धमाधम शाखा मर्ज गर्दै बैंकहरू, ९ बैंकका १३७ वटा शाखा गाभिने

काठमाडौं । मर्जरमा सामेल भएका बैंकलाई शाखा बन्द वा मर्ज गर्नुपर्ने आवश्यकता थियो । मर्जर नभएका बैंकलाई त्यो आवश्यकता थिएन । तर पनि रिटेल ग्राहकहरू डिजिटल बैंकको अभ्यास गरिरहेकाले टोलटोलमा बैंकको शाखा आवश्यकता कम हुँदै गएका देखिन्छन् ।

साथै बैंकहरुले डिपोजिट मेसिन लगायत उपकरणहरू पनि प्रयोगमा ल्याइरहेको हुँदा ग्राहकहरू भौतिक रूपमा शाखामा जानैपर्ने अवस्था झन् कम हुँदै गएको देखिन्छ । यसैलाई मध्यनजर गरी नजिक-नजिक रहेका शाखा बन्द वा मर्ज गर्न नीतिगत व्यवस्थाको माग गर्दै बैंकरहरूले विगतदेखि नै माग गर्दै आएका थिए ।

बैंकरहरूका माग र पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा महानगरपालिकामा बैंकहरुले शाखा कार्यालय मर्जर गर्न सक्ने व्यवस्था गरिदियो । 

सोही बमोजिम हाल विभिन्न ९ वटा बैंकले १३७ वटा शाखा कार्यालय मर्ज गर्ने भएका छन् । सोही व्यवस्थाअनुसार हाल ८ वटा बैंकले दर्जनौं शाखा मर्ज गर्ने घोषणा गरेका छन्।

एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ४४ शाखा मर्ज गर्ने भएको छ भने कुमारी बैंकले २४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८, प्रभु बैंकले १४, हिमालयन बैंक र ग्लोबल आइएमई बैंकले ८/८, नबिल बैंक र प्राइम बैंकले ७/७ र एनएमबि बैंकले ४ शाखा मर्ज गर्ने भएका छन् ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यका अनुसार महानगरपालिका भित्र पहिलो चरणमा शाखा मर्जर प्रक्रिया अघि बढाइएको हो । आगामी दिनमा नेपाल राष्ट्र बैंकले अनुमति दिए उपमहानगरपालिका र नगरपालिकामा पनि शाखा मर्जर विस्तार गरिने उनले बताए ।

‘बैंकका कुल ३६० शाखामध्ये ६ महानगरपालिकामा रहेका ४४ शाखा मर्ज गर्ने निर्णय गरेका छौं । आगामी दिनमा अन्य स्थानीय तहमा पनि मर्जरको सुविधा मिलेमा सो प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने । 

उनका अनुसार शाखा मर्जरले ग्राहकलाई खासै असर पार्दैन, किनभने डिजिटल बैंकिङका कारण शाखामा जाने आवश्यकता घटेको छ । ४४ शाखा मर्ज गर्दा कर्मचारी खर्चबाहेक वार्षिक १८-२० करोड रुपैयाँसम्म भाडा खर्च बचत हुन सक्ने उनको भनाइ छ । 

‘पहिले दैनिक सयौं कारोबार हुने शाखामा अहिले निकै कम कारोबार हुन्छ । दाया बाँया बैंक छन् । शाखा धेरै क्राउडेड भएर प्रतिस्पर्धा बढेको थियो । साथै डिजिटल कारोबार पनि धेरै हुन थालेको छ । बैंकमा ग्राहकहरु विगत जस्तो आउनु हुन्न ।

किनभने अनलाइन्बाटै स्टेटमेन्ट, चेकबुक हेर्न सकिन्छ । बैंक खाता पनि अनलाइन मिल्ने र कारोबार पनि डिजिटलबाटै हुन्छ,’ उनले भने, ‘विगतमा ४ सय वटा कारोबार हुने शाखामा एक-डेढ सय वटा मात्रै हुने गरेका छन् । त्यसकारण ग्राहकलाई त्यति धेरै असहज हुँदैन । तर, बैंकका लागि भने खर्च घट्छ ।’ 

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले देशका ६ महानगरपालिकाभित्र रहेका ४४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिकामा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, वीरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिनेछन् । 

बैंकका अनुसार काठमाडौंमहागरका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा मर्जरपश्चात् कमलादी शाखाबाट सेवा प्रवाह हुनेछ । यस्तै, बोहोराटार, माछापोखरी, ढुङ्गेधारा-नर्सरी चोक शाखा मर्जरपश्चात् बालाजु शाखा, न्यूरोड खिचापोखरी, भोटाहिटि, किलागल शाखा मर्जरपश्चात् न्यूरोड विशालबजारबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।

यस्तै, तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा मर्ज हुनेछ । साथै नरेफाट शाखा कोटेश्वर शाखामा, बालुवाटार शाखा लाजिम्पाट शाखामा, अनामनगर, शंखमुल, मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा, खसीबजार शाखा कलंकी शाखामा मर्ज हुने बैंकले जनाएको छ । 

बैंकका अनुसार कपन शाखा सुकेधारा शाखामा, गांगबु शाखा सामाखुसी शाखामा, सोह्रखुट्टे शाखा ठमेल शाखामा, टेकु शाखा त्रिपुरेश्वर शाखामा मर्जर भएर बैंकिङ सेवा सुचारु हुनेछ । साथै सिनामंगल, मित्रपार्क र कालोपुल शाखा मर्जरपछि बत्तिसपुतली शाखाबाट सेवा सुचारु हुनेछ ।

बैंकका अनुसार ललितपुर महागनरपालिकाका लगनखेल र मंगलबजार शाखा मर्जरपश्चात् जावलाखेल शाखा, सानेपा र ग्वार्काे शाखा मर्जरपश्चात् सातदोबाटो शाखा, खोकना शाखा मर्जरपश्चात् भैँसेपाटी शाखाबाट सेवा सुरु हुनेछ । 

यस्तै, पोखरा महानगरपालिकाका पावरहाउस चोक र बुढीबजार शाखा मर्जरपश्चात् लेखनाथ शाखा, बाझापाटन शाखा अमरसिंह चोक शाखा, महेन्द्रपुल-पोखरा र बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा शाखा, बिरौटा शाखा मर्जरपश्चात् लेकसाईड शाखाबाट सेवा सुचारु हुनेछ । 

बैंकका अनुसार भरतपुर महानगरपालिकाको बसेनी शाखा मर्जरपश्चात् हाकिम चोक शाखा, विारटनगर महानगरपालिकाको विराटनगर मेनरोड र हाटखोल शाखा मर्जरपश्चात् विराटनगर शाखा, रानी मिल्स शाखा मर्जरपश्चात् रोडशेष चोक शाखा, विरगन्ज महानगरपालिकाको लिङ्ग रोड र पावरहाउस चोक शाखा मर्जरपश्चात् वीरगन्ज शाखा आदर्शनगरबाट बैंकिङ सेवा सुचारु हुनेछ ।  

कुमारी बैंक

कुमारी बैंकले महानगरपालिकाहरूमा २४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र १५ वटा शाखा कार्यालय चैत १५ गते मर्ज गरेको हो । 

बैंकका अनुसार काठमाडौं महानगरपालिकाका महाराजगन्ज विस्तारित काउन्टर महाराजगन्ज शाखामा, सामाखुशी विस्तारित काउन्टर सामाखुशी शाखामा, कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा, ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा, जनवहाल शाखा न्यूरोड शाखामा गाभिएर बैंकिङ सेवा सुरु गरेका छन् ।

यस्तै, बानेश्वर शाखा मर्जरपश्चात् मैतीदेवी, बसुन्धारा शाखा मर्जरपश्चात् महाराजगन्ज शाखा, सिफल शाखा मर्जरपश्चात् चाबहिल शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । साथै बल्खु विस्तारित काउन्टर मर्जर पश्चात् कुलेश्वर, जैसीदेवल विस्तारित काउन्टर मर्जर पश्चात् न्यूरोड पाको, बालाजु विस्तारित काउन्टर मर्जर पश्चात् बालाजु शाखा र छाउनि विस्तारित काउन्टर मर्जर पश्चात् डल्लु शाखाबाट बैंकिङ सेवा सुचारु भएको छ ।

बैंकका अनुसार ललितपुर महानगरपालिकाको टंगल शाखा मर्ज भई मंगलबजार शाखा, भरतपुर महानगरपालिकाका शहिद चोक र पोखरा बसपार्क शाखा मर्जरपश्चात् नारायणगढ शाखा, भरतपुर शाखा मर्जरपश्चात् हाकिमचोकबाट बैंकिङ सेवा सुरु भएको छ । 

यस्तै, पोखरा महानगरपालिकाको बाँझापाटन शाखा मर्ज भई काहुँखोला शाखा, पोखरा शाखा मर्ज भई चिप्लेढुंगा शाखा, बिरौटा शाखा मर्ज भई लेकसाइड, अमरसिंहचोक शाखा मर्ज भई चिप्लेढुंगा शाखाबाट सेवा सुचारु भएको छ । 

विराटनगर महानगरपालिकाको मेनरोड शाखा मर्ज भई विराटनगर शाखा, बरगाछी शाखा मर्ज भई विराटनगर शाखा, विरगन्ज महानगरपालिकाको प्रतिमाचोक शाखा मर्जरपश्चात् विरगन्ज, ड्राइपोर्ट शाखा मर्जरपश्चात् सिर्सिया शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महानगरपालिकामा १८ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले ८ वटा शाखा चैत ३ गतेदेखि मर्ज गरिसकेको छ भने बाँकी १० वटा शाखा २०८३ बैशाख ६ गतेदेखि एकआपसमा मर्ज हुने जनाएको छ । 

बैंकका अनुसार काठमाडौं महानगरपालिकाको लाजिम्पाट शाखा मर्जपश्चात् नक्साल शाखाबाट कारोबार सुरु हुनेछ । यस्तै, खिचापोखरी शाखा मर्जपश्चात् न्यूरोड शाखा, नयाँ बानेश्वर शाखा (९४) मर्जपश्चात् नयाँ बानेश्वर शाखा (२८), टेकु शाखा मर्जपश्चात् त्रिपुरेश्वर शाखा, चावहिल शाखा (१६५) मर्जपश्चात् चावहिल शाखा (५६), कलंकी शाखा (१५२)मर्जपश्चात् कलंकी शाखा (२५२) बाट बैंकिङ सेवा सुरु भएको छ । ललितपुर महानगरपालिकाको कुमारीपाटी शाखा मर्जपश्चात् लगनखेल शाखा, जावलाखेल शाखा (९६) मर्जपश्चात् जावलाखेल शाखा (५३) बाट बैंकिङ सुरु भएको बैंकले जनाएको छ । यी शाखाहरु गत चैत ३ गते मर्ज भइसकेको बैंकले जनाएको छ । 

बैंकका अनुसार काठमाडौं महानगरपालिकाका बागबजार शाखा मर्जरपश्चात् पुतलीसडक शाखा, गौशाला शाखा मर्जरपश्चात् बत्तिसपुतली शाखा, ठमेल शाखा २ मर्जरपश्चात् ठमेल शाखा, कुलेश्वर शाखा मर्जरपश्चात् कालीमाटी शाखाबाट सेवा हुनेछ । 

ललितपुर महानगरका पाटन शाखा मर्जरपश्चात् लगनखेल शाखा, भरतपुर महानगरपालिकाको नारायणगढ शाखा (२२०) मर्जरपश्चात् नारायणगढ शाखा (१३), विरगन्ज महानरपालिकालको विरगन्ज शाखा (९८) मर्जरपश्चात् विरगन्ज शाखा (३), विराटनगर महानगरपालिकाको विराटनगर शाखा (२) मर्जरपश्चात् विराटनगर शाखा (९७) बाट बैंकिङ सेवा सुचारु हुनेछ । 

पोखरा महानगरपालिकाको बझापाटन शाखा मर्जरपश्चात् अमरसिंह शाखा र लेखनाथ शाखा मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ । 

प्रभु बैंक

प्रभु बैंकले विभिन्न ५ जिल्लाका १४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरेको छ । बैंकका अनुसार मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिका भित्र एक-अर्कासँग नजिक रहेका शाखाहरूलाई एकीकृत गरी कारोबार सञ्चालन गरेको छ । 

समायोजनपछि सञ्चालनमा रहने शाखाहरूबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मोरङको गोल्छाचोक शाखा समायोजनपछि तिनपैनी शाखाबाट सेवा सञ्चालन हुनेछ । कास्कीमा अर्घौचोक शाखा तालचोक शाखामा, हरिचोक शाखा बगर शाखामा र नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन गरी सेवा सञ्चालन गरेको छ ।

यस्तै, चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा गाभिनेछ । ललितपुरमा पाटन शाखा मंगलबजार शाखामा र सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन गरेको छ ।

बैंकका अनुसार काठमाडौंका बौद्ध शाखा समायोजनपछि बौद्ध १ शाखा, बागदरवार शाखा समायोजनपछि खिचापोखरी शाखा, नरेफाँट शाखा समायोजनपछि कोटेश्वर शाखा, सिनामंगल एयरपोर्ट शाखा समायोजनपछि सिनामंगल शाखा, मित्रपार्क शाखा समायोजनपछि चाबहिल शाखा, टेकु शाखा समायोजनपछि कालिमाटी शाखा र पुतलीसडक शाखा समायोजनपछि कमलादी शाखाबाट सेवा सुरु भएको हो । 

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक आपसमा समायोजन तथा एकीकरण गरी कारोबार सञ्चालन गरिनेछ ।

समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौंका ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल-कलंकी शाखा तथा ललितपुरका खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन् ।

समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरन शाखामा, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुल शाखामा, इन्द्रचोक र असन शाखा असन शाखामा तथा बाफल-कलंकी र कलंकी शाखा कलंकी शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।

यस्तै, खुमलटार र सातदोबाटो शाखा समायोजन भई सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा समायोजपश्चात् एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपश्चात् सुन्धारा शाखा, कुमारीपाटी र लगनखेल शाखा समायोजनपश्चात् लगनखेल शाखाबाट सेवा सञ्चालन हुने बैंकको भनाइ छ । 

यस्तै, ललितपुरतर्फ खुमलटार र सातदोबाटो शाखा समायोजनपछि सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपछि सुन्धारा शाखा तथा कुमारीपाटी र लगनखेल शाखा समायोजनपछि लगनखेल शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले ८ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजन पश्चात् आईटी प्लाजा कमलादी शाखाबाट सेवा सुचारु हुनेछ । यस्तै, अनामनगर शाखा समायोजनपश्चात् थापाथाली शाखा, भीमसेन शाखा समायोजनपश्चात् टेकु शाखा, बाङ्गेमुढा शाखा समायोजनपश्चात् ठमेल शाखाबाट सेवा सुचारु हुनेछ । 

यस्तै, सोह्रखुट्टे शाखा समायोजनपश्चात् बालाजु शाखाबाट बैंकिङ सेवा सुचारु हुनेछ । यस्तै, डौबहाल शाखा समायोजनपश्चात् पाटन सुनधारा, कुमारीपाटी समायोजनपश्चात् झम्सीखेल शाखाबाट सेवा सुचारु हुनेछ । हाल यी शाखा मर्जर गर्ने निर्णय गरेको छ । त्यसपछि उपत्यका बाहिरिका महानगरपालिका शाखा मर्जर गर्ने योजना रहेको बैंकले जनाएको छ । 

नबिल बैंक 

नबिल बैंकले विभिन्न ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिकाका घण्टाघर शाखा तीनधारा शाखामा मर्ज हुनेछ ।

यस्तै, मालीगाउँ र भाटभटेनी शाखा विशालनगर शाखामा मर्ज भएर बैंकिङ सेवा उपलब्ध हुनेछ । यस्तै, मित्रपार्क शाखा मर्ज भई चाबहिल शाखाबाट सेवा सुचारु हुनेछ ।

शंखमुल र बिजुली बजार शाखा बानेश्वर शाखामा मर्ज हुने बैंकले जनाएको छ । यस्तै विराटनगर महानगरपालिकाको पुष्पलालचोक शाखा मर्ज भएर कञ्चनबारी शाखाबाट बैंकिङ सेवा उपलब्ध हुनेछ ।

प्राइम बैंक

प्राइम बैंकले महानगरपालिका भित्र विभिन्न ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले वि.सं २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी नजिकका शाखा मर्ज गर्न लागेको हो । बैंकका अनुसार भरतपुर महानगरको हाकिमचोक शाखा मर्जरपश्चात् भरतपुर शाखा, काठमाडौं महानगरको सुनधारा शाखा मर्जरपश्चात् न्यूरोड शाखा, बाङ्गेमुढा शाखा मर्जरपश्चात् असन शाखा, गौशाला शाखा मर्जरपश्चात् पुरानोबानेश्वर शाखाबाट बैंकिङ सेवा सुरु हुनेछ ।

यस्तै, पोखरा महानगरपालिकाको बि पी चोक शाखा मर्जरपश्चात् न्युरोड पोखरा, बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा र बुडीबजार मर्जरपश्चात् तालचोक शाखाबाट बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ । 

एनएमबि बैंक 

एनएमबि बैंक विभिन्न ४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले चैत २५ गतेदेखि लागू हुने गरी विराटनगर शाखा समायोज गरी महेन्द्रचोक शाखा, नारायणघाट मेनरोड शाखा मर्जर गरी लायन्स चोक शाखा, पोखरा शाखा मर्जर गरी चिप्लेढुङ्गा शाखा, रामबजार शाखा मर्जर गरी अमरसिंह शाखाबाट बैंकिङ सेवा सुचारु हुने जनाएको छ । 

Share News