पूर्वाधार र प्रचार अभावले सिजनमा सीमित नेपालको पर्यटन

काठमाडौं । नेपालमा पर्यटनको सम्भावना वर्षभरि भएपनि व्यवहारमा भने सिजनमै सीमित हुँदै आएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मनसुन र हिउँदको समयमा पर्यटन आगमन घट्ने गरेको छ । उक्त समयमा होटल र ट्राभल व्यवसाय पनि सुस्त हुने गरेको छ । 

बोर्डको तथ्यांकअनुसार नेपालमा वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक एयरलान्समार्फत नेपाल आउने गरेका छन् । नेपालमा पर्यटनको पहिलो पिक सिजन अक्टोबर–नोभेम्बर र दोस्रो पिक सिजन मार्च–अप्रिललाई लिने गरेको छ । यो सिजनमा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिन्छन् । मनसुन सिजन र हिउँद सिजनमा पर्यटनको आगमन घट्ने गरेको छ, जसलाई ‘लो सिजन’ भन्ने गरिन्छ ।

बोर्डको तथ्यांकअनुसार २०२५ को ११ महिनामा १० लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सबैभन्दा धेरै अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका छन् । सबैभन्दा कम पर्यटक जुलाईमा ७० हजार ७११ भित्रिएका छन् । 

null

पर्यटनसँग सम्बद्ध सरोकारवालाहरूले नेपालमा बाह्रै महिना पर्यटन सिजन नहुनुका कारण प्राकृतिक, संरचनात्मक, नीतिगतलगायत कारण बताउँछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले १२ महिना पर्यटक भित्र्याउन नसक्नुको प्रमुख चुनौती खराब मनसुन र पूर्वाधारको अभाव औंल्याए ।

पूर्वाधारमा सुधार भएको अवस्थामा नेपालमा बाह्रै महिना पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए । 

उनले भने, ‘पर्यटकीय हिसाबले सबै क्षेत्रमा सबै थोक छ, तर सबै ठाउँमा पूर्वाधारको सुविधा छैन, उदाहरणको लागि विन्टर सिजनमा बेस क्याम्प जाँदा होटलहरूमा हिटर सिस्टम मात्रै भयो भने पर्यटक आगमन घट्दैन ।’

थपलियाका अनुसार बखायाममा नेपालको मौसम एकदमै खराब हुने भएकाले त्यो समयमा पर्यटकलाई प्रमोट गर्न गार्हो हुने र पर्यटक आगमन घट्ने गर्छ । 

‘मनसुनमा हामी नेपालीहरू नै हिँड्न डराउनुपर्ने स्थिति छ, यो बेला कहाँ पहिरो खस्छ, कहाँ बाढी जान्छ थाहा नै हुँदैन । बर्खा याम अलि जोखिमपूर्ण नै भएकोले हामीलाई प्रमोट गर्न अलि गाह्रै छ,’ उनले भने । 

सिजनको समयमा मौसम पनि राम्रो हुने र विदेशी पर्यटकलाई पनि त्यो समय मन पर्ने हुँदा स्वभाविक रूपमा पर्यटनको संख्या बढ्ने गरेको उनको भनाइ छ ।

यद्यपि ‘लो सिजन’ मा पर्यटकलाई आकर्षण गर्न सक्ने खालको विभिन्न कार्यक्रम गर्न सके पर्यटक भित्र्याउन सम्भावना भएको थपलियाले बताए । उनका अनुसार लो सिजनमा ४० हजारको हाराहारीमा भारतीय पर्यटकहरू नेपाल हुँदै कैलाश मानसरोवरको यात्रा गर्छन् । 

त्यो संख्या बढाउन सकेको खण्डमा पनि लो सिजमा पर्यटन व्यवसायीलाई अप्ठ्यारो नहुने उनले बताए । 

थपलिया भन्छन्, ‘४० हजार पर्यटक अहिले पनि कैलाश मानसरोवर जानको लागि आउँछन् । उनीहरू नेपालमा कम्तीमा चार रात बस्छन्, त्यो समयमा राम्रै खर्च गर्न सक्ने क्षमताको पर्यटक हुन्छन् ।’

पूर्वाधारमा सुधार र मनसुनमा हुने प्राकृतिक विपत्तिको समयमा सरकारले पर्याप्त तयारी गरेको खण्डमा नेपालमा बा¥है महिना पर्यटन सिजन हुने थपलियाले बताए । 

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके पनि नेपालको कमजोर पूर्वाधारकै कारण पर्यटकको संख्या चाहेर पनि बढाउन नसकेको तर्क गर्छन् । पर्यटनसम्बन्धी प्रचार–प्रसार सरकारी निकायबाट जुन तहमा हुनुपर्ने त्यो नहुँदा पनि नेपालमा पर्यटनको सिजन बाह्रै महिना हुन नसकेको उनी बताउँछन् । 

‘निजी क्षेत्र, चर्चित ब्लगरहरूले युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालबाट नेपालबारे प्रचार प्रचार गरिरहेका हुन्छन्, तर सरकारी निकायबाट न्यून हुने गरेको छ,’ उनले भने, ‘जति हामीले प्रचारप्रचार गर्न सक्यौं त्यति नै पर्यटक भित्रिने सम्भावना बढ्दै जान्छ ।

पर्यटनसँग सम्बन्धित टुरिस्ट प्रहरी, स्वंयसेवकलगायतलाई अधिकतम खटाउने, तालिमहरू दिएर संवेदनशील बनाउनु आवश्यक रहेको पनि उनले औंल्याए । 

‘नेपाल आउने पर्यटकहरलाई कस्तो व्यवहार गर्ने, कसरी स्वस्थ वातावरण बनाउने भनेर पर्यटक प्रहरीलगायत पर्यटनसँग सम्बवद्धलाई तालिम दिएर संवेदनशील बनाउनुपर्छ,’ उनले भने ।

अध्यक्ष चुके गर्मी महिनामा आउने पर्यटक चिसो ठाउँमा जान सक्ने र जाडोमा आउने पर्यटकलाई पनि घुम्नको लागि पर्याप्त ठाउँहरू भएको बताउँछन् । उनले सरकारी निकायलाई मात्रै दोष नदिएर सरकार, गैरसरकारी संघसंस्था र होटल व्यवसायीहरू सबै लागि प¥यो भने जुनसुकै समयमा पर्यटन आउने वातावरण बनाउन सकिने दावी गरे ।

मनसुनको सिजनमा पर्यटकलाई नयाँ अनुभव दिन सक्ने चुके बताउँछन् । उनले पछिल्लो समय मौसविद्हरूले गर्ने मौसम पूर्वानुमान मिलिरहने भएकोले त्यसलाई आधार मानेर यात्रा गर्न सक्ने भएकाले पर्यटकलाई पनि त्यही किसिमले सूचनाहरू प्रचारप्रसार गर्नुपर्ने औंल्याए । 

‘मौसमसम्बन्धी सही जानकारी दिएको खण्डमा पर्यटकहरूले त्यसलाई हेरेर मनसुनमा पनि आफ्नो कार्यक्रमको सेड्युल बनाउँछन्,’ उनले भने ।  

१२ महिना नै पर्यटन गन्तव्य बनाउने बोर्डको रणनीति 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले सिजनबाहेकको बाँकी महिनामा पनि पर्यटन गतिविधि विस्तार गर्ने तीव्र रूपमा अघि बढाएको बताए । 

उनका अनुसार नेपाललाई ‘अफ सिजन’ नभएर ‘अल सिजन’   गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको छ । 

‘हामीले अब अफ–सिजन भन्ने शब्द नै प्रयोग गर्न छोडेका छौं, अहिले ‘लो सिजन’ भन्छौं । शब्दबाटै करेक्सन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘पहिले–पहिले अफ–सिजनमा होटल बन्द हुन्थे, स्टाफहरू छुट्टीमा हुन्थे। अहिले त्यो अवस्था छैन । व्यवसाय बन्द गरेर बस्नु पर्ने अवस्था छैन ।’

जाडो मौसमा पनि पर्यटन गतिविधि बढाउन विन्टर स्पोर्ट्स र विन्टर ट्रेकिङलाई अघि बढाउँदै आएको उनको भनाइ छ । ‘युरोपमा घाम नलाग्ने, अत्यधिक चिसो हुने बेला नेपालका घाम लाग्ने मिडहिल र हिमाल नजिकका क्षेत्रहरू आकर्षक हुन्छन् । त्यसैले यो समयमा पनि नेपालमा पर्यटक आउन सक्ने अवस्था छ,’ लामिछाने भन्छन् । 
घान्द्रुक, घोरेपानी, इलामजस्ता स्थानहरू जाडोयाममा पनि घाम लाग्ने र चिसो कम महसुस हुने भएकाले उपयुक्त गन्तव्य बन्न सक्ने उनी बताउँछन् ।

उनका अनुसार बोर्डले पछिल्लो दुई–चार वर्षदेखि व्यवसाय नै बन्द गर्नुको सट्टामा विभिन्न प्याकेजहरू बनाएर बेच्न व्यवसायीहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

मनसुनलाई पनि अवसरका रूपमा प्रयोग गर्न सकिने लामिछानेको तर्क छ । ‘मिडहिलमा मनसुन टुरिजम, रेन टुरिजम गर्न सकिन्छ, मध्यपूर्वका धेरै पर्यटकले जीवनमा पानी परेको देखेकै हुँदैनन्, बर्खामा भिज्नु, छाँगाछहरा हेर्नु, हुस्सुमा हिँड्नु उनीहरूका लागि ‘लाइफ–टाइम एक्सपेरियन्स’ हो,’ उनी भन्छन् । 

धान रोपाइँ, खेतबारीका गतिविधि, हरियाली र वर्षायामको प्राकृतिक सौन्दर्यलाई पनि पर्यटन उत्पादनका रूपमा प्रवद्र्धन गर्नतर्फ बोर्ड सकारात्मक रहेको उनले बताए ।

लामिछानेले बोर्डले पर्यटक ल्याउने, प्रडक्ट बेच्नेभन्दा पनि पर्यटक आउने माहोल बनाइदिने रहेको उनको भनाई छ । उनका अनुसार बोर्डले व्यवसायीलाई एजुगेट गर्ने, पर्यटकको आकर्षण के मा छ, के गर्दा उपयुक्त हुन्छ भनेर त्यसअनुसार गरिरहेको छ । 

यही अवधारणालाई आत्मसात् गरेको उनी बताउँछन् । ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’ भन्ने भिजन राखिएको छ । ‘सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउँदै जीवनपर्यन्त अनुभूति दिने पर्यटन विकास गर्नु नै हाम्रो लक्ष्य हो,’ उनको भनाइ छ।

Share News