बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो । नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ । त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए । प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ । यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवेदन खुलाएको उनले बताए । आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ । बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन् । उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ । अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ ।  रासस

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार, मासिक ७० हजारभन्दा बढी आम्दानी

गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । ‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो’, उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।’ उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्ष अघि स्वदेश फर्केका उनले मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेको छन् भने तीन जनालाई जागिर पनि दिएका छन् । होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।’ आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए । उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेको छन् । उनीहरुले मासिक १७ हजारका दरले पारिश्रमिक पाउछन् । ‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ’, उनले भने । पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए । ‘एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ’, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । रासस

नेपाली सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी लगभग ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ । सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ ।