कात्तिक १६ गते माओवादी र एकीकृत समाजवादीबीच एकता हुने, पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’

महाधिवेशनको सट्टा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपालको वाम राजनीति फेरि एक निर्णायक मोडमा प्रवेश गर्न लागेको छ । लामो समयदेखि छलफल र आन्तरिक समायोजनको प्रक्रियामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच अन्ततः पार्टी एकताको मिति टुंगो लागेको छ । दुवै पार्टीका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार कार्तिक १६ गते एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि निरन्तर संवादमा छन् । ती संवाद र पार्टीभित्रका आन्तरिक छलफलपछि एकता घोषणा गर्ने सहमति बनेको एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ । 

केन्द्रीय कमिटीको बैठक निर्णायक बन्ने

बुधबार बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सहमति अनुमोदन गर्ने तयारी रहेको छ । त्यसपछि औपचारिक रुपमा दुवै पार्टीबीचको एकता घोषणाको बाटो खुल्नेछ । 

बैठकले सहमति अनुमोदन गरेपछि नयाँ पार्टीको घोषणा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त कार्यक्रममा गरिने तयारी गरीएको एक नेताले बताए । 
नेकपा एसका एक नेताका अनुसार नेतृत्व तहमा मिति, नाम र संरचना विषयमा सहमति भइसकेको छ, अब केवल औपचारिक स्वीकृति र घोषणा मात्र बाँकी छ ।

नयाँ दलको नाम नेकपा समाजवादी केन्द्र 

स्रोतका अनुसार नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने सहमति बनेको छ । नाममा नेकपा शब्दलाई अगाडि राखेर वामपन्थी एकताको ऐतिहासिक निरन्तरताको सन्देश दिने र समाजवादी शब्दमार्फत वैचारिक स्पष्टता प्रकट गर्ने निर्णय गरिएको बताइएको छ ।

पार्टीको झण्डा, चुनाव चिन्हक र संगठनात्मक ढाँचा विषयमा पनि प्रारम्भिक सहमति भएको छ । दुवै पार्टीका संगठनहरूलाई मिलाएर नयाँ संरचना बनाइने र केन्द्रदेखि स्थानीय तहसम्म संयुक्त संयोजन समितिहरू गठन गर्ने तयारी चलिरहेको छ ।

नयाँ पार्टी दर्ता गर्ने तयारी

पार्टी एकता घोषणापछि नयाँ दललाई निर्वाचन आयोगमा दर्ता गर्ने तयारी पनि दुबै पार्टीले अघि बढाएका छन् । दर्ता प्रक्रियालाई सहज बनाउन कानुनी पक्ष, विधान र आवश्यक दस्तावेज तयारीको काम लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।

एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘एकता घोषणा भएपछि हामी तुरुन्त आयोगमा दर्ता प्रक्रिया थाल्छौं । यसपटक एकता केवल घोषणामा सीमित हुने छैन, संस्थागत रूपमा लागू हुनेछ ।’

महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन

दुवै पार्टीले महाधिवेशन गर्ने तयारी भने तत्कालका लागि स्थगित गरेका छन् । स्रोतका अनुसार नयाँ पार्टीले महाधिवेशनका लागि प्रर्याप्त तयारी नपुगेको भन्दै अस्थायी रूपमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको ती नेताले बताए ।

प्रारम्भिक योजना अनुसार कार्तिक मसान्तसम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने तयारी छ ।

‘यदि अन्य राजनीतिक परिस्थिति स्थिर रह्यो भने कार्तिक २८ र २९ गते नयाँ दलको राष्ट्रिय सम्मेलन गर्ने तयारी छ,’ ती नेताले भने । त्यो सम्मेलनले पार्टीको नाम, विधान, नेतृत्व र नीति कार्यक्रमलाई अनुमोदन गर्नेछ ।

Share News