‘नगरवासीलाई ५ लाख रुपैयाँको निःशुल्क स्वास्थ्य सेवा दिँदैछौं’ {अन्तर्वार्ता}

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिकालाई उत्कृष्ट नगरको रुपमा घोषणा गर्यो । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवा सुविधामा उत्कृष्ट बन्यो । अघिल्लो वर्ष पनि गोकर्णेश्वर नै प्रथम बनेको थियो । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र अपनाएका विधिलगायत विषयमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालसँग विकासन्युजका लागि वविता तामाङले कुराकानी गरेकी छन् । 
 
गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवामा काठमाडौं जिल्लाकै उत्कृष्ट घोषणा भएको छ । यो सफलता कसरी सम्भव भयो ? 

स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय हो । यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिनको लागि हामी थप उत्साहित भएका छौं । स्वास्थ्य क्षेत्रमा नगरबासीलाई निरन्तर दिँदै आएको नि:शुल्क, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाले नै हामीलाई यो सफलता दिलाएको हो । यसभन्दा अघि पनि हामी उत्कृष्ट भएका थियौं । हामीले दिने स्वास्थ्य सेवा डिजिटल र नि:शुल्क छ । स्वास्थ्य क्षेत्रमा नगरबासीलाई दिने सेवाहरूले नै हामी उत्कृष्ट भएका हौं । 

नगरपालिकाले सञ्चालनमा ल्याएका प्रमुख स्वास्थ्य कार्यक्रमहरू के-के हुन् ? 

विगतदेखि नै हाम्रो उद्देश्य उत्कृष्ट र निःशुल्क स्वास्थ्य सेवा दिऔं भन्ने नै थियो । त्यही उद्देश्यअनुसार जब हामी जनप्रतिनिधि भएर आयौँ, त्यसलाई प्राथमिकतामा दिएर काम गरिरहेका छौं । हामीले गोकर्णेश्वर महादेवको मन्दिर भन्दा माथि रहेको नगर स्वास्थ्य अस्पताललाई थप व्यवस्थित बनायौँ । त्यहाँ ल्याबदेखि, भिडियो एक्सरेलगायत सम्पूर्ण सेवालाई उत्कृष्ट बनायौं । पहिले त्यहाँ डाक्टर थिएन । अहिले विशेषज्ञ डाक्टर मात्रै २५ जना हुनुहुन्छ ।

नगरवासीलाई स्वास्थ्य सेवा दिनको लागि त्यो ठाउँ सानो भएको हुँदा हामीले तत्कालको लागि त्यसैको पछाडि २ करोडको भवन बनायौं, अहिले त्यहीबाट स्वास्थ्य सेवा दिइरहेका छौँ । त्यो भवनबाट हामीले इमरेजेन्सीदेखि  सबै सेवा दिइरहेका छौं । वार्डको पनि व्यवस्था छ । अर्को १६ रोपनी जग्गामा ३० करोडको नगर अस्पताल निर्माण हुँदैछ । ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि नगरबासीले अझ सहज र सरल ढंगबाट स्वास्थ्य सेवा लिन पाउनुहुनेछ । अहिले हामीले १५ वटा कोठाबाट सेवा दिइरहेका छौं, छिट्टै नै १८० वटा कोठाबाट सेवा दिन हामी सक्षम हुनेछौं । नगर अस्पताल बनिसकेपछि यहाँका नगरवासीले मात्रै नभएर अन्य जिल्ला र पालिकाका बिरामीलाई  पनि सरल र सुखद सेवा दिन सक्नेछौं । 

नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने नै हाम्रो प्रमुख उद्देश्य हो । ४५ हजारको नगरपालिकाले नै स्वास्थ्य बीमा गर्दिन्छ । त्यसको लागि स्थानीय नागरिक खुल्ने नागरिकता र २ वटा फोटो ल्याएपछि हामी बीमा गरिदिन्छौं । निशुल्क स्वास्थ्य बीमा गरेपछि अस्पतालमा चाप बढ्न थाल्यो । अहिले ७ सय देखि ९ सयसम्म दैनिक ओपीडी सेवा दिइरहेका छौं । 

हामीले नगरवासीलाई करिब पाँच लाख रुपैयाँ बराबरको निःशुल्क उपचार दिने उद्देश्य राखेका छौं । त्यो व्यवस्थापन गर्न हामी सक्षम छौं । कसैले कसरी सक्नुहुन्छ भनेर प्रश्न पनि गर्नुहुन्छ तर हामी सक्छौं । 

दैनिक यति धेरै नागरिक उपचारको लागि आउँछन् भन्नुभयो, कसरी व्यवस्थापन गर्नुहुन्छ, स्वास्थ्यकर्मीहरू पर्याप्त छन् ?

पहिले धेरै भीड हुन्थ्यो । सात बजे ओपिडी सुरु हुनेमा बिहान ३ बजेदेखि लाइन बस्न आउनुहुन्थ्यो । डाक्टरको अभाव भएपछि हामीले थप्यौं, काउन्टर पनि थप्यौं । अहिले त्यो समस्या छैन । विरामीलाई डाक्टर भेट्न पनि समस्या छैन । हामीले ९ जना डाक्टर थपेका छौं । बिरामीले सहजसँग सेवा लिएर जान सकिन्छ । हामीसँग वार्ड छ तर आइसीयू, भेन्टिलेटर, अप्रेसनको सुविधा यहाँ छैन । त्यसको लागि हामीले नजिकका अस्पतालहरूसँग सम्झौता गरका छौँ । हालसम्म हामीले सात वटा अस्पतालहरूसँग सम्झौता गरिसकेका छौं । नेपाल मेडिकल कलेजसँग सम्झौता गरेकाा छौं । त्यहाँबाट यहाँका नगरबासीले २ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार पाउनुहुन्छ । त्यसमा बीमा गर्नेलाई ८० प्रतिशतसम्म छुट छ । आईसीयूमा राख्नुपर्दा होस् वा अप्रेसन गर्दा २ लाख रुपैयाँको निःशुल्क स्वास्थ्य सेवा लिन सक्नुहुन्छ ।

जोरपाटीको शंकरापुर अस्पतालमा हाम्रा नगरवासीले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार पाउनुहुन्छ । अर्को नेपाल अर्थोपेडिक अस्पताल छ । त्यहाँबाट पनि नगरबासीले एक लाख रुपैयाँको निःशुल्क स्वास्थ्य सेवा पाउनु हुन्छ । बेड चार्ज लाग्दैन, अप्रेसन चार्ज लाग्दैन, औषधीको थोरै लाग्छ । गंगलाल अस्पतालसँग पनि हाम्रो सम्झौता छ । हामीले त्यहाँ उपचार गराउने यहाँको नागरिकलाई नगरपालिकाबाट ५० हजार दिन्छौं । २ लाख रुपैयाँको बीमा गरी साढे २ लाखको निःशुल्क उपचार पाउँछन् । अझ विपन्न नागरिकले करिब साढे चार लाख रुपैयाँ बराबरको उपचार दिने गरी हामीले सम्झौता गरेका छौं । यस बाहेक उपत्यका बाहिर जाँदा पनि उहाँहरूले एक लाख रुपैयाँको निःशुल्क उपचार पाउनुहुन्छ । स्वास्थ्य सेवामा यहाँका नागरिक निकै सन्तुष्टि हुनुहुन्छ ।

null

यसबाहेक नगरपालिको दिइरहेका अन्य स्वास्थ्य सेवा सुविधाहरू के-के छन् ?

नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएका छौं । सकेसम्म कोही पनि नगरबासी बिरामी नहोस् भन्ने हाम्रो कामना हो । त्यसकारण उहाँहरूलाई योग गराउँछौँ । नगरपालिकालाई हामीले योग नगरसमेत घोषणा गरिसकेका छौं । ठाउँ ठाउँमा पार्क, आउट जिम छ । ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।

बिरामी भइहाल्यो या रोग लागिहाल्यो भनेपनि नगरबासीले निःशुल्क स्वास्थ्य सेवा दिऊँ भन्ने नै छ । हामीले यहाँका धेरै नागरिकमा क्यान्सर भेटिएको हुँदा उपचारमा सहज होस् भनेर भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता गरेका छौँ । त्यहाँ करिब पाँच लाख रुपैयाँको निःशुल्क उपचार पाउनुहुन्छ । त्रिपुरेश्वर आँखा अस्पतालले पनि हामीलाई वडा नं १ मा भवनसहित सेवा दिएको छ । नगरबासीले चस्मादेखि लिएर मोतियाबिन्दुको अप्रेसनमा चार्ज लाग्दैन ।

समयमै क्यान्सर पत्ता लाग्यो भने त्यसको उपचार हुँदो रहेछ । हामीले समयमै रोग पत्ता लगाएको कारण तीन वर्षमा १७२ जनालाई क्यान्सरबाट बचाउन सक्यौँ । किनभने फस्ट स्टेजमा भेट्टायौं । टेस्ट गरेपछि थाहा भयो कति जना आउन मान्नु हुन्थेन । हामीले ३० देखि ६० वर्षसम्मका १५ हजार महिलाहरुको स्तन र पाठेघरको जाँच गराइसकेका छौं । अहिले पनि हामीले १५ दिनको एकपटक यो कार्यक्रम गरिरहेका छौँ । यसको जिम्मेवारी भने महिला समूह, क्लबहरूलाई दिन्छौं, पर्सि पनि १५० जना महिलाहरूको पाठेघर र स्तन क्यान्सको जाँच हुँदैछ । महिला समूह, ठाउँठाउँको क्लबहरूलाई दिन्छौं, पर्सि पनि छ, करिब सय डेढ सयको जाँच हुन लागेको हो । नगरपलिकाले आर्थिक सहयोगमा सबैको टेस्ट गराउँदछौं । त्यसमा तीन वर्षमा सात सय ७२ जना वर्षमा बचाउन सक्यौं । 

हामीले १५/१० एक हप्तामा ब्लड डोनेसन कार्यक्रम राख्छौं । विभिन्न संघसंस्थार्ला दिन्छौं । जसले गरेपनि २५ हजार उपलब्ध गराइदिने, उहाँहरूले डोनेट गर्नुहुन्छ । नेपाल मेडिकल कलेजसँग सम्झौता छ, उहाँहरूले लगेर कलेजको ब्लड बैंकमा राख्नुहुन्छ । नगरपालिकालाई ब्लड चाहेमा पनि नि:शुल्क राखिदिएका छौं । हामीले घरबाट अस्पतालसम्म आउन समस्या हुनेलाई घरमै फिजियोथेरपीको व्यवस्था गरेका छाैं । हाम्रा चार जना स्टाफहरु हुनुहुन्छ । विरामीलाई अक्सिजन चाहियाे भने पनि हामी उपलब्ध गराउँछाैं । हामीसँग हाल २५० वटा उपलब्ध रहेको छ ।

नगरपालिकाले स्वास्थ्यसँगै अरु क्षेत्रमा कसरी काम गरिरहेको छ ? 
 
हामीले खानेपानीमा पनि विशेष काम गरिरहेका छौं । एक घर एक धारा बनाउने योजना छ । करिब छ महिनाभित्र सम्पूर्ण नगरबासीले मेलम्चीको पानी खानेगरी काम गरिहेका छौं । शिक्षामा पनि निःशुल्क शिक्षामा जोड दिएका छौँ । हाम्रो १७ वटा सामुदायिक स्कुल छन् । चामुण्डामा मात्रै २२ सय जनाले अध्ययन गर्छन् । अरुणदय माविमा प्राविधिक धारको वर्षमा ४० जना ओभरसियर निकाल्छौं। त्यहाँ स्थानीयसहित बाहिरी जिल्लाका विद्यार्थीहरू पढ्छन् । यहाँ धेरै संस्थागत स्कुलहर छन् । करिब १५० स्कुलहरू छन् । त्यहाँ पनि हामीले छात्रवृत्तिमा पढ्ने व्यवस्था गरेका छौं । हाम्रो आफ्नै स्थानीय पाठ्यक्रम छ । अझै हामीले सिटिभिटीसँग सीममूलक पाठ्यक्रम मागिरहेका छौं । 

नगरपालिकालाई संघ र प्रदेशको सहयोग कति छ ? कसरी समन्वय गर्दै आउनु भएको छ ?

हाम्रो नगरपालिकालाई संघीय सरकार र प्रदेश सरकारको सहयोग छ । हामीलाई ३० करोड आवश्यक छ भने २० करोडजति त संघीय सरकारकै हो । संघीय सरकारको दरबन्दी पनि छ । हामीलाई स्वास्थ्य, शिक्षा, पुन:निर्माणलगायत क्षेत्रमा संघले सहयोग गर्दै आउनुभएको छ । लाग्नेमा २० करोडजति त संघीय सरकारकै हो । उहाँहरूले अनुदान पनि दिनुहुन्छ, उहाँहरूको दरबन्दी छ ।

हामीलाई स्वास्थ्य, शिक्षा, पुन:निर्माणलगतय क्षेत्रमा सहयोग गरिरहनुभएको छ । नगरपालिकाको २ अर्ब २ अर्ब रुपैयाँ बराबरका योजनाहरू छन् । अहिले सबै टेन्डरमा गएर पुन:निर्माण हुँदैछ । माकलबारीमा ४ करोडको पुल बन्दैछ । साथै हामीले नगरपालिकाको प्रशासनिक भवनहरू बनाउँदैछौं । 

जेनजी आन्दोलका क्रममा सात वटा प्रहरी चौकीमा क्षति पुग्यो । बाइकहरू जलाइएको थियो । हामीले स्थानीयसँग मिलेर चौकीलाई पुन:निर्माण गर्याैं र ८ वटा बाइक उपलब्ध गरायौं । करिब १ रोपनीमा बनेको भवन ट्राफिक कार्यालयलाई दिएका छौं । नगरबासीलाई शान्तिसुरक्षा होस्, स्वास्थ्य नि:शुल्क होस्, शिक्षा र बस्न लायक होस् भनेर काम गरिरहका छौं ।

स्वास्थ्य सेवाको क्षेत्रमा नगरपालिकाको आगामी योजना के-के छन् ? 

सबैभन्दा पहिले त अहिले निर्माण भइरहेको भवन नै बन्नुपर्यो । अस्पताल निर्माण सम्पन्न हुन अझै ६ देखि ८ महिना लाग्छ, नगरपालिकाको भवन बन्न भने अझै डेढ वर्ष लाग्छ होला । अहिले स्वास्थ्य सेवा दिइरहेको ठाउँ सानो भएको हुँदा केही गाह्रो भइरहेको छ । नयाँ अस्पताल बनिसकेपछि हामी अझ बढी बृहत भएर जानेछौं । हामीले नगरवासीलाई करिब पाँच लाख रुपैयाँ बराबरको निःशुल्क उपचार दिने उद्देश्य राखेका छौं । त्यो व्यवस्थापन गर्न हामी सक्षम छौं । कसैले कसरी सक्नुहुन्छ भनेर प्रश्न पनि गर्नुहुन्छ तर हामी सक्छौं । 

Share News