काठमाडौं । गत शनिबार दिउँसो ठमेलको नोभा क्लबको प्राङ्गणमा फरक दृश्य देखियो । अरूबेला सुनसान हुने क्लब शनिबार भने युवाहरूको भीडले खचाखच थियो । युवाहरूको भीड, मोटरसाइकल तथा अन्य सवारीसाधनको लावालस्कर क्लब वरिपरि थियो । सबैको हात–हातमा खादा र माला थिए ।
मानौं उनीहरूट्ठ ठूलै भीआईपीलाई कुरिरहेका थिए । केहीबेरमै आइपुगे भर्खरै जेलबाट छुटेका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गे । उनको स्वागत गर्ने युवाहरूको भीड र तछाडमछाड थियो त्यहाँ । नेपाली कांग्रेसका नेता गणेश लामादेखि कांग्रेसका अन्य कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो ।
कार्यक्रममा पुगेका युवाहरू ‘दिपक दाईको कार्यक्रम छ’ भन्दै आइरहेका थिए । जेलबाट छुटेका मनाङ्गे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा स्वागत गरे । मनाङ्गे ज्यान मार्ने उद्योगको कसुरमा कैद काटेर डिल्लीबजार कारागारबाट बुधबार मात्र छुटेका थिए ।
नोभा क्लबको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम मनाङ्गे नै प्रमुख अतिथि थिए । उनलाई स्वागत गर्न राखिएको कार्यक्रममा उनी केन्द्रबिन्दुमा देखिनु सामान्य नै थियो ।
स्वागत कार्यक्रममा चिया तथा बिस्कुट राखिएको थियो । सबै युवाहरू खादा र माला लगाउँदै चिया पिउँदै गफिरहेका थिए । सबैभन्दा रोचक पक्ष त कार्यक्रममा सहभागी युवाहरूले भनिरहेका थिए– ‘दीपक दाईको कमब्याक भयो ।’
त्यतिका धेरै युवाहरू भने ठमेलका मात्र थिएनन् । ठमेलदेखि बाहिरबाट समेत उनीहरू त्यहाँ आएका थिए ।
एक समय मनाङ्गे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । उनले ठमेलबाटै आफ्नो परिचय बनाए । उनको उपस्थितिबिना त्यहाँ कुनै काम गर्न पाइँदैनथ्यो । उनलाई असुली बुझाउने शर्तमा काम अगाडि बढ्ने गरेको चर्चा पनि हुन्थ्यो ।
उनी जब राजनीतिमा लागे, उनको परिचय बदलियो । समाजसेवी र राजनीतिको रूपमा उनको परिचय बन्यो । मनाङ्गे स्वतन्त्र सांसदका रूपमा गण्डकी प्रदेशसभाका सदस्य बने ।
कुनै समय कानुनले नगर भनेकै मात्र काम गरिहिँड्ने मनाङ्गेसँग कानुन बनाएको अनुभव समेत छ । अहिले कानुन र समाजको बारेमा राम्रो ब्रिफिङ दिनसमेत पोख्त भएका छन् ।
उनी सुशासन, सभ्य समाज र राष्ट्र निर्माण गर्ने दौडमा लागेकाले पनि होला उनको स्वागत र सम्मानमा युवाहरूको उपस्थिति थियो । उनै मनाङ्गे अहिले भने अहिले मुलुक र समाजलाई राम्रो कर्म गरेर युवाहरूलाई जोड्न सकिने बताउने गरेका छन् ।
काठमाडौंका एक उच्च प्रहरी अधिकारीले भने उनको भेलालाई लिएर केही शंकाको सुविधा दिनु पर्ने बताए । उनका अनुसार अहिले पनि ठमेलमा मेरो उपस्थिति रहने तथा प्रभाव रहेको सन्देश दिन खोजेको जस्तो देखिन्छ ।
ठमेलका व्यवसायीलाई यहीँ भीडभाड देखाएर आफ्नो प्रभाव देखाउन खोजिएको जस्तो देखिने ती प्रहरीको बुझाइ छ । राजनीतिमा लागिसकेकाले उनले यहीँ भीडलाई देखाएर राजनीतिमा प्रवेश गर्ने पनि सम्भावना उत्तिकै रहेको उनले बताए ।
ठमेलमा मनाङ्गेको कार्यक्रम भएको बारेमा जानकारी भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । उनको सम्मान, स्वागत कार्यक्रम तथा भेलालाई व्यक्तिको स्वतन्त्रता तथा भेला हुने र कार्यक्रम गर्न पाउने अधिकार रहेको भन्दै सामान्य रूपमा हेरिएको धारणा राखे ।
कुनै पनि व्यक्तिको अपराध तथा आपराधिक क्रियाकलाप बढेको खण्डमा प्रहरीले निगरानी गर्ने उनको भनाइ छ । प्रहरीले भने उनको भेलालाई सामान्य रूपमा लिएको उनको धारणा छ ।

त्यसो त शनिबारको स्वागत कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो । कार्यक्रममा मनाङ्गेको छेउमा अर्का नेपाली कांग्रेसका युवा नेता गणेश लामाको उपस्थिति थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षमा खुलेका थिए ।
विशेष महाधिवेशनपछि लामाले पार्टी कार्यालयको सुरक्षासमेत दिएका थिए । विशेष महाधिवेशन पक्षधर गगन थापा समूहलाई उपस्थिति हुन नदिनलाई लामा समूहले पार्टी कार्यालयको सुरक्षा दिएर बसेका थिए ।
मनाङ्गेको राजनीतिक यात्रा बारम्बार विवादमा पर्दै आएको थियो । सायद अब त्यहीँ विवादित चरित्रलाई सुधार्ने पक्षमा उनी देखिएकाले राजनीतिको मैदानमा देखिने लामाको उपस्थितिले संकेत गर्छ ।
गत असारमा सर्वोच्च अदालतले मनाङेलाई गण्डकी प्रदेशको सांसदबाट पदमुक्त गरेको थियो । उनी मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा सजाय पाएको हुनाले उनको निर्वाचित पद जारी रहन नसक्ने फैसला गरेको थियो ।
अधिवक्ता वीरेन्द्रराज कार्कीले फौजदारी अभियोग लागेका मनाङ्गे प्रदेशसभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउन माग गर्दै निर्वाचन आयोगविरुद्ध २०७९ पुस ११ मा रिट दायर गरेका थिए ।
विसं २०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङ्गे जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् ।
जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङ्गे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए।