दुई तिहाइको म्यान्डेट अब बोलीले होइन, कामले देखाउने छौं : रवि लामिछाने (पूर्णपाठसहित)

नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाईको मतादेश दिएका छन् । म जनतालाई आभार मात्रै प्रकट गर्न उभिएको छैन । मैले यही रोस्ट्रमबाटै मतको गुन पुरा गर्ने प्रतिज्ञा गर्दछौं । यो मतमा जनताको आशा पनि छ, आक्रोश पनि छ । मलाई थाहा छ, हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन मात्र होइन सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।

सभामुख महोदय सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन । मैले मात्र होइन रास्वपाका हरेक मन्त्रीले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि हाम्रा कामहरु र सरकारका कामहरु आफै अत्यन्त राम्रोसँग बोल्ने छन् । ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु । 

सभामुख महोदय हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं । तपाईहरूले सरकारको रफ्तार देखिरहनु भएको छ । अब कर्मचारीतन्त्र सहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन । हामी आफ्ना मात्र होइन जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौ । यसको सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौं । सभामुख महोदय सरकारका प्राथमिकता योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीज्यु बाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट बाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउँदछु । म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु ।

सभामुख महोदय, यो सम्मानित संसदमा यस अघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन् । तर ति सरकारहरु इतिहासका अङ्क बने इतिहास बदल्ने औजार बन्न सकेनन् । किन सकेनन् त्यहाँ दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा ? किन अवसरहरुलाई परिणाममा बदल्न सकिएन ? हामीले इतिहासबाट सिक्न लाज मान्ने छैनौं । जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरी गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं । हामीलाई त्यो मन्जुर छैन । रास्वपाका साथीहरुलाई म सम्झाउछु हामी यहाँ प्रश्न सोधेर आएका हौ । 

अहिले बस्ने ठाउँ फेरी होला तर आज पनि ति प्रस्नहरु प्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ । अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउदैन उत्तर दिन पनि आउँछ । समस्या देखाउन मात्र होइन समाधान खोज्न पनि आउछ । प्रतिपक्षी दलहरुलाई मेरो विनम्र आग्रह छ हामी माथि २४ सै घण्टा निगरानी गरिदिनु होला । शासनमा तपाईहरुको लामो अनुभव छ हाम्रा कमजोरी उजागर गरिदिनु होला । गल्ती देखाइदिनु होला । यदि हामीले बाटो बिरायौ भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौ भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला ।

हामीमा अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरु एकतर्फ नहोऊन् । लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन् । यिनिहरु त एक अर्काका पूरक पनि हुन् । एकले काम गर्छ अर्कोले निगरानी गर्छ । एकले योजना बनाउँछ अर्कोले कार्यान्वयन गर्छ । हामीले प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं । प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसकेका छौं । 

यो संसद बहसको थलो हुनेछ प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संसोधन गरिएको छ । अध्यादेश समेत ल्याइएको छ । त्यस्ता गलत क्रियाकलाप यथा सिघ्र सच्चाइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । प्रतिपक्ष माथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुने छैन । अब अन्याय पुर्वक विधिनै मिचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन । संसदीय समितिहरुमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन । तर सुशासनको वेग भने रोकिने छैन । 

न्याय पाउने पहिलो हक सहिदकी आमाको हो त्यसलाई प्रतिशोध भन्न पाइने छैन । यो सरकार जेनजी बद्रोहको पनि सन्तान हो । हिजो संविधान र कानुनको को आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरुले स्वैक्षिक रुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु । सरकार नयाँ नीति कानुन मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहन्छ । हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरुले स्वेक्षाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु ।

सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्र संघका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन । प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत परराष्ट्र नीति तय गर्ने छौ । त्यो रणनीतिक र दर्घकालिन सोचमा आधारित हुनेछ । व्यापार, लगानी, शिक्षा पर्यटन र प्रविधि मैत्री हुनेछ । त्यसले पहिला राष्ट्रहित र त्यो सँगै अन्तराष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ । स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्टमबाट मेरो अपिल छ । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ किनकि राजनीतिक स्थिरता कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं ।

सभामुख महोदय प्राकृतिक स्रोत प्राकृतिक स्रोत र युवा जनशक्तिको देशमा अभाव छैन । नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अपिल गर्छु नेपालमा केहि गरौ तपाई नेपालको आर्थिक विकासमा जोडिनुस । हामी एक पटकको नेपाली सधैको नेपालीको वाचा पुरा गरेरै छाड्छौं । नेपाली जनताले नेपालको विकास सँग तपाईको पुँजी, सिप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौ । जसरी पनि गर्छौ । तपाईहरुको लगानी सुनिश्चित बनाउने छाैं । तपाईहरुको सम्मान सुनिश्चित गर्नेछौं । देश भित्र म निजी क्षेत्रलाई पूर्ण आस्वस्त पार्न चाहन्छु बिचौलिया र माफियाहरुले बिगारेको व्यवसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौं । नीतिहरु अब बजारमा बेचिने छैनन् । निर्णयहरु कसैको दबाबमा बन्ने छैनन् । 

व्यवसायिक क्षेत्रमा तपाईहरुले अनुभव गरेको असुरक्षा अनिश्चितता र दबाब सबैका लागि समाप्त हुनेछ । बिचौलिया र माफियागिरी अब रहने छैन । समान अवसर पारदर्शिता निष्पक्षता र व्यवसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौं । सरकारले लिन्छ । म एउटा प्रसङग यहाँ प्रस्तुत गर्न चाहन्छु सभामुख महोदय मेरा मित्र माननीय खगेन्द्र सुनुवार निर्वाचित भएर खगेन्द्र सुनार यहाँ आउनु भएको छ । 

चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आए । थाहा छैन उहाँले गल्ति गर्नु भयो गर्नु भएन तर उहाँले माफी माग्नु भयो । यति छिटै माफी माग्दै भन्नुभयो मबाट त्यस्तो गल्ति भए जस्तो मलाई लाग्दैन तर गल्ति भएको रहेछ भने माफी माग्नु भयो । म आज यो सिंगो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा पनि खगेन्द्र सुनारले माफी माग्नु भयो । खगेन्द्र सुनारहरु माथि युगौं युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं । यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केहि भन्नु छ । यो सरकार शताब्दीयौ देखिको विभेदको अन्यायको अत्याचारको इतिहास सँग पहिलो पटक सामुहिक र सार्वजनिक माफी माग्दै छ त्यो पनि यो सदनबाट । आज सम्मको विभेद सामाजिक गल्ति थिएन । संगठित अपराध थियो । यो देश किन बनेन ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौ । अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्री ज्यु र  सरकारको तर्फबाट पनि माफी माग्छु ।  यो माफीको मूल्य अब न्यायले गर्ने छ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु ।

यो रोस्ट्रमबाट मैले आमा र दिदीबहिनीहरुलाई पनि केहि भन्नु छ । यो देशमा तपाईहरुले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो । घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनु भयो । तर त्यसलाई काम मानिएन । महिलालाई अवसर अब अनुग्रह होइन अधिकार हुनेछ । हामी सुनिश्चित गर्नेछौ शिक्षा र रोजगारीमा बराबर पहुच । हामी ग्यारेण्टी गर्नेछौं । राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व कर्मस्थल र समाजमा सुरक्षा र सम्मान । अनि महिला विरुद्धका हिंसामा सुन्य सहनशिलता । कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन । अबको यात्रा केवल समानताको होइन सशक्तिकरणको हुनेछ । सँगसँगै जेष्ठ नागरिकहरुको आर्थिक सुरक्षा सामाजिक कल्याण र आत्म सम्मान पनि हाम्रो कर्तव्य हुनेछ । 

आजको संसदको जनादेशको वास्तविक रचयिता हुनुहुन्छ बैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु । यो देशमा आज सम्म सधै तपाईहरुले पठाएको रेमिटेन्सको कुरा भयो । तर आज म पैसाको होइन तपाईहरुले तिर्नु भएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलग्निु भयो । आमा बुवाको साथ गुमाउनु भयो । कलिला छोराछोरीकोको बाल्यकाल गुमाउनु भयो । चाड पर्वको रमाइलो, परिवारको माया आफ्नो गाउँ घरको न्यानोपन गुमाउनु भयो । कतिले आमा बाबुको मृत्युमा काँद थाप्न पाउनु भएन । कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन । 

आज म यहीबाट क्षमा याचनाका साथ स्वीकार गर्छु । यो देशले तपाईहरुको त्यागको उचित सम्मान गरेन । अब तपाईहरुको पिडा केवल कथा बन्ने छैन । नीति बन्ने छ राज्यको प्राथमिकता बन्नेछ । बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन् । अबको नीति तथा कार्यक्रम र बजेट तपाईहरुको हुनेछ । खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरु बिचौलिया सँगको डिनर टेबलमा हैन श्रमिकका शिविरहरुमा भेटिनेछन् । मैले युवा साथीहरुलाई विशेष अपिल गर्नु छ । 

यो परिवर्तन पनि तपाईहरुको हो । यो सरकार पनि तपाईहरुको हो । संसद पनि तपाईहरुको संघर्ष तपाईहरुको आवाज र तपाईहरुको विश्वासको परिणाम हो । तपाईहरुलाई दक्ष र आत्मनिर्भर बनाउन रोजगारी र उददमशीलतासँग जोड्न नवप्रवर्तन र नेतृत्वका अवसरहरु पैदा गर्न यो संसद र सरकार प्रतिबद्ध छ । माननीय सांसद ज्यूहरु जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौ । त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ देशको समृद्धि जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण । मलाई विश्वास छ यो सहकार्य उत्तरदायित्व र परिवर्तनको प्रतिक हुनेछ धन्यवाद । (बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेले राखेको विचार)

Share News