२०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२५ नेपालको पर्यटन क्षेत्रका लागि उत्साह र चुनौतीपूर्ण दुवै रह्यो । पर्यटक आगमनमा केही सुधार देखिए पनि पर्यटन उद्योग अपेक्षित उचाइमा पुग्न सकेन ।

गत भदौमा भएको जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छविमा अनिश्चितता सिर्जना गर्यो । जसले गर्दा नेपालले सम्भावना अनुसारको लाभ लिन सक्ने अवस्था बनेन । यद्यपि आगामी दिनमा पर्यटन पुनः मजबुत रूपमा उठ्न सक्ने संकेत भने देखिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार यो वर्षको अन्तिमसम्ममा नेपाल भित्रिने पर्यटकको संख्या ११ लाख ५० हजार जति पुग्ने अनुमान छ ।

null

वर्षभरिमा के-के भए ?

भदौ २३ र २४ गते गतेको जेनजी आन्दोलन

सन् २०२५ लाई फर्केर हेर्दा पर्यटन क्षेत्रले मात्रै नभएर सिंगो देशले नै बिर्सन नसक्ने घटना भदौ २३ र २४ गते घट्यो । जेनजी आन्दोलनको कारण देशका महत्वपूर्ण अंगहरू सिंहदरबार, संसद् भवन, अदालत, कर्पोरेट भवन, होटल लगायतमा आगजनी हुँदा खर्बौंको घाटा भयो । साथसाथै आन्दोलनले नेपालको पर्यटन क्षेत्रलाई पनि गहिरो असर पारेको छ ।

पर्यटन सिजनको सुरुवातमै देशमा यस्तो घटना सिर्जित हुँदा पर्यटनको आगमन घट्न पुग्यो । विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजारको हाराहारीमा पर्यटक भित्रिएका छन् । आन्दोलनमा हिल्टन, हायात रिजेन्सीसहित दुई दर्जन होटलमा क्षति पुग्योे । हिल्टनजस्तो अन्तर्राष्ट्रिय चेन होटल जलेर ध्वस्त हुँदा यसले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश प्रवाह हुन पुगेको व्यवसायीहरू बताउँछन् । यो घटनापछि यो क्षेत्रमा कार्यरत २ हजारभन्दा बढी कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पुगेको छ ।

आन्दोलनमा क्षति हुन पुगेको हायत रिजेन्सी अनिश्चितकालको लागि सञ्चालनमा आउन नसक्ने जानकारी गराउँदै बन्द नै हुन पुग्यो । जसको कारण त्यहाँ कार्यरत १३३ जना कर्मचारीले कामबाट बिदा लिनुपर्यो ।

नीतिगत निर्णय

पर्यटन क्षेत्रको लागि सन् २०२५ मा सरकारले केही सकारात्मक नीतिगत निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हवाइ वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै अब स्थलमार्गबाट आउने पर्यटक विशेष गरी भारतीय पर्यटकलाई थप सहज हुने भएको छ । 

यसअघि भारतीय नागरिकले भारु २५ हजारभन्दा बढी बोकेर ल्याउन नपाउने व्यवस्था थियो । त्यस्तै, बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगसरह छुट दिने निर्णय गर्यो । जुन निर्णयले पर्यटन व्यवसायीहरू निकै उत्साहित भए ।

सन् २०२५ मा सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा परिवर्तन गर्यो । सरकारले अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ ।

नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ भने यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ ।

चेन होटलहरू भित्रिए

सन् २०२५ मा अन्तर्राष्ट्रिय चेन होटलहरू भित्रिएका छन्, जुन नेपालको पर्यटन क्षेत्रको लागि सकारात्मक पाटो हो । सन् २०२५ मा केही तारे होटलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माण सुरु भएका छन् ।

अन्तर्राष्ट्रिय ब्राण्ड मोक्सी होटल्स ब्राण्डको ‘मोक्सी काठमाडौं’ यसै वर्ष सञ्चालनमा आएको छ । एमएस ग्रुप अन्तर्गतको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले यसलाई निर्माण गरेको हो ।

सन् २०२५ को जनवरीतिर काठमाडौंको सुकेधारामा फ्रान्सेली ब्राण्डको पाँचतारे ‘होटल मर्क्योर’ सञ्चालनमा आएको छ । त्यस्तै, सन् २०२५ को नोभेम्बरतिर सञ्चालनमा आएको पाँचतारे होटलको नाम हो होटल टुलिप । चितवनको सौरहामा सञ्चालनमा आएको यो होटल फ्रान्सको लुभ्र होटल्स ग्रुपको ब्राण्ड रोयल टुलिपलाई केटीएम हस्पिटालिटीले सञ्चालनमा ल्याएको हो ।

त्यस्तै, पोखरामा चारतारे होटल टेम्पल बेल बुटिक, बुटबलमा हायात प्यालेस, भैरहवामा सिद्धार्थ भिलेजलगायत तारे होटलहरू सञ्चालनमा आएका छन् । सन् २०२५ मा केही चेन होटलहरू भित्रिएका छन् । धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदैछ । क्लब चौलानीको लगानी रहेको यस होटलमा अन्तर्राष्ट्रिय चेन होटल ‘होटल इन आइएचजी’को व्यवस्थान रहेको छ ।

पर्यटन व्यवसायीको नजरमा सन् २०२५ 

आन्दोलन नभएको भए अझ राम्रो हुने थियो : विनायक शाह

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले सन् २०२५ पर्यटन तथा होटल उद्योगका लागि मिश्रित वर्ष रहेको बताए । ‘समग्रमा २०२५ मिश्रित भयो, केही उपलब्धि हासिल भए, क्षमता अभिवृद्धि भयो । अन्तर्राष्ट्रिय ब्राण्ड होटलहरू थपिए, हाम्रो लागि यो सकारात्मक पक्ष हो,’ उनले भने ।

जेनजी आन्दोलन नभएको भए यो वर्ष सन् २०२४ भन्दा राम्रो हुने उनको भनाइ छ । उनका अनुसार वर्षको बीचमा भएको आन्दोलनले पर्यटनमा नकारात्मक असर पारेको छ । ‘पर्यटनको पिक सिजनमै आन्दोलन भयो, त्यो नभएको भए २०२४ को भन्दा राम्रो नतिजा आउँथ्यो,’ उनी भन्छन् । 

यद्यपि जेनजी आन्दोलन छोटो समयको लागि भएको हुँदा त्यसले पर्यटन क्षेत्रमा दीर्घकालीन असर भने नगरेको अध्यक्ष शाहको भनाइ छ । ‘२३–२४ गते आन्दोलन भयो, २७ गते अन्तरिम सरकार गठन भयो । आन्दोलनले आक्रान्त त पार्यो, तर त्यो छोटो अवधिका लागि मात्र थियो,’ उनले स्पष्ट पारे ।

सन् २०२५ मा पर्यटन क्षेत्रमा केही उपलब्धिपूर्ण काम भएकोले खुसी हुनुपर्ने तर्क अध्यक्ष शाह राख्छन् । उनी भन्छन्, ‘नेपालमा धेरै अन्तर्राष्ट्रिय ब्राण्ड होटलहरू आएका छन् । ३५–३६ भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डहरूले नेपाली पर्यटन र अर्थतन्त्रमा विश्वास गरेका छन्, विदेशी ब्राण्डले सम्भावना देखेर नै हो आएका हुन् ।’

उनका अनुसार नेपालमा हाल तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड होटल सञ्चालनमा छन् र केही होटलहरू पाइपलाइनमा छन् ।

शाहका अनुसार अहिले नेपालका होटल वार्षिक ३५–४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमताका छन् । हाल वार्षिक १२ लाखको पर्यटक भित्रिने गरेकोमा यो संख्यालाई अझै बढाउन सक्ने सम्भावना औंल्याएका छन् ।

अध्यक्ष शाहले आगामी वर्षमा यो क्षेत्रले अझ राम्रो गर्नको लागि राष्ट्रिय पर्यटन कार्यनीति आवश्यक रहेको बताए । ‘हामीसँग स्पष्ट राष्ट्रिय कार्यनीति हुनुपर्छ, समस्याबाट कसरी अगाडि बढ्ने भनेर । स्पष्ट कार्यनीति भए २०२५ मा गर्न नसकेको कुरा २०२६ मा गर्न सक्छौं,’ उनले भने । 

सिजनमै ६०/७० प्रतिशत बुकिङ क्यान्सिल भयो : दिनेशकुमार चुके

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार सन् २०२५ को सुरुवात होटल उद्योगका लागि आशाजनक देखिएको थियो । तर सिजनमै आन्दोलन हुँदा पर्यटन क्षेत्रमा गम्भीर रूपमा प्रभावित हुन पुग्यो । सेप्टेम्बरमा आन्दोलन हुँदा कतिपय होटलमा ६०/७० प्रतिशतसम्म बुकिङ रद्द गर्नुपरेको उनले अनुभव सुनाए ।

चुकेका अनुसार आन्दोलनका क्रममा क्षति बेहोरेका होटलहरूले हालसम्म बीमा दाबीसमेत पाउन सकेका छैनन् । ‘जेनजी आन्दोलनमा प्रभावित होटलहरूले बीमा पाएका छैनन्, हिल्टनजस्ता ठूला होटलसमेत समस्यामा छन्,’ उनले भने ।

अध्यक्ष चुकेले हालको अवस्था भने पर्यटन क्षेत्र सुधारतर्फ उन्मुख रहेको बताए । ‘अहिले स्थिति सामान्य बन्दै गएको छ, भखरै सम्पन्न हात्ती महोत्वसले होटलहरू भरिभराउ भए, अकुपेन्सी पनि राम्रै देखिएको छ,’ उनले भने।

आन्दोलन नभएको भए १५ लाख पर्यटक भित्रिन्थे : जिस्वान तुलाधार श्रेष्ठ

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधार श्रेष्ठले सन् २०२५ पर्यटन क्षेत्रको लागि अपेक्षाअनुसार सफल हुन नसकेको बताइन् । यसको मुख्य कारण जेनजी आन्दोलन नै भएको उनको दावी छ । उनले आन्दोलन नभएको भए सन् २०२५ मा १५ लाखसम्म विदेशी पर्यटक भित्रिन सक्ने बताइन् । 

‘जनवरी त अफसिजन नै हो, तर मार्च–अप्रिलमा राम्रो पिक आएको थियो, हाम्रो अपेक्षा त दोब्बर थियो, तर अपेक्षाअनुसार भईदिएन,’ उनले भनिन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सन् २०२५ मा भारतीय पर्यटकको आगमन पनि उल्लेखनीय रूपमा घटेको बताइन् । ‘पहिले जुन अनुपातमा भारतीय पर्यटक आउँथे, त्यो करिब ५० प्रतिशतले घटेको छ,’ उनले भनिन् ।

त्यस्तै, उनले सन् २०२५ मा बुकिङ रद्द धेरै भएको र त्यसको प्रभाव अहिले पनि कायमै रहेको उल्लेख गरिन् । बुुकिङ रद्द रिकभर गर्न सन् २०२६ मा लागिपरेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय पर्यटक सोचेअनुसार भित्र्याउन नसकेपनि आन्तरिक पर्यटन भने सन् २०२५ मा राम्रै रहेको उनले बताइन् ।

सन् २०२५ मा बुद्धिष्ट र हिमालयन टुरिजमको मार्केटिङ भने प्रभावकारी रहेको उनको भनाइ छ । ‘यसको कारण बुकिङ पनि आयो, सेप्टेम्बरको घटनाले केही असर पार्यो, नभए २०२५ धेरैपछि एउटा ठूलो इभेन्ट वर्ष हुने थियो ।’ 

उनका अनुसार सन् २०२५ मा भएका दुवै ठूला अन्तर्राष्ट्रिय इभेन्टहरू सफल रहे ।

सरकारी प्रतिबद्धता कार्यान्वयनमा कमजोरी

हानका अध्यक्ष शाहले सन् २०२५ मा नीतिगत रूपमा केही व्यवस्थाहरू पर्यटन क्षेत्रको लागि भएपनि कार्यान्वयनमा भने आउन नसकेको गुनासो राखे । ‘पर्यटन क्षेत्र उद्योगसरह घोषणा त भयो, तर कार्यान्वयनमा आएको छैन । हामीले घोषणा गरिएका सुविधा लिन पाएका छैनौं ।’

शाहले आगामी आव २०८३÷८४ बाटै २० लाख पर्यटक भित्राउने राष्ट्रिय लक्ष्य घोषणा गर्नुपर्ने धारणा राखेका छन् । भिजन लिएर अगाडि बढ्दा सफलता हासिल गर्न सक्ने उनको तर्क छ । 

उनले विगतका अभियान सम्झँदै भने, ‘२०११ मा पर्यटन वर्ष भयो, २०२० मा ‘भिजिट नेपाल’ भन्यौं, तर कोरोनाले गर्न दिएन । त्यतिबेला पनि तीन तहका सरकार, निजी क्षेत्र र साझेदारहरू एकजुट भएका थियौं ।’

होटल व्यवसायी महासंघका अध्यक्ष चुकेले पनि सरकारका नीतिगत प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो राखे । ‘सरकारले बजेटमा बिजुलीमा औद्योगिक ट्यारिफ दिने भनेको थियो, तर अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने, ‘कार्यान्वयन नहुँदा होटल व्यवसाय मारमा परेको छ ।’

उनले जेनजीमा क्षतिग्रस्त भएका होटलहरू छिटो सञ्चालनमा आउन राष्ट्र बैंकको सहुलियत र अनुदान आवश्यक रहेको बताए । ‘राष्ट्र बैंकले अनुदान तथा सहजीकरण गरेर होटलहरू छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालबाट सकारात्मक सन्देश जान्छ ।’

सेल्स मिसनमा कानुनी अड्चन : पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह एैरले बोर्डले सन् २०२५ मा डिजिटल प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताए । ‘फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमार्फत गन्तव्य प्रचारलाई आक्रामक बनाइएको छ,’ वरिष्ठ निर्देशकले एैरले भने । 

सेप्टेम्बरमा भएको आन्दोलनको कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन ‘नेपाल नाउ’ अभियान चलाएको र यो अभियानका कारण  पर्यटन क्षेत्र अपेक्षाकृत छिटो बाउन्स ब्याक हुन सफल भएको उनको भनाइ छ । 

त्यसैगरी, बोर्डले सन् २०२५ मा ओटीएम र एसएटीटीईजस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सहभागिता जनाएको छ ।

बोर्डले सन् २०२५ मा सेल्स मिसनमार्फत थप आक्रामक रूपमा जान चाहँदाचाहँदै पनि कानुनी अड्चनले चुनौती थपिएको उनले बताए । उनका अनुसार सेल्स मिसन भनेको इङ्गल्याण्ड, अस्ट्रिया, जर्मनीजस्ता देशका निश्चित सहरमा गएर गरिने लक्षित प्रवर्द्धन हो । 

तर सार्वजनिक खरिद ऐनका कारण १० लाख रुपैयाँभन्दा बढी खर्च गर्न नमिल्ने सीमाले यस्ता मिसन सञ्चालन गर्न कठिन बनाएको उनको गुनासो छ । ‘मेला भनेको ‘बी–टु–सी’ हो, तर सेल्स मिसन ‘बी–टु–बी’ हो, जुन पर्यटन विकासका लागि अत्यन्तै आवश्यक छ,’ एैरले भने ।

सेल्स मिसनसम्बन्धी कानुनी अड्चन हटाउने र हवाई सेवालाई मजबुत बनाउन सकियो भने सन् २०२६ मा अझ राम्रो नतिजा निकाल्न सकिने उनको तर्क छ ।

चुनौतीका बाजजुत पनि सन् २०२५ मा नयाँ ट्राभाल मार्टहरू, सीमावर्ती क्षेत्रहरूमा होटलमा लगानी बढेको एैरले बताए । ‘मेची क्राउनदेखि सुदूरपश्चिमको धनगढीसम्म अर्बौं रुपैयाँ लगानीमा ठूला होटल र क्यासिनोहरू खुलेका छन्,’ उनले भने ।

बोर्डले इस्टर्न, वेस्टर्न र फार–वेस्टर्न ट्राभल मार्ट आयोजना गर्दै आएको छ । यो वर्ष पहिलोपटक मधेसमा मधेश वीरगञ्जमा सम्पन्न गरेकमो उनको भनाइ छ ।

त्यस्तै, सन् २०२५ मा पर्यटन बोर्डले युएनडीपीसँग मिलेर तीनवटा नयाँ पदयात्रा मार्ग विकास गरेको उनले बताए । उनका अनुसार बोर्डले पूर्वमा कञ्चनजंघा, मध्यमा मनास्लु र सुदूरपश्चिममा अपी क्षेत्रका ट्रेकिङ रुटहरू खुलेका छन् । मनाङजस्ता दुर्गम क्षेत्रमा आपतकालीन उद्धार उपकरण राखिएको छ भने काठमाडौं–रारा सिधा बस सेवा जस्ता नयाँ प्रयास पनि यो वर्ष सम्पन्न भएको उनले बताए । 

Share News