भाटभटेनी जलेपछि बैंकमा भूकम्प, लण्डनमा बैठक

जुट्दैछन् मीनबहादुर, उठ्दैछ भाटभटेनी

काठमाडौं । बिहान ८ बजेको समय । चक्रपथको भाटभटेनीमा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ कर्मचारीहरूलाई ढाडस दिइरहेका थिए । उनकी पत्नी सावित्री गुरुङ फूलका गमलाहरू मिलाइरहेका मालीहरूलाई सजाउन सहयोग गरिरहेकी थिइन् । कुन गमला कसरी राख्ने, कुन ठाउँमा राख्दा थप आकर्षक हुन्छ भनेर सल्लाह दिँदै थिइन् उनी । महाराजगञ्जको भाटभटेनी सुपर स्टोर पुनःसञ्चालनको अन्तिम तयारी गरिरहेका चार सय बढी कर्मचारीहरू धमाधम सामान ओसार्दै थिए । भवन पुन: निर्माणमा जुटिरहेका श्रमिकहरू बिहानैदेखि काममा व्यस्त थिए ।

nullसावित्री गुरुङ । 

भाटभटेनीका सञ्चालक मीनबहादुरले भाटभटेनीका आँगनमा जम्मा भएका सञ्चारकर्मीहरूलाई प्रफुल्लित भएर भने, ‘हामी नजुटे को जुट्ने ? हामीले काम नगरे कसले गर्ने ? देश र देशको अर्थतन्त्र निर्माणका लागि पनि हामी अगाडि बढ्नै पर्छ । यो हाम्रो उत्तरदायित्व र जिम्मेवारी पनि हो ।’

गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण देशको प्रमुख डिर्पाटमेन्टल स्टोर भाटभटेनीका १२ वटा स्टोरहरू जले । आन्दोलनकारीको टार्गेटमा भाटभटेनीका स्टोरहरू परे । कति पूर्ण रूपमा जलेर  ध्वस्त भए । कतिपयमा तोडफोडसँगै लुटपाट भयो । 

यो दुर्घटना स्मरण गर्दै मीनबहादुर भन्छन्, ‘अब त देशमा शान्ति होला कि !’ उनले भदौ २४ गतेलाई सम्झिँदै हरेक भाटभटेनी स्टोरको फ्रन्टमा देखिने गरी ठूलो अक्षरले लेखेका छन्, ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’

यो विध्वंशले मीनबहादुरको मन रोएको छ । मस्तिष्क छियाछिया भएको छ । तर, आफू सम्हालिँदै कर्मचारीलाई ढाडस दिइरहेका छन् । उपभोक्तालाई सेवा दिन तम्सिएका छन् । सञ्चारकर्मीहरूसँग सकारात्मक सन्देश प्रवाहको बिन्ति गरिरहेका छन् । र, थप मनोबल बढाएर काम गर्न अगाडि बढिरहेका छन् । 

‘अब त भदौ २४ पनि बिर्सिसकें । अहिले त आफूलाई २५/२६ वर्षको केटोजस्तो ऊर्जा आएको छ,’ ठट्टा गर्दै उनले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईंहरूले पनि मलाई बुढो हुनुभयो नभन्नू होला है !’

सरकारले गर्न नसकेको काम मीनबहादुरले गरेर देखाएका छन् । अधिकांशले विश्वास पनि नगरेको पुन : निर्माणको काम उनले महिना दिनमै पूरा गरेका छन् । र, सन्देश दिएका छन्, ‘आँट भयो भने गर्न सकिन्छ । बस्, मनमा आँट, ऊर्जा  जाँगर चाहिन्छ ।’

सरकारले जलेका संरचनाको खरानी टकटक्याउन सकेको छैन । कालो धुवाँको मुस्लो भित्ताहरूबाट हट्न सकेको छैन । जलेका संरचनाहरू हरियो त्रिपालले ढाकिएका छन् । तर, मीनबहादुरले भने आफ्नो बहादुरी देखाएका छन् । उनले समाजलाई सकारात्मक सन्देश र उत्प्रेरणा दिएका छन् । 

परिणामस्वरूप भाटभटेनी जलेको तीन महिना नपुग्दै गत मंसिर १९ गते बालुवाटारस्थित वेयरहाउस पुनःसञ्चालनमा आयो । माघ २८ गते कोटेश्वरमा रहेको भाटभटेनीको स्टोर पुन:निर्माण सकेर सञ्चालनमा आयो । र, फागुन १४ गते महाराजगञ्जस्थित स्टोर पुनः सञ्चालनमा आयो ।

यो छोटो अवधिमा जलेर खरानी भएका संरचना उनले पुनःसञ्चालनमा ल्याएका छन् । आफूसँगै कर्मचारीमा मनोबल बढाएका छन् । निजी क्षेत्र र सरकारलाई पनि ‘गर्न सकिन्छ है’ भन्ने सन्देश प्रवाह गरेका छन् र उपभोक्तालाई हामी पुनः सेवा दिन आयौं है भन्ने मेसेज पठाएका छन् । 

nullमहाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि कर्मचारीसँग मीनबहादुर गुरुङ । 

यो छोटो अवधिमा यति ठूला संरचनाहरूको पुन: निर्माण सम्पन्न गर्नु आफैमा जोखिम र चुनौती पनि थियो । त्यो महसुस मीनबहादुरले नगरेका पनि होइनन् । उनलाई थाहा थियो– ‘यति ठूला संरचनाको पुन: निर्माण गर्न कम्तिमा दुई वर्ष समय लाग्छ ।’

तर, उनले आत्मबल बढाए । मनमनै भने, ‘आँट गर्यो भने गर्न सकिन्छ ।’ व्यवस्थापनलाई सक्रिय बनाए । निर्माण कम्पनीलाई काम सक्ने ‘डेडलाइन’ दिए । हामीले नसके कसले सक्ने ? हामीले नगरे कसले गर्ने भन्ने संकल्प लिएर अगाडि बढे । र, जलेर खरानी बनेका भाटभटेनीका स्टोरहरू अहिले चिटिक्क परेर उभिएका छन् । मीनबहादुरको मन हौसिएको छ । मुहारमा मुस्कान थपिएको छ ।  

‘भाटभटेनीमाथि यो किसिमको प्रहार होला, जलाएर खरानी बनाइएला भन्ने कुरा मेलै सपनामा पनि सोचेको थिइनँ । तर, म नै टार्गेटमा परें,’ दुःखी हुँदै उनले सञ्चारकर्मीहरूसँग भने, ‘अब यो देशमा यस्तो नहोस् भन्ने कामना गरौं । यो घटनाबाट पाठ सिकेर देश निर्माणमा लागौं ।’

उनले भाटभटेनी पुन: निर्माणमा खटिएका इञ्जिनियर सुवर्ण डंगोल र गौरव मल्लको नाम सगौरव लिए । दिनरात खटिने श्रमिक र कर्मचारीको प्रशंसा गरे । नेपालीले पनि समयमै काम गर्न सक्छ है भन्ने उदाहरण प्रस्तुत गरेकोमा सम्मान प्रकट गरे । 

nullमीनबहादुर गुरुङ । 

बैंकमा भूकम्प, लण्डनमा बैठक

भदौ २४ गते देशभरका १२ वटा स्टोरमाथि आगजनी, तोडफोड तथा लुटपाट भएपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई मात्रै होइन, त्यस संस्थासँग आवद्ध कर्मचारी, कर्मचारीका परिवार, ऋण दिने बैंक र लेनदेन गरिरहेका अधिकांश व्यक्ति र कम्पनीहरू ठूलो सकसमा परे । अधिकांशको प्रश्न थियो, ‘अब के हुन्छ ? भाटभटेनी डुब्छ ?’

यो प्रश्नले मीनबहादुरको मनमा पनि प्रहार गर्यो । उनलाई थाहा थियो– ‘आफूले हार खायो भने भाटभटेनीसँग जोडिएका हजारौं कर्मचारी समस्यामा पर्नेछन्, तिनका हजारौं परिवार प्रभावित हुनेछन्, ऋण सुविधा दिएका बैंकहरूलाई ठूलो असर पर्नेछ ।’

हिम्मत जुटाए । र, संकल्प गरे ‘म फेरि उठ्नेछु ।’ तर, विश्वास गर्ने कसले ? त्यही अविश्वासले उनलाई ऋण दिएका बैंकले ऋण सुविधा रोके । विदेशी बैंक स्ट्याण्डर्ड चार्टर्ड र एसबिआई बैंकले उनीसँग तारन्तार फलोअप गर्न थाले । 

‘जहाँ गहिरो, त्यहीँ पहिरो’ भने झैं सकस परेकै बेला ऋण सुविधा दिइरहेका बैंकले पनि ऋण होल्ड गरे । अब कसरी अगाडि बढ्ने भनेर स्ट्याण्डर्ड चार्टर्ड बैंकले त्रिपुरेश्वरस्थित वर्ल्ड टावरमा उच्च तहको मिटिङ राख्यो । नेपालमा जेनजी आन्दोलन भएर भाटभटेनीका स्टोरहरू जलेर नष्ट भएको भन्दै उनको बैंक खाता नै सिंगापुर ट्रान्सर्फर गर्यो । 

सिंगापुरले स्टाण्डर्ड चार्टर्ड बैंकको हेडक्वाटर लण्डनमा फाइल पठाइदियो । भाटभटेनीको विषयमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड क्वाटरमा बृहत छलफल भयो । बैंकले उनको ऋण खाता नै होल्ड गरिदियो । ‘म आफैले बैंकलाई राखेर छलफल गरें । हामी फेरि उठ्न सक्छौं, विश्वास गर्नूस् भनें,’ मीनबहादुरले त्यो घटना स्मरण गर्दै भने, ‘तपाईंको बैंक डुब्न दिँदैनौं भनेर विश्वस्त पारें ।’

तर पनि बैंकले होल्ड गरेको खाता खुला गरेन । तर, मीनबहादुर निराश भएनन् । उनले आफूसँग भएको स्रोतसाधन प्रयोग गरेर वेयर हाउस र कोटेश्वरको स्टोर पुनःसञ्चालनमा ल्याए । यो सूचना बैंकले पायो । बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च अधिकारीले भाटभटेनीका स्टोर निरीक्षण गरे ।

प्रबन्ध निर्देशक गुरुङका अनुसार उनको होल्ड भएको खाता अहिले बैंकले खुला गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि दिने भनिएको ५० करोड रुपैयाँ ऋण फुकुवा गरेको छ । बैंक ५० करोड रुपैयाँ ऋण दिन सहमत भएको छ । तर, अहिले उनले त्यो ऋण सुविधा लिएका छैनन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भाटभटेनीको पुन: निर्माण देखेर सरप्राइज भएको उनले सुनाए ।

‘सबै स्टोरहरू सञ्चालनमा आएपछि मात्रै त्यो ऋण लिन्छु । हामीले गर्न सक्छौं भन्ने उदाहरण देखाएका छौं,’ उनी भन्छन्, ‘नेपालमा अथाह सम्भावना छ । मैले त्यो दुर्घटना बिर्सिसकेको छु । अब नेपाल बन्छ ।’

उनी नक्सालस्थित भाटभटेनीको मुख्य स्टोरको निर्माण पनि आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउँछन् । उनले अब छिट्टै बौद्धको स्टोर पुनःसञ्चालनमा ल्याउने तयारी भइरहेको सुनाउँछन् । 

nullमहाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि मीनबहादुर गुरुङ र साथमा पत्नी सावित्री गुरुङ । 

११ अर्बको दाबी, २ अर्बमात्रै भुक्तानी

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बीमा कम्पनीहरूप्रति भने दुःखेसो पोखे । आफूले करोडौं प्रिमियम भुक्तानी गरेको भए पनि संकटमा पर्दा बीमा कम्पनीहरूले भुक्तानीमा सहजीकरण नगरेको गुनासो गरे । 

दशैंअघि धेरै ठूलो परिमाणमा सामान स्टक भए पनि सोहीअनुसार मूल्यांकन नभएको उनको भनाइ छ । उनले भाटभटेनीले १० अर्ब ८६ करोड रुपैयाँको बीमा दाबी गरे पनि हालसम्म २ अर्ब ३ करोडमात्रै भुक्तानी भएको उनको धारणा छ । 

भाटभटेनीले अपेक्षा गरेअनुसार मूल्यांकन भएन । तर, जति दाबी भएको छ त्यसको शतप्रतिशत पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । टंगालको भवनको मूल्यांकन ५ करोड मात्रै देखिएको छ, अरू भवनको पनि पाउनुपर्छ,’ उनले भने, ‘मैले यति थोरै लिनेवाला छैन भनेपछि २ अर्ब ३ करोड भुक्तानी भयो । थप रकम दिइएको छैन, दिएनन् भने पनि लड्ने हिम्मत राख्न सक्छु । प्रिमियम पनि करोडमा तिरेको छु । उनीहरूले मलाई परेको बेला नतिर्ने भन्ने हुन्छ ?’

चुनावको समयमा संसारभरका मानिस पर्यवक्षक भएर देशमा आउने भएकोले उनीहरूलाई पनि नेपाल आफै बन्न सक्छ र नेपाली बनाउन सक्छन् भन्ने सन्देश दिन पनि २४ सै घण्टा खटिएर काम गरेको मीनबहादुरको धारणा छ । ‘उनी भन्छन्,‘ नेपालीले पनि गर्न सक्छ भन्ने सन्देश विश्वलाई दिएका छौं, यसमा हामीले प्राउड फिल गर्नुपर्छ ।’

null
 

Share News