन, उपभोक्तालाई विकल्पसमेत दिन्छ । तर विगतका अनुभवले के देखाउँछ भने अफरहरू प्रायः अन्तिम घडीमा मात्रै घोषणा गरिन्छ । यस वर्ष पनि त्यस्तै हुने अनुमान गर्न सकिन्छ।
यद्यपि कतिपयले अफरलाई उपभोक्तालाई भ्रमित गर्ने माध्यमको रूपमा लिन्छन् । उनीहरूका अनुसार छुट भनिएको सामानको वास्तविक मूल्य पहिले नै बढाइएको हुन्छ अनि छुट दिइएको भनेर देखाइएको हुन्छ ।
उदाहरणका लागि, कुनै इलेक्ट्रोनिक्स सामग्रीको बजार मूल्य १० हजार रुपैयाँ भए पनि त्यसलाई दशैंअघि १२ हजारमा राखेर ३० प्रतिशत छुट भनेर ८ हजार ४ सयमा बेचिने एक उपभोक्ताले बताए । यसरी गणना गर्दा छुट पाएको जस्तो देखिए पनि उपभोक्ताले वास्तवमा बढी लाभ उठाएका हुँदैनन् । यही कारण कतिपय उपभोक्ता संगठनहरूले दशैं–तिहारका अफरहरूको सत्यता जाँच गर्नुपर्ने माग गर्दै आएका छन् ।
यस्ता खालका गतिविधि भए पनि दशैं–तिहारका अफरले ठूलो संख्यामा ग्राहकलाई प्रत्यक्ष लाभ भने दिने गर्छ । विशेषगरी खाद्य सामग्रीमा हुने छुटले उपभोक्तालाई राहत मिल्ने कीर्तिपुर बस्दै आएकी उपभोक्ता अनिता रायले बताइन् ।
२०८२ सालको दशैं नजिकिँदै गर्दा अहिले बजारमा शंका र आशा दुवै देखिन्छन् । एकातिर महँगी बढेको छ भने अर्कोतिर उपभोक्ताको क्रयशक्ति खासै बढेको छैन । यस्तो अवस्थामा ठूला मार्टहरूले ल्याउने अफरलाई उपभोक्ताले राहतको स्रोतको रूपमा हेर्नेछन् । तर अफर कत्तिको पारदर्शी हुन्छ, त्यो अर्को प्रश्न रहेको उपभोक्ताहरू बताउँछन् ।
दशैं–तिहारमा व्यापारिक प्रतिस्पर्धा मात्र होइन, सामाजिक सन्देश पनि जोडिएको हुन्छ । मार्टहरूले हाम्रो ग्राहक, हाम्रो परिवार भन्ने नारासहित विज्ञापन गर्छन् । सामाजिक उत्तरदायित्वको नाममा कतिपयले राहत कार्यक्रम वा च्यारिटीमा पनि खर्च गर्छन् ।
नेपालको खुद्रा बजार अहिले तीव्र प्रतिस्पर्धामा छ । परम्परागत किराना पसलदेखि अनलाइन शपिङ प्लेटफर्मसम्म सबैले दशैं–तिहारलाई लक्षित गरेर योजना बनाइरहेका छन् ।
पछिल्लो समय अनलाइन प्लेटफर्महरूको सञ्चालन अनिश्चित रहेकोले भौतिक उपस्थिति, शाखा विस्तार र ब्रान्डको विश्वसनीयताका कारण भाटभटेनी, बिग मार्ट र सेल्सबेरीलाई अझै पनि उपभोक्ताले प्राथमिकता दिने विश्वास गर्न सकिन्छ ।
विश्लेषकहरूको भनाइमा २०८२ मा उपभोक्ताको ध्यान तान्न यी ठूला मार्टहरूले नयाँ किसिमका अफर ल्याउनुपर्नेछ । केवल परम्परागत छुट र क्यासब्याकले मात्र उपभोक्तालाई खुसी बनाउन नसक्ने बजारका जानकारहरूले बताउने गरेका छन् ।
बजार विश्लेषक नारायण काफ्ले भन्छन्, ‘डिजिटल कारोबार बढ्दो भएकाले डिजिटल भुक्तानीमा छुट, लक्की ड्रमार्फत मोटरसाइकल, आईफोनलगायतका उपहार र सदस्यता कार्डमार्फत दीर्घकालीन लाभ दिने योजनाहरू ल्याउने सक्ने मार्टहरू उपभोक्ताको उच्च रोजाइमा पर्ने सम्भावना छ ।’
दशैं–तिहार नेपाली समाजको खुसीसँग जोडिएको पर्व हो । यही खुशीलाई व्यापारिक अवसरमा रूपान्तरण गर्ने होडमा ठूला मार्टहरू अघि बढिरहेका छन् ।