८ करोड २० लाख लगानीको अवसर, तीन लघुवित्तले आइपिओ जारी गर्दै
काठमाडौं, २९ असार । नयाँ आर्थिक वर्षको सुरुमै ८ करोड २० लाख रुपैंयाँ बराबरको लगानीको अवसर जुट्ने भएको छ । तीन वटा लघुवित्त कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्दैछन् । सो मात्रामा साधारण सेयर निष्काशनका लागि ती कम्पनीहरुलाई नेपाल धितो पत्र बोर्डले अनुमति दिईसकेको छ । यसरी साउन लाग्ने वित्तिकै सेयर निष्काशन गर्ने तयारीमा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, सुर्योदय लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्त वित्तिय संस्था रहेका छन् । यी संस्थाहरुलाई आइपिओ जारी गर्न नेपाल धितो पत्र बोर्डले बिभिन्न मितिमा अनुमति दिएको हो । नेशनल माइक्रोफाइनान्सले जेठ २४ गते नै तीन करोड मुल्य बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यस्तै, सुर्योददय लघुवित्त वित्तिय संस्थाले असार १४ गते नै एक करोड २० लाख मुल्य बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको छ । आरएसडिएस लघुवित्त वित्तिय संस्थाले ४ करोड मुल्य बराबरको चार लाख कित्ता साधारण सेयर निष्काशनका लागि असार १७ गते अनुमति पाएको हो । यीमध्ये नेशनल र आरएसडिसको बिक्रि प्रबन्धकमा एनआबिएल क्यापिटल नियुक्त भएको छ भने सुर्योदयको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएका छन् । साधारण सेयर निष्काशन सम्बन्धी व्यवस्था अनुसार धितो पत्र बोर्डबाट अनुमति पाएको दुई महिना भित्र सेयर निष्काशन गर्नुपर्नेछ । त्यस्तै सेयर निष्काशन गर्ने मितिको एक हप्ता अघि नै निष्काशन सम्बन्धी सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ । प्छिल्लो समय लघु वित्त कम्पनीहरुको सेयर मुल्य निरन्तर बढिरहेको छ । बीमा समितिले लघुवित्त कम्पनीको पुँजी बढाउने तयारी गरेपछि सेयरको मुल्य अझै आकाशिँदै गएको छ ।
डलर प्रकरणमा दीक्षित दम्पत्तीलाई राजश्व अनुसन्धानले तान्यो, दुबै जना फरार
काठमाडौं, २९ असार । पत्रकार तथा साझा यातायातको अध्यक्ष कनकमणि दीक्षित र उनकी श्रीमती शान्त दीक्षितसँग भएको विदेशी मुद्राबारे राजश्व अनुसन्धान विभाग अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा दीक्षित दम्पत्तिलाई विभागले कार्यलयमा बोलाउँदा नआएको र प्रहरीले पक्रन प्रयास गर्दा उनलाई घरमा पनि नभेटिएको भन्दै विभागले उनको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको छ । राजस्व अनुसन्धान विभागको टोलीसहित ललितपुर प्रहरी असार २८ गते लतिलपुरको पाटन ढोकास्थित दीक्षितको घरमा पुगेको तर उनी नभेटिएको भन्दै विभागले दीक्षित दम्पत्तिको नाममा गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको छ । राजस्व अनुसन्धानले गोरखापत्रमा जारी गरेको सूचना अनुसार विदेशी विनीमय सम्वन्धी विषयको छानविन र अनुसन्धानको सिलसिलामा जानकारी लिनुपर्ने भन्दै दीक्षितलाई गत असार १३ गते राजस्वमा हाजिर हुन विभागले पत्र काटेको थियो । पत्र लिएर राजस्वका कर्मचारी पुग्दा उनलाई नभेटेपछि छोरा इलम दीक्षितलाई पत्र बुझाएर फर्केको र असार २७ गतेसम्म सम्पर्कमा नआएपछि प्रहरीसहित उनको घरमा गएको विभागले जनाएको छ । यसअघि गत वैशाख १० गते साझा यातायातको अध्यक्षको हैसियतमा करोडौं भ्रष्टाचार गरेको भन्दै दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालतको आदेशले उनी छुटेका थिए ।
सफ्टवेयर खरिद प्रकरणमा धितोपत्र बोर्ड र नेप्सेबीच मतभेद
काठमाडौं, २९ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुँजी बजारलाई थप प्रबिधी मैत्री, सुरक्षित र लगानी कर्ता मैत्री बनाउन भन्दै नयाँ सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ । तर यो प्रक्रियाले नेपाल धितोपत्र बोर्ड र नेप्सेबीच मतभेद बढेको छ । जबकी दुई संस्था मुलतः सरकारी निकाय हुन् । यतिसम्मकी यो मतभेदका कारण नेप्सेलाई सफट्वेयर उपलब्ध गराउने भारतीय कम्पनीको नेपाली पार्टनर कम्पनी अदालतसम्म पुगेको थियो । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्टवेयर खरिद गर्ने सम्झौत गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितोपत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्टवेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ अदालत गएको थियो । पूर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेपाल धितोपत्र बोर्डले सफ्ट वेयर खरिद गर्न नदिने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । वाइसओ प्रालीको दावी नपुगेको भन्दै अदालतले कुनै आदेश जारी गर्नु पर्ने निर्णय गरेको थियो । के हो मतभेदको जड ? भारतको बैंगलोरमा केन्द्रिय कार्यालय रहेको इनफिनिट कम्प्युटर सोलुसन्सले हालसम्म सेयर कारोबार सम्बन्धी कुनै सफ्टवेयर निर्माण गरेको छैन् । सो कम्पनीसँग पहिलो पटक यस्तो सफट् वेयर किन्न लागिएको भन्दै बोर्डले नेप्सेलाई सचेत गराएको हो । भारत वा अन्य कुनै पनि मुलुकका स्टक एक्सचेञ्जहरुले हालसम्म प्रयोग नगरेको सफ्ट वेयर नेपालले पहिलो पटक किन प्रयोग गर्ने ? भन्ने प्रश्न बोर्डको छ । बोर्डले १६ खर्ब भन्दा ठुलो बजारलाई नयाँ सफ्ट वेयरले जोखिममा पार्न सक्ने भन्दै अनुभव प्राप्त कम्पनीसँग त्यस्तो सफ्ट वेयर खरिद गर्नु पर्ने अडान छ । भारतको बम्बई स्टकले जर्मनीको सफ्ट वेयर प्रयोग गरेको उदारहण पेश गर्दै बोर्डले नेपालले चाँही भारतीय कम्पनीको सफ्ट वेयर किन खरिद गर्ने भन्ने प्रश्न गरेको हो । ‘बम्बई स्टकले जर्मनीको सफ्ट वेयर प्रयोग गरेको छ, उसले किन इनफिनिटको सफ्ट वेयर प्रयोग गरेन ? संसारभरकै स्टक एक्सचेञ्जहरुले विश्व प्रशिद्ध र अनुभव प्राप्त कम्पनीका सफ्ट वेयर प्रयोग गरिरहेका छन, हामीले चाँही किन नयाँ कम्पनी रोज्यौं ?’ बोर्डका एक निर्देशकले भने । तर नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने कम लागतमा गुणस्तरीय सफ्ट वेयर खरिद गर्न लागेको बताउँदै आएका छन् । कति पर्छ लागत ? नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता गरिएको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।
सरकार परिवर्तनले पुँजीबजारमा ९ अंकको गिरावट, एक अर्ब १३ करोडको कारोबार
काठमाडौं, २८ असार । सरकार परिवर्तनको हल्लासँगै पुँजीबजारमा गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ९ दशमलब २० अंकले घटेर १६९३ अंकमा पुगेको छ । परिसूचक दिउँसो पौने दुई बजेसम्म घटेर ४८ अंकमा पुगेको बजारमा बन्द हुँदा भने केही सुधार देखिएको हो । सो दिन १३८ कम्पनीको १६ लाख ३८ हजार कित्ता सेयर एक अर्ब १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा उत्पादनमूलक समूह र अन्य समूहको परिसूचक बाहेक बाकी सबै समूहको परिसूचक ओेरालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले ओरालो लागेको छ । हाइड्रोपावर, विकास बैंक, फाइनान्स र होटल समूहका परिसूचक क्रमशः ३४, २७, १४ र ११ अंकले घटेको छ भने बैंकिङ समूह ६ अंकले घटेको छ । उत्पादनमूलक समूह र अन्य समूह क्रमशः ३० र १९ अंकले बढेको छ । मङगलबार मिथिला लघुवित्त विकास बैंकका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी लि प्रमोटर सेयर र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । जनता बैंक नेपालको ९ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । एभरेष्ट बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण् विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
१७ महिनादेखि अर्थमन्त्रालयमै रोकियो ब्रोकर कमिसन घटाउने फाइल
काठमाडौं, २८ असार । अर्थमन्त्रालयले विगत १७ महिनादेखि सेयर ब्रोकर कमिसन घटाउने प्रस्ताव रोकेको छ । नेपाल धितोपत्र बोर्डले २०७१ साल माघ १२ गते ब्रोकर कमिसन घटाउने सम्बन्धी प्रस्ताव अर्थमन्त्रालय पठाएको थियो । तर मन्त्रालयले अझै ब्रोकर कमिसन घटाउनेबारे कुनै पहल गरेको छैन् । ‘हामीले १७ महिना पहिले नै ब्रोकर कमिसन घटाउने प्रस्ताव बोर्डबाट पारित गरेर अर्थ मन्त्रालय पठाएका हौं, अझै कुनै प्रतिक्रिया आएको छैन्’, धितो पत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । बोर्डले अधिकतम एक प्रतिशत ब्रोकर कमिसन तय गरि त्यो भन्दा कमको हकमा आपसी सहमतिमा कमिसनको दर कायम गर्न सकिने प्रस्ताव अघि सारेको थियो । ‘हामीले अधिकतम एक प्रतिशत र त्यो भन्दा तल छलफलद्धारा कमिसनको रेट तय गर्न सकिने व्यवस्था प्रस्ताव गरेका थियौं’, बोर्डका प्रवक्ता गिरीले भने । हाल ५० हजारसम्मको सेयर कारोबारमा एक प्रतिशत ब्रोकर कमसिन कायम छ भने ५० हजारदेखि ५ लाख रुपैंयाँसम्ममा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन असुलिँदै आएको छ । त्यस्तै, पाँच लाख देखि १० लाखसम्मको कारोबारमा शुन्य दशमलब ८ प्रतिशत र सो भन्दा बढिको कारोबारमा शुन्य दशमलब ७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । नेप्से र ब्रोकरको दरो लबिङ श्रोतका अनुसार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र ब्रोकर कम्पनीहरुको लबिङका कारण अर्थमन्त्रालयले फाइल रोकेको हो । उनीहरुले आफ्नो आम्दानी घट्ने भन्दै कमिसनको दर नघटाउन दबाब दिँदै आएका छन् । ब्रोकरहरुको कमिसन घटाउनु पर्ने भन्दै सेयर बजारका लगानी कर्ताले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । सोमबार धितोपत्र बोर्डले आयोजना गरेको पूँजी बजार सम्बन्धी कार्यक्रममा इन्भेष्टर्श फोरमका अध्यक्ष आत्माराम घिमिरेले सेयर ब्रोकरको कमिसन कहिले घट्छ ?भन्दै प्रश्न गरेका थिए । त्यसका उत्तरमा बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले कमिसन घटाउने फाइल अर्थमन्त्रालय पठाएको बताएका थिए । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले पनि ब्रोकर कमिसन घटाउनु पर्ने तर छलफलका आधारमा कमिसन तय गर्नेकुरा गलत भएको बताए ।
बुटवल पावर कम्पनीको साधारसभा सम्पन्न, ४३ करोडको नयाँ सेयर निश्काशन गर्ने
काठमाडौँ, २७ असार । बुटवल पावर कम्पनीले पुँजी वृद्धि गरी रु दुई अर्ब १० करोड २२ लाख पाँच हजार ७०० पु¥याउने भएको छ । हाल कम्पनीको सेयर पुँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । सोमबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले जारी पुँजीको ३० प्रतिशतसम्म सर्वसाधारण सेयरधनीको हिस्सा कायम हुने गरी नयाँ सेयर निष्काशन गर्ने निर्णय गरेको प्रबन्धक दुर्गालाल श्रेष्ठले जानकारी दिए । हाल यस कम्पनीमा कुल सेयर पुँजीको १० प्रतिशत मात्र साधारणमा बिक्री गरेको छ । नयाँ निष्काशन हुने सेयरको पाँच प्रतिशत कम्पनीले निर्माण तथा सञ्चालन गरेका आँधीखोला जलविद्युत् केन्द्र तथा झिमरुक जलविद्युत् केन्द्र आसपासका प्रभावित जनताले खरिद गर्न पाउने व्यवस्था छ । यस्तै कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गर्ने निर्णय गरेको छ ।
सार्कमा दोहोर कर मुक्ति दिलाउन काठमाडौंमा सेमिनार, पाकिस्तान सहभागि भएन
काठमाडौं २७ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने सेमिनारको काठमाडौंमा शुरु भएको छ । सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनारमा पाकिस्तान सहभागि भएको छैन । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले असार २७ गते सोमवार गरेको उक्त सेमिनार बुधवारसम्म संचालन हुनेछ । सेमिनारको उद्घाटन गर्दै महानिर्देशक शर्माले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने बताए । सार्क देशका राम्रा अभ्यासहरुको साथै समस्याहरुको आदान प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने बताए । यस्ता सेमिनारले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजाने बताउनुहुदै कर तथा वित्तीय छल कुनै देशको एकल प्रयासबाट सम्भव नहुने भएकाले सामूहिक प्रयासहरु अगाडि बढाउन जरुरी रहेको बताए । यस दिशामा कर सम्बन्धी सन्धि सम्झौताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुंदै लगानीमैत्री वातावरण निर्माणमा यसले थप सहयोग पु¥याउने बताए । कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले यस्ता सेमिनारले सदस्य राष्ट्रको कर प्रशासनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्कृष्ट अभ्यासको आदान प्रदानले एक अर्काबीचको सन्धि सम्झौताको कार्यान्वयनमा थप सहजता ल्याउने बताइन् । उनले यस्ता सम्झौताहरुले देशहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने बताउनुहुँदै यस क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी भैरहेको समेत बताइन् ।
नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा
काठमाडौं, २६ असार । कम्पनी ऐन विपरित नेपाल टेलिकम नियमावली संसोधन गरी सरकारले प्रवन्ध निर्देशक (एमडी) नियूक्ती गर्न लागेको भन्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । नेपाल टेलिकम कर्मचारी यूनियनले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा २२ बुँदे माग राख्दै असार १६ गतेदेखि २४ गतेसम्म केन्द्रीय कार्यालयमा धर्ना बसेको यूनियनले दोस्रो चरण असार २६ देखि साउन २ गतेसम्मको प्रचारात्मक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २६ गतेदेखि केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र विभागिय स्तरमा तुल, पोष्टर, ब्यानर र अपिल टास्दै कानूनी र तथा संबैधानिक निकायको लिखित ध्यान आर्कषित गर्ने र असार २७ गतेदेखि साउन २ गतेसम्म यूनियनको मागको विषयमा जानकारी गराउने रहेको छ । दोस्रो चरणको कार्यक्रमबाट पनि माग संबोधन नभए अझै कडा कार्यक्रम ल्याउने पत्रकार सम्मेलनमार्फत यूनियनले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकुमार मेहताले यसरी नियूक्त गरिएका प्रवन्ध निर्देशक कम्पनी र सेयर धनिप्रति जिम्मेवार नहुँदा भ्रष्टाचार बढी हुने सम्भावना ब्यक्त गर्दै यस्तो गरे सञ्चालक समिति पंगु भएर अन्तत कम्पनी नै अराजक स्थितिमा पुग्ने आशंका ब्यक्त गरे । उनले अहिलेको योजना टेलिकमलाई धारासायी बनाएर निजी कम्पनीहरुलाई पोस्ने षडयन्त्र भएको आरोप समेत लगाए । क्षेत्रीय अध्यक्ष एवम कानून विभाग प्रमुख उत्तम श्रेष्ठले कम्पनी ऐन अनुसार सञ्चालक समितिले सञ्चालकहरु मध्येबाटै प्रवन्ध निर्देशक चयन गर्ने ब्यवस्था हुँदा हुँदै साधारण सभामा प्रस्ताव नै नल्याई नियमावली संसोधन गरेर प्रवन्ध निर्देशक मन्त्री परिषदले नियूक्त गर्ने र उसको काम कर्तब्य अधिकार सञ्चारमन्त्रीले तोक्ने गरी ब्यवस्था भएको भन्दै यस्तो ब्यवस्था टेलिकमलाई धरासायी बनाउने नियतले ल्याएको आरोप लगाए । यूनियनका महासचिव धिरेन्द्रप्रसाद दत्तले सञ्चालक समितिको अधिकारलाई छलकपट तरिकाले मन्त्रालयलाई बुझाए र कम्पनी र सेयरधनिको अधिकार हनन गरिएको दावी गर्दै यो टेलिकममा रणनीतिक साझेदार नभित्र्याउने षडयन्त्र भएको ठोकुवा गरे ।
विद्युत् प्राधिकरणको काम गर्न थप तीन कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौँ, २६ असार । सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले उत्पादन कम्पनी स्थापना गर्ने विषयमा केही दिन पहिले मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक निर्णय गरिसकेको छ भने अर्थ मन्त्रालयको निर्णयको सहमतिको प्रतीक्षामा उर्जा मन्त्रालय रहेको छ । उत्पादन कम्पनीले जलविद्युत् उत्पादन गर्ने छ भने आवश्यक सहजीकरण गर्नेछ । लामो समयदेखि उत्पादन, वितरण र प्रसारणको कामसमेत गर्दै आएको प्राधिकरणको कार्यक्षमतामाथि प्रश्न उठेको र क्रियाशीलता नभएको भन्ने आरोप लागिरहेको सन्दर्भमा उत्पादन कम्पनीले विशेषगरी उत्पादनको मात्रै काम गर्नेछ । ‘‘उत्पादन कम्पनीलाई होल्डिङ कम्पनीका रुपमा अगाडि बढाउने सरकारको तयारी छ, यसले मुलुकको जलविद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण ढोका खोल्ने विश्वास लिइएको छ’’, पन्थले भने । अर्थ मन्त्रालयले स्वीकृति दिने बित्तिकै उत्पादन कम्पनी स्थापना हुन्छ । सो कम्पनीमा कुन कुन निकायको कसरी सहभागिता रहने भन्ने विषयमा भने छलफल जारी रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यस्तै सरकारले २०६८ सालदेखि नै चर्चा सुरु गरेको ग्रिड कम्पनी औपचारिक रुपमा स्थापना भए पनि पछिल्लो दिनमा खासै चर्चा हुन सकेको थिएन । स्थापना भए पनि आवश्यक रुपमा काम गर्न नसकेको बताइन्छ । सरकारले उक्त कम्पनीलाई युद्धस्तरमा आफ्नो काम अगाडि बढाउन निर्देशन दिएको छ । सरकारले आगामी आवभित्रै प्राधिकरणले गर्दै आएको उत्पादन, वितरण र विद्युत् व्यापारको कामसमेत कम्पनी मोडलमा नै अगाडि बढाउने जनाउँदै आएको छ । गत फागुन ६ गते जारी भएको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनालगायत विभिन्न कार्यक्रममा समेत फरक फरक कम्पनीको परिकल्पना गरिएको छ । उत्पादनतर्फ राष्ट्रिय जलविद्युत् उत्पादन कम्पनी, प्रसारण लाइनतर्फ राष्ट्रिय ग्रिड कम्पनी र विद्युत् खरिद एवम् व्यापारका लागि राष्ट्रिय विद्युत् व्यापार कम्पनी स्थापना गर्न लागिएको हो । छिमेकी मुलुक भारतमा पनि यस खालका कम्पनीले प्रतिस्पर्धात्मक रुपमा काम गरेका कारण कार्यक्षमता बढेको पाइएको छ । तीनवटै निकायमा आवश्यक परामर्श एवम् सुझावका लागि विज्ञहरुको टोली रहनेछन् । उक्त टोलीले आवश्यक संयन्त्र निर्माण गरी कामलाई चुस्त, दुरुस्त बनाउनेछ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले समेत प्राधिकरणको आर्थिक एवम् प्राविधिक क्षमतालगायतका विषयमा प्रश्न उठाउँदै फरक फरक कम्पनी स्थापना गर्न सुझाव दिँदै आएको थियो । इपानका अध्यक्ष खड्गबहादुर विष्टले पटक–पटक कम्पनी स्थापना गर्नुपर्ने र त्यसले मात्रै मुलुकको ऊर्जा क्षेत्रमा परिवर्तन आउन धारणा राख्दै आएका छन् । जलविद्युत् उत्पादन कम्पनीले मझौला, ठूला एवम् जलाशयुक्त आयोजना निर्माण गर्नेछ भने उत्पादन र प्रसारण तथा अन्य पूर्वाधारको विकासका लागिसमेत फरक कम्पनीको परिकल्पना गरिएको छ । नयाँ कम्पनी स्थापना भएपछि वितरण र हाल निर्माणमा रहेका आयोजना सम्पन्न गर्नेलगायतका काम मात्रै प्राधिकरणले गर्नेछ । नयाँ स्थापना हुने कम्पनीलाई राष्ट्रिय ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनाले प्रस्ताव गरेअनुसार नै आगामी आवका लागि शनिबार मात्रै पारित भएको बजेटमा व्यवस्था भएअनुसारको रकम प्राप्त हुनेछ । ऊर्जा मन्त्रालयले सो कार्ययोजनाअनुसार काम गर्न रु दश अर्ब बजेटको माग गरेको थियो । तर अर्थले भने तत्काल रु सात अर्ब दिने जनाएको छ । आगामी आवका लागि सरकारले विद्युत् क्षेत्रमा केही गर्ने सोचका साथ करिब रु ४८ अर्ब बजेट विनियोजन गरेको छ । प्राधिकरणले आफँैले नयाँ आयोजनाअगाडि बढाउन नसकेको, अनावश्यक राजनीतिक चलखेल भएको, कर्मचारीको नाममा टे«ड युनियनको अनावश्यक झन्झट व्यहोर्नु परेको भन्दै चिलिमे, माथिल्लो तामाकोसीजस्ता सहायक कम्पनी स्थापना गरी काम अगाडि बढेको छ । चिलिमेले हाल सान्जेन, तल्लो सान्जेन, रसुवागढी मध्य भोटेकोसीजस्ता रणनीतिक महत्वका आयोजना अगाडि बढाएको छ भने माथिल्लो तामाकोसीले ५४६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सरकारले स्थापना गरेको ग्रिड कम्पनीका प्राधिकरणका तर्फबाट एक जना उपकार्यकारी निर्देशक सरहको व्यक्ति पठाउनसमेत आलटाल गर्दै आएको छ । प्राधिकरण बोर्डका सो सम्बन्धी प्रस्ताव पटक–पटक आए पनि निर्णय भने हुन सकेको छैन । यस्तै प्राधिकरणमा क्रियाशील विभिन्न टे«ड युनियनले कम्पनी प्राधिकरणको सौताका रुपमा स्थापना गरिएको भन्दै विरोध गर्दै आएका छन् । नेपालको जलविद्युत्मा लगानी गर्दै आएका दातृ निकायले पनि प्राधिकरण खण्डीकरणको विषय विगत डेढ दशकदेखि उठाउँदै आएका थिए । एसियाली विकास बैंक, विश्व बैंक, आइएफसी, जाइकालगायतका दातृ निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएका छन् । रासस
नेप्से परिसूचक ६ अंकले वृद्धि, एक अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार
काठमाडौं, २६ असार । आइतबार नेप्से परिसूचक ६ दशमलब ८१ अंकले बढेर १७२२ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २२ लाख १७ हजार कित्ता सेयर करिब एक अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार एभरेष्ट बैंकको सबैभन्दा बढी करिब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इनभेष्टमेन्ट बैंक लि. प्रमोटर सेयर, नेपाल बङगलादेश बैंक र रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन इन्स्योरेन्स र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंकको परिसूचक करिब १३ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ्, फाइनान्स, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ११, ७ र ५ अंकले बढेका छन् । इन्स्योरेन्स र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ४८ र १७ अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने स्थिर रहेको छ । बजारमा ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । कसमस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, मनास्लु विकास बैंक र यती डेभलपमेन्ट बैंकको सेयर मूल्य हाराहारी १० प्रतिशतले बढेका छन् । कञ्चन डेभलपमेन्ट बैंक लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । नमस्ते वित्तीय संस्थाका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।
उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धि अभिमुखिकरण तालिम सुरु
काठमाडौ, २६ असार । पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा उच्च हिमाली जोखिम र नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम काठमाडौंमा सुरु भएको छ । २५ गते देखि २८ गते सम्म संचालन हुन लागेको उक्त तालिममा ट्रेकिङ गाईड, सरदार, कुक, सहयोगी मजदुर गरि १ सय ५० जनाको सहभागिता रहेको छ । शनिबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जोशीले उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्यटन श्रमिकहरुले धेरै जोखिम मोलेर बिदेशी पर्यटकलाई सत्कार सँगै सेवा पुर्याएकोमा त्यसको प्रशंसा गर्दै धन्यवाद दिए । तालिमले उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिम न्यूनिकरणमा ठूलो योगदान उनको विश्वास थियो । उनले घुमफिर वर्ष २०७३ र पर्यटन वर्ष सन् २०१८ लाई भव्यताका साथ सफल पार्न पर्यटन श्रमिकको मुख्य भूमिका रहेको भन्दै त्यहि अनुरुप सहयोग गरिदिन अनुरोध गरेका छन् । त्यस्तै पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन श्रमिकको राम्रो सेवा, सत्कारबाट नै बढि भन्दा बढि विदेशी पर्यटक भित्र्याउन मद्धत पुग्ने भएकाले उनीहरु पर्यटन क्षेत्र विकासको मेरुदण्ड नै भएको बताए । देशको आर्थिक विकासको प्रमुख आधार मध्येको एक पर्यटन क्षेत्रको विकासमा दिनरात नभनी खट्ने श्रमिकको सामाजिक सुरक्षा र उचित ज्यालाको व्यवस्था, बीमाको व्यवस्था गर्न आफुहरु लागिपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपील पाण्डेले पर्यटन श्रमिकको भूमिकाका बारेमा प्रकाश पारेका थिए । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) का महासचिव सुमन पराजुलीले पर्यटन क्षेत्रको विकासमा लाग्नु श्रमिकको पनि दायित्व भएको भन्दै नेपाल घुम्न आएका पर्यटकलाई सकेसम्म राम्रो सुबिधा प्रदान गर्न मातहतका श्रमिकहरुलाई अनुरोध गरेका छन् । त्यस्तै श्रम ऐनमा रहेर श्रमिकका मागपत्र सम्बन्धित निकायमा राख्नुपर्ने उनको भनाई थियो । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनका अध्यक्ष राम बस्नेतको सभापतित्वका उद्घाटन कार्यक्रम सम्पन्न भएको हो फुर्बा नाम्गेल शेर्पाले तालिमको संयोजन गरेका छन् ।
न्युन विजकीकरण गरिएका खाद्य सामाग्री खरिद नगर्ने–व्यवसायी
हेटौंडा, २५ असार । मकवानपुर उद्योग वाणिज्य संघले व्यसायीहरुमा हाल समस्याको रुपमा रहेको न्युन विजकीकरण सम्बन्धी छलफल कार्यक्रम संघको सभाकक्षमा सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा विभिन्न वस्तुगत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुरले आगामी श्रावण १ गतेदेखि न्यून विजकीकरण गरिएका खाद्यान्न सामाग्रीहरु खरिद नगर्ने बताएका छन् । खाद्यान्न व्यवसायी संघका उपाध्यक्ष काव्यमणि अधिकारीले खाद्यान्न व्यवसायीले गरेको यो शुरुवातलाई सबैले हातेमालो गर्दै अघि बढ्न सके व्यवसायी र राज्य दुवैलाई फाईदा पुग्ने बताएका थिए । न्यून विजकीकरण समस्या राष्टिय समस्या भएकोले यसको न्यूनिकरणकालागि सबैको सकारात्मक भूमिका र दायित्व रहने मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष विजयकुमार श्रेष्ठले बताए । विभिन्न बस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुले खाद्यान्न व्यवसायीको यो कदमको सराहना गरेका छन् । शुरुवात गर्न गाह्रो भएतापनि यो असम्भव भने नभएको छलफल कार्यक्रमका सहभागीहरुले बताएका छन् । छलफल कार्यक्रममा हेटौंडा अटोमोबाईल एशोसियसनका महासचिव ऋषिकुमार ढकाल, मोबाईल एशोसियसन मकवानपुरका निवर्तमान अध्यक्ष छतेन्द्र आचार्य, मकवानपुर विद्युत सामाग्री व्य. संघका नि. अध्यक्ष पवनकुमार भगत, कम्प्युटर एशोसियसन मकवानपुरकाका अध्यक्ष सन्तोष पाण्डे, मकवानपुर मुद्रण उद्योग संघका अध्यक्ष अजिव भट्टराईलगायतले आआप्mनो मन्तव्य राखेका थिए । छलफल कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, कासस दिवस पराजुलीलगायतले यो कदमलाई सबैले साथ दिनुपर्ने र यसको लागि सबै बस्तुगत संघसंस्थाले आआप्mना सदस्यहरुसंग थप छलफल गरी अघि बढ्नुपर्ने बताएका छन् । संघका महासचिव महेन्द्र राउतले संचालन गरेको छलफल कार्यक्रममा बोल्नुहुंदै अध्यक्ष न्यौपानेले न्यून विजकीकरण समस्या समाधानकालागि उद्योग वाणिज्य संघ निरन्तर लागिरहेको र यसलाई न्यूनिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघलगायत नेपाल सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । न्यून विजकीकरणले साना तथा मझौला व्यवसायीहरु पीडित भएको बताउंदै अध्यक्ष न्यौपानेले यो कदमको शुरुवात मकवानपुरबाट हुनु खुशीको कुरा भएको पनि बताएका छन् । न्यून विजकीकरणकै कारण व्यवसायीहरुले करलगायतका विभिन्न समस्याहरुको सामना गर्दै आउनुपरेकोले आगामी दिनहरुमा आन्तरिक राजस्व कार्यालयसंग समन्वय गरी बस्तुगत संघसंस्थाहरुसंग विभिन्न अन्तक्र्रिया कार्यक्रमहरुको आयोजना गर्दै लगिने पनि संघका महासचिव एवम् कर समिति संयोजक महेन्द्र राउतले बताएका छन् ।
चोभारमा ‘वाइल्ड लभर्श’का लागि वुपी ल्याण्ड पार्क, दुई बर्षमा ३२ करोड आम्दानी
काठमाडौं, २५ असार । चोभार त्यसै पनि डेटिङ र युवा पुस्ताको जमघटका लागि प्रशिद्ध स्थल एंव चलचित्र सुटिङको गन्तव्य हो । त्यहि चोभारको छेउमै एउटा अन्तराष्ट्रियस्तरको पार्क स्थापना भएको छ, जसको नाम राखिएको छ–वुपी ल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क । वुपी अर्थात वाइल्ड इन्टरटेमेन्ट । बिशेषतः वाइल्ड इन्टरटेनमेन्ट चाहने युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको यो पार्कले चोभार आसपासको रौनक अझै बढाएको छ । त्यसो त यो पार्क पारिवारिक घुमाघामका लागि समेत उपयुक्त गन्तव्यका रुपमा स्थापित हुन सक्ने त्यसका लगानी कर्ता सौरभ बस्नेत बताउँछन् । बस्नेत भन्छन–‘यो वाइल्ड लभर्श/थ्रिल लभर्शका लागि लक्षित छ र सँगसँगै पारिवारिक घुमघामका लागि पनि उपयुक्त गन्तव्य हो ।’ ६० रोपनी जमिन चर्चेको पार्कमा १७ वटा गेमको मज्जा लिन सकिन्छ । त्यसका अधिकांश गेम एडभेञ्चर्सले भरिएका छन् । त्यसका अलवा, स्विमिङ पुल, वाटर फाउण्टेन, वाटर स्लाइड, रेञ्जर, इलेक्ट्रिक बुल राइड, कोलम्बस तथा अन्य आधुनिक गेमहरु छन जसले पार्कलाई वाइल्ड इन्टरटेनमेन्टको हब बनाउन मदत गरेको छ । पार्क भित्र रहेको जुरासिक पार्क खण्डले शैक्षिक गतिबिधी अध्ययनका लागि समेत उपयुक्त रहेको देखाउँछ । संसारबाटै लोप भैसकेका डायनोसर लगायतका जीवहरुको काल्पनिक अवशेष र तदनुसारको वातावरण देखाउने प्रयास गरिएको छ । वल्लो र पल्लो भागमा डाँडा रहेको पार्कको बिचमा खोँच छ । त्यहि खोँज जस्तो भागमा स्विमिङ पुल बनाइएको छ । त्यहाँ अग्लो भागबाट कृतिम झरना झर्छ भने पुलकै एक छेउमा वाटर फाउण्टेन निर्माण गरिएको छ । माथिल्लो भागबाट पुलमा आईपुग्ने गरि फरक फरक प्रकृतिका वाटर स्लाइड निर्माण गरिएको छ । खोँच खण्डमै रहेको इलेक्ट्रिक बुल राइडिङ पार्कको अर्काे रोचक पक्ष हो । बुलमा चढेर घुम्दा र त्यसबाट खस्दा जो कोहीले निकै रमाइलो मानिरहेका देखिन्छन् त्यसकै नजिक रक क्लाइम्बिङको झझल्को दिने हावा भरिएको बेलुनले धेरैको मन खिचेको देख्न सकिन्छ । पल्लो भागमा रहेको रेञ्जर पार्क भित्रको अर्काे आकर्षक गन्तव्य हो । थ्रील लभर्शहरुका लागि यसले राम्रो मनोरञ्जन दिन्छ । टाउको भाग तल र खुट्टा माथि पुर्याउने रेञ्जर खेल बालबालिकाका लागि प्रतिबन्धित छ भने मुटु दरो भएकाहरुले मात्रै खेल्न सक्छन् । रेञ्जर नजिकै रहेको कोलम्बस भने रेञ्जर चढ्न डराउनेहरुका लागि विकल्प बन्न सक्छ । १२ वर्षका लागि जमिन लिजमा लिएर सञ्चालन गरिएको पार्कबाट दुई वर्षमै लगानी उठाइसक्ने प्रक्षेपण गरिएको बस्नेत बताउँछन् ।‘दैनिक तीन सय जनाले पार्कमा भिजिट गरे भने दुई वर्षमा लगानी उठ्ने अनुमान गरेका छौं’, बस्नेतले भने । ६० जनलाई प्रत्यक्ष रोजगारी दिएको पार्क प्रवेशका लागि बयस्कले ८२५ रुपैंयाँ र चार फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि ४७५ रुपैंयाँको प्रवेश शुल्क तय गरिएको छ । मनसुन अफरका रुपमा १५ दिनका लागि बयस्कलाई लागि ४९५ र बालबालिका लागि २९५ रुपैंया शुल्क तोकिएको छ । त्यसो त नन होलिडे प्याकेजका रुपमा ६७५ र ३७५ रुपैंयाँ अर्काे प्याकेज समेत रहनेछ । टिकट काटेर पार्क भित्र प्रवेश गरेपछि अन्य कुनै शुल्क तिर्नु पर्दैन् । ६५ बर्षमाथीका जेष्ठ नागरिक र तीन बर्ष मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पार्कले कमाउने उदेश्य मात्र राखेको छैन् । आफ्नो वरपर विकास गर्ने ध्येय समेत राखेको छ । किर्तिपुर नगरपालिकाको १३ र १४ वटामा पर्ने पार्कले आफ्नो प्रत्येक टिकटबाट प्रति टिकट पाँच रुपैंयाको कोष खडा गरेको छ । ‘यो क्षेत्रको विकासका लागि प्रति टिकट पाँच रुपैंयाँ छुट्याएर कोष खडा गरेका छौं, त्यसबाट जम्मा भएको रकम पारदर्शीरुपले यो क्षेत्रको विकासका लागि खर्चिने योजना छ’, बस्नेतले सुनाए ।
क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित
क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।
आँखुखोला जलविद्युत् आयोजनाले करिब आठ लाख कित्ता सेयर जारी गर्ने
काठमाडौं, २३ असार । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए । धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ । यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत रु चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । रासस
यती डेभलपमेण्ट बैंकले २ बराबर १ हकप्रद सेयर जारी गर्ने, ४३ करोडको बोनस सेयर प्रस्ताव
काठमाडौं, २४ असार । यती डेभलपमेण्ट बैंक लिमिटेडले २ सेयर बराबर १ सेयर हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी करिव २ अर्ब ७ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट बैंकले ४३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको चुक्ता पुँजी २०७४ असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । असार २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद सेयर र बोनस सेयर सम्बन्धि निर्णय गरेको हो । बैंकले साउन १५ गते चौधौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको साधारणसभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने अजेण्डा रहेको छ । साथै, बैंकले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । हाल बैंकमा संस्थापक समूहको सेयर ६८ प्रतिशत रहेको छ ।
सानो सानो झुप्प्रो–मान्छेको थुप्प्रो, काउलेपानी होमस्टेको कमाई वार्षिक एक करोड नाघ्यो
लम्जुङ, २३ असार । ‘सानो सानो झुप्प्रो, मान्छेको थुप्प्रो । काउलेपानीको झुपडी बस्तीमा धेरै जनालाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।’ असार १५ गते काउलेपानी होमस्टेका संयोजक देवबहादुर गुरुङले त्यसो भन्दै गर्दा स्थानीय महिलाहरु राजधानीबाट काउनेपानी पुगेका अथितिहरुलाई परम्परागत शैलीमा कलसको जल छर्कदै गलामा रक्षा धागो लगाईदिन व्यस्त थिए । संयोजक गुरुङले जलले अभिसेक गर्नु र रक्षा धागो लगाउनुको परम्परा र अर्थ भट्याउँदै गए । महिलाहरुले गुरुङ संस्कार अनुसार स्थानीय मदिरा (तीन पाने रक्सी) र कोदोको सेल खुवाउँदै गए । ‘खाने बेलामा गनगन गर्ने मान्छेलाई हाम्रो समाजमा राम्रो मानिदैन । तैपनि म तपाईहरुलाई काउलेपानीको बारेमा केही जानकारी दिन अनुमति चाहान्छु’ शुद्ध नेपाली उच्चरण गर्दै मिठासपूर्ण शैलीमा इतिहास, भूगोल, समाज, संस्कार सबैको बारेमा सरर बताउन थाले, पत्रकारले डायरीमा टिप्नै पनि नभ्याउने गरी । ‘‘रामकृष्ण ढकालले गाएको गीतमा ‘विहान उठ्ने वित्तीकै, हिमाल देख्न पाइयोस्’ भनेका छन् । काउलेपानीबाट हिमाल हेर्न उठ्नै पर्दैन । अछ्यानमा सुती सुती देख्न पाईन्छ । काउनेपानीका हरेक घरको ओछ्यानबाट नजिकै हिमाल देख्न सकिन्छ । हरेक घरको आँगन र पीडिबाट सूर्योदय देख्न सकिन्छ । सूर्योदय हेर्न भनेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै अन्त जानुपर्दैन ।’’ गुरुङले भनेजस्तै प्रकृति प्रेमिका लागि काउलेपानी साँच्चिकै मनमोहक छ । लम्जुङ दरबार उनले इतिहास कोट्याए । शाह बंशीय राजाहरुको इतिहास बोकेको विक्रम सम्वत १५५० मा बनेको राजदरबार अहिले पनि काउलेपानीमा सुरक्षीत छ । त्यतिबेला योशोवर्मा शाहले त्यहाँबाट राजकाज चलाउँथे । गुरुङका अनुसार यशोवर्मा शाहका कान्छा छोरा द्रव्य शाहले नै लिलिगकोर्टमा दौड जितेर गोर्खाका राज्य समालेका थिए । उनैको सन्तान हुन्–तत्कालिन राजा पृथ्वीनारायाण शाहदेखि ज्ञानेन्द्र शाहसम्म । उनी बर्णन गर्दै गए । ‘काउनेपानीमा दुर्लभ जनावर मध्ये एक चरिबाघ पाइन्छ । देख्दा बाघ नै हो । तर चरा झै उड्छ । लामो जम्प हान्छ । रुखमा भने बस्दैन ।’ यस क्षेत्रमा पाईने काँडेम्याकुर, चरा चुरुङ्गी, गुराँसको जङ्गल, काफल, एैसेलु, चिराईतो, तरुल लगायत पर्यटकका लागि आकर्षक फलारको बारेमा उनले लामो बर्णन गरे । काउलेपानीमा रहेका देबीदेताका मन्दिर र यहाँको धार्मिक महत्वको बारेमा पनि उल्लेख गरे । काउलेपानीमा बाह्रै महिना पर्यटकको लागि आकर्षक प्याकेज रहेको बताए । देव गुरुङ ‘टान’ लेखेको टिसर्ट, सामान्य क्याप, ट्राउजर, चप्पल लगाएका, ५० वर्ष नाघेका बुढा किसान जस्तो देखिने गुरुङले सबैलाई लठ्नै पार्ने गरी करिव २० मिटेनमा काउलेपानी र लम्जुङको बारेमा वर्णन गरे । लेखकको मनमा लाग्यो–दुर्गम गाउँमा पनि यस्तो क्षमतावान व्यक्ति रहेछन् । संयोग उनकै घरमा रात बस्ने मौका मिल्यो र उनको बारेमा थप जानकारी लिने मौका मिल्यो । उनले इतिहासमा डिग्री हासिल गरेका रहेछन्, काउलेपानी र लम्जुङलाई केन्द्रमा राखेर थेसिस लेखेका रहेछन्, दुई दशकदेखि स्कूलमा सामाजिक विषय पढाउने शिक्षक रहेछन् । गाउँमा उनको बढो इज्जत रहेछ । लाहुरे जीवनबाट कायल बुबाको सपना पूरा गर्दै उनले गाउँमा पढे, गाउँकै सेवामा जीवन विताउँदै आएका रहेछन् । होमस्टे नेपाल पर्यटन वर्ष २०११ देखि यस क्षेत्रमा होमस्टे सञ्चालन भएको रहेछ । शुरुमा ७ घरबाट शुरु भएको यो होमस्टेमा हाल १४ घर आवद्ध रहेछन् । ३५ कोठा र ८२ बेड रहेछ । विकट गाउँमा एकै पटक १०० जना पुग्दा पनि आनन्दले खाने बस्ने सुविधा रहेछ । त्यसैले त होला नेपाल पर्यटन बोर्डले नेपालमा घुम्नै पर्ने १० गाउँमा काउलेपानीलाई पनि राखेको रहेछ । वाहिरबाट आउने पर्यटकहरु यिनै १४ घरमा खान्छन्, बस्छन् । ती १४ घरमा आउने पाउनालाई खानेकुरा थप ११ घरपरिवारले उत्पादन गरि बेच्छन् । काउलेपानी होमस्टेका अध्यक्ष देव गुरुङका अनुसार प्रत्यक्ष १४ परिवार र अप्रध्यक्ष ११ गरी २५ परिवारले यस होमस्टे सेवाबाट लाभ लिईरहेका छन् । काउलेपानीमा गुरुङ, नेवार र भुजेल बस्ती रहेको छ । काउलेपानी प्याकेज काउलेपानी नास्ता काउलेपानी होमस्टेले दुई प्रकारको सेवा दिने गर्छ । १० जनाभन्दा बढी समूह आउँदा प्रति व्यक्ति ९९० रुपैयाँ लिन्छन् । त्यसमा स्वागत, सम्मान, साँझको खाजा, मनोरञ्जन कार्यक्रम, ननभेज खाना, विहान चिया, नास्ता र विधाई कार्यक्रम हुन्छ । पारिवारिक वा एकल व्यक्तिलाई ८५० रुपैयाँको सेवा प्याकेज बनाईएको छ । त्यसमा शुरुको स्वागत र मनोरञ्जन कार्यक्रम राखिएको छैन । खानामा कोदोको सेल र तीन पाने रक्सी, गानामा गुरुङ भाका काउलेपानीमा लोकप्रिय बन्दै गएको स्थानीयबासी बताउँछन् । पर्यटकको ओहिरो गुरुङका अनुसार काउलेपानी होमस्टे शुरु भएको पहिलो वर्ष सन् २०११ मा ३ हजार ४१५ जना स्वदेशी र ६७ जना विदेशी पर्यटक पुगेका थिए । यो संख्या हरेक वर्ष बढ्दै गएको छ र सन् २०१५ मा स्वदेशी पर्यटक १२ हजार ९६६ जना र विदेशी २०३ जना पुगेका छन् । काउलेपानी होमस्टेले वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न थालेको गुरुङले बताए । काउलेपानी पुग्ने पर्यटकमा ९८ प्रतिशत स्वदेशी छन् भने २ प्रतिशत विदेशी छन् । विदेशी पर्यटक कम्तिमा ७ दिन र बढीमा १०० दिनसम्म बसेको अध्यक्ष गुरुङले बताए । स्वदेशी पर्यटकमा काठमाडौं, लुम्बिनी र मकवानपुरबाट बढी जाने गरेका छन् । साङ्केतिक भाषाको प्रयोग काउलेपानीका स्थानीयबासीलाई अंग्रेजी भाषाको ज्ञान शुन्य जस्तै छ । भाषा सिकाई कक्षा तथा तालिम भएको पनि देखिएन । विदेशीसँग कसरी कुराकानी हुन्छ त ? गुरुङले रमाईलो पाराले जवाफ दिए–‘‘साङ्केतिक भाषा सबैभन्दा सजिलो । ‘आईज आईज, मेरो घरमा बस्ने ठाउँ छ, सुत्न सकिन्छ’ भन्न अंग्रेजी जान्नु पर्दैन । साङ्केति भाषा प्रयाप्त छ ।’’ उनी थप्छन्:–स्कूल पढेका बाबुनानीले पर्यटकसँग कुरा गर्न सहयोग गरिरहेका हुन्छन् । विकट क्षेत्र भएपनि राणा प्रधानमन्त्री पद्मसमशेरको पालामा विक्रम संवत २००५ मा खुलेको स्कूलले शिक्षा क्षेत्रमा बुझेका र पढ्न चाहानेका लागि सहयोग मिलेको देखिन्छ । सानो लक्ष्य, ठूलो उपलब्धि प्रतिपरिवार २ जना पर्यटक भित्र्याउन सकेमा पनि एक बोरा चामल किन्न पुग्ने पैसा जुट्ने र एउटा परिवारलाई एक महिना खान पुग्ने उदेश्य लिएर होमस्टे शुरु गरिएको अध्यक्ष गुरुङ बताउँछन् । शान्ति श्रेष्ठ ‘मासिक १६/१७ सय रुपैयाँ आम्दानी गर्ने उदेश्यले शुरु गरेका हौ’ गुरुङ भन्छन्–’अहिले मासिक ४० हजार रुपैयाँ आम्दानी हुन्छ । हामीले सोचेको भन्दा राम्रो कमाई भयो ।’ होमस्टेमा आवद्ध सबै जना महिनाको ४०/५० हजार रुपैयाँ कमाई हुने बताउँछन् । पत्याउनै गाह्रो । काउलेपानी पुगेका पत्रकारले आम्दानीमा शंका गरे र प्रश्नहरु तेस्र्राए । त्यतिबेला पत्याउनै पर्यो जब सिता गुरुङको लबाई, बसाई देखियो । झण्डै एक तोला सुनको सिक्री गलामा लगाएकी शान्ति श्रेष्ठले हालसालै बनाएको चार कोठा घर देखाउँदै भनिन्–होमस्टे सञ्चालन भएपछि कमाएको पैसाले यो घर बनाएँ । पुरानो घरमा हामी बस्छौ, पाउनालाई नयाँ घरमा राख्छौं ।’ स्थानीय पत्रकार किसन संगीत भन्छन्–काउनेपानीको होमस्टे साँच्चिकै सफल भएको छ र यहाँका मानिसको जीवनस्तर उकास्एिको छ । समाज विकास जुट्दै काउलेपानी बासीले प्रति पर्यटक ९०० रुपैयाँ लिएर ३०० रुपैयाँ सामुहिक कोषमा जम्मा गर्छन् । सोही पैसाले गाउँमा खाने पानीको व्यवस्था गरिएको छ । भ्यूटावर निर्माण गरिएको छ । बाटो बनाउने काम भईराखेको छ । पैदलमार्ग बनाउन नेपाल पर्यटन बोर्ड कास्की शाखाले पनि सहयोग गरिरहेको छ । पैदल बाटो बनाउँदै ‘सरकारले बनाएको धारामा बर्सौंसम्म पानी आएन, त्यसैले हामीले आफैले लगानी गरी पाईप विच्छ्याएर घरघरमा पानीको व्यवस्था गरेका हौं’ उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार श्रेष्ठले भन्छन्–‘बेसीसहरबाट काउलेपानी पुग्ने ८ किलोमिटर सडक त्यस क्षेत्रको लागि भाग्य रेखा हो । तर उक्त सडकलाई स्थरीय बनाउने प्रयास सफल भएको छैन ।’ मुख्य चुनौति स्थानीय पत्रकार परमेश्वर अधिकारीका अनुसार गाउँमा युवा पुस्ता छैन । त्यसैले होमस्टे कार्यक्रम प्रवद्र्धनमा युवाको उपस्थिति शुन्य नै छ । नेपालका अन्य गाउँमा जस्तै यो गाउँको विकासमा युवा पुस्ताको शुन्य उपस्थिति यहाँको सबैभन्दा ठूलो चूनौति हो । काउलेपानीको होमस्टेलाई दिगो बनाउन, व्यवसायिक बनाउन गर्न सकिने साना साना काम पनि हुन सकेको छैन । ब्रोसर, भिजिटिङ कार्ड, फेसबुक पेज, वेवसाईट जस्ता आधारभूत प्रचार प्रसारका अभ्यास पनि भएका छैनन् । सहयोगि संघ लम्जुङ उद्योग वाणिज्य संघले ग्रामिण कृषि पर्यटन प्रवद्र्धन गर्न ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मार्फत त्यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । यस कार्यक्रम अन्तरगत हालसम्म २९ लाख ४३ हजार रुपैयाँ खर्च भएको संघको अध्यक्ष श्रेष्ठले बताए । यस कार्यक्रम अन्तरगत स्थानीय वासीको क्षमता विकास गर्न, अवलोकन भ्रमण गराउन, काउनेपानीको प्रचार प्रसार गर्न धेरै राम्रा प्रयास भएको उनले बताए । काउलेपानी होमस्टेका अध्यक्ष भन्छन्–काउलेपानीको विकासमा उद्योग वाणिज्य संघ र प्रचारप्रसारमा स्थानीय पत्रकारहरुको मुख्य साझेदार हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई कर तिर्न बोलायो
काठमाडौँ, २२ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर रकम बैंकमा जम्मा गर्न भनेको छ । सामान्यतय कम्पनीहरुले बोनस सेयर तथा नगद लाभांश वितरण गर्दा कर कट्टी गर्ने गरेकोमा यस बैंकले कर बाफतको रकम सेयरधनीसँग मागेको छ । बैंकको यस्तो कार्यशैली कानुनत ठिक भए पनि सेयरधनीहरुका लागि भने झन्झटिल भएको लगानीकर्ताहरु बताउँछन् । बैंकको कुनै पनि शाखा कार्यालयमा कर वापतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । गत चैत १४ गते सम्पन्न बार्षिक साधारण सभाले २०.८५ प्रतिशतका दरको बोनस सेयर दिने निर्णय गरेको थियो । साथै, बैंकले डिम्याट एकाउण्ट उपलब्ध भएको सेयरधनीलाई डिम्याट एकाउण्ट नं उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ । बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको खातामा बोनस सेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत भए पश्चात् जम्मा गरिने छ । बैंकको सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हो ।
तरकारी व्यवसायीको आक्रमणमा कर्मचारी र पत्रकार
काठमाडौं, २१ असार । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई मंगलबार आक्रमण गरेका छन् । अनुगमन गर्ने क्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे । तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो । आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी मंगलबार नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ । आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस
नेपाल इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत हटायो, करार सम्झौता अनुसार काम नगरेको आरोप
काठमाडौँ, २१ असार । कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हटाएको छ । कम्पनीको सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता भङ्ग गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले उनलाई २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । कम्पनीको कर्मचारी यूनियले उनलाई हटाउन विगत चार महिनादेखि माग गर्दै आएको थियो । करारसम्झौता अनुसार काम गर्न नसेको, कर्मचारीहरुबीच भेदभाव गरेको, आर्थिक अनियमितता गरेको, बढी सुविधा उपभोग गरेको, कम्पनीको वित्तीय अवस्थामा सुधार गर्न नसेको लगायत आरोप यूनियनको थियो । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई दुव्र्यवार गर्नुका साथै आर्थिक अनियमितता गरेको आरोप समेत लगाएको थियो । हटाईएको विषयमा कुरा गर्न प्रयास गर्दा प्रमुख कार्यकारी अधिकृत साउदले फोन उठाएनन् ।