एक महिनापछि मौनता तोड्दै देउवा, यी पाँच विषयमा दिँदै भाषण

काठमाडौं । झण्डै एक महिना लामो मौनतालाई तोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि असोज २८ गते सार्वजनिक हुँदैछन् । पछिल्लो समय पार्टीभित्र बढ्दो असन्तुष्टि, महाधिवेशनको मिति र नेतृत्व हस्तान्तरणबारे उठेका प्रश्नबीच भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा देउवाको सम्बोधन कांग्रेस भित्र निर्णायक घडीको रूपमा हेरिएको छ ।

भदौ २४ देखि देउवा सार्वजनिक कार्यक्रमहरूबाट टाढा छन् । देउवाले भोलि सम्भवतः आफ्नो जीवनकै लामो मानिएको मौनता तोड्नेछन् । पार्टीभित्रका असन्तुष्ट नेताहरूले यो मौनतालाई नेतृत्वको उदासीनता र निर्णयहीनताको प्रतीकको रूपमा चित्रण गरिरहे पनि भोलिको सम्बोधनले यही मौनताको अर्थ र दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

भदौ २४ यता न प्रेस विज्ञप्ति न कुनै पार्टीगत बैठकमा सक्रिय देउवा अब पार्टीको नीतिगत दिशाबारे बोल्न बाध्य जस्तै भएका छन् । उनको लामो मौनतालाई कतिपयले रणनीतिक मौनता भनेका छन् । देउवा निकट एक नेताका अनुसार सभापति चुप रहँदा इतर पक्षको मनोविज्ञान राम्ररी बुझेका छन् । अब उनले सन्तुलित तर निर्णायक सन्देश दिने ती नेताको भनाइ छ । 

इतर पक्षका नेताहरूले बारम्बार माग गर्दै आएको विशेष महाधिवेशन र कार्यवाहकको मागमा पनि भोलि नै देउवाले आफ्नो विचार राख्ने ती नेताले बताए । इतर पक्षका नेताहरूले भने निरन्तर महाधिवेशनको मिति तोक्न दबाव दिइरहेका छन् । उनीहरू भन्छन्, ‘अब पार्टीलाई नयाँ पुस्ताले अगाडि लैजानुपर्छ । सभापतिले कार्यवाहक तोकेर जिम्मेवारी बाँडफाँड गर्नुपर्छ ।’

तर, देउवा पक्षको तर्क भने फरक छ । देउवा पक्षीय एक नेताका अनुसार सभापति पाँचौं पटक प्रधानमन्त्री भइसकेका, अनुभव सम्पन्न नेता भएकोले उनले नै महाधिवेशनसम्म नेतृत्व दिनुपर्छ । उनी भन्छन्, ‘कार्यवाहक तोक्ने र विशेष महाधिवेशनको भ्रमबाट सबै मुक्त भए हुन्छ ।’

नेताहरूले जे भने पनि भोलिको सम्बोधनमा देउवाले कार्यवाहक तोक्ने कि नतोक्ने विषय नै कांग्रेसभित्रको मनोवैज्ञानिक सन्तुलन तौलने मापक बन्ने बताउँछन् कांग्रेस बुझ्ने विश्लेषकहरू । विश्लेषक पर्शुराम घिमिरे भन्छन्, ‘सभापति देउवाले कार्यवाहक तोके भने इतर पक्षको मागको आधा पूरा हुनेछ र पार्टीमा सहकार्यको संकेत देखिनेछ । यदि उनले मौन रहँदै जिम्मेवारी आफै सम्हाल्ने घोषणा गरे भने इतर पक्ष फेरि सडकमुखी हुनसक्ने जोखिम बढ्ने सम्भावना छ ।’

महाधिवेशन मङ्सिरमा कि फागुन पछि ?

कांग्रेसको अर्को ठूलो विवाद- महाधिवेशनको मिति हो । इतर समूह मङ्सिरमै महाधिवेशन गर्ने पक्षमा छ । इतर पक्षका एक नेता भन्छन्, ‘जनता र कार्यकर्ताको भरोसा पुनः आर्जन गर्न ढिलाइ गर्नु पार्टीका लागि नोक्सानी हो । सभापतिज्यूले आफ्नो दललाई नोक्सानीको बाटो हिँडाउनु हुन्छ जस्तो मलाई लाग्दैन ।’ 

देउवा पक्ष भने फागुनको निर्वाचनपछि मात्रै महाधिवेशन गर्न चाहन्छ । उक्त पक्षको तर्क छ– पहिले पार्टीले आमनिर्वाचनको रणनीति बनाओस्, त्यसपछि संगठनात्मक पुनर्गठन होस् ।

पार्टीभित्र धेरैलाई लागेको छ कि देउवाले फागुनपछिको प्रस्ताव अघि सार्नेछन् । यसका दुई कारण रहेको विश्लेषक घिमिरे बताउँछन् । उनका अनुसार पहिलो कारण हो– देउवा आफै सभापति रहँदै आम निर्वाचनको पूर्वतयारी सम्हाल्न चाहन्छन् जसले गर्दा उनले सम्मानजनक बर्हिगमन भएको अनुभव गर्न सक्छन् ।

घिमिरेका अनुसार दोस्रो कारण– महाधिवेशनअघि आफ्नो पक्षलाई बलियो बनाउन लाग्ने समयको व्यवस्थापन । अहिलेको जस्तो रापताप नभएको बेला महाधिवेशन गर्दा आफू निकटलाई स्थापित गर्न सकिने सोचमा देउवा रहेको हुन सक्ने घिमिरेको बुझाइ रहेको छ । तर, यस्तो निर्णयले इतर पक्षलाई थप चर्को असन्तोषको कारण दिन सक्नेतर्फ सचेत हुनुपर्ने घिमिरेको सल्लाह रहेको छ ।

पार्टीको दिशाहीनता र देउवाको चुनौती

कांग्रेस अहिले दुवैतिर असन्तुलनको अवस्थाबाट गुज्रिरहेको छ । ऊ न सत्तामा छ न त प्रतिपक्षको भूमिकामा । संविधान संशोधनदेखि आर्थिक पुनर्उत्थानका विषयमा समेत कांग्रेसको धारणा स्पष्ट छैन ।

पार्टीभित्र नीतिगत बहसको कमी, निर्णय प्रक्रियामा ढिलाइ र शीर्ष नेतृत्वको थकानले कांग्रेसको संगठन सुस्त र प्रतिक्रियात्मक बनेको विश्लेषण भइरहेको बेला देउवाको पुनरागमन केवल व्यक्तिगत उपस्थितिको कुरा होइन यो पार्टीको अस्तित्व र भविष्य देखाउने दिशाको संकेत हो ।

स्रोतहरूका अनुसार देउवाले भोलि पाँचवटा मुख्य बुँदामा केन्द्रित सन्देश दिन सक्छन् । स्रोतका अनुसार देउवाको पहिलो प्रस्तावको रूपमा एकताको आह्वान गर्दै इतर पक्षसँग संवाद र सहकार्यका लागि खुला प्रस्ताव राख्नेछन् ।

दोस्रो– महाधिवेशनको मिति निर्वाचनपछि गर्ने संकेत दिनेगरी प्रस्ताव ल्याउने छन् । युवापुस्तालाई सम्बोधन हुने गरी संगठनभित्र जिम्मेवारी बढाउने वाचा गर्ने स्रोतको दाबी छ । यो देउवाको तेस्रो प्रस्ताव हुने स्रोतले बतायो ।

सम्वोधनको अर्को बुँदा वर्तमान सरकारप्रति देउवाको पहिलो टिप्पणी हुनेछ । स्रोतका अनुसार देउवाले सरकारको निष्क्रियता र अस्थिरताप्रति आलोचना गर्नेछन् ।

पार्टीको भविष्य दृष्टिका बारेमा पनि देउवाले कांग्रेसलाई पुनः अग्रस्थानमा ल्याउने नारा सहित आफ्नो मन्तव्य समापन गर्ने स्रोतले बतायो । यदि देउवाले यी विषयहरू सन्तुलित भाषामा प्रस्तुत गरे भने पार्टीभित्र तातो रगत शान्त पार्ने सम्भावना रहेको घिमिरेको अनुमान रहेको छ । तर यदि उनले अस्पष्ट र ढिलो निर्णयका संकेत दिए भने इतर पक्षले त्यसलाई आफ्नो आन्दोलनको औचित्यका रूपमा प्रयोग गर्ने आसय घिमिरेको रहेको छ ।

राजनीतिक विश्लेषकहरूको भनाइमा देउवा अहिले समयसँगको दौडमा छन् । पछिल्लो दश वर्षदेखि सभापतिको जिम्मेवारी सम्हाल्दै आएका उनले संगठन सुदृढ बनाउनुभन्दा सन्तुलन कायम राख्नमा बढी ऊर्जा खर्चेका छन् ।

अब पार्टीभित्र पुस्तान्तरणको लहर उठ्दैछ, जसलाई रोक्न देउवालाई कठिन हुँदै गएको छ । पार्टीको इतर पक्षका नेताहरू भविष्यका लागि मात्र होइन, वर्तमान निर्णय प्रक्रियामा पनि समान स्थान खोज्दैछन् ।

देउवाको रणनीति प्रष्ट छ– पार्टी आफ्नो नियन्त्रणमा राख्दै, सहमतिको भाषामा समय तान्ने । तर यतिबेला समय उनको पक्षमा छैन । देश राजनीतिक संक्रमणको नयाँ चरणमा छ । युवापुस्ता पुरानो नेतृत्वलाई राजनीतिक जिम्मेवारीको हिसाब माग्दैछ ।

यदि देउवाले भोलि कार्यवाहक सभापति तोक्ने साहस देखाए भने त्यो उनको दीर्घ राजनीतिक यात्राको सबैभन्दा परिपक्व निर्णय ठहरिने घिमिरेको मत छ । घिमिरेका अनुसार उनले फेरि समिति गठन गर्ने वा अर्को बैठकमा निर्णय गर्ने शैली दोहोर्याए भने कांग्रेसभित्रको असन्तोष अब स्थायी विद्रोहमा रूपान्तरण हुनसक्छ । 

असोज २८ ले केवल देउवाको मौनता अन्त्य गर्दैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशाको आधार तय गर्नेछ । उनले बोलेका शब्दहरू, अपनाएको स्वर र दिएको संकेतले पार्टीभित्रका समीकरण, युवा पुस्ताको प्रतिक्रिया र वर्तमान राजनीतिमा समेत प्रभाव पार्ने बताउँछन् कांग्रेसका नेताहरू । 

घिमिरेका अनुसार देउवाका लागि यो केवल राजनीतिक कमब्याक मोमेन्ट मात्रै होइन, यो उनको नेतृत्वको अन्तिम परीक्षा पनि हो । उनले समयसँग सन्तुलन मिलाए भने कांग्रेस फेरि एकीकृत हुन सक्छ । तर, समयलाई थाम्न खोजे भने त्यो पार्टीका लागि सबैभन्दा महँगो मौनता बन्न सक्छ ।

Share News