कांग्रेसमा शेखर समूहले ल्यायो ‘मध्यमार्गी’ प्रस्ताव

संक्षिप्त पूर्वमहाधिवेशन चुनावअघि र पूर्ण महाधिवेशन चुनावपछि आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा उत्पन्न विवाद अहिलेसम्म समाधान हुन नसक्दा पार्टी नेतृत्व गम्भीर दुविधामा परेको छ । लगातार एक साताभन्दा बढी समय केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक छलफल गरिए पनि पार्टी शीर्ष तहमा सहमति बन्न सकेको छैन । 

असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी तथा सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेपछि केही दिनमै महाधिवेशनको मिति घोषणा हुने अपेक्षा गरिएको थियो । धारणा राख्ने औपचारिक चरण सकिएपछि सामान्यतया पार्टीले महाधिवेशनको मितिजस्ता महत्त्वपूर्ण निर्णयहरूमा निष्कर्ष निकाल्ने अभ्यास विगतमा थियो । तर, यसपटक सो अपेक्षा पूरा हुन सकेन ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकलाई केही समय रोकेर पार्टी भित्रका सबै धारहरूलाई जोड्ने प्रयास गरे पनि उनी त्यसमा असफल देखिएका छन् । त्यसैले उनले पहिलो चरणमा शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । तर, त्यतिबेला भएका अनौपचारिक कुराकानीहरूले पनि मतभेद घटाउन सकेन । 

त्यसपछि बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो । सोमबार पनि कुरा नमिलेपछि कार्यवाहक सभापति खड्काले बैठक मंसिर ४ गते बिहीबारका लागि बोलाएका छन् । 

आन्तरिक शक्ति-समीकरणको द्वन्द्व

सक्रिय सदस्यता विवाद, महाधिवेशन प्रतिनिधि छनोट, पार्टी नेतृत्वमा सम्भावित गठबन्धनहरू र नयाँ पुस्ताको चुनौतीबीच अहिले कांग्रेस गुज्रिएको छ । यी सबै विषयले कांग्रेसभित्र महाधिवेशनको मिति अत्यन्तै संवेदनशील बनेको छ । यसैले कुनै एक पक्षले प्रस्ताव गरेको मितिमा अर्को पक्ष सहज रूपमा सहमत हुन्छ भन्ने अवस्था छैन ।

महामन्त्री गगन थापाले कात्तिक १९ गते कार्यसमितिमा औपचारिक रूपमा पुस १६–१९ गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले त्यसकै काउन्टरमा वैशाख २७–३० गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरे । 

कार्यवाहक सभापति खड्काले दुई धारको विवादलाई निकास दिन बैठकलाई बारम्बार स्थगित गर्दै आएका छन् । तर, ती सबै प्रयास विफल हुँदै गएको देखिन्छ । 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएपछि पार्टीभित्रको असहजता खुला रूपमा देखिन थालेको नेताहरूले बताउन थालेका छन् । महाधिवेशनको मिति, एजेन्डा तथा प्रक्रियामा शीर्ष नेताहरूबीच स्पष्ट सहमति नजुट्दा बैठक लगातार रोकिँदै आएको एक पदाधिकारीले बताए । यसले पार्टीभित्र वर्षौदेखि चल्दै आएको गुटगत तनावलाई अझ तीव्र बनाएको छ । 

राजनितिक बिश्लेषक पर्शुराम घिमिरेका अनुसार युवा र सुधारवादी धारका नेताहरूले प्रस्ताव गरेका केही एजेन्डा वरिष्ठ नेताहरूले अस्वीकार गरेको चर्चा चलेपछि आन्तरिक दूरी झनै बढेको हो ।

यसबीच बैठक स्थगनको विरोधमा पार्टीका कार्यकर्ताहरू र विद्यार्थी संगठनले नाराबाजी गर्दै पार्टी कार्यालयमै ताला समेत लगाएका थिए । यसले संगठनात्मक असन्तोष सतहमा आएको पुष्टि गरेको घिमिरेको दाबी छ । 

लगातारको स्थगनले कांग्रेस नेतृत्वको निर्णय क्षमता र पार्टीको अनुशासनबारे गम्भीर प्रश्न उठेको अर्का विश्लेषक अर्जुन अर्यालले बताए । महाधिवेशन तयारी, संगठन समायोजन र आगामी राजनीतिक रणनीतिमा कुनै स्पष्टता नदेखिँदा कार्यकर्ताहरूमा निराशा बढेको नेताहरूको गुनासो रहेको छ । 

महामन्त्री थापा पक्षीय एक पदाधिकारीका अनुसार यदि शीर्ष नेतृत्वले छिटो सहमति निर्माण गर्न सकेन भने यो असहजता दीर्घकालीन आन्तरिक विभाजनमा रूपान्तरित हुन सक्छ । यसले के देखाउँछ भने महाधिवेशन मिति विवाद केवल क्यालेन्डरको विवाद होइन, यो त पार्टीभित्रको गहिरो वैचारिक, राजनीतिक र नेतृत्वसम्बन्धी असहमतिको परिणाम पनि हो । 

कांग्रेसको आगामी महाधिवेशनमा खड्का स्वयं सम्भावित सभापति उम्मेदवारको रूपमा हेरिन्छन् । त्यसैले उनले लिएको तटस्थ संयोजनकर्ताको भूमिकालाई पनि केही नेताहरूले शंकाको नजरले हेर्ने गरेको खड्का निकट अर्का पदाधिकारीले दाबी गरे । 

थापा निकट नेताहरू भने महाधिवेशनमा ढिलाइ हुँदा पार्टी संगठन कमजोर हुने, निर्वाचन तयारी प्रभावित हुने र आन्तरिक असन्तोष चुलिने जस्ता जोखिमहरूबारे नेतृत्व जानकार हुनुपर्ने बताउँछन् । यस विषयमा कतिपय नेताहरूले बैठकमै समेत चेतावनी दिइसकेको ती नेताले दाबी गरे । तथापि, अर्को समूह भने महाधिवेशन मितिमा ध्रुवीकरणमा जानुभन्दा अगाडि समय लिनुपर्ने पक्षमा छ ।

अन्तिम मिलनबिन्दु के होला ?

अब सबैको नजर मंसिर ४ गते बोलाइएको बैठकमा केन्द्रित छ । त्यहाँ पनि सहमति नभए पार्टीभित्र संकट गहिरिँदै जाने राजनीतिक विश्लेषक अर्यालको टिप्पणी छ ।

नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा जारी विवादले पार्टीमा असहज राजनीतिक स्थिति सिर्जना गरेको अर्यालले दाबी गरे । उनका अनुसार पार्टीका दुई प्रमुख गुटबीच सहमति नहुँदा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित भएको छ ।

थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको गुटले चुनावअघि महाधिवेशन गर्न प्रस्ताव गरेको छ । उक्त समूहको तर्क छ कि पार्टी नेतृत्वको वैकल्पिक संरचना चुनावअघि तयार भएपछि आगामी निर्वाचनमा पार्टीका रणनीति सहज तरिकाले कार्यान्वयन गर्न सकिन्छ । तर, देउवा–खड़्का नेतृत्वको संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने प्रस्तावमा अडिग छ । उक्त समूहको भनाइ छ  निर्वाचनपछि नेतृत्व परिवर्तन गर्दा पार्टीमा स्थिरता कायम रहन्छ ।

शेखर कोइराला समूह संक्षिप्त पूर्वमहाधिवेशन चुनावअघि गर्ने र पूर्ण महाधिवेशन चुनावपछि आयोजना गर्ने प्रस्ताव ल्याउने तयारीमा रहेको उक्त समूहका एक नेताले जानकारी दिए । यसले दुवै पक्षको सरोकार र पार्टी स्थायित्वलाई सन्तुलन दिने दाबी ती नेताको छ ।

हालसम्मका बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको र पार्टीभित्र सहमति खोज्ने प्रक्रिया जारी रहेको अवस्थामा दुई चरणको महाधिवेशन मोडेल नै कांग्रेसको स्थिरता र आन्तरिक लोकतन्त्र कायम राख्ने मार्ग हुन सक्ने ती नेताको दाबी छ । 

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । 

Share News