पैसाको पुस्ता : जेनजेडलाई पनि थाहा होस् !

बैंकका बारेमा मेरो मनमा बाल्यकालमै एउटा चित्र बसेको छ जुन आजपर्यन्त ताजा छ । बिहान सबेरै घरबाट बैंक हिँडेका बुवा तीन घण्टा टाढाको राजापुर बजार पुगेर दिनभर लाइनमा बस्थे । फर्किँदा अघिअघि झमक्क साँझ अनि पछिपछि लखतरान थाकेका बुवा हुन्थे । 

पैसा राख्ने वा झिक्ने कारोबार गर्दाको दैनिकी सधैं यस्तै हुन्थ्यो । कर गरीगरी बुवासँगै राजापुर गएका बेला मैले दिनभर कृषि विकास बैंकको शाखा अगाडिको ठूलो आँप रुखको छाँयामा निरस समय गुजारेको बिर्सेको छैन । बैंक धाउँदाको दुःख बुवालाई थियो । तर, त्यो झन्झट र दिनभरको प्रतीक्षाले म कहालिन्थें ।  

हुन त त्यतिबेला बैंकमा खाता खोल्ने कुरा नै सबैको वशमा थिएन । सायद सचेतना वा आवश्यकता पनि थिएन । धेरैको बचत गर्ने अवस्था थिएन । बैंकको महत्त्व र सुविधाको ज्ञान पनि थिएन । कारोबार बाक्लो हुने सहरमा मात्र बैंकका शाखा हुन्थे । गाउँका मानिसले बैंकमा खाता खोलिहाले पनि पैसा राख्न वा झिक्न बुवाले जस्तै दिनभरको समय छुट्याउनु पर्थ्यो । झमेला बिसाउनु पर्थ्यो । 

बर्दियाको गोलास्थित खोनपुर गाउँको हाम्रो घरमा एउटा सानो पसल थियो । पसल सानै भए पनि त्यस बेला गाउँका लागि त्यो सहरतिरको सानोतिनो भाटभटेनीजस्तै हुन्थ्यो । परिणाम कम भए पनि कपडादेखि चप्पलसम्म, बिस्कुटदेखि चकलेटसम्म र महिलाले कपाल बाट्ने डोरीदेखि टुकी बाल्ने मट्टीतेलसम्म पाइन्थ्यो । पसल भएकाले रुपैयाँ–पैसाको कारोबार हुने नै भयो । त्यसमाथि नगदे तथा अन्नबाली, कुखुरा, फलफूल आदि बेचविखनको आम्दानी पनि बुवाको हातमा हुन्थ्यो । गाउँमा सरसापट आदिमा पैसा ओहोरदोहोर भए पनि सायद बचत हुँदो हो, त्यसैले बैंकमा बुवाको खाता थियो । 

त्यसबेला पैसा बोकेर तिरनतारन गर्न जानु झन् महाभारत थियो । विसं २०५० साल आसपासको एक दिन मेरा काकाको कामको सन्दर्भमा नगद १० हजार रूपैयाँ बोकेर बर्दियाको गोलाबाट नेपालगन्ज जानु परेको थियो । घरदेखि करिब २ घण्टाको साइकल यात्रा गरी कर्णाली नदीको कोठियाघाटमा डुङ्गा तरेपछि नेपालगन्जको बस समाउन सकिन्थ्यो । तिनताका कोठियाघाटको पूर्वी किनाराबाट बस लाग्थे । बाटो कच्ची थियो अनि कोचाकोच मान्छे ओसार्न पाइलैपिच्छे रोक्दैगुड्दै गर्नाले पूरै दिन लाग्थ्यो नेपालगन्ज पुग्न । 

पार्टपुर्जा बज्ने थोत्रो गाडीभित्रको अटेसमटेस भीडमा एक्लै भए पनि टिनएज उमेरको मेरा लागि त्यसबेलाको यात्रा रोमाञ्चक थियो । किनभने गाउँमा बस्ने त्यसमाथि विद्यार्थीलाई सितिमिति बस चढ्ने मौका अघिपछि पाउने कुरै भएन । नेपालगञ्जको रमझम देख्न पाइने यादले आतुर मनको बीचमा त्यो नगद रुपैयाँ आइरहन्थ्यो । अनि मनको उमङ्गमा पानी फेरिरहन्थ्यो । जिन्स पेन्टको खल्तीको त्यो रूपैयाँ कता हराउने हो वा चोरिने हो भनेर मन ढुकढुक हुन्थ्यो । डराउँदै, सम्हालिँदै दिनभरको यात्राभर कैयौं पटक झसङ्ग हुँदै पकेट छाम्दै म नेपालगन्ज पुगेको थिएँ । अहिले सम्झिँदा अनौठो लाग्छ ।  

विसं २०५४ सालमा पत्रकारिता पढ्न काठमाडौं छिरेपछि पुतलीसडक भएर ओहोरदोहोर गर्दा बैंक अफ काठमाडौं, इन्भेष्टमेन्ट बैंक लगायतका आकर्षक सजावटका बैंकहरू देख्थें । मनमा लाग्थ्यो, यस्तो बैंकमा खाता खोल्न पाए पैसै नभए पनि ‘पैसावाल फिल’ आउँदो हो ! पत्रकारिता गर्दै आइएदेखि एमए पढ्दासम्म खाता खोल्ने हैसियत जुरेन । महिना पुग्न केही महिना बित्नु पर्ने अनि त्यही पनि नगद पैसामा तलब आउने भएकाले बैंक खाताको खाँचो पनि परेन । 

माघ १९, २०६१ को तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘सत्ता कू’ले देशभरका लागि रेडियो पत्रिका कायाकैरन र नेपाल दर्पण उत्पादन गर्ने कम्युनिकेशन कर्नरमा कार्यरत हामी रेडियोकर्मीहरूको जागिर हल्लियो । रेडियोमा समाचार बन्देज गरी समाचार कक्षमा सेनाको तैनाथी भयो । पत्रकार महासंघको आह्वानमा भएको प्रदर्शनमा सहभागी हुँदा एक रात र एक दिन प्रहरी थुनामा पर्नुपर्यो । यसैबीचमा एउटा भ्रष्टाचार विरोधी परियोजनामा सञ्चार अधिकृतको जागिर खुल्यो अनि त्यसमा म छानिएपछि २०६२ साउनमा काठमाडौं पनि छोड्नु पर्यो र पहिलो बैंक खाता खोल्ने शौभाग्य मिल्यो । 

तलबी खाताका रूपमा एनबी बैंक (तत्कालीन नेपाल बंगलदेश बैंक)मा जीवनको पहिलो बैंक खाता खुलेपछि पुतलीसडकतिर बरालिँदा दिउँसै देख्ने ‘पैसावाल फिलिङ्गस’को एउटा केटाकेटी सपना पनि पूरा भयो । त्यो बैंक ओरालो लागेपछि मैले जीवनको पहिलो त्यो खाता बन्द नै गरिदिएको थिएँ । पछि त्यो बैंक नबिल बैंकमा विलय भयो । 

परियोजनामा जोडिएको केही समयपछि कलेजमा पत्रकारिता पढाउन थालें । पढाएको तलब बुझ्न एनआईसी बैंकमा अर्को खाता खोल्नु पर्यो । अनि विसं २०६३ साल तिर एक दिन त यस्तो पनि आयो, इन्भेस्टमेन्ट बैंक कार्यालयमै आएर १ रूपैयाँमै सबै कर्मचारीका खाता खोलेर गयो । निःशुल्क एटीएम कार्डसमेत थमाइ दियो । सायद यसपछि बैंक खाता आम मानिसको गच्छेमा पनि आयो ।  

६० को दशक अघिसम्म बैंक खाता नभएकाहरूका लागि पैसा पठाउन र पाउन निकै सकस थियो । काठमाडौंमा पढ्दाको सुरुवातमा पैसाको खाँचो हुँदा निकै दुःख पाइन्थ्यो । आउनेबित्तिकै वरिष्ठ पत्रकार हरि लम्सालको सिफारिसमा एउटा साप्ताहिक पत्रिकामा काम सुरु गरेपछि कामको खाँचो कहिल्यै परेन । तर, पैसा कहिल्यै समयमा नआउने । साथी सर्कल पनि सबै आफूजस्तै भएपछि सरसापट पनि कोसँग माग्नु ? आफन्त सिला खोजे पनि नभेटिने युग थियो । विद्यार्थी भनेपछि नजिकका पसलेले उधारो पनि नपत्याउने, स्टोभ बाल्ने एक रुपैयाँको सलाई समेत उधारो नपाइने । पैसा सकियो भने कोही आउने मान्छे खोज्दा खोज्दै महिनौं लाग्थो गाउँतिर । एक केजी चामल किन्ने पैसा समेत नभएर रुँदै भोकै रात काट्नु परेका याद ऊर्जाशील सम्झनाका रूपमा मनमा गढेका छन् । 

पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ । 

पैसा मगाउन कि घरबाटै कोही आउनु पर्दथ्यो कि कोही आफन्त काठमाडौं आउने संयोग जुर्नु पर्दथ्यो । पत्रकारिताको काम गर्दै अनि पढ्दै पनि रहेकाले सामान्य खर्च टरिहाल्थ्यो । फोनलाइन जोड्ने, ग्यास जोड्ने, कम्प्युटर किन्ने जस्ता अलि एकमुष्ट ठूलो रकम लाग्ने खर्चका लागि परिवारकै भर पर्नु पर्ने स्थिति हुन्थ्यो । अलिअलि स्वाभिमान अलिअलि घमण्डले पनि दुःख बेसाइदिन्थ्यो । तर, सम्झी ल्याउँदा त्यसबेलाको संघर्षले धेरै सिकायो अनि यो समाजमा गरिखान सक्ने गरी टिक्ने बनायो सायद । पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ । 

आजको जस्तो मोबाइलबाट तुरुन्तै पैसा पठाउने पाउने सुविधा थिएन । पैसोको खास महत्त्व पनि अभावमै अनुभूत हुँदो रहेछ । आज पनि मलाई सम्झना आउँछ – पहिलो तलबको । मैले विसं २०५५ सालको जेठ/असारतिर तलबको खाम हात पारेको थिएँ । मेरो जीवनको पहिलो कमाइ । पत्रकारिताको पहिलो आर्जन । शौचालय छिरेर फटाफट खाम खोलेको थिएँ । त्यसमा एक हजार रूपैयाँको एउटा नोट थियो । त्यो नोट मास्न मलाई साह्रै गाह्रो भयो । मैले त्यो नोट सम्हाली राखेको थिएँ । पहिलो कमाइको साह्रै माया लागेर सकभर त्यो नोट नभजाउने अठोटमा थिएँ । जसोतसो गुजारा चलिरहेको थियो । कुपण्डोलको बीचतिर क्याम्पेन कलेज पछाडि डेरा थियो । प्रायः शनिबार बर्दियाको पशुपतिनगरमा रहेको हाम्रो घरदेखि झण्डै ४५ मिनेट टाढाको पीसीओबाट सँगैको कोठामा डेरागरी बस्नेहरूले जोडेको फोनमा बुवाको फोन आउँथ्यो । कल छुटे बाहिर गएर फोन फर्काउँथें । मिनेटको १५ रुपैयाँ लाग्ने फोन शनिबार आधा छुट हुन्थ्यो ।  

एक दिन बुवाको फोन कल छुट्यो । फोन फर्काउन पसलतिर गएँ । म सँग त्यही १ हजारको नोट र अर्को एउटा १० रुपैयाँको नोट थियो । बुवा उता भए कलब्याक गर्न भनिहाल्छु, बुवा नभए त्यही १० रुपैयाँको एक कलले नै पुगी हाल्छ, हजारको नोट भजाउन्न भन्ने जुक्तिमा थिएँ । पीसीओवाला सामान्य जिनजानकै थिए, उनले मेरो फोन उठाउँदै एकछिन होल्डमा बस है म हेर्छु भने । मैले सोचेछु, फोन टेबलमा राखेर बुवा खोज्न वरपर हेर्न गए, समय कटेर १० रुपैयाँको नोटले नपुग्ने भो, हजार रुपैयाँ भजिने भो भन्ने रन्कोले टीनएजर मेरो मुखबाट फुत्त फुत्किहाल्यो– ‘माँटोक्ने फोन होल्डमा राख्दियो यार !’

तुरुन्त सम्हालिएर सोचेँ, ओ...ह..सुन्यो होला यार त्यसले । अनि फेरि मुखबाट फुत्किहाल्यो– ‘ला...माँ टोक्ने भनेँ, सुन्यो होला यार... माँ टोक्नेले ।’

अनायासै तीनपल्ट आमाचकारी गाली कानमा ठोक्किए पनि उताबाट शान्त जवाफ आयो, ‘सुने पनि माइण्ड गर्दैन भाइ, बुवा यता देखिनु भएन । फर्किसक्नु भयो सायद ।’

पीसीओवाला दाइको यो जवाफले म मरेतुल्य लजाएँ । सरी दाइ भन्दै फोन राखेँ । त्यो हजार रुपैयाँ जोगिएको खुसीमा आफ्नो गल्तीमा खासै ध्यान दिइनँ र पसलबाट टाप कसेँ । तर, पछि सम्झेर मन पोल्दै गएको थियो, केही वर्षपछि ती दाइ गम्भीर बिरामी भएर नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको थाहा पाएँ, अनि केही थान पुस्तक र फलफूलसहित भेटेर माफी मागेपछि मात्र मैले आफूलाई माफी पाएको महसुस गरेको थिएँ । घरबाट पैसा सजिलै नपाउँदा आफ्नो पहिलो कमाई त्यो १ हजार रुपैयाँको नोटको माया झन् बढेको थियो । त्यही मायाले सिर्जेको त्यो अवोध उदण्डता सम्झेर अहिले पनि हाँसोको खित्का र लाजको धर्सो सँगै आउँछ मनमा। 

बुवा पुस्ताका कुरा अहिले दन्तेकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनि भएका सबै गरगहना तथा कासका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुश्किल लाग्छ।

ती स्मृतिहरू, ती अनुभवहरू, आजको डिजिटल बैंकिङ र रेमिटेन्सको युगमा अझै सजीव लाग्छन् । देशविदेशबाट अहिले पैसा पठाउन र पाउन कुनै डर र सकस छैन । छिनभरमै सबै सुविधा छ । अचेल पैसाका लागि बैंक जानै पर्दैन । मोबाइलमै बैंक आउँछ । मोबाइलबाटै सबथोक आउँछ । मेरा पत्रकार तथा साहित्यकार साथी पदम गौतम युरोपबाट नेपाल आएका बेला गत वर्ष भन्थे, ‘नेपालको डिजिटल बैंकिङ यति सहज भएछ कि पान पसलमा पनि क्यूआर गर्न पाइने रहेछ । कतिपय कुरामा त युरोपभन्दा पनि सजिलो लाग्यो ।’

वास्तवमा अहिलेको मोबाइल बैंकिङले हाम्रो जीवनशैली नै बदलिदिएको छ– तरकारी पसलमा समेत क्युआर स्क्यान सुविधा छ । पानी, बत्तीको महसुल बुझाउन लाइन बस्नु पर्दैन । बालबच्चाको स्कुल फि पनि मोबाइलबाटै तिर्न सकिन्छ । थिएटर, केबलकार, जहाज, गाडीका टिकट लिन पनि लाइन बस्ने बाध्यता टरेको छ ।

कामकाजीहरुको तलब पाउन अनि पठाउन पनि अब डिजिटल डिभाइसबाटै सम्भव भएको छ । यस्तो भएको छ कि कारोबारका लागि इन्टरनेट र स्मार्ट मोबाइल फोन मिसिएर यो सुविधा एउटा जादुको छडी जस्तो भएको छ । अब ‘स्मार्टफोन वा कम्प्युटर’ नै सानो बैंक जस्तै भएको छ ।

बुवापुस्ताका कुरा अहिले दन्त्यकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनी भएका सबै गरगहना तथा काँसका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुस्किल लाग्छ । डेढ साताको पैदल यात्राका क्रममा बास बस्नुअघि आसपासमा मान्छे नपुग्ने जमीनमा खाल्टो खनेर गाड्दै बिहान फेरी खोतलेर पोको पार्दै सुरक्षित रुपमा धन ओसारेको झण्डै ४५ वर्ष अघिको त्यो पैसाको सनसनीपूर्ण पैदल यात्राका बारेमा छुट्टै लेख्नेछु । 

बैंक नहुँदा वा बैंकमा पहुँच नहुँदा बुवा पुस्ताले भोगेको त्यो कष्ट र अहिलेको पुस्ताले पाएको यो सहज कारोबारी जीवनबीचको फरक छाम्न घोत्लिने हो भने चमत्कारी परिवर्तन लाग्छ । अहिले प्रविधिले विदेशदेखि देशको गाउँसम्म बैंकिङ सेवा जोडेको छ । बैंकको प्रविधि गति समातेर चल्न सके, साथीभाई वा आफन्तसँग ‘एक दुई हजार सापटी दे न’ भन्नै पर्दैन । डिजिटल बैंकिङ, क्रेडिट सुविधा, मोबाइल वालेटहरूले पैसाको प्रबन्ध सजिलो मात्र बनाएका छैनन्, हाम्रो आत्मसम्मानमा पनि टेको दिन थालेका छन् । 

पङ्तिकारका निजी वा पारिवारिक सन्दर्भको पृष्ठभूमि भए पनि यो बेबी बूमर र जेनेरेशन एक्स पुस्ताको अनुभव त्यसपछिको जेनेरेशन वाइ, जेड र अल्फा हुँदै आउने पुस्ताले पनि थाहा पाउन जरुरी छ । बुवाहरूको पालामा जस्तो घण्टौं टाढा पुगेर पनि उसै गरी लाइन बस्नु पर्ने दुरके सितारा जस्ता बैंक अब हाम्रो हातको मोबाइलको पर्दा भित्र हाम्रै वशमा छ । बस, नचाउन जान्नु पर्यो । खासमा अब नगद पनि जरुरी हुन छाडेको छ । लगभग सबैतिर नगद बिनै कारोबार सहज भैसकेको छ । बस इन्टरनेटको पहुँच चाहियो । पारदर्शी, सुरक्षित अनि नहराउने डर, न चोरी होला भन्ने पीर ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा देशभर १ सय ७ बैंक तथा वित्तिय संस्थामार्फत सेवा प्रवाह भैरहेको छ । नेपालका सबै स्थानीय तहमा बैंकका शाखा खुलेका छन् भने देशको कुल ६० प्रतिशत जनसंख्या बैंक सेवा र ९० प्रतिशत बढी जनसंख्या इन्टरनेट सेवाको पहुँचमा छ । यो दिनप्रति झन् झन् सहज र विस्तारित हुँदै गएको छ । 

Share News