विभाजनको संघारमा कांग्रेस : आसन्न संकट, चेतावनी र नेतृत्वको दायित्व

काठमाडौं । नेपाली कांग्रेस आज आफ्नो राजनीतिक इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ । आन्तरिक विवाद, नेतृत्वप्रति बढ्दो अविश्वास, गुटगत प्रतिस्पर्धा र निर्णय प्रक्रियाप्रतिको असन्तुष्टिले पार्टीलाई विभाजनको संघारसम्म पुर्याएको छ । 

कांग्रेसको यो संकट अब केवल एउटा पार्टीको आन्तरिक समस्या मात्रै होइन, यसले नेपालको प्रजातान्त्रिक अभ्यास, बहुदलीय प्रणाली र समग्र राजनीतिक स्थायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । र ती प्रणालीमाथि गम्भीर प्रभाव पार्ने निश्चित छ ।

कांग्रेस नफुटोस् भन्ने चाहना आज पार्टीभित्र मात्रै सीमित छैन । यो त हरेक प्रजातन्त्र, विधि र संस्थागत राजनीतिमा विश्वास गर्ने आम नागरिकको साझा आकांक्षा पनि हो । किनकि कांग्रेस कमजोर हुनु वा विभाजन हुनु भनेको केवल एउटा दल कमजोर हुनु मात्र होइन, नेपालको प्रजातान्त्रिक परम्परा र राजनीतिक सन्तुलन नै कमजोर हुनु हो । 

२००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ साल र २०६२/६३ का ऐतिहासिक जनआन्दोलनसम्म कांग्रेसले निर्वाह गरेको निर्णायक भूमिकाले यस पार्टीलाई नेपालको लोकतान्त्रिक मेरुदण्डका रूपमा स्थापित गरेको छ । 

कांग्रेसमा अहिले देखिएको आन्तरिक संकटलाई सामान्य गुटगत विवादको रूपमा बुझ्नु गम्भीर भूल हुनेछ । यो संकट नेतृत्व शैली, संगठन सञ्चालनको अभ्यास, आन्तरिक प्रजातन्त्र र वैचारिक स्पष्टतासँग गहिरो रूपमा गाँसिएको छ । यदि यो विवाद संवाद र सहमतिबाट समाधान हुन सकेन र विभाजनको बाटो रोजियो भने त्यसको पहिलो प्रहार कांग्रेसकै सांगठनिक संरचनामाथि पर्नेछ । देशभर फैलिएको संगठनात्मक जालो टुक्रिनेछ । जिल्ला र वडा तहका कार्यकर्ता अन्योलमा पर्नेछन् । अनि कसको पक्ष लिने भन्ने द्वन्द्वले पार्टीलाई लामो समयसम्म कमजोर बनाउनेछ । अझ यसको दुस्परिणाम आसन्न आमनिर्वाचनमा पर्ने छ ।

कांग्रेसको विगतको विभाजनको अनुभवले देखाइसकेको सत्य पार्टीका नेताहरूले समय छँदै बुझ्नु आवश्यक छ । प्रजातन्त्रमा स्थापित भएका दलहरू कमजोर हुँदा नयाँ समूह वा दल तत्काल चर्चामा आए पनि दीर्घकालमा तिनीहरूले जनविश्वास जित्न कठिन हुन्छ । पुरानो पार्टी भत्किने र नयाँले तत्काल जनविश्वास जित्न नसक्दा प्रजातन्त्रमा ठुलो ग्याप उत्पन्न हुने सम्भावना रहन्छ ।

नेतृत्व तहमा देखिएको टकराव र अविश्वास विभाजनपछि झनै गहिरिने खतरा रहन्छ । आजको असहमतिले फुटको रूप लियो भने त्यसलाई वैचारिक बहसभन्दा व्यक्तिगत शक्ति संघर्षका रूपमा व्याख्या गरिनेछ । यसले विधि, संस्थागत निर्णय र आन्तरिक लोकतन्त्रको वकालत गर्ने कांग्रेसकै नैतिक हैसियतमा गम्भीर प्रश्न उठाउनेछ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास कायम गर्न असफल भएको सन्देश जनतामा जानु कांग्रेसका लागि दीर्घकालीन रूपमा सबैभन्दा ठूलो क्षति हुनेछ ।

चुनावी राजनीतिमा कांग्रेस विभाजनको असर झनै प्रत्यक्ष र पीडादायी हुनेछ । मत विभाजनका कारण जित्न सकिने धेरै निर्वाचन क्षेत्र गुम्नेछन् । प्रतिस्पर्धात्मक क्षेत्रमा विभाजित कांग्रेस मतले प्रतिद्वन्द्वी दललाई सहज जित दिलाउनेछ । जसको परिणाम संसद्‌मा कांग्रेसको कमजोर उपस्थिति र सरकार निर्माण प्रक्रियामा घट्दो प्रभावका रूपमा देखिनेछ । यसले गठबन्धन राजनीतिमा कांग्रेसको सौदाबाजी शक्ति घटाउने मात्र होइन, राष्ट्रिय नीति र निर्णय प्रक्रियामा पनि उसको प्रभाव सीमित बनाउनेछ ।

नेपालको राजनीतिक प्रणाली सन्तुलित अन्तरपार्टी संरचनामा आधारित छ, जहाँ बलियो प्रजातान्त्रिक दलको उपस्थिति अनिवार्य मानिन्छ । कांग्रेस कमजोर हुँदा सत्ता र प्रतिपक्षबीचको सन्तुलन बिग्रन सक्छ । अझ प्रजातान्त्रिक खेमाको नेता दल कांग्रेस कमजोर हुँदा एउटा ध्रुव कमजोर हुँदा त्यसको प्रभाव राजनीतिक संरचनामा पर्ने पक्का रहन्छ । सशक्त प्रतिपक्ष नहुँदा सरकारमाथिको प्रजातान्त्रिक निगरानी कमजोर हुने र अधिनायकवादी प्रवृत्तिलाई प्रश्रय मिल्ने जोखिम बढ्छ । 

कांग्रेस विभाजनको सामाजिक मनोवैज्ञानिक असर पनि कम गम्भीर हुने छैन । दशकौंदेखि कांग्रेससँग भावनात्मक रूपमा जोडिएका समर्थक र मतदातामा निराशा र वितृष्णा बढ्न सक्छ । सबै दल उस्तै हुन् भन्ने धारणा बलियो हुँदा राजनीतिक सहभागिता घट्ने र प्रजातान्त्रिक संस्कृतिमा क्षय आउने खतरा रहन्छ, जुन कुनै पनि प्रजातान्त्रिक समाजका लागि शुभ संकेत होइन ।

तर यही संकट कांग्रेसका लागि आत्ममूल्यांकन र रूपान्तरणको अवसर पनि हुनसक्छ । असहमति र प्रश्नहरूलाई दबाएर होइन, खुला संवाद, संस्थागत प्रक्रिया र आन्तरिक प्रजातन्त्रमार्फत समाधान गर्न सके कांग्रेस अझ परिपक्व र बलियो भएर निस्कन सक्छ । व्यक्तिगत अहंकार र गुटगत स्वार्थभन्दा पार्टी र देशको हितलाई प्राथमिकतामा राख्नु आजको अनिवार्य आवश्यकता हो ।

कांग्रेसको आजको आवश्यकता स्पष्ट छ– समयमै बुद्धि पुर्याएर आन्तरिक प्रजातन्त्रको सुदृढीकरण, स्पष्ट वैचारिक दिशानिर्देश, समावेशी र उत्तरदायी नेतृत्व, र गुटगत राजनीतिलाई व्यवस्थापन गर्दै नीति, संगठन र जनसम्पर्कमा केन्द्रित हुने साहस गर्यो भने यो उत्तम संकल्पसमेत बन्न सक्छ । विभाजन सजिलो विकल्प जस्तो देखिन सक्छ तर यसको दीर्घकालीन मूल्य अत्यन्तै महँगो हुन्छ । 

अन्ततः नेपाली कांग्रेसको भविष्य कांग्रेसकै हातमा छ । विभाजनको बाटो रोज्ने कि सहमतिका आधारमा रूपान्तरणको मार्ग अपनाउने यो निर्णयले आगामी दशकको नेपाली राजनीति निर्धारण गर्नेछ । अहिले आम प्रजातन्त्रप्रेमी र कांग्रेसजनले कांग्रेस नफुटोस् भनेर भन्ने चाहना भावनात्मक आग्रह मात्र होइन, यो व्यवहारिक, राष्ट्रिय हितसँग गाँसिएको आवश्यकता पनि हो । यही सन्दर्भमा नेतृत्वदेखि कार्यकर्तासम्म सबैले जिम्मेवार र दूरदर्शी भूमिका निर्वाह गर्नु आजको सबैभन्दा ठूलो राजनीतिक दायित्व बनेको छ ।

Share News