भोट खसाल्न गाउँ नगएकाहरू

आर्थिक अभाव र कामको चटारो मुख्य कारण

काठमाडौं । तनहुँका धनबहादुर मगर काठमाडौंमा रेष्टुरेण्ट व्यवसाय गर्छन् । एक दशक बढीदेखि लाजिम्पाटमा आफ्नो व्यवसाय गरिरहेका मगरलाई फागुन २१ गते हुने निर्वाचनले खासै उत्साह जगाएन । उनी यस पटक मतदान गर्नका लागि गाउँ गएनन् । 

‘आफ्नो काम गर्नैपर्यो, काम नगरे खान पाइँदैन । जान आउन पनि अलिक समय लाग्ने भएकाले निर्वाचनमा सहभागी जनाउन सकिएन,’ मगरले भने ।

निर्वाचनपछि बन्ने नयाँ सरकारबाट सबैले गरिखान पाउनुपर्छ भन्ने माग रहको मगरले सुनाए । युवाहरूले काम गर्नकै लागि विदेश जान नपरोस् भन्ने चाहना रहेको उनले सुनाए । 

nullधनबहादुर मगर

‘दुई छाक खानका लागि नेपालीहरुको विदेश जानुपर्ने बाध्यता नयाँ सरकारले रोक्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी नभए पनि सरकारले गरेको गलत कामको निरन्तर खबरदारी गर्नेछु । सरकार  पारदर्शी र जवाफदेही हुनुपर्छ ।’

५७ वर्षीय बाबु तामाङ २२ वर्षदेखि रिक्सा चलाएर जीवन गुजारिरहेका छन् । दोलखा घर भएका उनलाई पनि चुनाव लागेको छैन । उनी जीवन चलाउन रिक्साका पाङ्ग्रासँग पौठेजोरी खेल्दै ठमेलमा फन्को मारिरहेका छन् । मजदुरी गरेर जीवन चलाउनु परेकाले मत हाल्न जान नपाएको तामाङको भनाइ छ । 

पैसा खर्च अभावकै कारण मत हाल्न जान नपाएको उनले गुनासो पोखे । ‘गाडीमा लैजाने मानिस भए जान्थें तर अब जाँदिनँ होला,’  उनले भने । 

नयाँ बन्ने सरकारले केही गर्ला जस्तो आशा नलागेको उनी बताउँछन् । काम गरेर खानेलाई जुनसुकै सरकार आए पनि खासै महत्त्व नहुने उनको गुनासो छ । भाडाको रिक्सा कुदाउनेलाई निर्वाचन आए गएको केही मतलब नहुने उनको भनाइ छ । 

nullबाबु तामाङ

‘रिक्साको दैनिक १५० रुपैयाँ भाडा बुझाउनु पर्छ,’ उनले भने, ‘रिक्सा चलाएर जीवन बाँच्ने मानिसलाई जुनसुकै सरकार आए पनि मतलब हुँदैन । ठमेलको चोक–चोकमा रिक्सा पार्किङ गर्न दिए हुन्थ्यो भन्ने लाग्छ । यहाँ यसरी बस्न दिइँदैन, एकछिन बसेमा पुलिस आएर हटाइहाल्छन् ।’

बुधबार ठमेलमै पुग्दा रौतहटका ३३ वर्षीय शेखी इब्रान पुरानो घर भत्काउन व्यस्त थिए । उनको रौतहट २ नम्बर क्षेत्रमा मतदाता नामावली छ । उनले मजदुरी गरेर काठमाडौंका गल्लीमा बालुवा र इँटा बोकेको २२ वर्ष भयो । 

भोट हाल्न जानका लागि खर्च नभएको घर नगएको उनले सुनाए । मजदुरी गरेर खानेका लागि भोटले नछोएको र खासै उत्साह पनि नपलाएको उनको भनाइ छ ।

‘भोट हाल्न जाउँ–जाउँ पनि लागेको छैन,’ उनले भने,’ भोट हाले पनि नहाले पनि मेरो लागि खासै प्रभाव पर्दैन ।’

nullशेखी इब्रान

नयाँ बन्ने सरकारले राम्रो स्कुल बनाओस् र बिरामीले अस्पतालमा सहजै उपचार पाओस् भन्ने लागेको इब्रान बताउँछन् । ‘देशमै काम गरेर खाने वातावरण बनाइदियोस्,’ उनले अगाडि थपे,’ सरकारले मजदुरको पारिश्रमिक बढाइदियोस् । हरेक कामको सम्मान हुनुपर्ने संस्कृति बनोस् ।’

अछाम घर भएका ३५ वर्षीय पदम कुमार केसी पनि मतदान गर्न घर गएनन् । उनी अछाम भौगोलिक रुपमा टाढा भएकाले मत हाल्न जान नसकिएको बताउँछन् । 

‘हस्पिटालिटी क्षेत्रमा काम गरिएको छ । बिदा मिलेन, त्यसैले पनि यो पटकको निर्वाचनमा जान सकिएन,’ केसीले भने, ‘निर्वाचन जस्तो उत्सवमा जान नपाउँदा दुःख लागेको छ । किनभने यो निर्वाचनमा निर्वाचित सांसदले हाम्रो दैनिकी चलाउन नीति बनाउँछन् ।’

nullपदम कुमार केसी

आगामी सरकारले हस्पिटालिटी क्षेत्रमा पाइने सेवा सुविधा वृद्धि गरोस् भन्ने उनको माग छ । काम गरिखानेको सेवा सुविधा नयाँ सरकारले कटौती नगरोस् र पुराना सरकारले लागु गर्दै आएको सेवा सुविधा लागु गरोस् भन्ने माग उनको छ । 

जुम्लाकी २८ वर्षीय माया बोहरा न्युरोडमा राष्ट्रिय झण्डा बिक्री गर्दै हिँड्छिन् । उनले भोट भन्दा पनि झण्डा बिक्री हुन नसकेको चिन्ता व्यक्त गरिन् । भोट हाल्ने जाने समय भन्दा काठमाडौंमा झण्डा बिक्री गरेर बस्ने उनले सुनाइन्। 

‘जुम्ला टाढा भएकै कारण मत हाल्न गइनँ, जाने–आउने समयमा काठमाडौंमा झण्डा बिक्री गरेर बस्छु,’ उनले भनिन्, ‘काठमाडौंमा संघर्ष गर्न आएकी हुँ । यतै संघर्ष गरेर बस्छु । मत हाल्नका लागि भनेर संघर्ष गर्दिनँ ।’

उनले काठमाडौंबाट गाउँतिर भोट हाल्न गएर होला झण्डा पनि कोही किन्न नआएको दुःखेसो पोखिन् । ‘आज त एउटा पनि भण्डा बिक्री भएको छैन । नयाँ सरकारले राम्रो कानुन ल्याएर काम गरिखाने वातावरण बनाइदिए हुन्थ्यो,’ बोहराले झण्डा मिलाउँदै भनिन् । 

nullमाया बोहरा

फागुन २१ गते अर्थात् भोलि देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि भनेर ८ लाख बढी मानिसले काठमाडौं छोडिसकेका छन् । विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरू आ–आफ्नो मतदाता नामावली रहेको ठाउँमा पुगिसकेका छन् । 

तर, कतिपय मतदातालाई भने चुनावले नछोएको देखिएको छ । विभिन्न पेसा, व्यवसाय वा अध्ययन गरेर काठमाडौंमा बस्नेको संख्या पनि ठूलै छ । केही जीवन धान्न यहाँ बसेका छन त कोही भने सन्तानको शिक्षाका लागि पनि बसोबास गरेको पाइएको छ । 

Share News