दिनेश प्रसाईं : दुई होटलका मालिक, त्रिविका ‘भिजिटिङ फ्याकल्टी’

सबै क्षेत्रका विज्ञको पार्टी बनाउने

काठमाडौं । दुई वर्षको व्यापक तयारीपछि ‘गतिशील लोकतान्त्रिक पार्टी’  निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले बिहीबार दर्ता प्रमाणपत्र लिएर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाइसकेको छ । 

पार्टीले आफ्नो राजनीतिक दस्तावेज सार्वजनिक गर्दै पार्टीको उद्देश्य र लक्ष्य तय गरेको छ । सुशासन, उद्यमशीलता र समतालाई मुख्य उद्देश्य राखेर दर्ता भएको पार्टीको अध्यक्ष भने दिनेश प्रसाईं बनेका छन् । पार्टीको महासचिव पीयूष कायस्थ र सदस्य वीरेन्द्रबहादुर बस्नेत बनेका छन् । 

निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता भएसँगै यसको नेतृत्वको विषयमा पनि धेरैको चासो बढेको छ । पार्टीका अध्यक्ष प्रसाईं एक पर्यटन व्यवसायी हुन् । उनी विगत १५ वर्षदेखि होटल व्यवसायमा आबद्ध रहेको बताउँछन् । 

उनले चन्द्रागिरिको मातातीर्थमा ‘जंगल महल वेलनेस रिसोर्ट’ सञ्चालन गरिरहेका छन् भने पोखरामा पनि होटल ‘जल महल’  सञ्चालन गर्दै आएका छन् । 

‘म विगत १५ वर्षदेखि पर्यटन व्यवसायमा छु, पर्यटन क्षेत्रको मसँग राम्रो अनुभव छ,’ प्रसाईंले विकासन्युजसँग भने । 

प्रसाईंको घर मन्थली नगरपालिका रामेछाप हो । अध्यक्ष प्रसाईं र बस्नेतले बुढानीलकण्ठ स्कुलमा अध्ययन गरेका थिए । उनीहरू सानैदेखिको साथी हुन् । 

प्रसाईंले मातातीर्थमा करिब १६ रोपनी क्षेत्रफलमा होटल सञ्चालन गर्दै आएका छन् । उनका अनुसार झन्डै ७० करोड रूपैयाँ लगानीमा उनले सो रिसोर्ट सञ्चालनमा ल्याएका थिए ।

त्यसका अलावा प्रसाईं त्रिभुवन विश्वविद्यालयको राजनीति तथा समाजशास्त्र विषयमा भिजिङ फ्याकल्टी पनि हुन् । विगत १२ वर्षदेखि एमफील र पिएचडीका विद्यार्थीलाई पढाउँदै आएको जानकारी दिए । उनले समाजशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । 

प्रसाईंले विगत दुई वर्षदेखि पार्टी निर्माणको तयारी गरेको सुनाए । ‘हामीले विगत दुई वर्षदेखि तयारी गरेका थियौं, धेरै अनुभवी साथीहरू पार्टीमा जोडिनु भएको छ, धेरै जोडिने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो पार्टी सबै क्षेत्रको अनुभवी र विज्ञहरूको पार्टी बन्छ ।’

उनले अहिले निर्वाचन आयोगले दिएको समयसीमाभित्र रहेर पार्टी दर्ता गर्नु पर्ने भएकोले दर्ता गरेको र एक महिनापछि सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको सार्वजनिक गरिने बताए । 

‘सुशासन कायम गर्ने, उद्यमशीलता र समता हाम्रो पार्टीको मुख्य ध्येय हो, धेरै व्यवसायी तथा अनुभवी विज्ञहरू हाम्रो पार्टीमा अटाउनु हुन्छ,’ उनले भने ।

प्रसाईंका अनुसार पार्टीका पदाधिकारी पार्टीको काममा मात्र केन्द्रित रहने र अरू चुनावी प्रतिस्पर्धामा जाने योजना बनाइएको छ । पदाधिकारी चुनाव लड्ने परिस्थितिमा ६ महिनाअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको उनको भनाइ छ । 

पार्टीमा अहिलेसम्म एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ । अहिले पार्टीको महासचिव पीयूष कायस्थ छन् । कायस्थ कृषिविज्ञ हुन् । उनले पूर्वी नेपालमा किसानसँग मिलेर कृषिलाई कसरी यान्त्रिकिकरणसँग जोड्ने भनेर काम गर्दै आइरहेका छन् । सदस्य बस्नेत बुद्ध एयरका मालिक हुन् । 

अध्यक्ष प्रसाईंले गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वर्तमान दलहरूबाट अलग रूपमा प्रस्तुत गर्दै व्यवसाय, शैक्षिक विचार र सामाजिक उत्तरदायित्वको समीश्रण भएको नयाँ शक्ति को रूपमा देखाउने दाबी गरे । उनले अब व्यवसाय परिवारको जिम्मेवारीमा छोडेर पूर्ण रूपमा राजनीतिमा लाग्ने बताएका छन् ।

बुद्ध एयरका मालिकले खोले नयाँ पार्टी, अध्यक्ष बने प्रसाईं

Share News