सुनको मूल्य छिट्टै ३ लाख पुग्ने प्रक्षेपण, वार्षिक २० प्रतिशतको प्रतिफल

विदेशी मिडियाको विश्लेषण ४ सय डलर

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले दिनप्रतिदिन ऐतिहासिक रेकर्ड कायम गर्दैछ । आइतबार मात्रै सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ पुग्यो । यसले पनि अब सुनको मूल्य थप बढ्दै जाने आँकलन अधिकांशको छ । 

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढ्छ, घट्दा नेपालमा पनि घट्छ । सुनको अन्तर्राष्ट्रिय दर भाउ हेर्ने हो भने यो निरन्तर उकालो लाग्ने क्रममा छ । विश्व सुन परिषद्को त्रैमासिक प्रतिवेदनअनुसार केन्द्रीय बैंकहरूले सुन खरिदलाई प्राथमिकताका रुपमा लिएको कारण यो मूल्य अझै बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन् ।

सुनचाँदी व्यवसायीहरुका अनुसार अबको एकाध महिना (डेढ महिना) मै सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुग्ने अनुमान गरेका छन् । त्यस्तै चाँदी प्रतितोला ३६ सय रुपैयाँसम्म पुग्ने अनुमान छ ।

पाँच वर्षमा १५५ प्रतिशले बढ्यो 

२०७८ साल असोज १९ गते सुनको मूल्य प्रतितोला ९० हजार तीन सय रुपैयाँ थियो । त्यसको ठीक पाँच वर्ष अर्थात् २०८२ असोजमा सुनको मूल्य २ लाख ३०  हजार ६ सय रुपैयाँ पुगेको छ । पाँच वर्षमा सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँ अर्थात् १५५.३ प्रतिशतले बढेको छ । 

हरेक वर्ष सुनको मूल्य बढ्दै गएको तथ्यांकले नै देखाउँछ । २०७९ मा मात्रै सुनको मूल्य तीन हजार रुपैयाँले बढेको थियो । २०७९ असोजमा सुनको मूल्य ९३ हजार रुपैयाँ थियो । २०८० र ८१ मा सुनको मूल्य वृद्धिदर विगतको वर्षभन्दा बढी देखिन्छ । तथ्यांक अनुसार २०८० मा आइपुग्दा सुनको मूल्य २०७९ को तुलनामा १४ हजार अर्थात् १५.३७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । 

त्यस्तै २०८१ मा सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँ अर्थात् ५०.३२ प्रतिशतले बढेको देखिन्छ । २०८२ मा आइपुग्दा सुनको मूल्य ६९ हजार तीन सय रुपैयाँ अर्थात् ४३ प्रतिशतले बढेको छ ।

किन बढिरहेको छ मूल्य ?

सुनको मूल्य वृद्धिको पछाडि विभिन्न कारणहरु औंल्याउँछन् सुनचाँदी व्यवसायीहरु । व्यवसायीहरुका अनुसार अन्य धातुको तुलनामा सुनचाँदीको अधिक वृद्धिको कारण यसको बहुआयामिक माग हो । सुनको मूल्य अधिक वृद्धि हुनुमा विभिन्न कारणमध्ये एक कारण केन्द्रीय बैंकहरुको ब्याजदरमा कटौती गर्दा सुनको मूल्य बढ्ने बताउँछन् नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्य ।

सेप्टेम्बरमा मात्रै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभले ०.२५ प्रतिशतले ब्याजदर बढाएर ४.२५ प्रतिशत कायम गरेको छ । अमेरिकाको मुद्रास्फीति २.९० प्रतिशतले वृद्धि हुँदा बेरोजगार दर बढेको छ । यो चुनौतीलाई सामना गर्नकै लागि अमेरिकाले ब्याजदर घटाएको हो । विज्ञहरुका अनुसार निकट भविष्यमै अमेरिकाले फेरी ब्याजदर थप घटाउँदैछ । 

क्यानडा, बेलायत, युरोपियन युनियन, अष्ट्रेलिया, मेक्सिको, रूसलगायत धेरै देशहरूका केन्दिय बैंकले पनि आर्थिक मन्दी सामना गर्न यो वर्ष ब्याजदर घटाएका छन् । घट्दो ब्याजदरको कारणले उच्च प्रतिफलको लागि सुनचाँदीमा लगानी आकर्षित भएको उनले बताए ।

अर्को कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक नीतिले सुनको मूल्य बढ्न मलजल गरेको औंल्याउँछन् शाक्य । 

‘विशेषगरी रेसिप्रोकल ट्यारिफअन्र्तगत मेक्सिको, क्यानडा, चीन, युरोपियन युनियन, भारत, एसियन राष्ट्रहरु सहितलाई बढाइएको १०० प्रतिशत सम्मको  भन्सार वृृद्धिले  विश्व व्यापारमा अवरोध एवं चुनौती  थपेको मात्र होइन अस्थिरता पैदा गरेको छ, शाक्य भन्छन्, ‘राष्ट्रपति ट्रम्पको  अमेरिकी केन्द्रीय बैंकलाई  ब्याजदर घटाउने निरन्तर दबाब, सुनमा प्रत्यक्ष कर नलगाउने घोषणा एवं धनी ठूला करदाताहरूको कर दर घटाउने संभावित योजनाले पनि सुरक्षित प्रतिफलको लागि सुन चाँदीको माग बढाउने देखिन्छ ।’

सन् २०२२ बाट सुरु भएको रूस युक्रेन युद्ध अहिले पनि जारी नै छ । कहिले रोकिने थाहा छैन । त्यसबाहेक इजरायल र प्यालेस्टाइन बीचको युद्धमा लेबनान, यमन, इरान थप भई युद्ध लम्बिने संकट देखिनुले गर्दा विश्व व्यापारमा असुरक्षा बढाएको छ । भारत–पाकिस्तान तथा थाइलैण्ड र कम्बोडिया बीचको केही दिनको युद्धले थपेको असुरक्षाको असरले विश्व व्यापारको लयमा धक्का पुर्याएको छ ।  साथै उत्तर कोरियाको लगातारका मिसाइल परीक्षण लगायत क्षेत्रीय भूराजनीतिक तनाव उत्पन्न गरिरहेको छ । यसले पनि सुनको मूल्य बढ्नमा मद्दत गरिरहेको व्यवसायीहरुको भनाइ छ ।

वल्र्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष २०२४ मा विश्वका केन्द्रीय बैंकहरुले  एक हजार ४५ टन सुन  खरीद गरेका छन् । विगत केही वर्षदेखि लगातार केन्द्रीय बैंकहरुले प्रत्येक वर्ष  एक हजार टन हाराहारी सुन खरीद गर्दै सञ्चिति बढाइ रहेका छन् । यसले पनि सुनको माग बढाउन  र भाउ उकास्न सहयोग गरिरहेको छ । 

विश्व अर्थतन्त्रका सूचकहरू

विश्वमा वास्तविक मूल्यवृद्धि अझै उच्च रहेको छ । क्रयशक्ति घट्दा लगानीकर्ताले सम्पत्ति सुरक्षित गर्न सुन रोज्ने व्यवसायीहरु बताउँछन् । त्यस्तै विश्वभर सरकारी ऋण बढ्दै गएको छ । ऋण विस्तार र सुनको मूल्यबीचको सम्बन्ध लामो समयदेखि सकारात्मक रहेको छ । ऋण बढ्दै जाँदा सुनको मूल्य बढ्दै जान्छ । अर्कोतर्फ, सेयर बजार केही ठूला कम्पनीमै केन्द्रित भएकाले लगानीकर्ताले वैकल्पिक सम्पत्तितर्फ ध्यान दिएका छन्, जसमा सुन प्रमुख विकल्प बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य अमेरिकी अर्थतन्त्र डामाडोल हुँदा डलर कमजोर हुँदै गएको र त्यसको सिधा असर विश्व अर्थतन्त्रमा पनि पर्ने बताउँछन् । शाक्यले डलर कमजोर हुँदा सुनको मूल्य बढ्ने बताए ।

डलर कोल्याप्स होला भन्ने डरले आफूलाई सुरक्षित राख्नका लागि संसारभरिका बैंकहरूले सुनको माग बढाउँदै गएको र यसले गर्दा पनि सुनको भाउ धेरै बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

शाक्यले सुनको मूल्य अहिले मात्रै नभएर विगतदेखि नै वृद्धि हुँदै आएको तर अहिले त्यसको गति उच्च रुपले हुन गएको तर्क गर्छन् । शाक्य सुनलाई उच्च प्रतिफल दिने सम्पतिको रुपमा परिभाषित गर्छन् । उनी भन्छन्, ‘सुनको मूल्य विगत २०/२५ वर्षदेखि बढेको बढ्यै छ । यसले हरेक वर्ष १६ देखि २० प्रतिशतसम्मको रिटर्न निरन्तर दिइराखेको छ । अरू कुनै पनि एसेट क्लासले त्यति राम्रो प्रदर्शन गरेर रिर्टन दिएका छैनन् ।’

शाक्य पछिल्लो समय धेरैले सुनमा लगानी गर्दै जाँदा सम्पतिको भ्यालु र मूल्यांकन बढ्दै जाने रहेछ भन्ने कुरा महसुस गर्न थालेको र लगानीकर्ता सुनतर्फ बढी आकार्षित हुन थालेको सुनाउँछन् । उनले भने,  ‘मान्छेले आफूले कमाएको पैसा जहिले पनि बढी रिर्टन आउने ठाउँमै गर्न चाहान्छन्, यदि सुनमा राम्रो रिर्टन आइरहेका छ भने त्यसतर्फ आकर्षित हुनु स्वाभाविक हो । त्यसैले अहिले धेरैको सुनमा आकर्षण बढेको छ ।’ 

शाक्य अर्थतन्त्र सन्तुलनमा नआएसम्म सुनको मूल्यवृद्धि रहने अनुमान गर्छन् । साथै सरकारलाई नेपालमा सुन लगानी गर्ने बाटो खोलिदिनुपर्ने सुझाव पनि पटक–पटक दिँदै आएको बताउँछन् ।

सुनको मूल्य ४ हजार डलरभन्दामाथि पुग्ने

अन्तर्राष्ट्रिय विश्लेषकहरुले सन् २०२५ को अन्तिमसम्ममा सुनको मूल्य प्रतिऔंस ३५ सयदेखि ४३ सय अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेका छन् । यो प्रक्षेपण हालको प्रवृत्तिहरुको आधारमा गरिएको हो । वास्ताविक मूल्य भने ब्याजदर नीति, आर्थिक, राजनैतिक र भूराजनीतिक परिवर्तनहरुको आधारमा नै निर्भर रहने विश्लेषकहरु बताउँछन् ।

विश्लेषकहरुका अनुसार सन् २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस पाँच हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् । त्यसपछि पनि सुनको मूल्यवृद्धि जारी रहने सम्भावना विश्लेषकहरुले गरेका छन् । नेपाली व्यवसायीहरुले पनि सुनको मूल्य छिट्टै ३ लाख रुपैयाँ नाघ्ने अनुमान गरिरहेका छन् । 

Share News