हाम्रो देशमा ऋणीको संख्या १९ लाख हाराहारीमा छन् । जसमा युनिक ऋणीको संख्या ८/९ लाख मात्रै होला । जबकि डेढ लाख ऋणीलाई कालोसूचीमा राखिएको छ । मनी सप्लाइ र लिक्विडीटीको आधारमा एउटा फ्याक्टर कालोसूची पनि हो की भन्ने लागेको छ । किनकि हामीले अपेक्षा गरे अनुसार कर्जा वृद्धि हुन सकिरहेको छैन । त्यसकारण राष्ट्र बैंकले कालोसूची सम्बन्धी नीतिगत व्यवस्थामा पुनरावलोकन गर्ने तयारी गर्दैछ । निर्माण क्षेत्रमा ज्वाइन्ट भेञ्चर कम्पनीहरू छन् । तर, त्यहाँ लघुवित्त संस्थाहरूको जस्तो विधि बनिरहेको छ । लघुवित्त संस्थामा धितो हुँदैन तर सामूहिक जमानी बस्ने हुन्छ । ज्वाइन्ट भेञ्चर कम्पनीमा पनि एक जना मान्छेले राम्रो गर्न सकेन भने सबै जना कालोसूचीमा पर्ने गरेका छन् । जसले गर्दा कर्जा वृद्धिमा असर परिरहेको देखिन्छ ।
यस्तै, ऋणीहरूले सम्पत्ति धितो राखेर कर्जा लिन्छन् । तर, बैंकका व्यवस्थापकहरूले त्यो धितोलाई न्यून मूल्यमा बिक्री गरिरहेका छन् । यो सबै निजी क्षेत्रमा भइरहेको भ्रष्टाचार हो । यसलाई पनि राष्ट्र बैंकले गम्भीर रूपमा लिएको छ ।
मधेश प्रदेश भ्रमणमा रहँदा कर्जा मिलाई दिएबापत रकम लिने गरेको गुनासो सुनियो । कर्जा उपलब्ध गराइदिने भन्दै बैंकको म्यानेजरसँग लग्ने मिटर म्यानहरू सक्रिय भइरहेको सुनिन्छ । त्यस बारेमा अध्ययन गर्न मैले निर्देशन पनि दिइसकेको छु । कर्जाहरू स्वच्छ, सफा र अनुशासित वातावरणमा जसले डिजर्भ गर्ने हो त्यो मान्छेले पाउनुपर्छ । र, कुनै पनि व्यक्तिले अर्काको धितो जबरजस्त सस्तोमा बेचेर फाइदा उठाउने, थप आर्थिक समस्यामा पार्ने र अप्ठ्यारोमा परेको मान्छेसँग फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन नै हो । र, राष्ट्र बैंकले यसलाई क्षम्य रूपमा लिने छैन ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंक तथा संस्थाहरूको प्रभावकारितामा जोड दिइएको छ । बैंकहरूको नाफा पनि बढोस् भनेर महानगरपालिकामा शाखा कार्यालय मर्जर गर्न सक्ने व्यवस्था गरिएको छ । महानगरमा शाखाहरू धेरै छन् । अब कन्सोलिडेसन गर्न सकिने व्यवस्था गरिएको छ । तिमीले बुलाकी पनि लगाउ, कानमा नत्थी पनि लगाऊ र राम्री देखिनुपर्छ भने जस्तै बैंकहरूलाई यो पनि गर, त्यो पनि गरेर नाफा देखाउ भनिएको छ । अब त्यो गर्नु हुँदैन । अब बैंकहरू प्रभावकारी बन्नु पर्छ । बैंक आफै प्रभावकारी बन्नका लागि राष्ट्र बैंकले प्रोत्साहित गर्ने हो ।
बैंकहरू आफै प्रभावकारी बनेर राम्रो नाफा कमाउन र गुणस्तरीय कर्जा वृद्धि गरून् भन्ने राष्ट्र बैंकको चाहना हो । साथै डिजिटाइजेसनमा पनि ध्यान दिन जरुरी छ । कस्ट अफ लेन्डिङ कम होस्, अनुशासित होउन र अर्थतन्त्र वृद्धिमा बैंकहरुको योगदान होस् भन्ने अपेक्षा छ । त्यसकारण बैंकहरूको जथाभाविक खर्च बढाइदिन काम गर्नु हुँदैन । त्यो सबै कस्ट अफ लेन्डिङमा रिफ्लेक्ट र इन्ट्रेस्ट रेटमा लेन्डिङ हुनुपर्छ । बैंकहरुले गरेको काम राम्रो देखिनु पर्यो । त्यसकारण नाफालाई ध्यानमा राखेर लघुवित्त संस्थाहरूको धितोमा प्रवाह हुने कर्जाको सीमा पनि बढाइएको छ । तर त्यसको अर्थ यो पनि होइन वा के बिर्सिनु हुँदैन भने मुलुकमा विभिन्न खालका समूहहरु सक्रिय छन् र संस्थाहरूको विरुद्धमा हामीले गुनासो सुन्न नपरोस् । सबै किसिमको स्थिरता ल्याउन विभिन्न तत्वहरूलाई हेरेर अगाडि बढ्नुपर्छ । सही गुनासोहरूलाई नीतिगत व्यवस्थामा परिवर्तन गर्न राष्ट्र बैंक अगाडि बढ्छ । विभिन्न पक्षहरूको गुनासो राष्ट्र बैंकले अध्ययन पनि गरिरहेको हुन्छ ।
मौद्रिक नीतिको दोस्रो पक्ष भनेको कर्जा प्रवाह बढाउने हो । बैंकिङ क्षेत्रमा समस्या छ । पैसा बढेको बढ्यै छ । तर, कर्जा वृद्धि नभएपछि राष्ट्र बैंकले सहजीकरण पनि गरेको छ । त्यसका लागि ओडीको सीमा बढाइएको छ । त्यसबाहेक हामीले चाँडै विभिन्न फाइनान्सियल प्रोडक्टमा पनि रिभ्यू पनि गर्दैछौं । त्यसका लागि छिट्टै बैंकका हाकिमसाबहरू बस्दैछौँ ।
अर्थतन्त्र चलायमान हुन आम मान्छेको मनोविज्ञान वा मनोबलमा निर्भर रहन्छ । म अमेरिकामा पढ्दा हरेक वर्ष आइराख्थे । लडाई हुँदा पनि आउँथे । एकदम अप्ठ्यारो समय पनि देखियो । मेरो बुवा आमा गाउँमा बस्नुहुन्थ्यो । म नियमित आउँथे । अहिले पनि हरेक हप्ता चितवन जान्छु । बाआमासँग समय बिताएर आउँछु । त्यो बेलामा अमेरिकामा धेरै साथीहरूले त्यो देशमा किन जान्छस् ? यो अन्त्यहिन लडाइँ हो भन्थे ।
म यही अस्कल पढेको हो । त्यही पछाडि एउटा होटेलमा बस्थेँ । एकाबिहानै सुत्ली बम छ भन्थे, सेक्युरिटी फोर्सको ट्रक ब्याक गर्दा मान्छे मर्यो लगायत धेरै गतिविधि भइरहन्थे । केहि युद्धरत पक्षले मेरो घरमा पनि पैसा मागेको चिठी नै पठाएको थियो । यी विभिन्न घटना घटि सकेपछि वा सन् २००४ पछि अब लडाइँ सकियो भन्ने लाग्थ्यो । सन् २०१० पछि पनि धुलो धुवाँको देश भनिन्थ्यो । अहिले रोडहरू चिटिक्क परेका छन् । कतिपय उद्यमीहरूले राम्रो वृद्धि पनि गरेका छन् । यही अवधिमा हिमालयन जाभा, आईटी सेक्टर, भाटभटेनी, क्यूएफएक्स लगायत धेरै वृद्धि भएको छ । भरतपुर, रुपन्देही, कोहलपुर, वीरगन्ज यात्रा गर्दा नयाँ महसुस आउँछ । थाइल्याण्ड जानु र भरतपुरमा जानुमा त्यति फरक देखिँदैन । जबकि म सानो हुँदा भरतपुरमा एउटा सानो हस्पिटल थियो । अहिले त्यही हस्पिटलमा एक हजार भन्दा बढी डाक्टरहरू कार्यरत छन् ।
त्यसपछि केही समय अगाडि नेपाल पनि श्रीलंका बन्न लाग्यो भनेर हल्ला चलाइयो । तर, श्रीलंका त बनेन । किनकी हामीले उच्च ऋण लिएका छैनौं । त्यसपछि एउटा समूहले एमसीसी आउन थाल्यो, अब अमेरिकी सेना ल्याउँछ लगायत विषय गरेर चर्चामा ल्यायो । त्यो पनि अहिलेसम्म देखिएको छैन । अहिले पनि हामी ऋण मेनेज गर्न सक्ने अवस्थामा छौं ।
फ्रान्समा ३३ ट्रिलियन डलर ऋण छ । जसरी अमेरिका र चाइनाले आविष्कारमा योगदान पुर्याएका छन् त्यसरी फ्रान्स र यूरोपको देखिएको छैन । आर्थिक नीति लगायत धेरै पोजिसनमा हामी बलियो छौं । तर, यसलाई क्रियाकलाप र वृद्धिमा रिफ्लेक्ट गर्न सकिराखेका छैनौं । अलैंची, चिया निर्यात गर्नेदेखि रोड बनाउने, जलविद्युतमा लगानीको सकारात्मक कथालाई जोड दियौं भने मनोबल स्वतः बढ्छ । कुनै समय चिलिमे हाइड्रो बन्दा अब रिभोलुसन सुरु भयो भनिन्थ्यो । एक मेगावाटको हाइड्रो नेपालीले आफैले बनायो भने एकदमै उत्साहित हुने जमाना थियो । अहिले ३०० मेगावाटको हाइड्रो बनाइरहेका छौं । र, अझै ठूला प्रोजेक्ट बनाउने क्षमतामा हामीसँग छ ।
भदौ अगाडि र भदौ पछाडिका प्रधानमन्त्रीसँग काठमाडौंमा मेट्रो बनाउन सकिन्छ, काठमाडौं-पोखरा एक्सप्रेसवे जोड्न सकिन्छ भनिरहेको छु । हामी जे पनि गर्न सक्छौ तर त्यसको लागि हामीप्रति विश्वास हुनुपर्यो । जे नीतिगत व्यवस्था चाहिन्छ, त्यो बनाऔं र बिजनेसम्यानहरूलाई अगाडि बढाऊँ । छिमेकी देशहरू पनि ग्रोथको ब्रेकनेक स्पिडमा दौडिरहेका छन् । हामी पनि त्यही लाइनमा जान सक्छौं । विगतदेखि नै यो देशमा केही छैन, केही हुँदैन भनेर हाकिमसाब, व्यवसायी, नेताजीहरू लगायत सबै जना छोराछोरी विदेश पठाउने रेसमा लागे । अब फर्काएर लिएर आउने रेसमा पनि छौं । तर, फर्काएर आउने बित्तिकै मन्त्री बन्ने, राजनीति गर्ने, दल खोल्ने रेस भइरहेको छ । हामीले उद्यमी बन्ने रेसमा लाग्नुपर्छ । क्यालिफोर्नियामा २७/२८ वर्ष युवाहरू बिलियन डलरको कम्पनीहरू चलाइराखेका छन् । उनीहरूको तलब नै बिलियन डलर छ । त्यसकारण हामीलाई सुपरस्टार, टेक्नोलोजिकल चेन्जेजहरू चाहिएको छ ।
व्यवसायीहरूको पनि समस्या छ तर कसरी सफलता हासिल गर्ने भनेर समाधान पनि खोज्नुपर्छ । यदि इन्डस्ट्रिज प्रभावकारी छैन भने अनुदान नमाग्नुहोस् भन्छु म । ग्रोथ गर्ने एउटा ठाउँ हुन्छ, त्यो आइडेन्टिफाइ गर्न कहाँबाट अगाडि बढ्ने हो ? त्यसमा लाग्नुपर्छ । जस्तो हामीले इनर्जी सेक्टरमा देखेका छौं, त्यसमा धेरै लगानी भइरहेको छ । त्यस्तै गरेर अन्य क्षेत्र पनि खोज्नु पर्छ र ग्रोथ गर्दै जानुपर्छ । रातारात ग्रोथ हुने कुनै फर्मुला हुँदैन तर प्रयास गर्दै जाने हो । सिलिकन भ्यालीमा ९९.९ प्रतिशत कम्पनीहरू असफल हुन्छन् । त्यसकारण फेलियर इज अ पार्ट अफ बिजनेस ।
मीनबहादुरजीको पीडा मैले एकदमै फिल गर्छु । दुई महिनामा बनाएर देखाउँछु भन्नुभएको थियो, उहाँले गरेर पनि देखाउनु भयो । मान्छे मन पर्न नि सक्छ, मन नपर्न नि सक्छ, मैले वीरेन्द्रजीलाई आज मन पराउँला वा मन नपराउँला तर, उहाँले गरेको योगदान हेर्नुपर्छ । मान्छेलाई कम्पार्टमेन्टलाइज गर्न पनि सिक्नु पर्दो रहेछ । त्यो भनेको कुनै मान्छे समग्रमा राम्रो नि हुन्छ नराम्रो नि हुन्छ । महाभारतमा युधिष्ठिर सबै राम्रो त होइन नि । पर्दा झुटो नि बोल्यो ।
(नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक सार्वजनिक कार्यक्रममा राखेकाे धारणा )