बैंकका सीईओ थिए भूषण राणा, यसरी बने ‘पावर ब्रोकर’

काठमाडौं । जबसम्म नेपाली राजनीतिमा शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाको ‘रजगज’ चल्छ, तबसम्म कसैले पनि बिर्सिन नसक्ने नाम हो, भूषण राणा । जेनजी आन्दोलनको आक्रमणमा परेर घाइते भएका देउवा दम्पत्ति अस्पतालको बेडमा उपचार गरिरहँदा आइतबार उनै भूषणको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले छापा मार्यो ।

शीर्ष नेताहरुको घरमा ठूलो परिमाणमा जलेको नोट भेटिएको भन्दै अहिले सरकारले केही नेता तथा हाइप्रोफाइलमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिरहेको छ । एक सरकारी अधिकारीका अनुसार शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा पनि पुगेर अनुसन्धान टोलीले मुचुल्का उठाइसकेको छ । 

देउवा दम्पत्ति अस्पतालको बेडमा उपचार गराइरहँदा नेपाल प्रहरी जावलाखेलस्थित भूषणको घरमा किन पुग्यो ? नेताहरुमाथि अनुसन्धान गर्नुअघि किन भूषण प्रहरीको टार्गेटमा परे ? 

सीआईबीका एक उच्च अधिकारीले यसको जवाफमा भने, ‘देउवा दम्पत्तिको नजिकका पात्र र उनले नै विगतमा विभिन्न व्यावसायिक गतिविधिमा लेनदेनको काममा सक्रिय सहभागिता जनाउँदै आएको सूचनापछि सीआईबीको टोली भूषणको घरमा पुगेको हो, त्यहाँ कुनै प्रमाण भेटिन्छ कि भन्ने अनुमान थियो ।’

स्रोतका अनुसार भूषणको घरमा ठूलो परिमाणमा नगद तथा शंकास्पद वस्तुहरु रहेको सूचनाका आधारमा छापा मारिएको थियो । तर, त्यस्तो कुनै पनि चिज भेटिएको छैन । भूषण पनि घरमा नभेटिएको सीआईबी स्रोतको दाबी छ । 

विगतमा पनि चर्चामा आइरहने भूषण राणा यस पटक प्रहरीले उनको घरमा छापा मारेपछि थप चर्चामा आएका छन् । विगतमा देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विभिन्न व्यावसायिक साँठगाँठमा उनको नाम चर्चामा आउने गरेको थियो ।

विभिन्न व्यक्तिको नियुक्ति तथा व्यावसायिक डिलमा आरजुको विश्वासिला पात्र भन्दै भूषणको चर्चा हुने गरेको थियो । सोही शंकाका आधारमा अहिले प्रहरीले उनलाई टार्गेटमा राखेर घर पुगेको थियो । तर, उनलाई प्रहरीले घरमा भेटाउन सकेन । भूषण डा. आरजु राणा देउवाका भाई हुन् भने शेरबहादुर देउवाका सालो हुन् । 

पावर ब्रोकर हुनुअघि भने उनी एक बैंकर थिए । उनलाई नजिकबाट चिन्ने पात्रहरु उनलाई एक असल बैंकरका रुपमा चिन्छन् । उनले बैंकिङ क्षेत्रमा तीन दशक काम गरेका छन् । 

एउटा फाइनान्स कम्पनीबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भूषण कुमारी बैंकको नायव महाप्रबन्धक (अहिलेको डीसीईओ) पदमा पुगेका थिए । उनले कुमारी बैंक छोडेपछि मनकामना डेभलपमेन्ट बैंकमा नेतृत्वदायी भूमिकामा काम गरे । उनी मनकामना डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे । 

उनलाई नजिकबाट चिन्ने एक बैंकरका अनुसार उनले कुमारी बैंक छोड्नुको मुख्य कारण नेतृत्वदायी भूमिकामा बस्नु थियो । उनलाई कुमारीबाट मनकामनामा ल्याउन मुख्य भूमिका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले खेले । 

उनै अर्यालका अनुसार आफ्नो कारणले नै राणा कुमारीबाट मनकामना डेभलपमेन्ट बैंकमा प्रवेश गरेका थिए । ‘भूषणसँगै अन्य ५÷६ जनाको राम्रो टिमले त्यतिखेर कुमारी बैंक छोडेको थियो, हामी नयाँ ढंगबाट बैंक चलाउने योजनामा थियौं, भूषण एक इमान्दार बैंकर थिए,’ अर्यालले विकासन्युजसँग भने । 

पछि मनकामना डेभलपमेन्ट बैंक र यति डेभलपमेन्ट बैंकबीच मर्जर भएर यति डेभलपमेन्ट बैंक बन्यो । त्यतिबेला यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक र भ्याली फाइनान्स मर्ज भएर यति डेभलपमेन्ट बैंक बनेको थियो । यति डेभलपमेन्ट बैंकको सीईओ पनि उनै राणा बनेका थिए । यति डेभलपमेन्ट बैंकमा स्वयम् राणाको पनि लगानी थियो । 

बैंकिङ क्षेत्र छोडेपछि भने उनी ‘पावर ब्रोकर’का रुपमा देखिन थालेका हुन् । जतिबेलादेखि उनको दिदी डा. आरजु देउवा राणा राजनीतिको फ्रन्टलाइनमा देखिन थालिन्, राणा पनि पावर ब्रोकरका रुपमा बलियो बन्दै गएका हुन् । 

पछि उनले स्वास्थ्यको कारण देखाउँदै सीईओबाट राजीनामा दिएर बैंकबाट बाहिरिएका थिए । उनीपछि तत्कालीन यति बैैंकको सीईओ सागर शर्मा बने । उनमा पहिलेदेखि नै मुटुको समस्या रहेको अर्याल बताउँछन् । 

‘उनको राजीनामाको मुख्य कारण स्वास्थ्यमा समस्या थियो, स्वास्थ्य अवस्थाकै कारण सीईओबाट राजीनामा दिनु भएको हो,’ अर्यालले भने । 

बैंकिङ क्षेत्र छोडेपछि भने उनी ‘पावर ब्रोकर’का रुपमा देखिन थालेका हुन् । जतिबेलादेखि उनको दिदी डा. आरजु देउवा राणा राजनीतिको फ्रन्टलाइनमा देखिन थालिन्, राणा पनि पावर ब्रोकरका रुपमा बलियो बन्दै गएका हुन् । 

null

डा. आरजुको हरेक राजनीतिक साँठगाँठमा बलियो खम्बाका रुपमा भूषण देखिन थालेका हुन् । आरजु राजनीतिको फ्रन्टलाइनमा आएपछि नै भूषण पनि चर्चामा आउन थालेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार सत्ता सम्हाल्दा डा. आरजु राणाले शक्ति अभ्यास गर्ने अवसर पाएकी थिइन् । तर, आफै राजनीतिको अग्रभागमा भने पछिल्लो एक दशकमा मात्रै देखिएकी हुन् । उनी त्यसअघि म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को अध्यक्ष भएर काम गरिन् भने गरिबी निवारण कोषको बोर्ड सदस्य र सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा समेत काम गरेकी थिइन् । 

समाजसेवा छोडेर आरजु राजनीतिमा सक्रिय बनेपछि भूषणले पनि बैंकिङ छोडे र पावर ब्रोकरका रुपमा आफूलाई चिनाउँदै आएका थिए । देशका विभिन्न ठूला व्यावसायिक ठेक्कापट्टामा उनको नाम जोडिँदै आएको थियो । उनले विभिन्न ठेक्कापट्टाका विषयमा विवादित पात्रको परिचय बनाउँदै आएका छन् । 

करिब एक दशकअघि बैंकिङ क्षेत्र छोडेका उनी अहिले पनि मुटुको उपचारका लागि विदेशमा जाने गरेका छन् । आइतबार सीआईबीको टोली जावलाखेलस्थित उनको घरमा पुग्दा उनी उपचारका लागि विदेश पुगेको बुझिएको छ । उनले जावलाखेलमा घरसँगै होटल पनि सञ्चालन गर्दै आएका छन् । 

Share News