राष्ट्रको सर्वाङ्गीण क्षेत्रको द्रुत दिगो विकासका लागि दक्ष जनशक्तिको निकै ठूलो भूमिका हुन्छ । समृद्धि हासिल गर्ने सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार दक्ष जनशक्ति हो जसबिना अन्य पूर्वाधार निर्माण सम्भव छैन । उर्वर दक्ष जनशक्तिको सही सदुपयोग हुन सकेमात्रै छोटो समयमा देशको रूपान्तरण सम्भव छ ।
हाम्रो देशमा अथाह स्रोत सम्पदा छ । जडीबुटी तथा कृषि उत्पादनमा क्रान्ति गर्न र उद्योगधन्दाको लागि आवश्यक पर्ने जमिन पनि छ । विकास गर्नको लागि पुँजीको पनि खासै कमी छैन । तर दक्ष जनशक्तिको अभावका साथै उपलब्ध जनशक्तिको सही व्यवस्थापन र सदुपयोग हुन नसक्दा राष्ट्रले समृद्धि हासिल गर्न सकेको छैन ।
देशमा सिर्जनशीलता र रोजगारीको वातावरण नहुँदा उपलब्ध उर्वरशील जनशक्ति विदेश पलायन भइरहेको छ । दक्ष र सिर्जनात्मक जनशक्तिको अभाव तथा शोषक र विध्वंशक शक्तिको अधिकताले देशको समृद्धि हुन सक्दैन । दक्ष जनशक्ति राष्ट्र विकासको आधार स्तम्भ भएकाले राज्यले यसमा ठूलो लगानी गर्नुपर्छ । उद्योग, व्यापार, व्यवसाय, व्यवस्थापन वा अन्य पूर्वाधार निर्माण आदिमा हामी ठूलो धनराशि खर्च गर्छौं । तर सम्बन्धित क्षेत्रको विशिष्ट सैद्धान्तिक तथा व्यावहारिक ज्ञान बिनाको अर्थ लगानीबाट आशातित प्रगति हासिल गर्न सक्दैनौं ।
वित्तीय वा रणनीतिक व्यवस्थापन, ठूला पूर्वाधार निर्माण आयोजना, जलविद्युत आयोजना वा देशको मुहार परिवर्तन गर्न सक्ने आयोजनाहरू, विज्ञान प्रविधि सम्बन्धी कार्यहरू तथा सामान्य प्राविधिक आदि काममा विदेशी दक्ष जनशक्तिको भर पर्नुपर्ने स्थिति छ ।
पैसाको कमीले देशको विकास हुन नसकेको भन्ने हामीमा गलत धारणा छ । सकारात्मक सिर्जनात्मक सोच तथा हामीसँग भएको अमूल्य मणि चिन्ने र सदुपयोग गर्ने ज्ञानको अभावले हामी धनी बन्न नसकेका हौं । हाम्रोजस्तो अथाह स्रोत सम्पदाको भण्डार विश्वका अन्य देशमा सायद दुर्लभ नै होला । सकारात्मक सोच, नेतृत्वको दृढ इच्छा शक्ति, जनउत्तरदायी शासन प्रणाली, राष्ट्रको स्रोत सम्पदा अनुसार उपयुक्त नीति र दक्ष जनशक्ति आदिको सही सम्मिश्रण र सदुपयोग हुने हो भने हाम्रो देश एक दशक भित्रमा विश्वकै नमूना विकसित देश बन्न सक्छ ।
सन १९७०–८० को दशकमा आर्थिक रूपले जर्जर भइरहेको भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले विदेशमा रहेका भारतीय दक्ष नागरिकहरुलाई राष्ट्रको विकास निर्माणमा योगदान गर्न आह्वान गरेकी थिइन् । मनमोहन सिंहको नेतृत्वमा अर्थतन्त्र सुधारको काम थालनी भएको थियो । फलस्वरूप १९९० को दशकदेखि राजनैतिक अस्थिरताका बाबजुद पनि इन्डियाको अर्थतन्त्रले गति लिएको थियो ।
हामीहरूले पनि विदेशमा छरिएर रहेका नेपाली दक्ष तथा अर्धदक्ष जनशक्तिलाई ससम्मान भित्र्याएर तिनीहरूको दक्षताको उपयोग गरी सबै नेपालीहरूलाई दक्ष बनाउने महान कार्यको थालनी गर्नुपर्छ । थप जनशक्ति आवश्यक परेमा दक्ष विदेशीलाई भाडामा ल्याएर भए पनि देश विकास कार्यमा पछाडि पर्नु हुँदैन ।
जलस्रोतको समूचित उपयोग, बहुमूल्य जडीबुटी, कृषिका साथै अति उपयोगी मूल्यवान प्राकृतिक धातुहरू र ग्यासहरूको व्यावसायिक उत्पादन गर्न सकिने हो भने नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन । तर देशमा विद्यमान प्राकृतिक श्रोत सम्पदाको आवश्यक अध्ययन अनुसन्धान, त्यसमा आधारित वस्तुहरूको उत्पादन तथा प्रशोधनका लागि आवश्यक दक्ष जनशक्तिको चरम अभाव छ । विदेशमै वा स्वदेशमै अध्ययन गरेका केही सीमित क्षेत्रका सीमित जनशक्तिको विज्ञताको पनि खासै उपयोग गर्न सकिएको छैन ।
जल सम्पदामा ब्राजिल विश्वमै उत्कृष्ट देश भए पनि त्यसको समूचित उपयोग हुन नसक्दा खासै प्रगति गर्न सकेको छैन । नाइजेरियासँग पनि अथाह प्राकृतिक सम्पदा छ तर पनि देशको अवस्था गतिलो छैन । हाम्रो छिमेकी देश चीनले चमत्कारिक प्रगति गर्नुको आधार नै सिर्जनात्मक सोच, नेतृत्वको दृढ इच्छाशक्ति र उच्च मनोवलका साथ काम गर्ने पर्याप्त दक्ष जनशक्तिको समूचित व्यवस्थापन हो ।
उर्वर जमीन, जंगल, जडीबुटी, जलस्रोतका साथै जमिनको गर्भमा रहेका बहुमूल्य खनिज सम्पदा आदिका दृष्टिले हाम्रो देश कुवेरको अलकापुरी भए पनि विदेशबाटै आयात गरिएका खाद्यान्न, लुगाफाटो र आवश्यकीय सामग्रीहरूबाट गुजारा गर्नु परेको अवस्था छ । दलका जिम्मेवार व्यक्तिहरू वा नेतृत्व तहमा रहेकाहरूका अनुत्पादक गैरजिम्मेवार बोली व्यवहारले देशको उन्नति हुँदैन । असक्षम, अयोग्य र अदूरदर्शी भ्रष्ट शासन प्रणाली र अव्यावसायिक शिक्षा प्रणालीका कारण शैक्षिक संस्थाहरूबाट बर्सेनि उत्पादन हुने लाखौं जनशक्तिहरू बेरोजगार भइरहेका छन् । अर्थात शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने अखडा भएका छन् ।
विकास र विनाशको मुख्य कारक तत्व नै मानिस भएकाले साँच्चै विकास गर्न चाहने हो भने मरुभूमि पनि रंगीचंगी सुन्दर उद्यान बन्न सक्छ । विकासको स्पष्ट खाका कोरेर पर्याप्त दक्ष जनशक्तिको उत्पादन र उपयोग गर्नुपर्छ । देशको रूपान्तरणका लागि तयार पारिएको स्पष्ट कार्ययोजना अनुसार नतिजामूलक जिम्मेवारीसहित जनशक्तिको समूचित व्यवस्थापन गर्ने हो भने नेपाल विश्वकै लोभ लाग्दो रोजगारदाता देश बन्न सक्छ र नेपालको प्रगति पनि सगरमाथा झै विश्वमै सर्वोच्च हुनेमा कुनै शंका गर्नु पर्दैन ।
विद्यमान स्रोत सम्पदाहरूमा आधारित सैद्धान्तिक र प्राविधिक व्यावसायिक ज्ञान प्रदान गर्नेरगराउने कार्यको थालनी यथाशीघ्र गरिनुपर्छ । विसं २०४६ को प्रजातन्त्र पुनर्बहाली पश्चात सीएमए, एचए, फार्मासिष्ट आदि जनशक्ति उत्पादन गर्ने प्रााविधिक शिक्षालयहरू खुले झैं अब आर्थिक भू(विज्ञान, खानी अनुसन्धान, उत्पादन र प्रशोधन, जलविद्युत उत्पादन र वितरण प्रणाली, वैज्ञानिक धन्वन्तरी आयुर्वेद, व्यावहारिक कृषि उत्पादन र वन तथा वन पैदावार आदि क्षेत्रका दक्ष जनशक्ति उत्पादनका लागि पढाइ तथा व्यावसायिक तालिम नेपालमा यथासक्य छिटो शुरु गर्नुपर्छ ।
नेपाली अध्येता आफै वा नेपालमा अध्ययन अनुमति प्राप्त विदेशीहरूको सहकार्यमा गरिने अध्ययन अनुसन्धानका क्रममा संकलित भू(भौतिक नमूनाहरू सम्बन्धित अध्ययन संस्थाको जिम्मेवारी र सिफारिशमा विदेशका आधुनिक प्रयोगशालामा परीक्षणका लागि सोझै पठाउने व्यवस्था गर्नुपर्छ । यसरी निकासी हुने नमूनाहरूको प्रयोगशाला परीक्षणको नतिजा नेपालस्थित सम्बन्धित शैक्षिक संस्थालाई जानकारी दिने व्यवस्था पनि हुनुपर्छ ।
व्यावसायिक सम्भाव्यता परीक्षणको लागि नमूनाहरू निकासी गर्नुपर्ने भएमा सम्बन्धित निकायले आवश्यक सिफारिश गर्न सक्छ । अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका लागि दक्ष विषय शिक्षक तथा प्रशिक्षक, आधुनिक प्रविधियुक्त आवश्यक यन्त्र उपकरणसहितको साधन सम्पन्न प्रयोगशाला तथा नतिजामुखी व्यावहारिक अध्ययनको व्यवस्था गर्नुपर्छ । अध्ययनरत जनशक्तिलाई कार्यानुभवको निमित्त सम्बन्धित क्षेत्रमा इन्टर्नशीपको व्यवस्था हुनुपर्छ । कार्य सम्पादनका आधारमा कार्यरत क्षेत्रका प्रशिक्षकद्वारा उचित मूल्यांकन गरेर अध्ययनरत संस्थालाई जानकारी गराउने व्यवस्था गर्नुपर्छ । देशमा उत्पादित सबै किसिमका आवश्यक दक्ष जनशक्तिको उपयोग गर्नुका साथै आवश्यक परेमा निश्चित अवधिका लागि विदेशी दक्ष जनशक्ति भाडामा लिएर भए पनि विकासको यज्ञमा होमिने हो भने छोटो अवधिमा देशको कायापलट हुनेछ ।
उन्नति प्रगतिका लागि आवश्यक सबै स्रोतरसाधन र दक्ष जनशक्ति उपलब्ध भए पनि त्यसको सही सम्मीश्रण र सदुपयोग हुन सकेन भने राम्रो नतिजा हासिल गर्न सकिँदैन । उपलब्ध जनशक्तिको सर्वोत्तम सदुपयोग गर्न सकियो भने मात्र उत्पादकत्वमा ज्यामितीय अभिवृद्धि हासिल गर्न सकिन्छ । आ(आफ्ना स्वार्थका लागि यहाँ कृषि विज्ञलाई वन विभागमा तथा वित्त विज्ञलाई जनशक्ति व्यवस्थापनमा पदस्थापन गर्ने गरिन्छ । त्यसैगरी निम्न तहको कर्मचारीलाई उच्च तहको दक्ष कर्मचारीभन्दा माथि पदस्थापन गर्ने कार्यलाई यहाँ सामान्य मानिन्छ ।
कर्मचारी संघरसंगठनका पदाधिकारीहरूले काम नगरे पनि इमान्दारीका साथ खटेर काम गर्ने कर्मचारीभन्दा अघि पदोन्नति हुने वा इच्छित ठाउँमा सरुवा गर्ने परिपाटी व्याप्त छ । पैसाको आडमा नियुक्ति, सरुवा, बढुवा आदिको दुष्चक्र पनि व्याप्त छ जसले गर्दा विद्यमान दक्ष जनशक्तिले पनि आफ्नो कार्य दक्षताको भरपूर उपयोग गर्न नसकी उत्पादकत्वमा ह्रास आइरहेको छ ।
उत्पादकत्वको अभिवृद्धिका लागि कार्यदक्षता बढाउनुका साथै उपलब्ध जनशक्तिको सही पदस्थापन, सही जिम्मेवारी र सही व्यवस्थापन अति महत्त्वपूर्ण हुन्छ । व्यवस्थापनको सिद्धान्तअनुसार अधिकतम उत्पादकत्व हासिल गर्नका लागि सही व्यक्ति, सही ठाउँमा, सही पदमा, सही समय र सही वातावरणमा पदस्थापन वा व्यवस्थापन गरिनुपर्छ । यो सिद्धान्तअनुसार जनशक्तिको समूचित व्यवस्थापन हुने हो भने अहिलेकै विद्यमान जनशक्तिबाट पनि निकै राम्रो नतिजा हासिल गर्न सकिन्छ । ऊर्जाशील युवायुवतीहरूलाई विदेशिनबाट रोकेर दक्षता र कार्यकुशलतामा अभिवृद्धि गरी तिनीहरुको श्रम स्वदेशमै सदुपयोग गर्नुपर्छ । देशको समृद्धिका लागि विदेशिएका जनशक्तिलाई आह्वान गरी राज्यले आवश्यक प्रभावकारी संयन्त्र बनाउनु पर्छ । नेतृत्वले सबै किसिमका जनशक्तिको भरपूर उपयोग गरेर यथाशीघ्र देशको चमत्कारिक रूपान्तरण गर्नुपर्छ ।
(लेखक पर्यटन व्यवसायी हुन्)