डीसीईओ र एसीईओ नियुक्तिले गरम बन्दै नेपाल बैंकभित्रको राजनीति, विष्णु पौडेल शक्ति केन्द्र

यी हुन् डीसीईओका प्रतिस्पर्धी

काठमाडौं । गत भदौ २७ गते अनिवार्य अवकाशपछि नेपाल बैंकबाट बाहिरिइन् बैंककी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समता पन्त । बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पछि एउटा डीसीईओ र डीसीईओपछि ४ वटा सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) रहने व्यवस्था छ । डीसीईओ पन्तको कार्यकाल सकिएपछि भोलिपल्टै उक्त पदमा तल्लो तहमा कार्यरत व्यक्तिलाई जिम्मेवारी दिएर व्यवस्थापकीय काम तत्काल सुचारू गर्नुपर्ने हो । तर, लामो समयसम्म उक्त पद रिक्त राख्दा बैंकभित्रका कामहरू प्रभावित भइरहेको कर्मचारीहरूले गुनासो गरेका छन् ।

‘एउटा संस्थाको व्यवस्थापकीय तह लामो समयसम्म रिक्त रहँदा त्यसको प्रभाव बजारमा देखिन थालेको छ । त्यो प्रभाव नदेखियोस् । व्यवस्थापकीय पदमा रहेका व्यक्तिहरूको पदपूर्ति समयमै निश्चित गरियोस्,’ नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले भने ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल बैंकका अध्यक्ष जीवराज ढकाल डीसीईओ पद एक दिन खाली राख्न नहुने बताउँछन् । उनले भने, ‘एक दिन पनि खाली राख्न नहुने पद निमित्तमा टालिएको छ । जबकी निमित्त दिने व्यवस्था विनियमावलीमा नै छैन । विनिमावलीको लूपहोललाई प्रयोग गरिएको छ । एउटा डीसीईओ नभएर कति काम रोकिएको छ ? एसीईओ नभएर कति काम रोकिएको छ ? बिजनेश हेड नभएर कति काम रोकिएको छ ? त्यसको पीडा न उच्च व्यवस्थापकलाई छ न सञ्चालक समितिलाई ।’

पन्त बाहिरिएपछि एसीईओ पदमा कार्यरत विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होमबहादुर खड्कामध्ये एक जनालाई तत्कालै डीसीईओमा बढुवा गर्नुपर्ने हो । तर, विनियमावलीको लूपहोल प्रयोग गर्दै बराललाई निमित्त डीसीईओको जिम्मेवारी सुम्पिएको कर्मचारीको गुनासो छ । बराललाई नियम विपरीत निमित्त डीसीईओ बनाइएको कर्मचारीहरूले गुनासो गरेका छन् । 

लामो समय पद रिक्त राखेको बैंक सञ्चालक समितिले एक महिना अघि सञ्चालक महेश भट्टराईको संयोजकत्वमा डीसीईओ र एसीईओ छनोट समिति गठन गरेको थियो । भट्टराईको संयोजकत्वमा गठित समितिमा साधना घिमिरे र जीवन कुमार कटवाल सदस्य छन् । भट्टराई नेतृत्वको समितिले अध्ययन गरेर डीसीईओ र एसीईओ नियुक्तिका लागि सञ्चालक समितिमा नाम सिफारिस गर्नेछ । र, अब बस्ने सञ्चालक समितिको बैठकले एक जना डीसीईओ र एक जना एसीईओ नियुक्त गर्ने तयारी रहेको बैंक स्रोतले जनाएको छ ।

‘समिति गठन गरेको एक महिना भइसक्यो । व्यवस्थापनले क्रम संख्या निकालेको छ । कार्यसम्पादन मूल्याङ्कन अध्ययन गरिरहेका छौं । अब बस्ने सञ्चालक समिति बैठकले डीसीईओ र एसीईओ नियुक्त गर्नेछ,’ एक सञ्चालकले विकासन्युजसँग भने । 

को बन्दैछ नेपाल बैंकको डीसीईओ ?

विनियमावली अनुसार नेपाल बैंकको सबैभन्दा माथिल्लो पद १२औँ अर्थात् डीसीईओ हो । बैंकको सीईओ बाहिरबाट छनोट गरेर ल्याउन सकिने व्यवस्था छ । तर, डीसीईओ र एसीईओ भने बैंक भित्रकै कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा सञ्चालक समितिले नियुक्त गर्ने व्यवस्था छ । अब सञ्चालक समितिले कसलाई उपर्युक्त ठानेर डीसीईओ निर्णय गर्छ त्यो भने हेर्न बाँकी रहेको एक कर्मचारीले बताए ।

बैंकमा हाल विश्वराज बराल, प्रकाशकुमार अधिकारी, होमराज खड्का र प्रतिभा डंगोल एसीईओ छन् । तर, डीसीईओका लागि बराल, अधिकारी र खड्का योग्य उम्मेदवार हुन् । स्रोतका अनुसार बराल, अधिकारी र खड्का विसं २०६१ भदौ १ गते नेपाल बैंक प्रवेश गरेका हुन् । तर, कार्यसम्पादन र अन्य मूल्याङ्कनका आधारमा बराल र अधिकारीको अङ्क खड्काको भन्दा बढी छ । 

‘वरिष्ठताका आधारमा बराल र अधिकारी भन्दा खड्का जुनियर छन् । त्यसैले बराल र अधिकारीमध्ये एक जना डीसीईओ बन्न सक्ने सम्भावना बलियो छ । अङ्कका आधारमा खड्काको भन्दा बराल र अधिकारीको ७ नम्बर बढी छ,’ बैंक स्रोतले भन्यो, ‘बराल र अधिकारी एकै दिन एसीईओ हुनु भएको हो । १ नम्बरमा बराल र २ नम्बरमा अधिकारी सिफारिस भएकाले बराल सिनियर देखिन्छन् । तर, अङ्कका आधारमा सिनियर र जुनियर होइनन् ।’ 

बैंक स्रोतका अनुसार एसीईओ खड्काको २९ अङ्क छ भने बराल र अधिकारीको ३६ अङ्क छ । अब कार्यसम्पादनको मूल्याङ्कन अङ्क भने गोप्य छ । कार्यसम्पादन मूल्याङ्कन जसको बढी छ, सोही आधारमा क्रमशः सिफारिस गरिने बैंक स्रोतको भनाइ छ ।

‘बराल र अधिकारी एकैदिन बैंकमा प्रवेश गर्नु भएको हो । एसीईओमा पनि २ जना सँगै बढुवा हुनु भएको हो । त्यसकारण उहाँहरूको नम्बर बराबर छ । कार्यसम्पादनको अङ्क भने गोप्य छ,  कार्यसम्पादनको मूल्याङ्कन अध्ययन भइरहेको छ । त्यो नम्बरका आधारमा थप कार्य अघि बढाइनेछ,’ स्रोतले भन्यो । 

राजनीति हाबी हुन सक्ने

भट्टराई नेतृत्वको समितिले डीसीईओका लागि बराल, अधिकारी र खड्का गरी तीनै जनाको नाम सिफारिस गर्न सक्ने सम्भावना छ । त्यसैले अब सञ्चालक समितिले कसको पक्षमा निर्णय गर्छ भन्नेमा निर्भर रहने स्रोतको दाबी छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा र सञ्चालक माया आचार्यलाई निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले नियुक्त गरेका हुन् । यस्तै, पौडेल नै अर्थमन्त्री भएका बेलामा बद्री खनाल सञ्चालक नियुक्त भएका हुन् । 

बैंकभित्र अध्यक्ष शर्मा, सञ्चालक आचार्य र खनाललाई एमाले निकट चिनिन्छन् भने अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने महेश भट्टराई, साधना घिमिरे र कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने जीवन कुमार कटवाललाई कांग्रेस निकट सञ्चालकको रूपमा चिनिन्छन् ।

बैंक स्रोतका अनुसार एसीईओ बराल, अधिकारी र खड्का कुनै पनि राजनीतिक दलमा खुलेर लागेका छैनन् । तर, बैंकभित्र सक्रिय कर्मचारी संघ/संगठनले बोक्दा बराललाई माओवादी निकट, अधिकारीलाई एमाले निकट र खड्कालाई काँग्रेस निकट एसीईओका रुपमा चिनाइएको छ ।  

सिफारिस समितिका संयोजक महेश भट्टराईले छलफलका क्रममा प्रणालीका आधारमा डीसीईओ सिफारिस गरिने भनेको एक कर्मचारीले बताए ।

‘सिस्टममा रहेर सिफारिस गर्दा कुनै मुद्दा मामिला नहुने र लफडा पनि हुँदैन । अर्थमन्त्रालयको चासो पनि सिस्टम अनुसार नै सिफारिस गर्नुपर्नेछ,’ महेश भट्टराईले भनेको विषय उद्धृत गर्दै एक कर्मचारीले भने, ‘निजामती कर्मचारी भएकाले तलको मान्छेलाई माथि तान्दा खेरी विवाद र अप्ठ्यारो स्थिति आउन सक्ने भएकाले नियम सम्मत गर्छाैं भन्नु भएको छ ।’ 

शक्ति केन्द्र विष्णु पौडेल

विष्णु पौडेल यतिबेला सत्तामा छैनन् । तर, पौडेल नै डीसीईओ नियुक्तिका लागि शक्ति केन्द्रका रुपमा चिनिएका छन् । पौडेल अर्थमन्त्री भएका बेलामा सञ्चालक नियुक्त भएका डा. शर्मा बैंकको अध्यक्ष छन् । त्यसैले पौडेलले भनेको व्यक्ति नै बैंकको डीसीईओ बन्न सक्ने आँकलन बैंकभित्रका कर्मचारीहरूले गरेका छन् ।

‘पुरानै राजनीतिक सिस्टम थियो भने शक्ति केन्द्र विष्णु पौडेल हुन् । त्यसैले अहिलेको शक्तिकेन्द्र भनेको अर्थमन्त्रालय नै हो । तर, अहिलको अर्थमन्त्रालयलाई डीसीईओ नियुक्तिको विषयमा खासै चासो छैन,’ बैंकका एक कर्मचारीले भने, ‘त्यसैले पूर्वअर्थमन्त्री पौडेलले नै नियुक्त गरेका व्यक्ति सञ्चालक समितिमा हुँदा शक्ति केन्द्र फेरि पौडेल नै हुन् ।’ 

एसीईओमा मन्त्रालय हाबी 

तत्कालीन एसीईओ लक्ष्मण पौडेलले अनिवार्य अवकाश पाएपछि बैंकमा एउटा एसीईओ पद रिक्त थियो । लामो समयसम्म रिक्त रहेको एसीईओ पदका लागि डेढ दर्जन मुख्य प्रबन्धक आकांक्षी थिए । सञ्चालक समितिले गठन गरेको एसीईओ उपसमितिले विभिन्न मूल्याङ्कनका आधारमा मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेलाई एक नम्बरमा, प्रतिभा डंगोल दोस्रो नम्बरमा र शान्तबहादुर शाहलाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । 

तर, अर्थमन्त्रालयको दवाबका कारण दोस्रो नम्बरमा रहेकी डंगोललाई सञ्चालक समितिले एसीईओमा नियुक्त गरेको एक सञ्चालकले बताए । हाल एसीईओ रहेका बराल, अधिकारी र खड्कामध्ये एक जना डीसीईओ बनेपछि फेरि एउटा एसीईओ पद रिक्त रहनेछ । 

उक्त रिक्त रहने एसीईओ पदका लागि १३ जनाले निवेदन दिएको बैंक स्रोतले जानकारी दिएको छ । यदि मन्त्रालय र अन्य शक्तिकेन्द्र हाबी भएन भने निमित्त एसीईओ रहेका काफ्ले सबैभन्दा बलियो दाबेदार रहेको बैंक स्रोतको भनाइ छ ।

‘डीसीईओ र एसीईओ एकै दिन नियुक्त हुनेछ । १३ जनाले निवेदन दिएका छन् । अरु उम्मेदवारभन्दा दीपेन्द्र काफ्लेको अंक अरूको भन्दा बढी छ । साथै यसअघि पनि पहिलो नम्बरमा सिफारिस हुनु भएको हो । त्यसैले उहाँको सम्भावना उच्च छ,’ बैंक स्रोतले भन्यो । 

Share News