काठमाडाैं । भ्रष्टाचार र कुशासनलगायत विविध विषयको विरोधबाट सुरु भएको जेनजी प्रदर्शन अहिले समग्र राजनीतिक प्रणालीप्रति नै असन्तोषको प्रतीक बनेको छ । सरकारको एक निर्णयविरुद्ध सुरु भएको प्रदर्शन अहिले देशव्यापी रूपमा फैलिँदै पुरानो राजनीतिक नेतृत्वको भूमिकामाथि पुनर्विचारको मागसम्म पुगेको छ ।
राजनीतिक दलहरूका शीर्ष नेताहरूको दीर्घकालीन वर्चस्व, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव, भ्रष्टाचार र अवसरको असमानताको विषयमा आवाज उठाउँदै युवाहरूले नेतृत्वमा सुधारको माग गरेका छन् ।
नेपालमा दशकौंदेखि सत्तामा रहेका नेताहरूले पटक–पटक सरकारको नेतृत्व गरेपनि आम जीवनमा ठोस परिवर्तन नआएको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए । प्रदर्शनमा सहभागी युवाहरूले दल र विचारभन्दा पर रहेर नयाँ सोच र नयाँ अनुहारको माग गरेसँगै दलहरूमा पनि नयाँ बहस सुरु भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रदर्शनले दलहरूलाई नेतृत्व हस्तान्तरण, आन्तरिक सुधार र युवा सहभागिता सुनिश्चित गर्न प्रेरणा दिएको छ । यही प्रेरणाले दलहरूका नेतृत्वमा हस्तान्तरण र पुस्तान्तरणको बहस सुरु भएको छ ।
युवाहरूको मागलाई दलहरूले गम्भीरतापूर्वक लिँदा मात्रै यो आन्दोलनको सकारात्मक निष्कर्ष निस्कन सक्ने जनाइएको छ । यसले पुरानो पुस्ताले आफ्ना अनुभव नयाँ पुस्तासँग बाँड्ने र भावी नेतृत्व तयार पार्ने अवसर पनि दिन सक्ने केही नेताहरूले बताएका छन् ।
राजनीतिक विश्लेषकहरूले यो प्रदर्शन कुनै व्यवस्था बदल्ने भन्दा पनि व्यवस्थालाई सुधार गर्ने चेतना भएकोले दलहरूले यसलाई अवरोध नभई अवसरको रूपमा हेर्नुपर्ने बताउँछन् ।
नेताहरूको सम्मानजनक बहिर्गमन
नेपाली राजनीतिमा दशकौंसम्म निर्णायक भूमिकामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व अहिले स्वाभाविक अवसानतिर उन्मुख देखिँदैछ । देशमा नयाँ पुस्ताको राजनीतिक चेत जाग्दै गर्दा शीर्ष नेताहरूको सम्मानजनक बहिर्गमनको बहस बलियो बन्दै गएको छ ।
राजनीतिमा योगदान र अनुभवको मूल्य अस्वीकार गर्न सकिँदैन । तर, अबको आवश्यकता पदमा निरन्तरता होइन, उत्तरदायित्वको हस्तान्तरण रहेको राजनीतिक बिश्लेषक तथा अधिवक्ता फर्सुराम घिमिरे । पार्टीभित्र नयाँ पुस्ता तयार भइसकेको अवस्थामा नेतृत्वले स्वेच्छाले मार्ग प्रशस्त गर्न सक्नु नै दीर्घकालीन सम्मानको आधार बन्न सक्छ घिमिरे बताउँछन् ।
एमाले अध्यक्ष ओलीमाथि पनि नेतृत्व हस्तान्तरणको माग पार्टीभित्र उठिरहेको छ । आन्तरिक असन्तुष्टि र नयाँ सोच बोकेका युवा तहका नेताहरूले ओलीलाई सल्लाहकार तहमा जान सुझाव दिइरहेका छन् । यदि उनले महाधिवेशनमा आफूलाई मार्गदर्शकको भूमिकामा रूपान्तरण गरे भने त्यो एमालेकै भविष्यका लागि ऐतिहासिक कदम ठहरिन सक्छ ।
एमालेका एक नेताका अनुसार अबको एमालेमा ओली वैचारिक नेता र महाधिवेशनले निर्वाचित गर्ने अध्यक्ष कार्यकारी नेता बन्नेछन् । सम्भवतः पुसपछि ओलीले नेतृत्व हस्तान्तरण गर्ने छन् ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामाथि पनि सोही किसिमको दबाब छ । कांग्रेसमा लामो समयदेखि पार्टी भित्र पारिवारिक संरचना र निर्णयको केन्द्रीकरणका कारण असन्तुष्टि बढेको छ । यस्तो अवस्थामा देउवाले स्वेच्छाले नेतृत्व हस्तान्तरण गरे भने त्यो उनको राजनीतिक जीवनकै सबैभन्दा सभ्य र सम्मानजनक अध्याय हुनेछ । देउवा निकट एक नेताका अनुसार देउवा महाधिवेशन पहिले न त कार्यवाहक दिने मुडमा छन् न त हस्तान्तरणकै मुडमा छन् ।
न त उनी विशेष महाधिवेशन गर्ने पक्षमा नै छन् । विधानः उनी आगामी महाधिवेशनपछि उमेदवारसमेत हुन पाउँदैनन् । यस्तो अवस्थामा महाधिवेशनसम्म देउवा नै नेता बन्ने निश्चित छ ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको लागि पनि स्थिति अझ जटिल छ । आजको राजनीतिक परिदृश्यमा उनको संगठनात्मक नियन्त्रण कमजोर हुँदै गएको छ । यदि दाहालले पनि आफ्ना उत्तराधिकारीहरूलाई जिम्मेवारी दिँदै नयाँ पुस्तालाई नेतृत्व दिन सके भने त्यो माओवादी आन्दोलनकै पुनर्जन्मको सुरुवात हुनेछ । तर, अगामी महाधिवेशन पहिले नेतृत्व हस्तान्तरण हुन सक्ने देखिँदैन ।
राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन् , ‘नेतृत्वको सम्मानजनक बहिर्गमन भनेको हार होइन, परिपक्वताको पहिचान हो । अब पुराना नेताहरूले सल्लाहकारको भूमिकामा रहेर अनुभव बाँड्ने र नयाँ पुस्ताले नीति निर्माणमा नेतृत्व गर्ने समय आएको छ ।’
नेपालको राजनीति अहिले संक्रमणको दोबाटोमा छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताका ऊर्जा दुवै आवश्यक छन् । यदि शीर्ष नेताहरूले स्वेच्छाले पद त्याग गरेर संस्थागत परम्पराको पुनःस्थापना गरे भने त्यो लोकतान्त्रिक अभ्यासको नयाँ अध्याय हुनेछ सुवेदी बताउँछन् ।
‘अबको प्रश्न नेता कति समय कुर्सीमा बस्छन् भन्ने होइन, बरु कसरी सम्मानपूर्वक उभिन्छन् र कहिले सभ्य रूपमा बिदा हुन्छन् भन्ने हो,’ सुवेदी भन्छन् ।
असन्तोष र आत्मसमीक्षामा दलहरू
नेपाली कांग्रेसले लामो समयदेखि सत्ता सञ्चालन गरेको र ठूल्ठूला आन्दोलनको नेतृत्व गरे पनि अहिले युवापुस्ताको दृष्टिमा पार्टी पुरानो संस्थाका रूपमा चित्रित हुन पुगेको छ । देउवा नेतृत्वको पार्टी अब युवाहरूको नेतृत्व गर्न असफल ठहरिएको आरोपले घेरिएको छ । पार्टीभित्रकै केही नेताहरूले पुस्ता परिवर्तनको माग गर्दै देउवालाई पद हस्तान्तरण गर्न सुझाव दिएका छन् ।
सडकमा उत्रिएका धेरै युवाहरू स्वयं कांग्रेसको विद्यार्थी र युवा सञ्जालसँग आवद्ध थिए । उनीहरू नेतृत्वविहीन, स्वतःस्फूर्त आन्दोलनमा सामेल भए । यसले कांग्रेसभित्र संगठनात्मक दिशाको संकट झन गहिरो बनाएको अधिवक्ता घिमिरे बताउँछन् ।
यस्तै, प्रधानमन्त्री पद गुमाउनु परेको घटनाले एमालेको आन्तरिक संकट झनै बढाएको छ । ओलीमाथि पार्टी नेतृत्व हस्तान्तरण गर्न दबाब भए पनि उनले राजनीतिक स्थायित्वका लागि निरन्तरताको आवश्यकता भन्दै महाधिवेशन अगाडि पद नछोड्ने अडान लिएका छन् ।
ओली र देउवाजस्तै माओवादी केन्द्र र नेकपा एसमा पनि पुष्पकमल दाहाल र माधव नेपाललाई पनि नेतृत्व छोड्ने दवाव व्यापक छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल लामो समयदेखि सत्ता समीकरणको केन्द्रमा रहँदै आएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि पनि पुरानो शैलीको राजनीतिबाट बाहिर ननिस्किएको आरोप छ । पार्टीभित्र नयाँ पुस्ताका नेताहरूले नेपाललाई सल्लाहकार भएर बस्न दबाव दिँदै आएका छन् । तर, नेपाल भने सल्लाहकार भन्दा नेतृत्वकर्ता बन्ने चाहना राखेपछि तनाव बढ्दै गएको छ ।
राजनीतिक पुनर्संरचनाको संकेत
विश्लेषकहरूका अनुसार जेनजी आन्दोलन केवल आक्रोशको विस्फोट होइन, यो लामो समयदेखिको राजनीतिक निराशाको नतिजा पनि हो । सामाजिक सञ्जाल बन्दजस्तो सानो कारणले एउटा पुस्ताको असन्तोषलाई आगो बनायो । त्यसपछि उठेको आन्दोलनले पुरानो पुस्ताको शासनशैली र निर्णय प्रक्रियामाथि प्रश्न उठायो ।
अब नेपाली राजनीतिमा तीन सम्भावित दिशाहरू देखिएको बताउँछन् अधिवक्ता घिमिरे । उनका अनुसार पहिलो दलहरूले नेतृत्वमा पुस्ता परिवर्तन नै आजको सबैभन्दा सहज र सरल उपाय हो । यदि यस्तो नभएमा दोस्रो विकल्पको रूपमा नयाँ राजनीतिक शक्ति उदय हुने निश्चित छ । घिमिरेका अनुसार तेस्रो विकल्प पुराना शक्तिहरूको पुन:उदय हो । त्यस्ता सामन्ती संरचनाहरूको उदय सहज र सुन्दर विकल्प भने होइन ।
राजनीतिक दलहरूका लागि अहिले नैतिक जवाफदेहिता र संरचनागत सुधारको समय भएको विश्लेषक सुवेदीको ठहर छ । यदि उनीहरूले परिवर्तनलाई अवसरका रूपमा लिएनन् भने नयाँ पुस्ता र नयाँ शक्ति उदाउने सम्भावना प्रबल छ । राजनीति अब केवल अनुभव र पदमा आधारित रहने होइन, विश्वास र जवाफदेहितामा आधारित बन्नुपर्ने अवस्था आएको सुवेदीको तर्क रहेको छ ।
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई एउटा नयाँ दिशातर्फ मोडिदिएको छ । जहाँ उमेरभन्दा विचार, पदभन्दा विश्वास, र नारा भन्दा जवाफदेहिता महत्त्वपूर्ण बन्दै गएको अवस्थामा नेतृत्व हस्तान्तरण जस्तो सामान्य विषयमा दलहरू अलमलिन नहुने अधिवक्ता घिमिरे बताउँछन् ।
कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल र एसका अध्यक्ष नेपाल यी सबैमाथि पद त्यागको माग प्रत्यक्ष रूपमा उठिरहेको छ । युवाहरूको मुख्य प्रश्न दशकौंदेखि देशको नेतृत्व गर्ने यी नेताहरू किन निरन्तर असफल भइरहेका छन् भन्नेमै छ ।
‘उनीहरूले विकासको गति सुस्त, रोजगारीका अवसर घट्दै, र युवाहरू विदेश पलायन हुने अवस्थाको अन्त्यको मात्रै अपेक्षा गरेका छन् । त्यसैले अब पुस्तान्तरणसँगै राजनीतिक पुनर्जन्म अहिलेको आवश्यकता हो,’ सुवेदी भन्छन् ।
जेनजी आन्दोलनले नेताहरूको राजनीतिक पूँजी सकिएको सन्देश दिएको बेला अब पुरानो शैलीका नेताहरूको सम्मानजनक बिदाई र नयाँहरूको सुधारसहितको नेतृत्व अहिलेको आवश्यकता हो । यदि यस्तो नभए धेरैको बास इतिहासका पानामा मात्र हुने पक्का छ ।
जेनजी आन्दोलनले राजनीतिक संस्कृतिमा गहिरो चोट पुर्याएको छ । पहिलो पटक कुनै दल, कुनै विचार धाराको होइन, पुस्ताको आन्दोलनले सत्तालाई चुनौती दिएको छ । यसले नेपाली राजनीतिमा तीन नयाँ सम्भावना जन्माएको छ । पहिलो दलभित्र सुधार र पुस्ता परिवर्तन नै हो । यसले पुराना नेताहरूलाई क्रमशः सल्लाहकार भूमिकामा सीमित गरेर नयाँ पुस्तालाई अघि ल्याउने सम्भावना बढाएको छ । अर्को नयाँ राजनीतिक शक्ति उदयको सम्भावना पनि हो ।
यस्तो भएमा जेनजी आन्दोलनकै नेतृत्वमा स्वतन्त्र वा नयाँ दल गठन हुन सक्छ, जसले सहरी युवाको समर्थन पाउन सक्ने देखिन्छ । तेस्रो, घोर प्रतिगमन पनि विकल्पको रूपमा रहेको छ । यसले संवैधानिक र संस्थागत सुधार होइन, पुराना संरचनाको उदय गराउन सक्छ ।
यो आन्दोलन नेपालको दोस्रो लोकतान्त्रिक संक्रमण हो । यो पटक लोकतन्त्र बचाउन वा प्राप्तिका लागी आन्दोलन होइन, सुधार गर्नका लागि भएको हो । यसकारण दलहरूले यसलाई समय छँदै बुझ्नुपर्ने मान्यता अधिवक्ता घिमिरेको रहेको छ ।