पूँजी बजारको विकासका लागि स्टक ब्रोकरको भूमिका
गत भदौ २३ र २४ गते भएको युवाहरु (जेन–जी) को आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सबै सहिदहरुप्रति स्टक ब्रोकर्श एशोसिएन अफ नेपाल र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सो आन्दोलनमा शहिद हुनुहुने परिवारका एक जना सदस्यलाई हाम्रो एशोसिएसन अन्तरगतका सदस्यहरुको संस्थामा रोजगारीको अवसर प्रदान गरिने यहाँहरूसमक्ष जानकारी गराउँदछु । यसैगरी आजको यस उल्लासमय क्षणमा देश तथा विदेशमा रहनुभएका करिव ७१ लाख भन्दा बढी लगानीकर्ताहरु एवं सम्पूर्ण स्टक ब्रोकर्श एशोसिएन अफ नेपालका सदस्यज्यूहरुमा हर्ष उल्लास छाओस, आर्थिक प्रगति उन्नति राम्रो हुँदै जाओस र देशमा वर्तमान समयमा देखिएको राजनीतिक अन्योलताले निकास पाओस भन्ने शुभकामना व्यक्त गर्दछु । यही आउँदो कार्तिक ०९ गते स्टक ब्रोकर्श एशोसिएन अफ नेपालले आफ्नो ३२ औं स्थापना दिवश मनाउने तयारी गरिरहेको छ । यसबीचमा यस एशोसिएसनले नेपालको पूँजी बजारको विकास र स्थायित्वका साथै यस मातहतका सदस्यहरुबाट प्रवाह हुने सेवाहरुलाई विस्तारित गरी धितोपत्र बजारको पहुँच विस्तार गर्दै अगाडि बढ्नुका साथै नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लि. तथा राफसाफ निकाय सिडिएस एण्ड क्लियरिंग लि. सँग सहकार्य गर्दै हामीले प्रत्यक्ष रुपमा तथा आआफ्ना सदस्यहरुको नेतृत्वमा नेपालको पूँजी बजारको निर्माण, सञ्चालन तथा आधुनिकीकरणमा आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको सबैमा जानकारी गराउन चाहन्छु । हाम्रो एशोसिएसन अन्तरगत हाल ९० वटा धितोपत्र दलाल व्यवसायी र २ वटा धितोपत्र व्यापारीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्दै आएका छन । यि धितोपत्र व्यावसायीहरुले नेपालको पूँजीबजारमा संलग्न रहेका ७१ लाभन्दा बढी लगानीकर्ताहरुलाई धितोपत्र खरिदबिक्री तथा डिपोजिटरी सेवा प्रदान गर्दै आएका छन् । नेपालको पूँजीबजारको शुरुवात भएको ३३ वर्ष भएता पनि नेपालमा पूँजी बजारको विकास, स्थायित्व र आधुनिकीकरणको दिशामा हामीसँगै पूँजी बजारको शुरुवात गरेका अन्य देशहरुको तुलनामा अझै पनि धेरै कामहरु हामीले गर्न बाँकी नै रहेको छ । अझ भनौं विकास र विस्तारको चरण बामे सर्ने स्थितीमै छ । विशेष गरी पोलिसि, पूर्वाधार, प्रविधि र प्रडक्टका हिसाबले थुप्रै कार्यहरु गर्नुपर्नेे आवश्यकताको महसुश हामीले गरेका छौं । धितोपत्र ऐन २०६३ बनाई लागू गरेयता दुई दशक बितिसकेको छ । यसबीच पूँजी, प्रविधि, प्रडक्ट तथा पूर्वाधारका क्षेत्रका साथै लगानीकर्ताहरुको लगानी विहेवियरमा आमूल परिवर्तनहरु आइसकेकाछन् । ती सबै विषयहरुलाई समेटेर बलियो र आधुनिक धितोपत्र बजारको आधार निर्माणका लागि धितोपत्र ऐनमा समयसापेक्ष संशोधन एवं सुधार हुन नसकिरहेको अवस्था छ । यसमा सबै सरोकारवाला निकायहरुलाई पुँजी बजारका वृद्धि र विकासका लागि एक भएर अघि बढ्न आग्रह गर्दछु । आधुनिक जमानामा पनि पूर्वाधारका हिसाबले लगानीकर्ताहरु विभिन्न निकायमा भौतिक रुपमा उपस्थित भएर सेयर कारोबार गर्नुपर्ने बाध्यतामा छन् । डिम्याट खाता, बैंक खाता, ब्रोकर खाता, आस्बा भनेर कार्यालयको चक्कर काट्दै दिन बिताउनु पर्ने बाध्यता छ । अहिलेसम्म हामीले भिडियो केवाइसि, सेन्ट्रल केवाइसी जस्ता विषयलाई पूर्णरुपमा अवलम्बन गर्न सकिएको छैन । ब्रोकर कार्यालयमा भौतिक रुपमा वा अनलाइनबाट खाता खोलेसी लगानीकर्ताहरुले अन्य खाताको अनिवार्यतालाई पूरा गर्न फेरी धेरै निकायमा दौडनुपर्ने बाध्यता छ । एक पटक खरिद गरिएको धितोपत्र बिक्री नहुन्जेल त्यसलाई तरल सम्पत्तिको रुपमा कहिँ कतै पनि प्रयोग गर्न नपाइने व्यवस्था छ । पुनः प्रयोगका लागि बिक्री वा भौतिक रुपमा उपस्थिति भई धितोको रुपमा प्रयोग गरी ऋण सम्म लिन पाइने बाहेक अन्य व्यवस्था लागू गर्न सकिएको छैन । कमसेकम धितोपत्र लेण्डिङ बरोइङ्ग गर्ने सुविधा भएको वा अफलाइन कारोबार गरी राफसाफ गर्ने व्यवस्थामात्रै सञ्चालनमा ल्याउन पाएको भए लगानीकर्ताहरुसँग रहेका धितोपत्रहरु लगानीकर्ताहरुले आफूलाई आवश्यक परेको बखतमा पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था बन्ने थियो । प्रडक्टको कुरा गर्नुपर्दा धितोपत्र बजार सञ्चालनमा आएको ३३ औं वर्ष वितिसक्दा पनि हामीसँग अहिले पनि नियमित कारोबार हुने औजारको रुपमा केवल सूचिकृत कम्पनीका साधारण शेयरहरु मात्रै छन् । यसबाहेक एकाध रुपमा नन कन्भर्टिएबल डिबेन्चर र सामुहिक लगानी कोषहरु छन । हामीले धितोपत्र ऐनको संकुचनका कारण र हामी बजार सहभागि देखि लिएर नियामक निकायमा सहभागी सबैको उदासिनताका कारण डेरिभेटिभ औजारहरु जस्तै अप्सन, फ्युचर्सजस्ता प्रडक्टहरु तयार गरी सञ्चालनमा ल्याउन सकेका छैनौं । यसबाहेक स्पट कारोबारमै समेत इन्ट्रा डे, सर्ट सेल सुविधाहरुलाई प्रयोगमा ल्याउन सकेका छैनौं । हाल धितोपत्र बोर्डले मार्जिन कार्यविधि बनाउन समिति बनाएको छ यसलाई सबै स्टेकहोल्डरको सुझावका आधारमा व्यवहारिक बनाएर यथासक्दो छिटो कार्यान्वयनमा ल्याइयोस भन्ने अनुरोध गर्न चाहन्छु । नीतिगत अवस्थाको बारेमा त केही कुरा माथि नै भनिसकेको छु । हामीले हाम्रो ऐनको संकुचताका कारण र ऐनमा व्यवस्था छैन भन्ने भनाईका कारण नियमहरु बनाउन सकेका छैनौं । नियम बिना विनियम र निर्देशिका तथा सर्कुलर जारी हुन सक्दैनन् । तर पनि ऐनको दफा ११६ र ११७ मा बोर्डले चाह्यो भने आवश्यकता बमोजिमका विषयहरुमा उपरोक्त दफाहरुलाई टेकेर नियम र विनियम जारी गर्न सक्दछ । सोही नियम र विनियमलाई टेकेर २०६७ सालमा केन्द्रिय निक्षेप नियमावली र राफसाफ विनयमावली जारी गरेको छ । नेपालमा पूँजी बजारको विकास, विस्तार र आधुनिकीकरणमा कानूनी व्यवस्था र आधार अनिवार्य छ । त्यसका लागि भएको ऐनको व्यवस्थालाई उपयोग गर्दै आगामी दिनहरुमा थप नीति नियमहरु बन्दै बजारलाई सुद्धृढ र व्यवस्थित बनाउने तर्फ बोर्डले तदारुकताका थप कदम अगाडि बढाउने छ भन्ने आशा र विश्वास गरेको छु । आजको समयमा पूँजी बजार कुनै पनि देशको लागि अपरिहार्य जस्तै बनेको छ । विकसित देशका पूँजी बजारमा लगानीका लागि उपयोग गर्न सकिने औजार भनेको केवल कम्पनीका सूचिकृत धितोपत्र मात्रै होइनन् । नकि डिबेन्चर, सामुहिक लगानी योजनाका युनिटहरु र सरकारी ऋणपत्रहरु मात्रै । आजको दिनमा लगानीका औजारका रुपमा इण्डेक्स फण्ड, फरेन करेन्सी, कमोडिटिज लगायत डिजिटल सम्पत्तिहरु समेत ठूलो मात्रामा उपलब्ध भई कारोबार प्रचलित भएका छन् । नेपालमा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो दिशातर्फ अग्रसर हुनका लागि के कस्ता पूर्वाधार, के कस्ता कानून, के कस्ता जनशक्ति तथा के कस्ता लगानीकर्ताहरु आवश्यक हुने हो सो विषयमा मध्यनजर गर्दै सोही अनुरुप आवश्यक तयारी गर्दै जानेछ भन्ने आशा पनि मैले आजको यो कार्यक्रममा व्यक्त गर्न चाहन्छु । विशेषगरी अहिलेको वर्तमान परिवेशमा नेपालीहरु रोजगारी र अध्ययनका लागि विश्वका हरेक कुना कुना पुगिसकेकाछन् । कोही रोजगारीमा छन् कोही उद्यम व्यावसायमा छन् त कोही स्वरोजगारमा । हाम्रो बजारमा यस्ता उन्नत औजारहरुको कारोबार नहुने भएको हुँदा उनीहरुले आफू जहाँछन् सोही देशमा रहेको पूँजी बजारमा वा मुद्रा बजारमा वा अन्य बजारमा लगानी अवसरको प्राप्तिका लागि आफ्नो रकम लगानी गर्दै आएका छन् । यदि सो लगानी रकम नेपालमा भित्रिने हो भने यसबाट ठूलो राजस्व राज्यलाई प्राप्त हुनुका साथै थप वैदेशिक मुद्रा नेपाल भित्रिने थियो भने सोही अनुरुप रोजगारी समेत सिर्जना हुने थियो । साँच्चिकै देशमा आर्थिक समृद्धि हासिल गर्ने हो भने हाम्रो नियामक लगायत सम्पूर्ण स्टेकहोल्डरले यस्ता कुरालाई मध्यनजर गर्दैे पूँजीबजार बलियो बनाउन लाग्नुपर्दछ भन्ने दृढ विश्वास छ । बितेका दिनहरुमा नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमै विभिन्न आन्तरिक तथा बाह्य विषयहरुमा विभिन्न देशहरु भित्र आन्दोलन, लडाईं तथा व्यापारिक द्वन्द्वहरुको अवस्था बढेर गएको अवस्था छ । अहिले हाम्रा नियामकहरुमा पनि विभिन्न माग राखेर आन्दोलन गर्दै आउनु भएको छ । नेपालको पुँजी बजार अहिले कमजोर अवस्थामा छ भने लगानीकर्ताको मनोवल खस्किदो छ । नेपाल शान्तिको प्रतिक मानिएको गौतम बुद्ध जन्मिएको देश हो । तसर्थ सबै आन्दोलनरत पक्षलाई झैझगडा र तिक्तताभन्दा माथि उठेर छलफल र वार्ताको मध्यमबाट शान्तिपूर्ण तरिकाले समस्याको समाधान निकाल्न आग्रह गर्दछु । अन्त्यमा म यो अवसरमा सबै सम्पूर्ण नियामक निकायबाट पाल्नुहुने अतिथिहरु, सदस्य ब्रोकर्स, लगानीकर्ताहरू, सञ्चारकर्मी साथीहरु र बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याउने सबैलाई पुनः दशैं, तिहार, नेपाल सम्मवत र छठका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पर्वले हामी सबैमा नयाँ उत्साह, सकारात्मकता र एकता ल्याओस् भन्ने मेरो हार्दिक कामना छ । साथै, आगामी वर्ष हाम्रो पूँजी बजार अझ सबल, स्थिर र पारदर्शी होस् भन्ने शुभकामना व्यक्त गर्दै म मेरो भनाइ यहीँ समाप्त गर्न चाहन्छु । (स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) ले आयोजना गरेको दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सागर ढकालले राखेको मन्तव्य)