काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी (युवापुस्ता) ले गरेको प्रदर्शनले मुलुकले ठूलो धनजनको क्षति बेहोनुपर्यो । प्रदर्शनको क्रममा ७२ जनाले ज्यान गुमाउनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो ।
सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिसँगै अहिले बीमाको चर्चा चुलिएको छ । यो स्वाभाविक हो । कुनै पनि सम्पत्तिको बीमा गरेपछि क्षतिअनुसारको मूल्यांकन गरेर बीमाले कभर गर्छ नै । अहिले सरकारी भवनदेखि सवारीसाधन र निजी सम्पत्तिमाथि पुगेको क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेका छन् ।
नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीलाई छिटोभन्दा छिटो दाबी फर्छ्यौट गर्न निर्देशन दिएसँगै कम्पनीहरूले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन थालेका हुन् । कम्पनीहरूले सर्भेयरलाई फिल्डमा खटाउन थालेसँगै अहिले सर्भेयरलाई भ्याइनभ्याई छ । सर्भेयरहरू न्यूनतम् कागजातको आधारमा क्षतिको मूल्यांकन कम्पनीलाई प्रतिवेदन बुझाउने तयारीमा छन् ।
कुनै पनि सम्पत्तिमा क्षति पुगेपछि सबैभन्दा पहिले बीमितले बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ । बीमितले जानकारी गराउन नसक्ने अवस्थामा बीमितका नजिकका आफन्तले जानकारी गराउन सक्छन् । बीमितले गरेको निवेदनकै आधारमा क्षतिको मूल्यांकनको लागि बीमा कम्पनीहरूले सर्भेयर खटाउन सक्छन् । सर्भेयरले निवेदनको आधारमा ढिला नगरिकनै बीमितलाई सम्पर्क गर्ने र लोकेसन पत्ता लगाएर फिल्डमा खटिने गर्छन् ।
बीमा सर्भेयर संघ बुटवल च्याप्टरका प्रमुख सर्भेयर गोविन्द लामिछानेले आफू शुक्रबारदेखि फिल्डमा खटिएको जानकारी दिए । क्षतिको मूल्यांकनको क्रममा उनले अधिकांश सम्पत्ति पूर्ण क्षति पुगेको पाएको सुनाए ।
‘मैले जति सवारीसाधनहरूको मूल्यांकन गरिरहेको छु, यी सवारीसाधन पुनः मर्मत गर्न सक्ने अवस्थामा छैनन्,’ लामिछानेले भने ।
अधिकांश सवारीसाधन मर्मत गर्नै नमिल्ने भएकाले कुल नाेक्सानीमा जाने र त्यसको लागि न्यूनतम कागजात भएपनि पुग्ने उनले जानकारी दिए । त्यस्तै, उनले अहिलेको परिस्थितिमा सर्भेयरले आफ्नो नैतिकतामा बसेर न्यूनतम कागजातको आधारमा बीमा दाबी भुक्तानी दिने व्यवस्था मिलाइदिनुपर्ने बताउँछन् ।
सर्भेयर लामिछानेले भने, ‘अहिले कसले र कसरी आगजानी भयो भन्ने कुरा सबैलाई थाहै छ । त्यसैले न्यूनतम काजगपत्र लिएर बीमकलाई जति सक्दो चाँडो क्लेम सेटलमेन्ट होस् भनेर रिर्पोट बुझाउन लागिपरेका छौं ।’
जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको क्षतिको पुरै विवरण आउन बाँकी छ । बीमा कम्पनीहरूमा क्षतिको दाबी संकलन भइरहेको छ । कतिले बीमित आफैले निवेदन दिएका छन्, कतिको आफन्तमार्फत कम्पनीमा जानकारी गराइरहेका छन् । त्यसैको आधारमा सर्भेयरहरूले क्षतिको मूल्यांकन गर्छन् ।
सर्भेयर लामिछाने अहिलेको अवस्थामा कार्यालयमै आएर निवेदन र कागजात संकलन गर्नुभन्दा इमेल, ह्वाट्सएपजस्ता अनलाइन माध्यमको प्रयोग गर्ने र त्यसैलाई आधार बनाएर क्षतिको मूल्यांकनमा जोड दिएको बताए ।
सबैभन्दा धेरै व्यस्त सर्भेयरको रूपमा चिनिने ललित केसी पनि यतिबेला जेनजी प्रदर्शनको क्रममा भएको क्षतिको मूल्यांकनको लागि फिल्डमा खटिएका छन् । उनको विशेष क्षेत्र मोटरमा भएकोले उनी अहिले सवारीसाधनकै क्षतिको मूल्यांकनका लागि व्यस्त रहेको सुनाए ।
‘अहिले म क्षति मूल्यांंकनको लागि निरीक्षण स्थलमा जाँदैछु, व्यस्त सेड्युल छ, तैपनि मैले म्यानेज गरिरहेको छु,’ उनले भने ।
सर्भेयर केसी अहिलेको परिस्थितिमा सबै सर्भेयरले आफ्ना ठाउँमा जिम्मेवार भएर काम गर्नुपर्ने बताउँछन् । उनले यो बेला नयाँ सर्भेयरले पनि मौका पाएको हुँदा त्यसलाई अवसरको रूपमा लिएर काम गर्नुपर्ने र अनुभवी सर्भेयरलाई विशेषगरी जटिल र ठूला केसको निरीक्षण गर्न दिनुपर्ने सुझाव दिन्छन् ।
अर्का सर्भेयर छविन्द्र भट्टराई पनि अहिले क्षतिको मूल्यांकनको लागि फिल्डमै छन् । अहिले उनले सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेका छन् । क्षति मूल्यांकनको क्रममा सर्भेयर भट्टराईले पनि अधिकांश सवारीसाधन पूर्ण रूपमा क्षति भएको बताए ।
उनले भने, ‘अहिले म बुटवलमा सरकारी सवारीसाधनको क्षतिको मूल्यांकन गरिरहेको छु, निरीक्षण गर्ने क्रममा अधिकांश साधनमा पूर्ण क्षति पुगेको अवस्था छ ।’
पर्याप्त जनशक्ति, काम बाँडफाँडमा समस्या
नेपालमा २ हजार २ सयभन्दा बढी सर्भेयर छन् । आईएनआईबाट तालिमप्राप्त १ हजार १ सय हाराहारीमा छन् यद्यपि उनीहरू सर्भेयर भइसकेका छैनन् । बीमा सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले नेपालमा पर्याप्त सर्भेयर रहेको र बाहिरबाट हायर गर्नुपर्ने अवस्था नभएको बताए । उनका अनुसार नेपालमा भएका धेरैजसो सर्भेयर ‘पार्ट टाइमर’ हुन् ।
नेपालमा प्रशस्त सर्भेयर भएपनि काम बाँडफाँडमा भने समस्या रहेको अध्यक्ष ढकाल बताउँछन् । यद्यपि सर्भेयर संघले बीमा प्राधिकरणलाई पत्र नै गरेर सर्भेयरलाई व्यवस्थित रूपमा फिल्डमा खटाउनको लागि आग्रह गरेको उनले सुनाए ।
‘विगतमा एउटै सर्भेयरलाई धेरै काम दिँदा कोही भ्याईनभ्याई हुने र कोही खाली बस्नुपर्ने र रिपोर्ट बुझाउन ढिला हुने गरेको गुनासो थियो, त्यो गुनासो अहिले नदोहोरियोस् भन्ने हाम्रो धारणा हो,’ अध्यक्ष ढकालले भने, ‘हाम्रो संघमा पनि लामो समय काम गरिसकेका अनुभवी सर्भेयरहरु छन् । उहाँहरूलाई पनि क्षति मूल्यांकनको लागि खटाउन सकिन्छ भनेर बीमा प्राधिकरण र बीमा कम्पनीलाई भनेका छौं ।’
उनी नयाँलाई जटिल र ठूलो क्षतिको मूल्यांकनको लागि खटाउन नहुने र पुरानो अनुभवीलाई छुट्याउन नहुने तर्क गर्छन् ।
प्राधिकरणले सर्भेयरलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरेको छ । अध्यक्ष ढकालका अनुसार नेपालमा ‘क’ वर्गका ३० भन्दा बढी सर्भेयर छन् । जसले १५ वर्षभन्दा बढी यही फिल्डमा काम गरिसकेका छन् ।
‘ख’ मा ५० भन्दा बढी, ‘ग’ मा दुई सय हाराहारीमा छन् र बाँकी सबै ‘घ’ वर्गमा छन् । सर्भेयर संघले छिटो दाबी फर्छ्याैटका लागि के-कस्ता उपायहरू अपनाउन सकिन्छ भन्दै पाँच बुँदे सुझाव प्राधिकरणलाई दिएको ढकालले जानकारी दिए ।
अनुभवी ‘क’ वर्गका सर्भेयरलाई ठूला र जटिल क्षतिको जिम्मा दिने तथा नयाँ र कम अनुभवीलाई साना क्षतिको काम दिने गरी काम बाँडफाँड गर्न कम्पनीहरूलाई आग्रह गरेको उनले बताए । यसले गर्दा रिपोर्टको गुणस्तर कायम राख्न सकिने उनको भनाइ छ ।
‘हामीले प्राधिकरणले जुन वर्गीकरण छुट्याइदिएको छ, त्यही स्ल्याबअनुसार काम लगाउनु भनेर भनेका छौं, ताकि पछि विवाद नआओस् । नयाँ साथीहरूलाई एकैचोटी ठूलो जिम्मेवारी दियो भने क्षतिको राम्रो मूल्यांकन पनि नहोला,’ अध्यक्ष ढकालले भने ।