संकल्पको सूर्य र नेपाल निर्माणको महायात्रा
राष्ट्र निर्माण केवल इँटा र ढुंगाको थुप्रो होइन, यो चेतना, आस्था र साझा संकल्पको जगमा टेकेको बृहत यात्रा हो । मैले आफ्नो जीवनकालमा नेपालको अशान्ति र शान्ति दुवै अवस्थालाई नजिकबाट नियालेको छु- विद्रोह, द्वन्द्व र त्यसको व्यवस्थापनको कठिन प्रक्रिया देखेको छु, सुनेको छु र भोगेको पनि छु । यी सबै अनुभवले मलाई निराश होइन, दृढ बनाएको छ । ममा शतप्रतिशत आत्मविश्वास छ- नेपाल बन्छ । तर, त्यो आत्मविश्वासलाई यथार्थमा रूपान्तरण गर्न जनताको चेतना जागृत हुनु अपरिहार्य छ । चेतनाको आवश्यकता र जनताको आत्मविश्वास नेपाल अहिले एक निर्णायक मोडमा उभिएको छ । असमानता, अविश्वास, विभाजन, अन्धविश्वास र भ्रष्टाचारले देशलाई जकडेको छ । जब चेतनाको अभाव हुन्छ, तब देशमा विद्रोह, असन्तोष र निराशा फैलिन्छ । तर, चेतना त्यस्तो अमरदीप हो, जसलाई हावाले निभाउन सक्दैन-अन्यायले झनै प्रज्वलित गर्छ । आजको मुख्य चुनौती राजनीतिक होइन, मानसिक चेतनाको पतन हो । नेपाली जनताको भावनात्मक गुण-दयालुता, सहयोग, आस्था- यी नै हाम्रो शक्ति हुन्, तर यही भावनात्मकता केही स्वार्थी नेताहरू र विदेशी रणनीतिक दलालहरूले आफ्नो फाइदाको साधन बनाएका छन् । विदेशी शक्तिहरू नेपालका स्रोत, भू-राजनीतिक स्थिति र आस्थामाथि आफ्नो नियन्त्रण जमाउन चाहन्छन् । तर दोष केवल विदेशीलाई छैन; हामी स्वदेशीहरू पनि चेतनाहीन भएर उनीहरूलाई त्यो ठाउँ दिइरहेका छौं । अब विदेशीहरूभन्दा पनि खतरनाक ती नेपालीहरू हुन् जो नेपालमै बसेर नेपालको अहित चाहन्छन् । त्यस्ता तत्वहरूलाई चिन्ने, बहिष्कार गर्ने र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी अब जनतामाथि नै छ । विनाश होइन, पुनर्जागरण नेपालमा हिजोका आन्दोलनहरू नारा, राग, र आक्रोशमा सीमित भए । तर अबको आन्दोलन चाहिँ नवीन अवधारणामा आधारित हुनुपर्छ । यो आन्दोलन घर, सडक, सिंहदरबार जलाउने होइन, यो त नयाँ चेतना र नयाँ संकल्पले देश बनाउन गर्ने आन्दोलन हो । हामीले भ्रष्टाचार, विकृति र गलत आचरणबाट आर्जित सम्पत्तिहरूलाई राष्ट्रियकरण गरेर जनताको हितमा प्रयोग गर्नुपर्छ । र, विदेशीहरूले नेपालभित्र आफ्नो प्रभाव विस्तारका लागि गरेको लगानीलाई देश निर्माणकै माध्यम बनाउन सक्नुपर्छ । अब निषेध होइन, समाधानको खोज हाम्रो बाटो हुनुपर्छ । प्रतिशोध होइन, सुधार र सहकार्यको दर्शन अपनाउनुपर्छ । ‘मोर अनार्की, मोर पावर’ होइन, ‘मोर जिम्मेवारी, मोर देश’ भन्ने नयाँ संस्कार बसाल्न जरुरी छ । आन्दोलन केवल विनाश होइन । यो नयाँ समाजको निर्माण गर्ने शक्ति हो । जसले शासनलाई होइन, शिक्षालाई प्राथमिकता दिन्छ । सत्ता कब्जा होइन, सेवा र जिम्मेवारीमा विश्वास गर्छ । इतिहासका सन्देश : राखबाट उठ्ने राष्ट्र हिरोसिमा र नागासाकीमा भएको परमाणु विस्फोटन मानव सभ्यतामाथिको सबैभन्दा ठूलो चोट थियो । तर, त्यो राख र धुलोबाट जापान फेरि उठ्यो- शिक्षा, अनुशासन र आत्मबलको शक्तिबाट । त्यो उदाहरणले संसारलाई सिकायो, ‘विनाश अन्त्य होइन, नयाँ सुरुवातको संकेत हो ।’ नेपाल पनि अहिले त्यस्तै मोडमा छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, वैदेशिक निर्भरता र आन्तरिक विभाजनले देशलाई थकित बनाएको छ । तर, यदि हामीले चेतना, आस्था र राष्ट्रिय एकताको ज्योति निभ्न नदियौं भने नेपाल फेरि उठ्छ, अझ बलियो रूपले । राष्ट्र पुनर्जागरणको यात्रा, जनताको मनदेखि सुरु हुन्छ—सडकबाट होइन, सचेत विचार र आचरणबाट जेन-जेड पुस्ता र नयाँ युगको आन्दोलन नेपालको पछिल्लो राजनीतिक आन्दोलनले देखायो-नयाँ पुस्ता, जेन-जेड, अब मौन बस्दैन । उनीहरू आक्रोशित छन्, प्रश्न गर्छन्, परिवर्तन चाहन्छन् । तर, यो ऊर्जा यदि चेतनामा रूपान्तरण गर्न सकियो भने यही पुस्ता राष्ट्र पुनर्जागरणको मेरुदण्ड बन्न सक्छ । सामाजिक सञ्जाल र सडकमा देखिएको असन्तोष केवल विद्रोह होइन,यो चेतनाको निनाद हो । नयाँ युग सुरु गर्ने चाहनाको आवाज हो । तर, आन्दोलन केवल विरोध होइन, यो पनि नेतृत्वको परीक्षा हो । त्यसैले युवा पुस्ता आन्दोलनमा मात्र होइन, विकासमा पनि सहभागी हुन तयार हुनुपर्छ । र, पुरानो पुस्ताले उनीहरूलाई निराश होइन, प्रेरणा दिनुपर्छ । जिम्मेवारी र नेतृत्वको संस्कार आन्दोलन र चेतनाले दिशा पाउँछन् जब नेतृत्व जिम्मेवार हुन्छ । नेता त्यो होइन जो कुर्सीमा बस्छ । नेता त्यो हो जो देशको पीडा महसुस गर्छ । जो बोल्दैन मात्र, कार्य गर्छ । नेता बन्नु मतलब– नैतिकता, पारदर्शिता र देशप्रेममा उभिनु हो । राजनीति सत्ता कब्जाको होइन, सेवाको मञ्च हो । नेतृत्वले शिक्षा, अनुशासन र निष्ठाको बलमा जनताको विश्वास जित्नुपर्छ । देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । आचार्य सत्यमोहन जोशीले भनेका थिए- ‘शिक्षा नै त्यो शक्ति हो जसले समाजलाई बदल्छ ।’ त्यसैले शिक्षा र चेतनाबाट जिम्मेवार नेतृत्व जन्मिन्छ, जसले आन्दोलनलाई विनाश होइन, विकासको दिशामा मोड्न सक्छ । अबको नेतृत्वको परीक्षा नारामा होइन, आचरणमा हुनेछ । भाषणले होइन, निष्ठाले जनताको विश्वास जित्न सकिनेछ । वर्तमान चुनौती र अवसर नेपाल अहिले भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छ । भारत, चीन र पश्चिमी देशहरूको रणनीतिक स्वार्थको केन्द्र नेपाल बन्दै गएको छ । यदि हामी चेतनशील रह्यौँ भने यो स्थिति अवसर बन्न सक्छ । तर, चेतना नजाग्दा यो हाम्रो अस्मिता खोस्ने खतरा पनि बन्न सक्छ । अर्कोतर्फ, नयाँ पुस्ता- डिजिटल युगका नागरिक अब सूचना, सीप र दृष्टिकोणमा सक्षम छन् । उनीहरूमा विचारको शक्ति छ, केवल दिशाको आवश्यकता छ । यदि यस ऊर्जालाई राष्ट्रको नीतिमा रूपान्तरण गर्न सकियो भने नेपालले नयाँ युगको सुरुवात गर्न सक्छ । नेपालका युवाहरू, शिक्षकहरू, बौद्धिकहरू, किसान र श्रमिक- यी नै देशका वास्तविक निर्माता हुन् । उनीहरूले आफ्नो श्रम, सीप र जिम्मेवारीलाई देशको नयाँ विकल्पमा परिणत गर्नुपर्छ । अब हामीले पसिनाको मूल्य बुझ्नुपर्छ, श्रमलाई सम्मान दिनुपर्छ । र, विकासलाई केवल सपना होइन, संकल्पको रूप दिनुपर्छ। आशा, संकल्प र चेतनाको मिलन देश निर्माणमा अब आरोप होइन, सहकार्य चाहिन्छ । पार्टी होइन, राष्ट्र केन्द्रमा हुनुपर्छ । निराशा होइन, आशा जगाउने संस्कार चाहिन्छ । ‘सपना देख्नु गलत होइन’, तर सपना साकार गर्न नचाहनु गलत हो । हामीले सपना देख्ने मात्र होइन, पूरा गर्ने पुस्ता बन्नुपर्छ । देश बनाउने जिम्मेवारी अरू कसैको होइन—हाम्रो आफ्नै काँधमा छ । नेपाल अहिले खरानीजस्तो देखिए पनि त्यो खरानीभित्र बलिरहेको आशाको ज्योति अझै निभेको छैन । यदि हामीले चेतनाको प्रकाश, जिम्मेवारीको बाटो र सहकार्यको संस्कार रोज्यौँ भने नेपाल फेरि उठ्नेछ, अझ बलियो, सचेत र गौरवशाली रूपमा । निष्कर्ष देश निर्माणको यात्रामा चेतना, आन्दोलन र जिम्मेवारी- यी तीनवटा स्तम्भ हुन् । चेतना जनताको आत्मा हो, आन्दोलन परिवर्तनको ढोका हो । र, जिम्मेवारी भविष्यको बाटो हो । देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । राष्ट्र प्रेम नारामा होइन, कर्तव्यमा देखिन्छ । नेपाली हुनु गर्वको कुरा हो । तर, नेपाल बनाउन जिम्मेवारी लिनु कर्तव्यको कुरा हो । नेपाल बन्नेछ, जब चेतना कर्ममा रूपान्तरण हुन्छ । संकल्प कार्यमा परिणत हुन्छ । र, आशा यथार्थमा फुल्छ । (लेखक शिक्षक तथा सामाजिक अभियान्ता हुन् । )