स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् । अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् । अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ । मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन् । सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन् । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताइन् । उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताइन् । उनले सहिद परिवारहरुले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् । मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन् । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरु गरिरहेको उनको दाबी रहेको छ । सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गरेका थिए । उनका अनुसार उक्त अस्पतालले बिमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ ।
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको संख्या बर्सेनि बढ्दै
बनियानी । झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२र१२ नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३ कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७५ पुगेको देखिन्छ । विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउँछन् । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उनले बताए । 'कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ', उनले भने, 'बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।' सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सूक्ष्म रूपमा खोजपतड्ला गर्नुपर्ने उनको भनाइ छ । रासस
निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी
काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।