उहिलेको दशैं र अहिलेको दशैं
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंको अवसरमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरूको अवलोकन गर्ने अवसर पाएको छु । न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, बालाजु, माछापोखरी, वाईपास, महाराजगञ्ज, लगनखेल, गठ्ठाघर, राधेराधे, सूर्यविनायकदेखि बनेपासम्मका बजार क्षेत्र घुम्दा देखिएको दशैं बजारको अवस्था, व्यापारी र उपभोक्ताको मनोविज्ञान, देशको अर्थतन्त्र र जनजीवनमा परेको प्रभावका आधारमा केही गहिरो निष्कर्ष निकाल्न सकिन्छ । छैन चमक दशैं नेपाली समाजको सबैभन्दा ठूलो पर्व भएकाले सामान्य दिनभन्दा बजारमा चहलपहल बढ्नु स्वाभाविक हो । तर, विगतका वर्षहरूमा असन र इन्द्रचोकमा खचाखच भिड हुन्थ्यो । न्यूरोडका कपडा पसलहरूमा ग्राहक पंक्तिबद्ध हुन्थे । बनेपा र सूर्यविनायकका किराना पसलहरूमा सामान उठाउने भीड हुन्थ्यो । त्यस्तो दृश्य यस पटक धेरै कम देखियो । व्यापारीहरूले गत वर्षको तुलनामा बिक्री करिब ६० प्रतिशतमा मात्र सीमित भएको बताइरहेका छन् । नियमित ग्राहकको समेत आवश्यकभन्दा बढी किनमेल नगर्ने प्रवृत्ति बढेको छ, जसले देशको क्रयशक्ति खस्किएको स्पष्ट संकेत गर्छ । त्रास र अविश्वास भदौ २४ गतेको आगजनी, तोडफोड र जेल तोडेर भागेका हजारौं कैदी, प्रहरीसँगै भएको भिडन्त र हतियार लुटपाटका घटनाले बजार क्षेत्र त्रसित बनेको छ । व्यापारीहरूसँग कुराकानी गर्दा उनीहरूको पहिलो चिन्ता सुरक्षा रहेको पाइन्छ । कतिपय व्यापारीहरूले आफ्नो पसलमा ठूलो लगानी गरेर पनि क्षणभरमै दङ्गा वा आगजनीले सबथोक गुम्ने डर व्यक्त गरेका छन् । उनीहरूलाई सरकारले संरक्षण गर्छ भन्ने विश्वास झनझन कमजोर हुँदै गएको छ । बजार अवलोकनको क्रममा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारप्रति अविश्वास हो । भदौ२३ र २४ गते भएका आन्दोलन र त्यस क्रममा आफ्ना कलिला बालबालिकाले ज्यान गुमाएका परिवारले न्याय पाउने वा नपाउने भन्ने प्रश्नमा व्यापारी र सर्वसाधारण नागरिकबीच निराशा गहिरो देखियो । सरकारले ढिलासुस्ती गर्ने, जिम्मेवारी नलिने, घटनामा संवेदनशील नदेखिने प्रवृत्तिले नागरिक मनोबलमा नकारात्मक असर पारेको छ । व्यवसाय त्याग्ने मनोवृत्ति छलफलका क्रममा भेटिएका करिब ६० प्रतिशत व्यापारीहरूले मौका मिल्ने हो भने वर्तमान व्यवसाय छोडेर अर्को विकल्प रोज्ने इच्छा राखेका छन । उनीहरूका लागि व्यापार अब सुरक्षित र टिकाउ रोजगारी देखिँदैन । लामो समयदेखि एउटै पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत जोखिम बढ्दै गएको छ, फाइदा घट्दै गएको छ, सरकारले सुनुवाइ गर्दैन भन्दै असन्तोष पोखेका छन । यसले देशको निजी क्ष्त्रमा निराशा र पलायन हुने प्रवृत्ति बढेको संकेत गर्छ । दशैं नजिकिँदै गर्दा उपत्यकाभित्र र बाहिर जाने सडकहरूमा यात्रुहरूको चाप बढ्थ्यो । तर, यस वर्ष देखिएको अवस्था विगतभन्दा अझ अस्तव्यस्त छ । सडक छेउमा अव्यवस्थित पार्किङ, सवारी चालकहरूले मनलाग्दी रूपमा गाडी दौडाउने र ट्राफिक प्रहरीको निर्देशनलाई बेवास्ता गर्ने प्रवृति बढेको देखियो । टिकट बिक्रीमा समेत ठगी गर्ने प्रवृत्ति खुलेआम बढेको छ । कतिपय यातायात व्यवसायीले एउटै सिटको टिकट दुई–तीन जनालाई बेच्ने गरेको पीडा यात्रुहरूले सुनाएका छन् । सम्बन्धित निकायमा उजुरी गर्दा सुनुवाइ नै नहुने अवस्था नागरिकले भोगिरहेका छन् । भ्रमणका क्रममा कतिपय दृश्यहरूलाई नागरिकले व्यङ्ग्यात्मक रूपमा रामराज्य को पुनः आगमन भन्न थालेका छन । यसको आशय सकारात्मक नभएर नकारात्मक छ– कारण, जताततै अराजकता, नियमको तोडमोड, सुरक्षा निकायको कमजोरी, सरकारको निष्क्रियता र मनपरी चलन मौलाउँदै गएको छ । यसरी व्यवस्थित शासन नहुनु र जनजीवन अस्तव्यस्त हुनु नागरिकमाझ व्यङ्ग्यको विषय बनेको छ । यस्तै परिस्थितिमा गृहमन्त्रालयबाट आएका केही अग्रगामी सूचनाले झन नागरिकलाई चिन्तित बनाएको छ । कारण, जब सामान्य कानून कार्यान्वयनमा कमजोरी देखिन्छ, अपराध नियन्त्रणमा कमजोरी हुन्छ, यातायात व्यवस्थापन बिग्रन्छ, बजार असुरक्षित हुन्छ, त्यतिबेला नयाँ सूचना वा घोषणा नागरिकको विश्वास बढाउने भन्दा पनि शंका र संशयको कारण बन्छ । व्यापारी र सर्वसाधारणबीच यस्तो धारणा देखिनु वर्तमान राजनीतिक नेतृत्वको चुनौती हो । दशैंको रमझम र नागरिक यथार्थ सामान्यतया दशैं खुशी, मेलमिलाप र आर्थिक गतिविधिको अवसर हो । तर, यसपटकको दशैं बजारमा खुशीभन्दा बढी डर, अविश्वास र निराशा छाएको छ । बजारमा उपभोक्ता पुगे पनि उनीहरूको खर्च न्यून छ । व्यापारी पसलमा बसे पनि उनीहरूले सुरक्षित महसुस गर्न सकेका छैनन । सडकमा सवारी चले पनि यात्रुहरू ठगिने त्रासमा छन । यसरी उत्सवभन्दा बढी चिन्ता र असुरक्षा हाबी भएको देखिन्छ दशैंमा । अर्थतन्त्रमा दीर्घकालीन असर बजारमा देखिएको मन्दी, व्यापारीहरूको असन्तोष र उपभोक्ताको कमजोर क्रयशक्तिले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ । दशैं जस्तो ठूलो पर्वमा पनि व्यापारिक कारोबार घट्नु भनेको देशको उत्पादन, आपूर्ति र रोजगारीसँगै कर संकलनमा समेत नकारात्मक असर पर्ने संकेत हो । यदि सरकारले समयमै विश्वास पुनःस्थापित गर्न सकेन भने यसले दीर्घकालीन लगानीको वातावरणलाई समेत प्रभावित पार्नेछ । दशैं बजार अवलोकनका क्रममा पाइएका अनुभवहरूले वर्तमान नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको प्रतिविम्ब प्रस्तुत गर्छन । बजारमा सामान्य चहलपहल भए पनि उत्साह हराएको छ । व्यापारीहरू त्रासमा छन । उपभोक्ता सीमित खर्चमा छन । नागरिकहरू न्यायप्रति निराश छन । देशको यातायातदेखि सुरक्षा व्यवस्थासम्म अव्यवस्था व्याप्त छ । यस्तो परिस्थितिमा दशैँले ल्याउने खुशीभन्दा बढी असुरक्षा, अविश्वास र असन्तोष बढेको देखिन्छ । नेपाल जस्तो मुलुकमा पर्वहरू केवल सांस्कृतिक मात्र नभई आर्थिक गतिविधिको मेरुदण्ड हुन । त्यसैले सरकार र सम्बन्धित निकायहरूले चाडवाड बजारलाई सुरक्षित, व्यवस्थित र विश्वासिलो बनाउन सक्ने हो भने मात्र व्यापारी, उपभोक्ता र नागरिकको मनमा उज्यालो फर्किन सक्छ । अन्यथा, यस वर्षको दशैँ सहित चाडवाड बजारले दिएको चेतावनी जस्तै, मन्दी, अविश्वास र अराजकताले भविष्यलाई अझ अँध्यारो बनाउने खतरा छ । (लेखक रत्नराज्य क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)