दसैँमा दक्षिणा : जान्नै र बुझ्नै पर्ने किस्सा

काठमाडौं । दसैँ भनेको एकता, मिलन, हार्दिकता र श्रद्धाको पर्व हो । यो पर्वमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा गर्ने परम्परा छ । त्यो भनेको छोरी प्रतिको श्रद्धा, समर्पण र आस्था हो । अर्थोपार्जनका लागि गाउँबाट बाहिर गएका वा काम विशेषले गाउँ बाहिर रहनेहरू दसैँमा घर फर्किन्छन् ।  यो दसैँ लाई  एउटा पुनर्मिलनको पर्वभन्दा पनि फरक पर्दैन । 

मन प्रसन्न बनाएर खुसी साटासाट गर्ने पर्व दसैँ  हो । यसको सांस्कृतिक, सामाजिक र व्यवहारिक विभिन्न पक्षहरू छन् । आजभोलि दसैँलाई दक्षिणासँग जोडेर पनि हेर्ने गरिन्छ । दक्षिणाका विषयमा शास्त्रमा एउटा मन्त्र छ, ‘हिरण्य गर्भह समवतताग्रे भूतस्य जात पत्र कासित सदाधारण पृथ्वीन ध्यातेमाङ कस्मै देवायखा विधेयमा ।’ यो मन्त्रले विशेष गरी द्रव्यको अर्थात् सम्पत्तिको एउटा महत्त्वको विषयमा उल्लेख गरेको छ । दक्षिणा र दान भन्ने कुरामा फरक छ । 

दान कुनै पनि व्यक्तिले आध्यात्मिक र मानसिक शान्तिका लागि गर्छन् । दक्षिणा भनेको यज्ञ गरिसकेपछि यज्ञमा आएको एउटा कर्मका आधारमा अथवा यज्ञ क्रममा उपस्थित भएका आधारमा, उसको उपस्थिति, उसको प्रस्तुतिका आधारमा दिइने एउटा द्रव्य हो । हुनुपर्ने दसैँमा दान गर्नुपर्ने हो । 

दसैँमा शैलपुत्री, ब्रह्माचारिणी, चन्द्रघण्टेति, कूष्माण्डेति, स्कन्दमातेति कात्यायनीको पुजा गरिन्छ । नौ दिनसम्म निरन्तर रूपमा एउटा यज्ञको साधना गरेर, दुर्गाको साधना गरेर, देवीको साधना गरेर, शक्तिको आराधना गरेर यज्ञको अन्तिम समयमा नौवटा कन्याहरूलाई यज्ञको प्रसाद स्वरूप अर्थात् यज्ञको दान स्वरूप आह्वान गरेर उनीहरूको पूजन गरेर मनाइन्छ । दसैँमा  कन्याहरूको पूजन गरेर उनीहरूलाई दिइने दान नै नवदुर्गाको अर्थात् विजया दशमीको दक्षिणा हो ।

दक्षिणा छोरीलाई मात्र 

शास्त्रले दसैँको दक्षिणा कन्याहरूलाई मात्र भनेको छ । छोराहरूलाई दक्षिणा दिने भन्ने छैन । छोरीलाई टीका लगाएर दक्षिणा दिँदा छोरालाई जमरा र टीका दिइन्थ्यो । ‘या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ जुन देवी एउटा लक्ष्मीका स्वरूपमा गएर, द्रव्यका रुपमा लक्ष्मी विराजमान हुन्छिन्, ती लक्ष्मीलाई, ती देवीलाई चाहिं मैले नमस्कार गर्दछु, हार्दिक नमस्कार गर्दछु भनेर जुन मन्त्र छ । महाकाली, महालक्ष्मी, महासरस्वती तीनवटा तत्वको पूजा गरी दक्षिणा दिन सुरु गरिएको थियो ।
  
महाकालीले सुरक्षा प्रदान गर्छिन् भने ज्ञान, बुद्धि, विवेक, वैराग्यको प्राप्ति गर्ने महासरस्वती हुन् । महालक्ष्मीको आराधनामा दानको कुरा हुन्थ्यो, दक्षिणाको कुरा हुन्थेन । पहिले दक्षिणा दिने चलन थिएन । त्यतिबेला दक्षिणाको विशेष महत्त्व थियो । कन्याहरूलाई दक्षिणा दिने बेलामा आफ्नो शक्ति सामर्थ्य अनुसारले दक्षिणा दिनुपर्छ भन्ने थियो । 

महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा हुने बेलामा नै दान जोडेरै आएको छ जहाँ कन्यालाई मात्र दिइन्थ्यो । तर पछिल्लो समयमा छोरी सँगसँगै ज्वाइँ जोडिँदा ज्वाइँलाई पनि दक्षिणा दिन सुरु गरियो । भान्जी सँगसँगै भान्जालाई पनि दक्षिणा दिन सुरु भयो । विशेष रूपमा पहिला कन्यालाई नै दक्षिणा दिने चलन थियो ।

पैसा दिने चलन यसरी भयो सुरु

कन्याहरूलाई पनि त्यो बेला पैसा दिने चलन थिएन । दसैँमा दक्षिणाको रूपमा पैसा दिने चलन धेरै पछिबाट सुरु भएको हो ।  छोरीहरूलाई बोलाएर पाथीको हिसाबमा धान, चामल दिइन्थ्यो । अझै पनि ग्रामीण भेगहरूमा दक्षिणाका रूपमा छोरीहरूलाई धान, चामल वा अन्न दिने चलन छ । दसैँको बेलामा धान काट्ने समय पनि हुन्छ । दसैँमा घरमा जति छोरीहरू छन् उनीहरूलाई बोलाएर अन्न दिइन्थ्यो । जुन दसैँको दक्षिणा हुन्थ्यो । 

मामाघरमा टीका थाप्न जाँदा भान्जीलाई टीका लगाएर दक्षिणा दिइन्थ्यो भने भान्जालाई गाई दान गर्ने चलन थियो । अन्न दानबाट बिस्तारै वस्त्र दान, भूमि दानमा परिणत भयो । अहिले दक्षिणा आर्थिक अर्थात् पैसामा, मुद्रामा आयो । जब विश्वमा टक्सारहरू स्थापना भए त्यसपछि बल्ल पैसा दिने चलन सुरु भयो । टक्सारहरू स्थापना भइसकेपछि, राजाले टक छाप्ने परम्परा भइसकेपछि, मुद्राहरू अर्थात् असर्फीहरू छाप्ने चलन भएपछि बल्ल मुद्रा दक्षिणाका रूपमा परम्परा बसेको हो । पहिले  पैसाको विषय आइसकेको थिएन । पैसा छापि सकिएको अवस्था थिएन । बिस्तारै पैसा आउन थाले । छोरीलाई पैसा दिन थाले । छोरीलाई पैसा दिदाँसँगै आउने ज्वाइँलाई पनि पैसा दिन सुरु गरिएको हो । 

दक्षिणाको विकृति

हाम्रो संस्कृतिमा राम्रा चलनहरू छन् तर हामीले यसलाई गलत रूपमा प्रचलित गरिरहेका छौं । म यहाँनेर दाइजो प्रथाको कुरा जोड्छु । शास्त्रले दाइजो दिने चलनलाई गोड्धुवा भन्छ । छोरीको खुट्टाको जल खाने र खुट्टालाई प्रणाम गरेर आफ्नो सामर्थ्य अनुसारको छोरीलाई कन्या स्वरूप मानेर द्रव्य दिने चलन थियो । 

यो चलनलाई हाम्रो समाजले दाइजोमा परिणत गरिदियो । गोड्धुवा परम्परा अलिकति सक्ने मान्छेले गोडधुवा गर्ने बेलामा आफूले नै आफ्नो घरबाट एउटा सानो भाँडा लिएर जाने, तामाको भाँडा लिएर तामाकोमा छोरीको खुट्टाको जल खाने, गोड्धुवा गर्ने र त्यो भाँडो नै छोरीका नाममा दिने चलन थियो । तर यो चलनलाई मान्छेले गलत प्रथाको रूपमा विकास गरे ।

जुन शास्त्रले छोरीलाई दिने उपहार अर्थात् दक्षिणालाई हाम्रो समाजले  मोलमोलाइको रूपमा परिणत गरिदियो । दाइजो दिनैपर्छ भनेर सर्त राखेको पुरा नहुँदा बिहे नै भएका हामीले सुन्दै आएका छौं । दक्षिणा भनेको आफ्नो शक्ति, सामर्थ्य, अनुकूलताले दिने हो । दसैँमा भक्ति, समर्पण, श्रद्धा र एकता मिसिएको छ । तर यसमा अहिले दक्षिणा मिसिएको छ । 

टीका लगाएर आफूभन्दा मान्य अग्रजहरूले ‘आयुर द्रोण सुते श्रियं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तिसुते, विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे’ भनेको छ । त्यहाँ पनि के भनेको छ भने ‘ऐश्वर्यं नहुषे’ भनेको छ ।

तर अहिले दसैँ पनि दक्षिणामा तुलना गरिन थालेको छ ।  एउटा भान्जा मामाघरमा जाँदा मैले दक्षिणा कति पाएँ भन्ने कुरामा मापन गर्छ । ज्वाइँ ससुराली जाँदा मैले दक्षिणा कति पाएँ भन्ने कुरा मापन गर्छ ।  यो पर्वमा सद्भाव भन्दा बढी भेदभाव हुन थालेको छ । दक्षिणा कति पाइयो भन्ने कुरामा निर्भर हुन्छ । यो एकदमै नकारात्मक कुरा हो ।

हाम्रो धर्मशास्त्र अनुसार दक्षिणा भनेको श्रद्धाका रूपमा, विश्वासका रूपमा, एकदमै पूजन गरेर त्यसलाई दिएको विषय हो । तर आजभोलि समाजले त्यसलाई विकृतिको रूपमा ग्रहण गरिरहेको छ । दक्षिणाको अर्को नाम श्रद्धा हो । कुनै पनि व्यक्ति आफ्नो घरमा आइसकेपछि वा आफू कुनै मान्यजनका घरमा गइसकेपछि उसलाई गरिने श्रद्धामा आफ्नो बोली, वचन, व्यवहार पर्दछ । दक्षिणा यति नै दिनुपर्छ भन्ने हुँदैन । श्रद्धा दिने बेलामा हामीले कसरी श्रद्धा व्यक्त गरिन्छ भन्ने कुरा हो । तर आजभोलि दक्षिणामा यति पैसा दिनैपर्ने, नदिँदा मान्छेसँग बोलचाल हराउने भइरहेको छ यो विकृति हो । 

धार्मिक असर
 
दक्षिणा  धन, मन, शरीर र समाज अनुकूल हुन्छ । जुन अनुकूलताका आधारमा निर्धारण हुन्छ । कुनै एउटा धनी मान्छेले हात्ती दान गर्न सक्छ भने अर्को मान्छेले श्रद्धापूर्वक नमस्कार मात्र टक्राउन सक्छ । कतिपय गाउँघरहरूमा गएर हेर्नुहुन्छ भने तपाईंको दाजुभाइका अथवा दिदी बहिनीका बीचमा, मामा-माइजूका, भान्जा-भान्जीका बीचमा पनि दक्षिणाका कारणले नै प्रभाव परेको छ । फलाना मामाकोमा त अलि ढिलो जाउला, छिटो त अब फलाना मामा कहाँ गएर आइहालौं भन्ने कुरा दिने दक्षिणाका आधारमा तय गरेको पाइन्छ । 

दक्षिणा अरूलाई देखाउनका निम्ति, बिल्कुल राम्रो होइन । दक्षिणाकै कारण विभिन्न मान्छेहरूबीच बोलचाल हराएको हामीले पाएका छौं । अर्को यसले  समाजलाई पनि विखण्डित गरेको छ । दक्षिणा भनेको दसैँसँग सम्बन्धित मात्र होइन । छोरीलाई दिएको दक्षिणामा ज्वाइँले आँखा लाएर अथवा ज्वाइँभन्दा पनि अझ बाहिरपट्टि गएर उसको बुवा-आमाहरूले आँखा लगाएर विभिन्न हिंसाका घटनाहरू पनि भएका छन् ।

दक्षिणा व्यक्तिले आफ्नो अनुकूलताले दिन सकोस् । तर, बाध्य बनाएर दक्षिणा दिनु परिरहेको छ ।  कतिपयले दसैँको दक्षिणाको लागि घरको खेत जग्गा  बेच्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । जस्तै- कुनै व्यक्तिले  १२ घण्टा काम गरिरहेको छ भने उसले दसैँको दक्षिणाका लागि लिएको ऋण तिर्न १६ घण्टा काम गर्नुपर्ने अवस्था हुन सक्छ ।

मैले दक्षिणा दिँदै गर्दा मेरो घरका सदस्यले दक्षिणा कम भयो अथवा धेरै भयो भनेर गुनासो गर्दा तनावमा पर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । दक्षिणामा राम्रो अनुकूलता भएन भने व्यक्तिको अनुकूलता, परिवारको अनुकूलता र समाजको अनुकूलता भएन भने मानसिक रुपमा ठूलो रोग ल्याउँछ ।  

यो पर्व पछिल्लो समयमा विकृतिका रूपमा मनाउन थालिएको छ । दसैँमा  खसी काट्नै पर्ने, फलानालाई यति दक्षिणा दिनैपर्ने, सकी नसकी के कसो गरेर भने पनि जुवा खेल्नै पर्ने भन्ने जुन चलन छ । यो विकृति हो । यी विकृतिहरूलाई चिर्न नसक्ने हो भने हाम्रा परम्पराप्रति नै वितृष्णा हुन्छ । दसैँ कसैको पनि दशा बन्नु हुँदैन । 

(नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. प्रकाश ढकालसँग गरिएको कुराकानीमा आधारित)

Share News