भारतमा संक्रमितको सङ्ख्या ८ लाख नाघ्याे, एकैदिनमा २७ हजार बढी
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९ सय १६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार १ सय १४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा संक्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोना भाइरसका कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमितमध्ये २ लाख ८३ हजार ४ सय ७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी ५ लाख १५ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै २ लाख ३८ हजार ४ सय ६१ जना संक्रमित हुदाँ दोस्रो धेरै संक्रमित भएको तमिल नाडुमा १ लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा १ लाख ९ हजार १ सय ४० जना संक्रमित भएका छन् । विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै संक्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् । निको भई घर फर्किनेको सङ्ख्या ६२.४२ प्रतिशत, मृत्यु दर २.७२ प्रतिशत भारतमा कोभिड–१९ संक्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ । त्यस्तै संक्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् । भारतभर १ हजार २ सय १८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३ सय १ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६ सय ५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म १ करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । रासस/एएनआई
केएमसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मूत्यु
काठमाडौं । सिनामंगलको केएमसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमिणको मृत्यु भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा.मुकुन्द राज जोशीले जानकारी दिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३६ ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाको आशङ्का भएपछि १ सय ४९ खरिपाटी क्वारेन्टाइनमा
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टाइन लगिएको हो । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए । रासस