जोखिम न्यूनिकरणको कदम : ओलीको आलोचना, कार्की क्याविनेटको वाहवाही

दुई तिहाइको सरकार हुँदा १७ अर्ब क्षति, ६ महिने सरकार हुँदा १० करोड

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक वर्ष पूरानो अभिव्यक्ति भाइरल बनिरहेको छ । त्यो अभिव्यक्ति हो पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको । गत वर्ष बाढीले ठूलो धनजनको क्षति गरेपछि प्रधानमन्त्री रहेको बेला ओलीले दिएको ‘कहाँ-कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन’ भन्ने अभिव्यक्तिलाई अहिले सेयर गरेर उनको आलोचना भइरहेको छ । 

गत वर्षको असोज १२ गतेको बाढी पहिरोमा सरकारले हेलचेक्राई र लापरवाही गर्दा ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको भन्दै अहिले तत्कालीन सरकारको आलोचना भइरहेको हो । अहिले असोज १७ र १८ गतेको बाढी पहिरोको तुलनामा गत वर्ष धेरै क्षति भएको र त्यसको प्रमुख कारण सरकारको रहेको टिप्पणी धेरैको छ । 

गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले पूर्वूचना दिएर रेड अलर्ट नै जारी गरेको अवस्थामा तत्कालीन सरकारले वेवास्ता गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा भइरहेको छ । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारकर्मीले सो जिज्ञासा राख्दै उनले भनेका थिए, ‘कहाँ–कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाडौंमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ ।’

उनले गैरजिम्मेवार जवाफ दिएको भन्दै त्यतिखेर पनि उनी विवादमा तानिएका थिए । अहिले पनि मौसम विभागले बाढी पहिरो सम्बन्धि पूर्वसूचना दिएको थियो । तर, वर्तमान सरकारले विभागको सूचनापछि पूर्वतयारी गर्दा ठूलो जनधनको क्षति हुनबाट बचेको अधिकांशको विश्लेषण छ । अहिले सरकारले गरेको कार्यको चौतर्फिरुपमा प्रशंसा पनि भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको सूचनापछि सरकारले गरेको पूर्व तयारी तथा सूचनालाई गम्भीर्यताका साथ लिएकै कारणले सम्भावित जोखिम टारेको भन्दै वर्तमान शुशीला कार्की नेतृत्वको सरकारको वाहवाही सामाजिक सञ्जालमा भइरहेको छ । 

null

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले पनि भिडियो सन्देश जारी गरेर सबैलाई सजग रहन र खतराबाट बच्न आग्रह गरेका थिए । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ आफै फिल्डमा खटिएका थिए । गत वर्षको सरकारले घटना भएको तेस्रो दिनमात्रै मन्त्रिपरिषद् बैठक राखेर निर्णय गर्दा वर्तमान सरकारले भने अन दि स्पट एक्सनमा उत्रिँदा ठूलो जोखिम टरेको विश्लेषण धेरेको छ । 

लामो समयदेखि जलवायु तथ प्रकोपको जोखिम न्यूनिकरणको क्षेत्रमा कार्यरत ङमिन्द्र दाहालले यसपटकको ठूलो मौसमी विपद टार्ने विषयमा आफ्नो विश्लेषण राखेका छन् । 

गत वर्षको यस्तै मौसमी उतपातले ठूलो क्षति गरेको थियो, यस पटक त्यस्तो भएन, सन्तोष मान्नु पर्दछ,’ उनले भनेका छन् । 

उनले अहिले क्षतिका नहुनुको तीन वटा तर्क राखेका छन् । मौसमी आँधीको लय, मौसम पूर्वानुमान सूचनाको सम्प्रेषण र विपद न्युनिकरण प्रतिकार्यको प्रभावकारितालाई यस पटकको क्षति कम हुनुको कारण देखाएका छन् । 

जल तथा मौसम विज्ञान विभागले नियमित सूचना जारी गर्ने हुनाले उसले विशिष्ट शैलीले सूचना नदिएसम्म त्यसलाई सामान्य मानेर बेवास्ता गरिएका कारण देशले अनेकौं विपद भोग्नु परेको थियो, २०७८को कार्तिक महिनामा परेको अबिरल वर्षाले पुर्याएको क्षति यसको ज्वलन्त उदाहरण हो,’ उनले भनेका छन्, ‘उच्च प्रविधी, तालिम प्राप्त विज्ञ र विगतका अनुभवबाट सिकेर होला, यस पटक विभागले बढी आत्मविश्वासका साथ सूचनालाई प्रभावकारी ढाँचामा सम्प्रेषण र त्यसको निरन्तर अनुगमन गरेको पाइयो ।’

यस्तै, विपद् न्युनिकरण प्राधिकरणले सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिने परिपाटीबाट अलि माथी उठेर तीन दिन राजमार्गमा आवतजावत रोक लगाउने आँटिलो कामको सुरुवात गर्दा पनि क्षति कम भएको उल्लेख गरेका छन् । 

सुरक्षा निकायका ट्राफिक, ससस्त्र प्रहरी र नेपाली सेनाको उद्धार दस्ताको सक्रियताले धेरैलाई आस्वस्त पार्न उल्लेख भूमिका खेलेको र हेलिकप्टर सञ्चालक संघले आपत आइलागे उद्धारका लागि सहज उपलब्ध हुने गरी तयार छौ भनेर जारी गरेको विज्ञप्तीले पनि राहत मिलेको उनको धारणा छ । 

यस्तै, धेरै सर्वसाधारण तथा वर्सेनि बाढी पहिरोबाट प्रभावित स्थानीयहरुले पनि यस वर्ष सरकार भएको महसुस भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमा विगतका वर्षहरुमा बाढी आउँदा रातभर जागरम बस्नु परेको पीडा उल्लेख गर्दै यस वर्ष सरकारसँगै रहेको कारण त्यस्तो चिन्ता र तनाव लिनु नपरेको अनुभव राखेका छन् । 

१३ वर्षदेखि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सक्रिय प्रदिप खतिवडाले पहिलो पटक सरकारको प्रभावकारी समन्वय र निर्णायक नेतृत्वले कस्तो ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाएको उल्लेख गरेका छन् । 

उनले यो विपद् समन्वय गर्ने सरकारसहित सबै निकाय तथा सरोकारवालालाई धन्यावद दिँदै भनेका छन्, ‘अझै चुनौती बाँकी छ वर्षा भोलिसम्म निरन्तर जारी रहने अनुमान छ, हामी सारा रातभर प्रभावकारी समन्वय र शीघ्र प्रतिक्रिया सुनिश्चित गर्न काम गर्दैछौं ।’

गत वर्ष १७ अर्बको क्षति

गत वर्षको बाढी पहिरोले देशमा ठूलो जनधनको क्षति भएको थियो । तत्कालीन सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार गा वर्ष बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको तथ्यांक सार्वजनिक भएको थियो भने २४२ जनाको मृत्यु र २२ जना वेपत्ता भएका थिए । 

त्यतिबेला बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका थिए । तत्कालीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको थियो भने उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको थियो । 

विभिन्न बीमा कम्पनीहरुमा गत वर्ष १२ अर्ब ७८ करोड रुपैयाँ दाबी परेको थियो । गतवर्षको तुलनामा यसपालीको वर्षा तुलनात्मक रुपमा कम भएपनि स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले सक्रियता भने तारिफयोग्य छ । 

null

कति पर्यो पानी ?

असोज १७ र १८ गतेको भीषण वर्षाले देशभरको जनजीवन प्रभावित गर्यो । आइतबार काठमाडौं उपत्यकामा वर्षा नभए पनि पूर्वतिर भने जारी नै छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ ।

इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टि स्टेट केन्द्र (३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र ( ३२८.६ मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) वर्षा भएको छ । जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जानकारी दिएको छ । यो वर्षा गत वर्षको तुलनामा केही कम हो । 

अहिले १० करोड क्षति

वर्तमान सरकारले क्षति कम हुनमा मात्रै तदारुकता देखाएको छैन, सूचना सम्पेषणमा पनि चनाखो र पारदर्शी बनेको छ । सरकारले देशभरको क्षति, सडकको अवस्था र जोखिमयुक्त ठाउँका विषयमा बारम्बार सूचना जारी गरिरहेको छ । 

विभागले शुक्रबार सूचना जारी गर्नेवित्तिकै सरकारले जोखिमयुक्त राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको थियो भने विभिन्न ठाउँमा होल्डिङ स्टेशन पनि बनाएको थियो । यसले राजमार्गमा हुने ठूलो सम्भावित क्षति टारेको छ । 

स्थानीय प्रशासनहरूले राजमार्गमा सवारी आवागमन रोकेर उनीहरुको खाना बस्नको व्यवस्था गरे । गतवर्ष सिमलताल र झ्याप्लेखोलामा पहिरोले बस पुरिएर ३५ जनाको मृत्यु भएको थियो । यस वर्ष यस्तो कहाली लाग्दो घटना नदोहोरिनुको कारण सरकारको पूर्वतयारी नै हो । 

ट्राफिक प्रहरीले पनि काठमाडौबाट बाहिर जान नदिनका लागि नागढुङ्गा नाका बन्द नै गरिदियो । जसले त्रिशुली र मुग्लिङ–नारायणगढ सडक आसपासमा हुने ठूलो घटना हुनबाट जोगायो । यी सडक खण्डमा प्रत्येक वर्ष माथिबाट पहिरो आएर ठूलो मानवीय क्षति गरेको छ । तर, यस वर्ष त्यो घटना दोहोरिन सकेन । 

सरकारले आपतकालीन अवस्थामा उद्दारका लागि हेलिकप्टरहरूलाई समेत तम्तयार अवस्थामा राखेको छ । यति हुँदा हुँदै पनि केही क्षति भने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म १० करोडको क्षति भएको छ भने हालसम्म ४९ जनाले ज्यान गुमाएका छन् । 

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् । 

सबैभन्दा ठूलो मानवीय क्षति भने इलामको पहिरोमा भएको छ । सो पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । रसुवामा खोलामा बगेर चार जना बेपत्ता भएका छन् ।

अहिले पनि अधिकांश सडक खण्डहरु अवरुद्द भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् भने अन्य सडकलाई पनि छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको धारणा राखेका छन् । 

null

उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । 

‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री घिसिङले भने । 
 

Share News