शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो । नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ । रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताए । ‘कार्यक्रमको मापदण्डअनुरुप दैनिक ६ सय २८ रुपैयाँ न्यूनतम पारिश्रमिक दिने गरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’ रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए । ‘आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो,’ नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भनिन्, ‘नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’ अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताइन् । ‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सयमात्रै उपलब्ध हुने गरेको छ,’ उनले भनिन्, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’ गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

नेपाली कामदार लैजान कोरियाले थप्यो ३ क्षेत्र, कुन-कुनमा जान पाइन्छ ?

काठमाडौं । दक्षिण कोरियाले थप तीन वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने कोरियाले सन् २०२४ देखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको हो । इपीएस शाखाले बुधबार सूचना जारी गर्दै कोरिया सरकारले थप ३ क्षेत्रमा नेपाली कामदार लैजाने बताएको हो । ‘एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूचीमा बस्न पाउने छन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरेको छ,’ सूचनामा उल्लेख छ । यस्तै, कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएकोप्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानार्कष भएको पनि सूचनामा छ ।

भारतीय दुतावासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली-अंग्रेजी-नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी माग गरेकाे हो । दूतावासले कति संख्या भन्ने खुलाएको छैन । अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्ने र न्यूतम योग्यता अंग्रेजी-नेपालीमा ग्र्याजुएट गरेको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्ने छ । दूतावासका अनुसार इच्छुक उम्मेदरवार ३५ वर्ष नकटेको हुनुपर्ने छ । आजकाे तीन साताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ ।