बैंकिङ प्रणाली संसारभर उच्च नियमन, पारदर्शी र कडा अनुशासनमा आधारित व्यवसाय हो । बैंकिङ प्रणालीप्रति सर्वसाधारणदेखि माथिल्लो वर्गसम्मको सबैको उत्तिकै उच्च विश्वास र सम्मान रहेको पाइन्छ । वासेल लगायतका संस्थाहरूका कारण संसारभर बैंकिङको आधारभूत एवं कोर विषयहरू, विवेकशील नियमनहरू, नियमन र सुपरीवेक्षणका आधारभूत विषय एकै प्रकारका सिद्धान्तमा आधारित रहेको पाइन्छ । तथापि हरेक देशमा आ-आफ्नो फ्रेम वा प्रणालीबाट बैंक वित्तीय संस्थाहरू सञ्चालनमा रहेको पाइन्छ । हालैमात्र गत डिसेम्बर महिनामा अष्ट्रेलियामा भएको एउटा कार्यक्रममा बैंकको तर्फबाट सहभागी हुने मौका मिलेको थियो । मेलवर्नस्थित भिक्टोरिया युनिभर्सिटीमा भएको सो कार्यक्रममा त्यहाँका विभिन्न प्रोफेसर तथा सरकारी अधिकारीहरू (स्रोत व्यक्तिहरू) बाट त्यहाँको भौगोलिक, आर्थिक, वित्तीय, बैंकिङ र सामाजिक जनजीवन अष्ट्रेलियन बैंकिङसम्बन्धी बुझ्न पाएका थोरै अनुभव र अनुभूतिका विषयहरू नलेज सेयरिङको रूपमा यहाँ प्रस्तुत गर्न खोजेको छु ।
अष्ट्रेलिया: शब्दमा
अष्ट्रेलिया भौगोलिक रुपमा विशाल, प्राकृतिक रुपमा समृद्ध, राजनीतिक रूपमा स्थिर राष्ट्र हो । सङ्घीय लोकतान्त्रिक प्रणाली, स्पष्ट संविधान र बलियो संस्थागत संरचनाबाट देश दिगो विकास र सामाजिक समृद्धितर्फ उन्मुख छ । अष्ट्रेलिया विश्वको एक मात्र त्यस्तो देश हो, जुन पूरै महादेश आफै एक राष्ट्र पनि हो । पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित अष्ट्रेलिया प्राकृतिक विविधता, विश्वकै सबैभन्दा समथर महादेश र अर्ध-मरुभूमि देश हो । सबैभन्दा अग्लो पहाड कोसियुस्को (२२२८ मि.) रहेको छ । सुन, फलाम, कोइला, युरेनियम जस्ता प्राकृतिक स्रोत पाइने यस देशमा जनसङ्ख्या करिब २ करोड ७० लाख मात्र रहेको पाइन्छ भने कङ्गारु हालको जनसङ्ख्याको करिब दोब्बरको हाराहारीमा रहेको अनुमान रहेछ ।
देशमा जम्माजम्मी ६ वटा राज्य न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, दक्षिण अष्ट्रेलिया, पश्चिमी अष्ट्रेलिया र तस्मानिया रहेका छन् । यिनीहरु नेपालको प्रदेश सरकारको जस्तो छन् । तर प्रत्येक राज्य सरकारहरू आ-आफ्नो राज्यको विशुद्ध समृद्धितर्फको क्रियाकलापमा केन्द्रित छन् । यहाँको हालको जनसङ्ख्या संरचनामा ३० प्रतिशत विदेशी भूमिमा जन्मिएकाले अष्ट्रेलियन नागरिकता पाएका छन् भने यस देशमा क्षेत्रफलको तुलनामा जनसङ्ख्या कम रहेको तथा देशभर उच्च विविधता र उच्च जीवनस्तरको अद्वितीय संयोजन रहेको छ । विश्वमा बढी जनसङ्ख्या हुने देशमध्ये यो देश ५५-६० औ स्थानमा र जनघनत्व प्रति वर्ग कि.मि. करिब ३ जना रहेको देखिन्छ । विशाल भू-भाग भए पनि मुख्य जनसङ्ख्या ८५ प्रतिशत सहरी क्षेत्र र १५ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको तथ्याङ्क पाइन्छ । सिड्नी, मेलवर्न, व्रिसवेन पर्थ र एडिलेट जस्ता सामुद्रिक किनारमा नै प्रमुख आर्थिक क्रियाकलाप हुने गरेको र बढी जनसङ्ख्या पनि त्यस्तै क्षेत्रमा बसोवास गर्छन् ।
अष्ट्रेलियन अर्थतन्त्र
विश्वको अर्थतन्त्रमा अष्ट्रेलिया १५-२० सम्मको स्थानमा रहेको छ । यहाँको अर्थतन्त्रको वृद्धिमा आप्रवासी र सेवा क्षेत्रको ठूलो योगदान रहेको छ । जीडीपीको आकार करिब अष्ट्रेलियन डलर २ ट्रिलियन बराबरको रहेको छ । शिक्षा क्षेत्रबाट हुने आम्दानी अष्ट्रेलियाको प्रमुख आम्दानी हुने क्षेत्र हो । चीन, जापान र दक्षिण कोरिया प्रमुख व्यापार साझेदार हुन् । कृषिले यहाँको कुल गार्हस्थ उत्पादनमा सानो तर रणनीतिक भूमिका निर्वाह गर्दछ । बेरोजगारी दर न्यून भए पनि यो देशमा दक्ष जनशक्तिको माग उच्च छ । श्रमिकको सुरक्षाको लागि कडा कानुन बनाइएको छ । ब्याजदर मौद्रिक नीतिबाट नियन्त्रित छ । बैंकिङ प्रणालीमा केन्द्रीय बैंकको रूपमा रिजर्व बैंक अफ अष्ट्रेलियाको कडा नियमन रहेको छ । निःशुल्क शिक्षा, बीमा समेतका व्यवस्थाबाट निःशुल्क स्वास्थ्य सेवा, नगद कारोबार निरुत्साहित गरिएको र डिजिटल कारोबारमा केन्द्रित अर्थ व्यवस्थामा रहेको छ भने ‘बाइ नाउ पे लेटर’ तथा अनलाइन शपिङ जस्ता प्लेटफर्महरू अत्यन्त लोकप्रिय रहेका छन् । अर्थतन्त्रमा ई-गभर्ननेन्स, वर्क फर्म होम/रिमोट वर्क कल्चर रहेको पाइन्छ भने अष्ट्रेलियन डिजिटल कारोबार प्रणाली एडभान्स्ड, सेक्यूर्ड र इनोभेसन ड्राइभन छ । नगद कारोबार अत्यन्तै न्यून छ भने कागजी नोटहरूमा पोलिमर नोट प्रयोगमा रहेको देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार यहाँको प्रतिव्यक्ति आम्दानी करिब ६ हजार ५०० अष्ट्रेलियन डलर रहेको छ ।

एआई जेनेरेटेड तस्बिर
अष्ट्रेलियन बैंकिङ प्रणाली
अष्ट्रेलियन बैंकिङ प्रणाली विश्वको बलियो, स्थिर, व्यवस्थित, कडा नियमन र विश्वासिलो मानिन्छ । यस देशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बैंक वित्तीय संस्थासमेत क्रियाशील रहेका छन् भने यस देशको समग्र आर्थिक विकास, व्यापार, रोजगारी र अन्तर्राष्ट्रिय वित्तीय सम्बन्धमा समेत बैंक वित्तीय क्षेत्रको ठूलो भूमिका रहेको पाइन्छ । ग्लोबल फाइनान्सियल क्राइसिस-२००८ जस्ता संकटलाई यहाँको वित्तीय प्रणालीले मजबुत रूपमा सामना गरेको इतिहास छ ।
नेपालमा नेपाल राष्ट्र बैंक अर्थात् एउटै केन्द्रीय बैंकले देशको समग्र बैंकिङ प्रणालीको नेतृत्वमा गर्ने अभ्यास भए पनि अष्ट्रेलियामा मौद्रिक नीति जारी गर्ने, नियमन गर्ने, वित्तीय बजारको नियमन गर्ने तथा वित्तीय जानकारी एकाइ जस्तै कार्य गर्ने ४ अलग अलग संस्थाहरू रहेका छन् । अष्ट्रेलियन केन्द्रीय बैंकिङ र वित्त प्रणालीमा रहेका यी चार वटा प्रमुख नियामक संस्थाहरू क्रमशः आरबिए, एपीआरए, एएसके र एयूएसटीआरएसीका बारेमा निम्नानुसार उल्लेख गरिएको छ । यी चारवटै संस्थाले त्यहाँको वित्तीय प्रणालीको तोकिए बमोजिमको नियमन गर्दछन् ।
केन्द्रीय बैंक (रिजर्व बैंक अफ अस्ट्रेलिया-आरबिए)
सन् १९११ मा स्थापना भएको कमन वेल्थ बैंकबाट केन्द्रीय बैंकको भूमिका अलग गरी आरबिए एक्ट-१९५९ लागू गरी सिड्नीमा मुख्यालय रहने गरी सन् १९६० मा अष्ट्रेलियाको केन्द्रीय बैंकको रूपमा रिजर्व बैंक अफ अस्ट्रेलिया स्थापना भएको हो । खास गरी मौद्रिक नीति जारी गर्ने, मूल्य स्थिरता, पूर्ण रोजगारी प्रवर्द्धन र अष्ट्रेलियाको आर्थिक समृद्धि हासिल गर्नु यस बैंकको प्रमुख उद्देश्य रहेको छ । गभर्नर कार्यकारी हुने, डेपुटी गभर्नरको व्यवस्था, केन्द्रीय बैंक पार्लियामेन्टप्रति पूर्ण उत्तरदायी हुने र मौद्रिक नीतिको निर्णय गर्ने सर्वोच्च निकाय केन्द्रीय बैंक आरबिए हो । नेपालमा नेपाल राष्ट्र बैंकले जस्तै गरी अष्ट्रेलियामा मुद्रा निस्कासन गर्ने, मुद्राको गुणस्तर कायम गर्ने, बैंकहरुको पनि बैंक, वित्तीय स्थायित्व कायम गर्ने कार्य आरबिएले गर्दछ । साथै भुक्तानी प्रणालीको ओभरसाइट गर्ने, क्यासलेस इकोनोमि सपोर्ट तथा डिजिटल पेमेन्टको रेगुलेसन अर्थात् समग्रमा मुद्रा नीति सञ्चालन, मुद्रास्फीति नियन्त्रण, वित्तीय स्थिरता र भुक्तानी प्रणालीको नियमन र निरीक्षण, मौद्रिक नीति जारी गर्ने लगायतका कार्यहरू केन्द्रीय बैंकका प्रमुख कार्यहरू हुन् । नेपालमा नेपाल राष्ट्र बैंकले गर्ने जस्ता प्रकृतिका मध्ये इजाजतपत्र दिने, नियमन, निरीक्षण बाहेकका अन्य कार्यहरू यस निकायलाई दिइएको छ ।

कृषि विकास बैंकका उप-महाप्रबन्धक प्रताप सुवेदी ।
अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटी (एपीआरए)
यो अष्ट्रेलियामा बैंकिङ र बीमासम्बन्धी कारोबार गर्ने बैंक र संस्थाहरूलाई इजाजत दिने नियामक संस्था हो । यसको स्थापना सन् १९९८ मा भएको हो । यसले बैंक तथा बीमा कम्पनीहरूको सुरक्षा र जम्माकर्ताको संरक्षण गर्ने मुख्य नियामकको रूपमा कार्य गर्दछ । यहाँ पनि वासेल ३ का मापदण्डहरू लागू गरिएका छन् । पुँजी पर्याप्तता, बैंकलाई आवश्यक पर्ने तरलता अनुपात कायम राख्न लगाउने, स्ट्रेस टेस्टिङ, सबै बैंक, वित्तीय संस्था र बीमासम्बन्धी संस्थाहरूलाई सुपरिवेक्षण, अनुगमन, निरीक्षण र अन्डर टेकिङ गर्ने लगायतका कार्य यसै नियामकले गर्दछ । बैंक वित्तीय संस्थाको अतिरिक्त यस संस्थाले बीमा कम्पनीहरू, क्रेडिट युनियन, विल्डिङ सोसाइटी एवं सबै फण्ड कम्पनीहरूको कडाइका साथ नियमन गर्दछ ।
नेपालमा बैंक वित्तीय संस्था (बीएफआई) भने जस्तै अष्ट्रेलियामा यी सबै अर्थात् क्रेडिट युनियन, विल्डिङ सोसाइटी, बीमा कम्पनी र फण्ड कम्पनीहरू समेत मिलाएर अथोराइज्ड डिपोजिट टेकिङ इन्स्टिच्युट (एडीआइएस) भनिन्छ । यी सबैको नियमन गर्नु एपीआरएको प्रमुख कार्य हो । यो संस्थाले बैंक फेलियर भएमा निक्षेपकर्ताको निक्षेप रकम अस्ट्रेलियन डलर २ लाख ५० हजारसम्म डिपोजिट ग्यारेन्टी गरेको छ । नियमनको हिसाबले अन्तर्गतका सबै संस्थाहरू अर्थात् एडीआइएसलाई निर्देशन जारी गर्ने, आवश्यकताअनुसार पुँजी बृद्धि गर्न लगाउने, विशेष अवस्थामा व्यवस्थापन हटाई टेक ओभर गर्ने, इजाजतपत्र रद्द गर्नेसम्मको कार्य यस निकायले गर्न सक्छ । नेपालमा नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले गर्ने प्रकृतिको कार्यहरू यस संस्थाले गर्ने गरेको छ ।
अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्ट्रेस्टमेन्ट कमिसन (एएसआईसी)
यो अष्ट्रेलियन सरकारको प्रमुख मार्के कन्डक्ट एण्ड कन्जुमर प्रोटेक्सन रेगुलेटर हो । यसले देशको समग्र वित्तीय बजार निष्पक्ष, पारदर्शी, उपभोक्ता मैत्री हुनुपर्ने लगायत नियमन गर्दछ । यसैगरी यसले बैंक वित्तीय संस्थाहरूको हित संरक्षण, विद्युतीय कार्ड, व्यक्तिगत ऋण मोर्टगेज, बाइ नाउ पे लेटर लगायत सबै डिजिटल बैंकिङ उपकरणको नियमन गर्दछ भने इन्साइडर ट्रेडिङको नियन्त्रण, स्वस्थ, स्वच्छ वित्तीय प्रणाली र प्रतिस्पर्धामा जोड दिन्छ । यसैगरी देशको वित्तीय संस्थाहरूको डिस्क्लोजर गराउने एवं त्यसलाई पारदर्शिता प्रत्याभूति गराउने नियामकको रुपमा समेत यसै संस्थाले काम गर्दछ । एएसआईसी अष्ट्रेलियाको वित्तीय वजार नियामक भएकाले यो संस्थाले फाइनान्सियल सर्भिसेज प्रोभाइडर्सहरूलाई लाइसन्स दिने, फाइनान्सियल एडभाइजरहरुलाई रजिष्ट्रर गर्नेलगायतका कार्य गर्दछ । साथै इनसाइडर ट्रेडिङ र मार्केट म्यानुपुलेसन रोक्ने कर्पोरेट गभर्नेन्स ओभरसाइट गर्ने फाइनान्सियल रिपोर्टिङको गुणस्तर सुनिश्चित गर्ने, वित्तीय साक्षरता कार्यक्रमको अगुवाइ गने, फाइनान्सियल प्रडक्ट रेगुलेसन लगायतका कार्यहरू गर्नुका साथै यसले इजाजत दिएका वित्तीय सेवा प्रदायकहरूले जारी गरिएका निर्देशनहरू उल्लङ्घन गरेको पाइएमा तोकिए बमोजिमको जरिवाना गराउने, अभियोगको प्रकृति हेरी कारोबार इजाजत खारेजी लगायत कानुनी कारबाहीसमेत गर्न सक्ने अधिकार यो निकायले राख्छ । नेपालमा धितोपत्र बोर्डले गर्ने केही कार्यहरू यससँग मिल्दाजुल्दा देखिन्छन् ।
ट्रान्जेक्सन रिपोर्टस् एण्ड एनालाइसिस सेन्टर- (एयूएसटीआरएसी)
नेपालमा राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाई (एफआईयू) जस्तै प्रकृतिको कार्यहरू गर्न यस संस्थाको स्थापना भएको देखिन्छ । यसको मुख्य उद्देश्य देशमा एएमएल तथा सीएफटी, वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्नु लगायतका रहेका छन् । सन् १९८९ मा स्थापना भएको यस संस्थाको केन्द्रीय मुख्यालय राजधानी सहर क्यानबेरामा छ । यसले कम्पलाइन्स, अडिट, सिभिल पेनाल्टी र करेक्टिभ एक्सन समेत गराउँछ । यसले अष्ट्रेलियाका सबै बैंक तथा वित्तीय सेवा प्रदायक संस्थाहरु जस्तै बैंक, क्रेडिट यूनियन, बिल्डिङ सोसाइटी अष्ट्रेलियामा कारोबार गर्ने स्वीकृति पाएका अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थाको शाखाहरू समेतका एएमएल/सीएफटी, केवाईसी, सीडीडी, पीईपीएस, अनगोइङ ड्यू डेलिजेन्स डेलिजेन्स, टीटीआर, एसटीआरका कामहरू साथै वायर ट्रान्सफर, क्रस बोर्डर रेमिट्यान्स ट्र्याकिङ लगायत कार्यहरूको प्रमुख नियमनकारी भूमिका प्रभावकारी रूपमा सञ्चालन गरेको पाइन्छ ।
अथोराइज्ड डिपोजिट टेकिङ अर्गनाइजेशन (एडीआईएस)
माथि अष्ट्रेलियाको केन्द्रीय बैंक एवम् वित्तीय नियामक गरी ४ वटा संस्थाको सङ्क्षिप्त चर्चा गरियो । नेपालमा तहगत बैंकिङ प्रणाली अर्थात् ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ तथा पूर्वाधार बैंकिङलाई बैंक वित्तीय संस्था भने जस्तै अष्ट्रेलियामा बैंकसहित डिपोजिट स्वीकार गर्नसक्ने सबै संस्थाहरूको समूह एडीआईएसलाई बैंक वित्तीय संस्थाका रुपमा लिन सकिन्छ । अष्ट्रेलियाभरि हाल करिब १३२ वटा यस्ता संस्थाहरू रहेको पाइयो । यिनीहरूले निक्षेप स्वीकार गर्ने, कर्जा प्रदान गर्नुका साथै वित्तीय सेवा दिने गर्दछन् । यसअन्तर्गत पनि प्रमुख हिस्सा (बिग फोर) वाणिज्य बैंक अर्थात् सीबीए, एनएबी, एएनजेड र वेस्टपेकको रहेको छ । त्यसैगरी वाणिज्य बैंकको अर्को समूहमा अन्तर्राष्ट्रिय स्वामित्वसहितका बैंकहरू जस्तै सीटी बैंक एनए, एचएसबीसी, बीएनपी परिबस, डीबीएस बैंक लगायत छन् । यसैगरी वाणिज्य बैंकको अर्को समूहमा क्षेत्रीय स्तरका जस्तै बैंक अफ क्विन्सल्याण्ड, नीयो बैंक आदि रहेका पाइन्छ । कुल वाणिज्य बैंक करिब १०० को हाराहारीमा छन् । यस्ता बैंकको संख्या मर्जर र नयाँ स्थापना अनुमतिले समय समयमा फरक पर्न सक्छ । वाणिज्य बैंकबाहेक पूरै देशभर बैंकिङ र वित्तीय कारोवार गर्ने विभिन्न म्युचुअल बैंक, क्रेडिट यूनियन, म्याक्वेरी बैंक (इन्भेष्टमेन्ट एण्ड रिटेल कम्बो) लगायत र मध्यम आकारका जस्तै बिल्डिङ सोसाइटि क्रेडिट यूनियन प्रकृतिका वित्तीय संस्थाहरू विशेष वर्ग र क्षेत्रलाई सेवा दिने वित्तीय सेवा प्रदायकको रुपमा रहेका छन् ।
अष्ट्रेलियामा माइक्रोफाइनान्स प्रणाली
अष्ट्रेलियामा पनि कम आय भएका वित्तीय रूपमा उपेक्षित वर्गका मानिसलाई लक्षित गरेर सानो आकारको कर्जा आधारभूत बैंकिङ र वित्तीय सपोर्टको व्यवस्था रहेको पाइन्छ । यहाँ हाम्रो देशको परम्परागत लघुवित्त बैंक जस्तो डिपोजिट टेकिङ बैंक नहुने यस्तो कार्य धेरैजसो एन.जी.ओ. तथा सामुदायिक संस्थाहरूले नाफारहित उद्देश्यबाट सञ्चालन गर्ने गरेको पाइन्छ । अष्ट्रेलियामा मूख्यतः एसएमईका निम्न मोडलहरू रहेको छन् ।
(क) नट फर प्रोफिट माइक्रोफाइनान्स अप्रेशन
यो मोडलमा लक्षित वर्गलाई वित्तीय काउन्सिलिङ गर्ने, सानो आकारको कर्जा उपलब्ध गराउने, त्यसमा ब्याज नलाग्ने वा अत्यन्त न्यून ब्याज हुने प्रकृतिका संस्थाहरू यसअन्तर्गत रहेको पाइन्छ ।
(ख) नो इन्ट्रेस्ट लोन स्किम
अष्ट्रेलियामा धेरै प्रचलित यो मोडल अन्तर्गत अष्ट्रेलियन डलर ३०० देखि २००० सम्मको कर्जा शून्य प्रतिशत ब्याजमा निम्न वर्गीय परिवारलाई प्रदान गरेको पाइयो । यस्तो रकमको प्रयोग मुलतः फ्रिज, वासिङ मेसिन, स्वास्थ्यसम्बन्धी खर्चका लागि प्रयोग हुन्छ ।
(ग) बैंक सपोर्टेड माइक्रोफाइनान्स प्रोग्राम
बैंक आफैंले लघुवित्त संस्था स्थापना नगर्ने तर अन्य एन.जी.ओ. वा सामुदायिक संस्थासँग मिलेर सहकार्य गरी निम्न वर्गका मानिसलाई लघुवित्तीय सुविधा प्रदान गर्ने मोडेलका संस्थाहरू यसअन्तर्गत पर्छन् ।
घ) कम्युनिटी फाइनान्स एण्ड सोसियल इन्टरप्राइज लेण्डर्स
खासगरी स-सानो आकारको लघुऋण प्रदान हुने यो मोडेलमा लक्षित वर्ग आप्रवासी, शरणार्थी, महिला उद्यमीलाई लक्षित कार्यक्रम सञ्चालन हुने गर्दछ । यो मोडेलका कार्यक्रम एन.जी.ओ. र च्यारिटीहरूले सञ्चालन गर्ने गरेको पाइन्छ ।

समग्रमा अष्ट्रेलियाको बैंकिङ प्रणाली
यस देशमा बलिया ४ ठूला बैंकहरु (बिग फोर) रहेको पाइयो । देशभरिको बैंकिङ प्रणालीमा कमनवेल्थ, एएनजेड, एनएबी, र वेस्ट प्याक ओगटेका छन् । यिनीहरूले देशको करिब ७५ /८० प्रतिशत हिस्सा होल्ड गरेका छन् । यस देशमा उच्च विश्वास र स्थिर बैंकिङ प्रणाली रहेको देखिन्छ ।
उच्च वित्तीय पहुँच : देशमा लगभग सबै वर्गसम्म बैंकिङ पहुँच पुगेको छ । करिब ९९ प्रतिशत एडल्टस्सम्म बैंकिङ सेवा पुगेको तथ्याङ्क पाइन्छ । देशभरमा जुन २०२५ सम्म बैंकका शाखाहरू करिब ३२०५ रहेको देखिन्छ ।
बैंकका शाखाहरू घट्दो क्रममा रहेको देखिन्छ । सन् २०१७ मा करिब ५६९४ शाखा रहेकोमा जुन २०२५ मा ३२०५ मा सीमित रहेको ।
डिजिटल भुक्तानी : प्रायः सबै ठाउँमा क्यासलेस कारोबार हुने । तथ्याङ्कअनुसार करिब ९९ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको । डिजिटल वालेटहरूमा पनि सबैभन्दा बढी मोबाइल बैंकिङमार्फत् कारोबार हुने गरेको पाइन्छ ।
सुरक्षित र भरपर्दो बैंकिङ: आम जनतामाझ बैंकको छवि उच्च सुरक्षित र विश्वासिलो देखिन्छ । तलब, सुविधा सरकारी सेवाका सबै शुल्क बैंकिङ प्रणालीमा आबद्ध भएकाले बैंकिङ क्षेत्रमार्फत डिजिटल अर्थतन्त्र सुदृढ रुपमा रहेको देखिन्छ ।
आप्रवासी र विद्यार्थीहरूको खाता बिनाझन्झट सजिलै खोल्न सकिने, पासपोर्टबेस्ड केवाईसी र प्रिएराइभल एकाउन्ट खोल्ने सुविधाले बैंकिङ सुविधा सरल र पहुँच योग्य रहेको पाइयो ।
ग्राहकको उच्च सुरक्षा र ग्राहक केन्द्रित सेवा, ग्राहकले कुनै व्यक्तिगत गुनासो गरेमा निःशुल्क रुपमा उजुरी गरी तत्काल फछ्र्यौट हुने ग्राहक संरक्षित बैंकिङ प्रणाली रहेको ।
कर्जा तथा सुविधाहरु क्रेडिट हिस्ट्री र इनकम क्यास फ्लोमा आधारित भई प्रदान हुने । धितोलाई कम महत्व, सामाजिक र वातावरणीय प्रभाव एवं ऋणीले कर्जाको ब्याज तिर्न सक्ने/नसक्ने बारेमा जस्तै ब्याजको दर बृद्धि हुँदा ग्राहकको तिर्न सक्ने क्षमतामा पर्न सक्ने स्ट्रेस टेस्टिङ गरेर कर्जा दिने, कर्जाको डिफल्टर दर अत्यन्त कम रहेको ।
बैंकको शाखामा जान नपर्ने, धेरै काम मोबाइल एपबाट हुने, बैंकिङ कारोबार समय कम राखी डिजिटल बैंकिङमार्फत् २४/७ सेवा दिने गरेको ।
ग्राहकको गुनासो तत्काल बैंकले नसुल्झाए एएफसीएमा गएर निःशुल्क उजुरी गर्न सकिने, अधिकांश केसमा ग्राहकको पक्षमा निर्णय हुने गरेको ।
बाइ नाउ पे लेटर संस्कृति, क्रेडिट कार्डबिना पनि किस्तामा सामान किन्न सकिने, वैधानिक प्लेटफर्म, समयमा किस्ता तिरेमा ब्याज नलाग्ने हुँदा धेरै लोकप्रिय रहेको ।
चेक प्रयोग गर्न नपर्ने वा अत्यन्तै न्यून प्रयोग हुने गरेको पाइयो । यहाँ चेकको प्रयोग लगभग हराई सकेको पाइयो । सरकारले सन् २०३० पछि चेकको पूर्ण रुपमा प्रयोग बन्द गर्ने योजना बनाएको ।
घरलगायत सम्पत्तिमा नेगेटिभ गियरिङ कन्सेप्ट लागू, जसले गर्दा यस्तो अवस्थामा ट्याक्स तिर्न छुटकारा हुने र घर जग्गाको वृद्धि हुने अपेक्षा राखिएको ।
शङ्कास्पद कारोबार भएमा तत्काल खाता फ्रिज हुने, केवाईसी अत्यन्त कडा रहेको ।
बचत खाताको ब्याज दैनिक गणना भई मासिक भुक्तानी हुने प्रकृतिको रहेको ।
अन्त्यमा, यसरी बैंक वित्तीय क्षेत्रको बारेमा त धेरै विषय बुझ्न पाइयो । साथै, अष्ट्रेलियाका प्रमुख सहरहरु मेलवर्न, क्यानवेरा एवं सिड्नीका मुख्य-मुख्य स्थान घुम्दा धेरै अनुभव सङ्गाल्ने र बुझ्ने मौका पाइयो । यहाँका सबै सहरहरु सामुद्रिक किनारका छेउछाउमा केन्द्रित रहेछन् । देशको कुल क्षेत्रफलको ठूलो भू-भाग मरुभूमिको रुपमा रहेको, सहर र बस्ती अत्यन्तै सफा र व्यवस्थित, फुटपाथ भरि हरियालीले भरिपूर्ण रहेको देखियो । हाम्रो जस्तो सडकको छेउछाउको घरघरमा पसल सटर होइन, वस्तीमा रहेका मल र शपिङ सेन्टरबाट मात्र खरिद गर्न पाइने । ग्राहकले खरिद गर्ने मलहरु व्यवस्थित, खरिद गरिएका सामान ग्राहक आफैंले एक-एक गरी स्क्यान गरेर आफ्नो बिल आफैंले तयार गर्नेसम्मको अनुभव लिइयो । बिदाको दिनमा छुट अफरहरु हेरेर पनि शपिङ गर्न जाने चलन रहेछ । एउटा अनौठो अनुभव एक घन्टाअगाडि ४० डलरमा किनेको झोला पुनः एक घन्टापछि जाँदा २० डलरको स्टिकर टाँसेर मूल्य घटेको थियो । मौकाको फाइदा लिँदै पुनः खरिद गरेर अनुभव लिन पाइयो । घरहरू आवास प्रयोजनका लागि १ वा २ तलासम्म बनाउन सकिने, कोठा भाडामा दिने उद्देश्य भएमा अपार्टमेन्ट सिस्टममा बनाउनुपर्ने कडा नियम रहेको पाइयो ।
सार्वजनिक यातायात ट्रेन, टर्म, बस सबै साधनहरु टाइम पन्चुअल र जीपीआरएसमा आबद्ध प्रणाली रहेका, यात्रामा आफूले चढ्नुपर्ने यातायातको सबै अपडेट मोबाइलबाट हेरेर निर्णय लिन सकिने, यातायात भाडा मेलवर्नमा माइकियोपल कार्ड र सिड्नीमा ओपल कार्डबाट तिर्न पाउने, लाइनमा उभिएर सेवा लिने अनुकरणीय संस्कार रहेको, खाना, भाषा र संस्कृतिमा विविधता रहेको प्रत्यक्ष अनुभूति गरियो । त्यसैगरी वर्क एण्ड लाइफ ब्यालेन्स अर्थात् अफिस समयपछि शपिङ, घुमफिर, सेफ्टी एण्ड रुल अफ ल, सानो ठूलो सबैलाई उत्तिकै सम्मान र बेटर बिह्याबियर, बैंकिङ र डिजिटल भुक्तानी, दैनिक अनुशासन पालनाका अनुकरणीय अभ्यास र व्यवहार, जस्तै: क्यू, सरि,थ्याङ्क यू, वेलकम, पोलाइट एण्ड प्रोफेशनल कल्चर हल्का एवम् आफू अनुकूल हुने कम्फर्ट ड्रेसको प्रयोगबाट जीवनशैली आरामदायी एवं अरूलाई देखाउने भन्दा पनि आफ्नो आवश्यकता र साधारण शैलीमा नै रमाउने गरेको पाइयो ।
मेलवर्न कफीको लागि अत्यन्त प्रसिद्ध रहेछ । एक पसलमा आफैंले कफी तयार गरेर खाएको अनुभव समेत गर्न पाइयो । खासगरी अन्य क्षेत्रमा भन्दा मेलवर्नमा कफी कल्चर बढी नै रहेको पाइयो । ओहोरदोहोर गर्दा रात्रिकालीन समयमा पनि अत्यन्त सुरक्षित छौं भन्ने महसुस हुँदो रहेछ । साइलेन्स एण्ड रेस्पेक्ट, वेस्ट म्यानेजमेन्ट सिस्टम, टाइम भ्यालू कल्चर, नेचर प्रोटेक्सन, लेस इज मोर सोच डिजिटल गभर्नेन्स फील, रेस्पेक्ट फर रुल्स नट फियर जस्ता अनेकौं नयाँ र छुट्टै अनुभव दिने अनुभूति सङ्गाल्दै करिब १४ दिनको बसाइलाई बिट मारेर यी अनुभव र अनुभूतिलाई ठूलो ऊर्जाको रुपमा लिएर कर्म क्षेत्रमा पुनः सक्रिय भएको छु ।
(सुवेदी कृषि विकास बैंकका वरिष्ठ उप-महाप्रबन्धक हुन् । बैंकको ५९औं वार्षिकोत्सव स्मारिकाबाट)