सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो । उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ । साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको बारेमा केन्द्रित थियो । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।
समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, पोखरा फाइनान्ससँगको मर्जर पारित
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्य तथा प्रगतिबारे जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतिका लागि पेश गरिएकोमा सभाले सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रिया सर्वसम्मत रूपमा अनुमोदन गर्दै बाँकी प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि आरएसएमए एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ ।
सेयर बजारमा ११ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा सामन्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदीको ४८ करोड र रिभर फल्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बुधबारको कारोबारमा ५ वटा उपसमूहको सूचक घटेका छन् भने अरु बाँकी सूचक बढेका छन् । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।