नेपालमा एक वर्षमा ७० अर्बको औषधि खपत, २६ अर्बको आयात
काठमाडौ । नेपालमा ७० अर्ब रुपैयाँ बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए ।नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय ७० अर्ब बराबरको औषधि बजार रहेको बताए। उनले भने ,“स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगातयको मूल्य जोड्ने हो भने करीब ७० अर्ब रुपैयाँको बजार छ ।” विदेशबाट औषधि आयात गर्नेहरुको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले वार्षिक २६ बराबरको औषधि आयात भइरहेको जानकारी दिए। उहाँले नेपालमा भित्रिएको औषधिमध्ये ४० प्रतिशत उपत्यकामै खपत हुने बताए । “काठमाडौँमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी काठमाडौं आउने भएकाले पनि काठमाडौँमा ठूलो परिणामको औषधि खपत हुने गरेको उहाँले बताए । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ । नेपाल औषधि विभागमा देशभरमा गरी २१ हजार फार्मेसी पसल दर्ता भएका छन् । पाँच हजार बढी फार्मेसीबिना दर्ता नै सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ । नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ । नेपालमा वर्षेनी औषधि आयात बढिरहेको छ भने चिकित्सकको सल्लाहबिना जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ । विभागबाट औषधि गुणस्तरलगायतका सबै पक्षमा अनुगमन गरिरहेको विभागका महानिर्देशक ढकालको दाबी छ । रासस
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नर्भिक हस्पिटलमा १२ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने छन् । सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच भएकाे सम्झौता अनुसार बैंकका ग्राहक तथा ग्राहकका परिवारहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले डेविट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ यूनो क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् । बैंकले हाल देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११८ एटीएम र ९०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण, २ करोड ५० लाखको लागत
काठमाण्डौ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ। विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ । बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने उनले बताए। झण्डै रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको र बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनले बताए। बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताए। अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन । अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन् । रासस