सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ । कम्पनीको निर्णयअनुसार ऋषिराम पण्डितलाई मंसिर ७ गतेदेखि स्थायी रूपमा डीसीईओमा नियुक्त गरिएको छ । कम्पनीका अनुसार पण्डितलाई पदअनुसारको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भइसकेको छ । नियुक्तिसँगै उनले संस्थाका प्रशासनिक तथा वित्तीय गतिविधिमा सह–मुख्य कार्यकारी अधिकृतको भूमिकामा काम गर्नेछन् ।
नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।