ओरण्टल कोअपरेटिभले निक्षेपकर्तालाई १६ अर्ब तिर्न बाँकी, सुधीर बस्नेतकाे स्वामित्वमा सम्पत्ति शुन्य
काठमाडौं । समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व रु १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाले निक्षेपकर्तालाई साँवा रु नौ अर्ब १२ करोड तथा गत वर्ष चैत मसान्तसम्मको ब्याज रु छ अर्ब ८९ करोड भुक्तानी दिन बाँकी छ । सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी रु आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम रु चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा रु एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्वअन्तर्गत रहेको छ । यहाँ विहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका तत्कालीन अध्यक्ष सुधीर बस्नेत एवं सञ्चालकका नाममा हालसम्म छानविनबाट अचल सम्पत्ति नदेखिएको जानकारी दिए । उक्त सहकारीबाट पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य र अन्य साहु गरी हालसम्म सात हजार ५४६ जनाको माग दाबी निवेदन परेको समितिले जनाएको छ ।
ग्लोबल आइएमई र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा त्रिवि, पनिकाका परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुरुप त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विधार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवम् चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।
नारी दिवसका अवसरमा कैलाश विकास बैंकले ल्यायो सुरक्षित नारी बचत योजना
काठमाडौँ । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।