काठमाडाैं । वि.सं २०७५ सालमा एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जसरी रोशन कुमार न्यौपाने नियुक्त भए । त्यसलाई बैंकिङ क्षेत्रले आश्चर्यका रुपमा लियो । भेट्रान र अनुभवी बैंकरले हाँकिरहेको बैंकिङ क्षेत्रमा एक्कासि रोशन सीईओ बनेपछि धेरैलाई त्यो खबर अनपेक्षित लाग्यो ।
सञ्चार माध्यमले कान्छो सीईओ भन्दै समाचार बनाए । बैंकिङ क्षेत्रका भेट्रानले उनको खिसिट्युरी गरे । बैंक बुझेकाहरुले उनको अनुभव र क्षमतामाथि प्रश्न गरे । किनकी उनले १० वर्षमात्रै बैंकिङ गरेर सीईओ बन्ने भाग्यमानी बैंकर बने । २०७५ मा सीईओमा नियुक्त हुँदा उनले बैंकिङ क्षेत्रमा १० वर्षमात्रै काम गरेका थिए ।
तर, बैंक सञ्चालकहरुले उनीमाथि विश्वास गर्यो र बैंकको बागडोर सम्हाल्न जिम्मेवारी दियो । अनुभव कम भए पनि उनले एनआईसी एसिया बैंकको बिजनेस ग्रोथ भने ह्वात्तै बढाए । धेरैले अपेक्षा गरेका थिएनन् कि उनले एनआइसी एशियालाई अन्य बैंकको प्रतिस्पर्धी बनाउँछन् भनेर । तर, रिटेलमा सबैभन्दा बढी कारोबार गर्ने बैंकको सूचीमा उनले एनआइसी एशियालाई पुर्याए । पहिलो कार्यकालमा उनको वाहवाही नै भयो । बैंकिङ क्षेत्रका भेट्रान सीईओहरुले नै पछ्याउने किसिमको पफर्मेन्स उनले गरे ।
तर, उनको दोस्रो कार्यकाल भने तुलनात्मक रुपमा सन्तोषजनक रहेन । विश्वमहामारीका रुपमा फैलिएको कोरोना र त्यसपछिको आर्थिक संकटले एनआइसी एशिया बैंकलाई एक किसिमबाट थला नै पार्यो । यो बीचमा उनी जसरी पनि बैंकबाट बाहिरिने प्रयासमा थिए । त्यो किसिमको दबाब सञ्चालकबाट पनि रहेको स्रोतको दाबी छ । तर, उनले निरन्तर काम गरिरहे ।
अहिले एक्कासि उनी बैंकबाट बाहिरिए । जसरी उनी कान्छो सीईओका रुपमा नियुक्त भएर सबैलाई आश्चर्य बनाएका थिए, त्यसैगरि अहिले एक्कासि राजीनामा दिएर सबैलाई अचम्मित बनाएका छन् । दोस्रो कार्यकाल सकिन ११ महिना बाँकी हुँदै नै उनले पदबाट राजीनामा दिए । उनले व्यक्तिगत स्वास्थ्य र पारिवारिक कारण उल्लेख गरे पनि त्यसभित्रको अन्तर्य भने फरक नै रहेको बैंक स्रोतको दाबी छ ।
बैंकका अनुसार उनको राजीनामा पनि स्वीकृत भइसकेको छ । उनी ७ वर्ष सीईओ बनेर बैंकबाट बाहिरिएका हुन् ।
बैंकका सूचना अधिकारी अर्जुन राज खनियाँका अनुसार न्यौपानेले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले राजीनामा पत्र स्वीकृत गरेसँगै न्यौपाने बैंकबाट बाहिरिएका हुन् । पारिवारिक समस्याका कारण राजीनामा दिएको खनियाँ बताउँछन् ।
वित्तीय सूचकमा उनको कार्यकाल
उनी पहिलो पटक सीईओ बन्दा आर्थिक वर्ष २०७४/७५ मा बैंकको निक्षेप १ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ थियो । उनी बैंकबाट बाहिरिँदै गर्दा बैंकको निक्षेप ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ (आर्थिक वर्ष २०८१/८२) पुगेको छ । उनको कार्यकालमा निक्षेप १११ प्रतिशतले बढेको छ ।
यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १ खर्ब २० अर्ब ४ करोड रुपैयाँ रहेको कुल कर्जा आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । उनले आफ्नो कार्यकालमा कर्जा लगानी पनि ८६ प्रतिशत बढाएको तथ्याङ्कबाट देखिन्छ । बैंकले यस अवधिमा साना तथा मझौला उद्यम कर्जा र कर्पोरेट कर्जामा बढोत्तरी हासिल गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा १ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रहेको कुल सम्पत्ति आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको सम्पत्ति १२१.५७ प्रतिशत बढेको छ ।
तर, आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड रुपैयाँ झरेको छ । यो अवधिमा बैंकको नाफा भने ८८.४६ प्रतिशत घटेको छ । पछिल्लो समय बैंकको खराब कर्जा बढ्दा र गैर बैंकिङ सम्पत्ति बिक्री नहुँदा बैंकको नाफा घटेको हो ।
उनी सीईओ बन्दा बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ थियो भने बाहिरिँदा १४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १७५७.४९ प्रतिशत बढेको छ ।
विभन्न अडिट फर्ममा काम र क्याम्पसमा अध्यापन गराएका न्यौपानेसँग १७ वर्षको बैंकिङ अनुभव छ । न्यौपाने भन्दा अगाडि लक्ष्मण रिसाल बैंकको सीईओ थिए ।

अब नयाँ क्षेत्र रोज्छु : रोशन न्यौपाने
न्यौपानले अब बैंकभन्दा फरक क्षेत्र रोज्ने बताएका छन् । उनले हामीसँग संक्षिप्त कुराकानी गर्दै बैंकिङ भन्दा पृथक क्षेत्र रोज्ने बताएका छन् । यस्तो छ उनीसँग गरिएको संक्षिप्त कुराकानी :
बैंक किन छोड्नु भयो ?
कति अरुलाई अर्ती उपदेश मात्रै दिने ? आफू पनि गर्न सकिन्छ की सकिँदैन भनेर टेस्ट गर्ने हिसाबमा पेसा व्यवसाय गर्न सकिन्छ भन्ने सोचमा छु ।
भनेपछि तपाईं अब अर्कै पेसा रोज्दै हुनुहुन्छ ?
बैंकिङ भन्दा बाहिरिएको व्यवासायिक जोर्नी गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ ।
कुन क्षेत्र हो भन्न मिल्छ ?
अहिले यो क्षेत्र नै भनेर छनोट गरेको छैन । तर, देशको मुख्य सम्भावना भएका जुन(जुन क्षेत्र छन्, त्यही क्षेत्र लाई एक्सप्लोर गर्नुपर्ला भन्नेछ ।
तपाईं अन्य पेसामा आवद्ध हुने भन्नुभयो । बैंकप्रतिको वितृष्णा भएर यो क्षेत्र छोड्न लाग्नु भएको हो ?
बैंकप्रतिको वितृष्णा भन्दा पनि नयाँ सम्भावनाहरूको खोजि भनेर हेर्नुपर्ला । बैंकिङ भन्दा बिगर वल्डलाई एक्स्प्लोर गरौं भन्ने हिसाबले गएको हो । यो वितृष्णा भएर भन्दा पनि बढी अवसर सम्भावनालाई एक्सप्लोर गर्न खोजेको हो ।
एक समय बैंकलाई एउटा उचाइमा पुर्याउनु भएको थियो । तर, तपाई बैंकबाट बाहिरिँदै गर्दा त्यो अवस्थामा बैंक छैन । सोही कारणले बैंक छोड्नु भएको हो ?
त्यस्तो होइन । मेरो कार्यकाल नै सकिन लागेको छ । त्यसमाथि मेरो श्रीमतीको स्वास्थ्य त्यति राम्रो छैन । ६ महिनाको बेड रेस्ट भएको छ । अस्ति मात्रै २ हप्ता भारतमा लगेर सर्जरी गरेर आफैं बसेर लिएर आएको हो । आफ्नो कार्यकाल पनि धेरै नभएको र सीईओ जस्तो मान्छे लामो समयसम्म बिदामा बस्न ठिक नहुने भएकाले पारिवारिक कारणले छोड्नु परेको हो । त्यस्तो अन्य कुनै अवस्थाका कारण होइन ।
बैंकको अवस्था नराम्रो भएर त छोडेको होइन ?
बैंक ठिक छ । राम्रो छ ।
पछिल्लो समय केही सूचकहरूमा बैंक पुछारमा छ नी ?
कसैले प्रोभिजन गर्नुपर्ने जति गरेको छ । कसैले गरेको छैन । कसैले टपअप गरेर अर्निङ देखाएको छ । रिस्ट्रक्चर, रिसेड्यूल गरेर अर्निङ देखाएको छ । हामीले त्यस्तो काम केही पनि गरेको छैन । हाम्रो स्ट्रेन्थ थाहा छँदैछ । राम्रो पोजिसन छ ।
अब बैंकको सीईओमा कस्तो व्यक्ति आउनु पर्छ ? बैंकभित्रैको जनशक्ति तयार छ ?
सन्तोष राठी सर भए राम्रो हुने भन्ने मेरो धारणा छ । उहाँ पनि बैंकको चलाउन वा नेतृत्व गर्न सक्षम हुनुहुन्छ ।
अहिलेको बैंकिङ क्षेत्र कस्तो छ ?
अब अर्थतन्त्र पनि रिबाउन्ड गर्छ । बैंकिङ पनि रिबाउन्ड गर्छ । र, भविष्य राम्रो देख्छु । बैंकिङको डार्क डे सकिँदै गएको छ । अब ब्राइट डेज (चम्किला दिनहरू) आउँदैछन् ।