काठमाडौं । काठमाडौ उपत्यकामा केन्द्रित होटल व्यवसाय अब क्रमशः राजधानी बाहिर विस्तार हुँदै गएको छ । पछिल्लो समय उपत्यका बाहिरका प्रदेश र जिल्लाहरूमा पर्यटनको विकास र विस्तार तीव्र रूपमा वृद्धि हुँदै गएसँगै व्यवसायीहरूले पनि आफ्नो परियोजना त्यतैतिर मोड्न थालेका हुन् ।
विदेशी तथा आन्तरिक पर्यटकहरूको रोजाइ राजधानी बाहिरका पर्यटकीय क्षेत्रहरू बन्दै गएका छन् । राजधानी बाहिर पर्यटकको संख्या बढ्दै गएसँगै स्तरीय होटलहरूको माग बढ्दै गएको छ । त्यसलाई मध्येनजर गरेर व्यवसायीहरूले राजधानी बाहिरका विभिन्न पर्यटकीय क्षेत्रहरूमा लगानी बढाएका छन् ।
पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर २८ वटा पाँच तारे होटल दर्ता भएर सञ्चालनमा छन् । नयाँ बनेका होटल दर्ता हुनै बाँकी छ भने केही दर्ताको प्रक्रियामा रहेको विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताए ।
उनका अनुसार दर्ता नभईकन पनि केही तारे होटलहरू सञ्चालन भइरहेका छन् । विभागमा दर्ता हुन आएका २८ तारे होटलमध्ये एक दर्जनजति होटल उपत्यका बाहिर खोलिएका होटलहरू हुन् ।
राजेन्द्र बजगाईंको टाइगर प्यालेस
रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा पाँच तारे होटल टाइगर प्यालेस सञ्चालनमा छ । पाँच अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटलमा अस्ट्रेलियाका कम्पनी हेरिटेज इन्भेष्टमेन्टको लगानी रहेको छ ।
हेरिटेजका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईं हुन् । रिर्सोटमा चार सय कोठा, दुईवटा भिल्ला छन् । होटलमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फर्नलगायत आकर्षणहरू पनि रहेका छन् ।
फैलिँदैछ सिद्धार्थ हस्पिटालिटी
सिद्धार्थ बिजनेस ग्रु्प अफ हस्पिटालिटीले रुपन्देहीको भैरहवामा सिद्धार्थ इन्टरनेशल होटल सञ्चालनमा ल्याएको छ । सिद्धाथए हस्पिटालिटीले कैलालीको धनगढीमा पनि तारे होटल सञ्चालनमा ल्याएको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, टिकापुर, चितवन, बिर्तामोड लगायत ठाउँमा होटल विस्तार गरिसकेको छ ।
२५ वर्षअघि सुदूरपश्चिमको कैलाली, टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पाँच तारे होटल सञ्चालनमा ल्याएको हो । हस्पिटालिटीका अध्यक्ष हुन् चिन्तामणि (लक्ष्मण) न्यौपाने ।
भैरहवाको सिद्धार्थ इन्टरनेशनल होटलमा साढे २ अर्ब रुपैयाँ लगानी रहेको छ । ४ विघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेण्ट तथा स्वीमिङ पुल, फिटनेस, जीम, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुममा क्यासिनो सञ्चालन सुविधा होटल सञ्चालनमा आउँदा ३ सय भन्दा बढीले रोजगारी पाएका छन् ।
होटल द किग्सवरी
झापामा सञ्चालनाम आइसकेको होटल हो दि किग्सवरी । यसको सञ्चालक प्रकाश गोतामे हुन् । २ अर्ब रुपैयाँ लागतमा सञ्चालनमा आएको हो । उक्त होटलमा सय वटा बेड र ८२ वटा कोठाहरू रहेका छन् ।
मेची क्राउन
झापाको धुलाबारीमा अर्को पाँच तारे होटल मेची क्राउन सञ्चालनमा छ । कोरोना संक्रमणकै बीचमा सञ्चालनमा आएको उक्त होटलमा हेलिकप्टर व्यवसायमा रहेका पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरिगोल्ड ज्वेलरीका सञ्चालक सुरेशमान श्रेष्ठ र क्षमादेवी बिल्डर्स ग्रुपको लगानी रहेको छ । ८ बिघामा निर्माण भएको होटलमा डेढ अर्ब रुपैयाँ लगानी रहेको छ ।
यो होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटर दुरीमा छ । होटलमा १०५ वटा कोठा छ, पाँच वटा मेची स्वीट्स १० वटा एक्जुकेटिभ भिल्ला, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको छ ।
होटल रोयल क्रियसन नेपाल
झापामै सञ्चालनमा रहेको अर्को पाँच तारे होटल हो होटल रोयल क्रिएसन । १ अर्ब लगानीमा निर्माण भएको होटल झापाको तेस्रो पाँच तारे होटल हो । भारतीय पर्यटकलाई लक्षित गरेर बनाईएको उक्त होटल नेपाल–भारत सीमानाबाट ९ किलोमिटर दुरीमा अवस्थित छ । होटलमा १५८ कोठा र ३ सय शैया रहेका छन् । होटलका लगानीकर्ता प्रदीप मित्तल हुन् ।
अश्वत्थ
पाँच तारे होटलको हबको रुपमा चिनिने झापामा एकपछि अर्को होटलहरू सञ्चालनमा आउने क्रममा छन् । पछिल्लो पटक सञ्चालनमा आएको पाँच तारे होटल हो ‘अश्वत्थ’ । काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इँटाभट्टामा पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ ।
सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेको लगानी रहेको यस होटलको लागत एक अर्ब ३० करोड रुपैयाँ रहेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा छन् ।
मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ ।
पोखरामा पाँच तारे होटल
पर्यटकीय नगरीको रुपमा परिचित सुन्दर ठाउँ पोखरामा पनि तारेसहित अन्य ठूला र सुविधासम्पन्न होटलहरू सञ्चालनमा रहेका छन् । पोखरामा स्तरीय होटलहरू चार सय भन्दा बढी छन् । बुटिक होटल र रिर्सोटहरू पनि खुलेका छन् ।विभागमा पाँच तारे होटलको रुपमा दर्ता भएको होटलहरूमा पोखरा ग्राण्ड, होटल द फूलबारी छन् । होटल फूलबारी भने अहिले सञ्चालनमा छैन ।
आधिकारिक रुपमा पोखरामा पाँच तारे होटलहरू यी नै देखिएपनि बुकिङ डटकममा दर्जनभन्दा बढी होटलहरूलाई पाँच तारे प्रदान गरेको देखिन्छ । जसमा टेम्पल ट्री रिर्सोट, माउन्टेन ग्लोरी फोरेस्ट, ल्याण्डमार्क पोखरा, होटल दिप ओसिस, महाराजा द रोयल होटल एण्ड क्यासिनोलगायत छन् ।
इच्छा होटल
बाराको सिमरामा पाँच तारे होटल सिमरा सञ्चालनमा छ । होटलका सञ्चालक हुन् इच्छा हस्पिटालिटीका इच्छा बहादुर वाग्ले । १ अर्ब २० करोड लगानीमा निर्माण भएको यो होटल मधेश प्रदेशकै पहिलो पाँच तारे होटल हो । सिमरा एयरपोर्टबाट २ किलोमिटर र हेटौंडाबाट ३५ किलोमिटर दुरीमा रहेको होटल दुई बिघा जमिनमा फैलिएको छ ।
ह्यायात प्यालेस
बुटलमा होटल ह्यायात प्यालेस सञ्चालनमा छ । सुरुमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको भए पनि सञ्चालनमा आउँदा ह्यायात प्यालेस ब्राण्डअन्र्तगत सञ्चालनमा आएको हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कठ्ठा क्षेत्रफलमा बनेको यो होटलमा यशोदा फुड्स ग्रुपको लगानी रहेको छ ।
होटलको सञ्चालकमा चुन्नु प्रसाद पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना छन् । होटल ३ अर्ब ५० करोड लगानीमा निर्माण भएको थियो । होटलमा २५० पाहुना अट्न सक्ने १०९ वटा कोठाहरू छन् ।
सोल्टी शिवविक्रम होटल्स एण्ड रिसोर्टस
पूर्व राजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको सोल्टी होटलको शाखा नेपालगञ्जमा सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट सञ्चालनमा छ । यसमा मूख्य लगानी सोल्टीका अध्यक्ष प्रभाकर शमशेरकै रहेको छ । होटल ५५ करोड रुपैयाँ लागतमा बनेको होटलमा ८१ वटा कोठाहरू छन् । सोल्टी नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा पूरानो हो ।
होटल सेन्ट्रल प्लाजा
बाँकेको कोलपुरमा सेन्ट्रल प्लाजा सञ्चालनमा छ । २०७५ सालदेखि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागमा पछिल्लो पटक २०८० सालमा पाँच तारे होटलको रुपमा नवीकरण गरेको हो । यसअघि उक्त होटल चार तारेको रुपमा सञ्चालनमा थियो ।
५० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक एवं म्यानेजिङ म्यानेजिङ डाइरेक्टर देवानन्द अर्याल हुन् । मानसरोवर, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीय स्थलहरू अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर निर्माण गरेको यो होटल सुदूरपश्चिमाञ्चलमै सबैभन्दा ठूलो होटल हो ।
रोयल टुलिप
चितवनको सौरहवामा भखरै मात्रै पाँच तारे होटल रोयल टुलिप सञ्चालनमा आएको छ । यो होटल विभागमा पाँच तारे होटलको रुपमा भने दर्ता हुनै बाँकी छ । केटिएम हस्पिटालिटीले सन् २०२० बाट निर्माण सुरु गरेको यो होटल यही मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीका अध्यक्ष रामेश्वर शाह । एक अर्ब ७५ करोड रुपैयाँ लगानीमा निर्माण भएको उक्त होटल चितवनकै पहिलो पाँच तारे रिर्सोट हो । होटलको व्यवस्थापन चिनियाँ कम्पनी जिन जियाङ इन्टरनेशनल फ्रान्सेली होटल लुभ्र होटल्स ग्रुपले गरेको छ ।
एक दर्जन बढी होटल निर्माणाधीन
होटल बाराही सेदी
होटल बाराही ग्रुपले पोखराको लेकसाइडमा होटल बाराही सेदी निर्माण गरिरहेको छ । ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यो होटल सन् २०२६ मा सञ्चालनमा आउने छ । होटलमा सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडेलको रहेको छ ।
निर्माणधीन होटलमा १७१ कोठा हुने छन् । यसमा क्यासिनो, स्पा र फिटनेस सम्बन्धी उत्कृष्ट सुविधाहरू हुनेछन् । कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ बैंकिङ कर्जाको लागि रेटिङ पाइसकेको छ ।
धनगढीमा खुल्दै दुई पाँच तारे होटल
सुदूरपश्चिम प्रदेशमा पनि होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । धनगढीमा पछिल्लो समय साना तथा ठूला होटल निर्माण तीव्र गतिमा हुँदै गएको छ ।
विगतमा एउटा पनि तारे होटल नभएको धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै खुल्ने क्रममा छ । यसअघि चारेतारे होटलहरू सञ्चालनमा आए पनि पछिल्लो पटक पाँच तारे होटल निर्माण हुने भएको छ ।
चौलानी ग्रुपले धनगढीमा पाँच तारे होटल निर्माण प्रक्रिया अगाडि बढाएको हो । चौलनी ग्रुपले सवा एक अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको हो । ग्रुपका अध्यक्ष हुन् मानसिंह साउद । ग्रुपले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको हो । त्यस्तै, सिद्धार्थ हस्पिटालिटीले पनि धनगढी चौराहामा पाँचतारे होटल निर्माण अगाडि बढाएको छ ।
होटल अट्रियम
झापाको विर्तामोडमा होटल अट्रियम निर्माणाधीन अवस्थामा छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको उक्त होटलको कुल लगानी ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब रुपैयाँको लागि रेटिङ गराइसकेको छ । होटलमा ९८ वटा कोठाहरु हुनेछन् ।
झापाको चन्द्रगढीस्थित विमानस्थलबाट १२.९ किलोमिटर तथा भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटरको स्थानमा उक्त होटलको निर्माण हुन लागेको हो । पर्यटकीय दृष्टिकोणले पनि इलाम तथा बुढासुब्बा मन्दिरलगायतको नजिक रहेको उक्त ठाउँमा होटल बन्न लागेको हो ।
सन् २०२६ को मध्य जुलाईबाट सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण भइरहेको उक्त होटलमा ९८ वटा, ब्याङ्क्वेट, क्यासिनोका साथै स्पा, स्वमिङ पुललगायतका अन्य पूर्वाधारसमेत रहेका छन् ।
होटल पौवा
एक अर्ब रुपैयाँ लगानीमा नेपालगञ्जमा होटल पौवा निर्माणाधीन अवस्थामा छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको यो होटलका सञ्चालक विष्णु ज्ञवाली हुन् । करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण थालिएको यो होटलको करिब १ अर्ब रुपैयाँ लागत छ । ९ तलाको बन्ने उक्त होटलमा क्यासिनो, स्पा, स्विमिङ पुल, जिम सुविधा रहने छ।
एक्सिस पाँचतारे होटल
विराटनगरमा पाँच तारे होटल एक्सिस निर्माण भइरहेको छ । भारतीय र नेपाली पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागेको होटल विमानस्थलबाट एक किलोमिटर टाढा छ । होटल १ अर्ब ७५ करोड लगानीमा निर्माण हुन लागेको हो । एक्सिस हस्पिटालिटी प्रालिको लगानी रहेको यो होटलमा २२५ कोठा हुने जनाएको छ । होटलमा बैङ्क्विट हल, मिटिङ हल, स्पा, साउना, जिम, स्वीमिङ पुललगायतको सुविधा हुने छ ।