टिम मिलाउन विधान संशोधन गर्दै ओली, वरिष्ठ उपाध्यक्षको पद ब्यूँत्याएर पदाधिकारीको संख्या थप्दै

तीन महिनाभित्र विधान संशोधन

काठमाडौं । नेकपा एमालेले गत भदौ २० देखि २३ गते सम्पन्न गरेको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान तीन महिनाभित्र संशोधन गर्ने तयारी गरेको छ । महाधिवेशनले अनुमोदन गरेको विधानलाई पुनः परिमार्जन गर्न अनौपचारिक प्रक्रिया सुरु भएको पार्टीका एक उच्च पदाधिकारीले जानकारी दिएका छन् ।

मंसिर २७ देखि २९ मा काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भइरहेको ती पदाधिकारीले जानकारी दिए । उनका अनुसार संशोधनको मुख्य उद्देश्य केन्द्रीय कमिटीको संख्या, पदाधिकारीहरूको संरचना र पार्टीको शीर्ष तहमा आवश्यक ठहरिएका महत्वपूर्ण संरचनागत विषयहरू परिमार्जन गर्नु हो ।

एमाले उच्च स्रोतका अनुसार दोस्रो विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ गर्ने व्यवस्था गरेको थियो । नयाँ प्रस्तावित संरचनामा १७ देखि १९ जना पदाधिकारी रहनेछन् । वर्तमान वैधानिक संरचना अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ छन् । 

विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षको पद हटाएको थियो र उपाध्यक्ष संख्या ६ बाट ३ मा झारेको थियो । तर, फेरि अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू सचिवालयको सदस्य संख्या १७ वा १९ पुर्याउने गृहकार्यमा लागेका छन् । जसमा वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारी थपिने सम्भावना रहेको एक पदाधिकारीले जानकारी दिए ।

त्यसैगरी, दोस्रो विधान महाधिवेशनले केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय सदस्य गरी तीन तहको व्यवस्थालाई परिभाषित गरेको थियो । यसअघि रहेको स्थायी समितिको व्यवस्था विधान महाधिवेशनले हटाएको थियो । आगामी संशोधनमा पुनः स्थायी समितिको व्यवस्था कायम गर्ने प्रस्ताव महाधिवेशनको हलमा राखिने तयारी छ । 

वर्तमान एमालेमा ४१ जना स्थायी समितिका सदस्य रहेका छन् । हाल बहाल रहेको स्थायी समितीमा १९ जना पदाधिकारी र बाँकी सदस्यहरू स्थायी समिति सदस्य रहेका छन् । पछिल्लो समय स्थायी समिति पदाधिकारी बाहेक ४१ सदस्यीय रहने गरी प्रस्ताव गर्ने तयारी भइरहेको छ । 

पार्टीभित्र धेरै नेताहरूले ४१ सदस्यीय स्थायी समितिमा पदाधिकारी पदेन सदस्य हुनुपर्ने माग गर्दै आएका छन् । दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्य संख्या ३०१ बाट घटाएर २५१ पुर्याएको थियो । तर, ११औं महाधिवेशनमा आकांक्षीको संख्या र केन्द्रीय कमिटी सदस्यको अनुपातको मूल्याङ्कन गर्दै शीर्ष नेताहरूले कमिटीको आकार केही बढाउने तयारी गरिरहेका छन् । 

स्रोतका अनुसार नयाँ संरचना अनुसार केन्द्रीय कमिटी सदस्य संख्या ३०१ वा सोभन्दा केही बढी हुने सम्भावना छ । हाल बहाल रहेका ६० केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटीबाट बिदा लिने पूर्वानुमान पार्टी नेतृत्वले गरेको छ । सोही आधारमा बिदा लिने र थप्न सकिने नेताहरूबारे अध्ययन भइरहेको स्रोतको दाबी छ ।

पार्टी स्रोतका अनुसार विधान महाधिवेशनपछि पार्टी संरचना र शक्ति सन्तुलनका विषयमा आन्तरिक छलफल तीव्र बनेको थियो । विशेषतः पदाधिकारीको संख्या, जिम्मेवारी र नेतृत्व संरचनामा स्पष्टता नआएको कारण थप संशोधन आवश्यक देखिएको छ । 

एक पदाधिकारीका अनुसार विधानका केही महत्त्वपूर्ण प्रावधान व्यवहारमा लागू गर्दा व्यावहारिक चुनौती देखा परेकाले संशोधन अनिवार्य भएको हो ।

Share News