सरकारी कार्यालयभित्रको ‘नमीठो’ कथा

काठमाडौं । घडीले ठीक १ बजेको संकेत गर्छ । कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको भित्रपट्टि भने समय कहिल्यै रोकिँदैन । हातहरू चलिरहेकै छन् । कसैले सन्चोको सानो सिसी भर्दैछ, कसैले बट्टा बनाउँदैछ, कसैले प्याकिङ मिलाउँदैछ । कोठाभरि एउटै गन्ध फैलिएको छ– सन्चोको । तर, त्यही सञ्चोको कार्यालयभित्र सुनिन्छ संघर्षको सकसपूर्ण स्वर । 

त्यही भीडबीच हतारिँदै ढोकाबाट भित्र पस्छिन् हिमा घिमिरे । एप्रोन लगाउँदै उनी काममा जुट्छिन् । उनको यो हतार आजको मात्र होइन, २९ वर्षदेखि हो । कहिलेकाहीँ ढिलो आइपुग्दा तलब काटिएको तीतो अनुभव पनि उनले बिर्सिएकी छैनन् । 

बोल्न नसक्ने हिमा आफ्ना कुरा हातको इसाराले व्यक्त गर्छिन् । उनको मौनता भित्र गहिरो कथा छ– कहिल्यै नबोलिएको, तर स्पष्ट देखिने र बुझिने । एक समय करारमा स्थायी झैं भइसकेकी उनलाई नयाँ व्यवस्थापन आएपछि ‘लेबर’मा झारिएको अपमान उनले अझै बिर्सन सकेकी छैनन् ।

nullहिमा घिमिरे

उनको संसारमा शब्द छैनन्, तर बुझ्ने मानिस छन्– जानुका नेपाल । जानुका पनि बोल्न सक्दिनन् । त्यसैले उनीहरूबीचको संवाद शब्दबिनाको भाषा हो । हातको संकेत र आँखाको भाव । कार्यालयमा हिमाको इसारा बुझ्ने सबैभन्दा नजिकको साथी नै जानुका हुन् । 

हिमा यहाँकी सबैभन्दा पुरानी कर्मचारी हुन् । जानुका पनि ६ वर्षदेखि यहीँ काम गरिरहेकी छन् । उनीहरूको काम गरेको अवधि फरक भए पनि कथा उस्तै छ ।

२०२८ सालमा गोरखामा जन्मिएकी हिमा अहिले ५५ वर्षकी भइन् । बिहान १० बजे पुग्ने उनको पुरानो तालिका अब बदलिएको छ । उनी ९ बजेदेखि नै काममा उपस्थित हुनुपर्छ । जीवनका धेरै तालिकाहरू उनी आफैले होइन, परिस्थितिले तय गरिदिएको छ ।

विवाह भयो, केही वर्षपछि श्रीमान् विदेश गए । पर्खाइ लम्बिँदै गयो । सम्पर्क टुट्यो र अन्ततः श्रीमानले विदेशमै अर्को विवाह गरेको खबर आयो । त्यस दिनपछि हिमाले पर्खिन छोडिन्, आशा मारिन् । 

अहिले उनी एक्लै छिन् । चण्डोलमा चार दिदीबहिनीका घरमा पालैपालो बस्दै आएकी छन् । आफ्नै घर नभएको जीवन, आफ्नो भनिने कोही नभएको समय । अब उनी अवकाश हुँदैछिन् । तर, उनलाई एउटै प्रश्नले पिरोल्छ– हातमा के पर्छ ?

लगभग तीन दशक सरकारी कार्यालयमा काम गर्दा पनि न सेवा–सुविधा, न सुरक्षा । बिरामी हुँदा बिदा छैन, सुत्केरी हुँदा बिदा छैन, दशैं–तिहारमा छुट छैन । १९ हजार ५०० रुपैयाँ तलब । त्यसमै कर कटौती । अनि अन्त्यमा खाली हात । यही पीरले सताउन थालेको छ हिमालाई । 

यो विषय केवल हिमाको मात्र होइन । त्यस कार्यालयमा काम गरिरहेका ४०–४५ जनाको चिन्ताको विषय हो । जानुका नेपाल बिहान घरमा खाना पकाउँछिन्, परिवारलाई खुवाउँछिन्, बच्चालाई विद्यालय पठाउँछिन् र हतारिँदै कार्यालय पुग्छिन् । ढिला भए हाजिरी लाग्दैन भन्ने उनलाई राम्ररी थाहा छ । त्यसैले समयसँग उनको सधैं दौड चलिरहन्छ ।

nullजानुका नेपाल

मनिषा थपलिया २० वर्षदेखि यहीँ काम गर्छिन् । झापाबाट काठमाडौं आइन्, जीवन यहीँ बित्यो । तर, सरकारी संरचनाभित्र काम गर्दा पनि सरकारी सुविधा कहिल्यै पाइनन् । 

१९ वर्षदेखि यही कार्यालयमा काम गरिरहेकी निर्मला कोइराला आफ्नो अनुभव सुनाउँछिन्, ‘सरकारले हाम्रो कुरा सुन्ने मनसाय देखाएन । धेरै पटक भन्यौं, तर केही बदलिँदैन । अब त बोल्न पनि मन लाग्दैन । आधा जीवन यहीँ बितिसक्यो ।’

nullमुकुन्द अर्याल

मुकुन्द अर्याल पनि ८ वर्षदेखि यहीँ काम गर्छन् । न्यूनतम पारिश्रमिकभन्दा बढी नपाएको गुनासो गर्छन् । ‘बिदा त परै जाओस्, अनुपस्थित भए त्यस दिनको तलबसमेत गुम्छ,’ निराश हुँदै उनी भन्छन् ।

विदुर पोखरेल ११ वर्षदेखि यहीँ छन् ।  उनी भन्छन्, ‘हामीले हाम्रो समस्या कहाँ राख्ने ? सरकारी कार्यालय भनिन्छ । तर, अवस्था निजी मजदुरभन्दा पनि कमजोर छ । अब त थाकिसक्यौं ।’

nullविदुर पोखरेल

सरस्वती रायमाझीको पीडा अझ गहिरो छ । ‘सबैभन्दा गाह्रो अवस्थामा पनि अफिसले साथ दिँदैन र एक महिनाको बच्चा छोडेर काममा आउँदा पनि आराम गर्ने समय पाइँदैन । बिरामी हुँदा झन् डर लाग्छ, कामै गुम्ला कि भन्ने चिन्ता लाग्छ ।’

अम्बिका कोइरालाले सुत्केरी हुँदा काम गुमाइन् । ‘१० वर्ष काम गरें, सुत्केरी भएपछि निकालियो । पछि पैसाको खाँचोले फेरि फर्किएँ,’ भावुक हुँदै भन्छिन् उनी ।

ट्रेड युनियनकी अध्यक्ष सजना नेपाल भन्छिन्, ‘सरकारले तोकेको तलबमै कर काटिन्छ । न बिदा, न सुविधा । एक दिन अनुपस्थित हुँदा तलब काटिन्छ । सरकारी कार्यालय भएर पनि नियम निजीभन्दा कडा छन् ।’

मिरा अधिकारी पाँच वर्षदेखि काम गर्दै आएकी छन् । उनलाई एक दिन पनि अफिस ढिला नपुगेकोमा गर्व छ । तर, त्यो गर्व डरबाट जन्मिएको हो । उनलाई ढिला भए तलब गुम्ने त्रास हुन्छ ।

अमिता ढुङ्गेलको अवस्था पनि उस्तै छ । तीन वर्षको श्रम । तर, अधिकार शून्य ।

null

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका उपप्रबन्धक धर्मलाल नेपाल यो समस्या यहीँ मात्र नभएर देशभर भएको सुनाउँछन् । ‘यो समस्या देशभरि छ । हामीले अर्थ मन्त्रालय र वन मन्त्रालयमा कुरा उठाएका छौं । समाधान गर्ने आश्वासन त सुनिन्छ । तर, कानुनी प्रक्रिया र निर्णय अभावले रोकिएको छ,’ उनले भने ।

गत वर्षको  चैत १५ गते तीनकुनेमा भएको आन्दोलनले कार्यालयमा ठूलो क्षति पुर्यायो । सन्चोका गोदाम जले, गाडी र मेसिन नष्ट भए । तर, १५ दिनमै कार्यालय पुनः सञ्चालनमा आयो । मेसिन बिना, हातकै बलमा काम सुरु भयो । सन्चोको आपूर्ति रोकिएन । किनकि यी श्रमिकहरू रोकिएका थिएनन् ।

जडिबुटी उत्पादन केन्द्र मेसिनले होइन, मानिसहरूले चलाइरहेका छन् । तर, विडम्बना यस कार्यालयमा कार्यरत कर्मचारी र श्रमिकहरू असुरक्षित छन् । 

Share News