शिक्षामन्त्री भट्टराईले गरिन् कार्यालयको निरीक्षण, पाठ्यसामग्रीलाई त्रुटिरहित बनाउन सुझाव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको बिहीबार आकस्मिक निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी हुन् । निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिइन् । सो अवशरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनुसन्धान लाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन् । निरीक्षणपछि उनले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने बताइन् । उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका स्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराइन् । प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गरिन् । कार्यालय निरीक्षणका क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो बारेमा पनि मन्त्री भट्टराइले चासो राखेकी थिइन् ।

विद्यार्थी नपाउँदा प्राविधिक शिक्षालय धरापमा, आधाले घट्यो व्यवसाय

काठमाडौं । एक समय थियो, प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो। अन्य पढाइभन्दा कम समय, र पढिसकेपछि जागिर पनि पाइने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक विषयतर्फ बढी हुन्थ्यो । पढ्न केही महँगो हुने भएपनि छिटो जागिर पाउने आशामा अभिभावकले ऋण निकालेर भएपनि छोराछोरीलाई प्राविधिक विषय पढाउँथे । आजभोलि जस्तो पहिले छ्याप्छप्ती प्राविधिक विषय पढाइ हुने विद्यालय पनि थिएनन्, । प्राविधिक विषय पढ्नकै लागि विद्यार्थी गाउँ छोडेर सहरमा झर्थे । तर, अहिले अवस्था फेरिएको छ । प्राविधिक शिक्षामा विद्यार्थीको संख्या नै कमी हुन थालेको छ । गाउँदेखि सहरमा खुलेका प्राविधिक शिक्षालयलाई अहिले विद्यार्थी पाउनै सकस बनेको छ । हरेक स्थानीय तह अन्तर्गतका विद्यालयमा पनि विद्यार्थी पाउन मुस्किल परेको छ । धेरै जसो ठाउँमा खुलेका प्राविधिक विद्यालय बन्द हुने अवस्थामा पुगिसकेका छन् । स्थानीय तहमा मात्र होइन, वर्षौंदेखि प्राविधिक शिक्षाका नाममा कहलिएका शिक्षालय पनि अहिले विद्यार्थी पाउन सकिरहेका छैनन् । काठमाडौंको साँखुमा रहेको शंखरापुर बहुप्राविधिक शिक्षालयमा पहिलेको तुलनामा विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको छ । पहिले वार्षिक ४/५ सय विद्यार्थी भर्ना हुने शिक्षालयमा अहिले साढे दुई सय विद्यार्थीमात्र भर्ना हुने गरेका छन् । सो शिक्षालयका प्राचार्य अनिलमुनी बज्राचार्यले अहिले प्राविधिक शिक्षालयमा विद्यार्थीको संख्या ह्वातै घटेको बताउँछन् । कोशी प्रदेशको मोरङमा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयमा पनि प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्यामा कमी आएको छ । सुरुमा शिभिल इन्जिनियरिङ र इल्केट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ सुरु गरेको यो विश्वविद्यालयले चार वर्षको अवधिमै विद्यार्थीको संख्या घटेको जानकारी दिएको छ । पहिलो वर्ष शिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४८ जनाको सिट भएपनि २४ जना विद्यार्थीलाई मात्र अध्ययान गराउने योजना कलेजले गर्यो । सिभिल इन्जिनियरिङमा विद्यार्थी सिट संख्या पूरा भएपनि इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ २४ जनाको सिटमा पनि संख्या पूरा भएन । पछिल्लो वर्ष सिभिल इन्जिनियरिङमा ४८ विद्यार्थी सिट संख्यमा ४५ जना विद्यार्थी भर्ना भएका थिए । इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा दोस्रो वर्ष पनि उस्तै अवस्था भयो । तेस्रो वर्षमा पनि उस्तै अवस्था भयो । इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विद्यार्थी कमी भएपछि कलेजले त्यसलाई हटाएर अहिले इलेक्ट्रिकल इन्जिनियरिङ मात्र राखेको छ । अहिले पनि दुवैमा सिट संख्या पूरा नभएको विश्वविद्यालयका शाखा अधिकृत गीता लम्सालले बताइन् । उनका अनुसार पहिले ७ सय बढी विद्यार्थी भर्ना हुने त्यहाँ अहिले मुस्किलले दुई सय विद्यार्थी अध्ययन गरिरहेका छन् । विकासन्युजसँगको कुराकानीमा उनले भनिन्, ‘अहिलेको प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको शिक्षा निकै घट्यो, एक समय सिट संख्या पूरा गरेर थप विद्यार्थी भर्ना हुने गरेकोमा आजभोली ४८ जनाको सिटमा १४ जना विद्यार्थी छैनन् ।’ विगतका वर्षमा हरेक क्षेत्रमा सिट संख्या पूरा हुने कर्णाली प्राविधिक शिक्षालयमा पनि यो वर्ष विद्यार्थीको संख्यामा कमी आएको छ । फार्मेसी, सिभिलमा विद्यार्थीको संख्या पूरा भए पनि एग्रिकल्चर र फरेस्टीमा भने विद्यार्थीको संख्या अपुग रहेको प्रिन्सिपल टेकेन्द्र थापाले बताए । उनी विगतका वर्षमा सबै सिट संख्या पूरा हुने गरेकोमा यो वर्ष समयमै एसईईको रिजल्ट नआउँदा विद्यार्थी अपुग भएको बताउँछन् । ‘अहिले एसईईपछि गाउँमा बस्ने विद्यार्थी निकै कम छन्,’ उनी भन्छन्, ‘एक विद्यार्थी गाउँ बस्न मान्दैनन्, अर्को समयमा परिक्षाको नतिजा आउँदैन्, यस्तै कारण विद्यार्थीको संख्या घट्दै गयो ।’ बालाजुमा रहेको बालाजु स्कुल अफ टेक्नोलोजीमा पनि प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशत बढी कम भएको छ । विद्यालयका प्रधानाध्यापक खुसीराम अधिकारीले विगतका वर्षजस्तो प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको बताए । रोजगारी भएन मनमोहन प्राविधिक विश्विद्यालयका डिन प्रचण्डमान प्रधान प्राविधिक क्षेत्रमा मात्र नभई समग्र विद्यालयमा विद्यार्थीको संख्या घटेको बताउँछन् । उनी यसका विभिन्न कारण भएपनि प्राविधिक क्षेत्रमा विद्यार्थी घट्नुको मुख्य कारण भने उचित रोजगारी नपाउनु रहेको बताउँछन् । ‘इन्जियिरिङ पढाइ गर्ने विद्यार्थीले राम्रो काम पाउन छोडे, काम पाउँदा तलब राम्रो भएन,’उनी भन्छन्, ‘अहिले हेर्ने भनेको सबैले पैसा हो, नेपालका इन्डष्ट्रीले राम्रो तलब दिन सकेनन्, नेपालमै राम्रो काम पाउन सक्यो भने यो क्षेत्रमा विद्यार्थीको भीड लाग्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन, जसको परिणाम यो अवस्था आयो ।’ शंखरापुर बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक अनिलमुनीको भनाइ पनि यस्तै छ । उनले विभिन्न कोर्सहरूले दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान दिइरहे पनि रोजगारीको कमी र सीपअनुसारको रोजगारी नपाइने समस्याले विद्यार्थीहरूमा प्राविधिक शिक्षा प्रति केही हदसम्म निराशा पैदा गरेको बताए । कोभिड-१९ महामारीपछि यो क्षेत्रमा थप चुनौतीहरू आएका छन्, तालिमको प्रभावकारिता घट्नु, कक्षा र उपकरणहरूमा पहुँच सीमित हुनु, र व्यावहारिक शिक्षा दिन कठिनाइ हुनुले पनि विद्यार्थीको रोजाइमा यी विषयहरू पर्न छाडेका छन् । प्राविधिक सीप भएका जनशक्तिको माग विभिन्न क्षेत्रमा अझैं पनि उच्च छ । गाउँ-गाउँमा प्राविधिक शिक्षा अहिले एउटै पालिकाका विभिन्न विद्यालयमा प्राविधिक विषयहरूको पढाइ हुन थालेका छ । सरकारले सञ्चालन गरिरहेका सामुदायिक विद्यालयमा पनि कक्षा ९ देखि प्राविधिक विषय पढाइ हुन्छ । सीटीईभीटीबाट मान्यता लिएर निजी क्षेत्रबाट सञ्चालीत प्राविधिक विद्यालयको संख्या पनि उत्तिकै छ । विज्ञहरू अहिले विद्यार्थी गाउँमै भएका प्राविधिक विद्यालयमा पढ्न थाल्दा पहिलेका नाम चलेका प्राविधिक शिक्षालयमा विद्यार्थीहरू घटेको हुनसक्ने बताउँछन् । शखरापुरका प्रधानाध्यापक अनिलमुनी भन्छन्, ‘गाउँगाउँमा प्राविधिक शिक्षालय खुले, सामुदायिक विद्यालयमा पनि प्राविधिक विषय पढाइ हुन थालेपछि विद्यार्थीको संख्या विभाजन भयो, एक त विद्यार्थी बाँडिए, अर्को विद्यार्थीको विदेश मोहले पनि विद्यार्थी घटे ।’ एसईईमा धेरै फेल हुनु अर्को कारण नेपालमा प्रायः प्राविधिक शिक्षा पढ्न एसईई पास अनिवार्य गरेको हुनुपर्छ । कुनै विषय कक्षा ९ देखि नै पढ्न पाइने भएपनि अधिकांश विषयहरू पढ्न भने एसईई पास भएको हुनुपर्छ । २०८० सालमा एसईई दिएका ५२ प्रतिशत विद्यार्थी फेल भए । फेल भएका सबै विद्यार्थीलाई फेरि मौका परीक्षामा सामेल गराएपनि नतिजा आउन ढिलो भइसकेको थियो । पुरक परिक्षाको नतिजा आउँदासम्म अधिकांश शिक्षालयले भर्ना सकेर पढाइ सुरु गरिसकेका थिए । एसईईमा धेरै विद्यार्थी फेल हुनु, मौका परीक्षाको नतिजा ढिलो गरी आउनुले पनि विद्यार्थीको संख्या घटेको कतिपयको तर्क छ । प्रधानाध्यापक अनिलमुनी भन्छ, ‘हामीले पुरक परीक्षाको नतिजा आउँदा भर्ना लिएर पढाइ सुरु गरिकेका थियौं, पछिका विद्यार्थीलाई हामीले भर्ना पनि लिएनौं, पहिलेको भन्दा अहिले प्राविधिक क्षेत्रमा विद्यार्थीको सख्या घटेको छ ।’ उनी केही वर्ष पहिले एउटै सेप्टेम्बर २ सय बढी विद्यार्थी हुनेमा अहिले ९०÷९५ विद्यार्थी मात्र छन् । विदेश मोह नेपाली विद्यार्थीको विदेश मोह अहिले निकै बढेको छ । कक्षा १२ पास गरिसकेपछि अधिकांश विद्यार्थी जापान, अस्टे«लिया, क्यानडा, अमेरिका लगायतका देशको तयारी गर्छन् । उनीहरूको सबैभन्दा पहिलो लक्ष्य नै विदेश जाने भएकाले प्राविधिक विषय भन्दा पनि जनरल विषयहरूमा जोड दिन्छन् । नेपालमा हरेक परिवारबाट एक जना विद्यार्थी कुनै न कुनै देश अध्ययनकै लागि गएको देखिन्छ । विद्यार्थीको यही विदेश मोहले पनि प्राविधिक क्षेत्रमा विद्यार्थीको संख्या घटेको कतिपयको भनाइ छ । प्लस टुपछि अधिकांश विद्यार्थी विदेश जाँदा उच्च शिक्षामा विद्यार्थी पाउन मुस्किल परेको छ । शिक्षाविदहरू भने नेपालमा प्राविधिक शिक्षाको आकर्षण घटिरहेको यो क्षेत्रले केही चुनौतीहरू सामना गरिरहेको बताउँछन् । रोजगारीको अवसर, गुणस्तरमा कमी र बजार मागसँग मेल नखाने पाठ्यक्रमजस्ता कारणले पनि विद्यार्थीहरू अन्य विकल्पहरूको खोजीमा उनीहरूको तर्क छ ।

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् । टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् । व्यक्ति, परिवार र समग्र समुदायको विकासका निम्ति शिक्षा र स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तर कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘नयाँ शैक्षिक संस्थाहरू खोल्ने भन्दा भएका संस्थाहरूको क्षमता वृद्धि गरी अघि बढ्नु उपयुक्त हुन्छ । यसले खर्च कम हुनाका साथै गुणस्तरमा पनि गुणात्मक विकास हुन्छ ।’ शिक्षाले वर्तमान समयको आवश्यकता पूरा गर्न सक्नुपर्ने धारणा उनको छ । नेपालमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने भन्दै उनले नेपालका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । नेपालको विद्यमान गरिबी, बेरोजगारी र अशिक्षा जस्ता समस्याको समाधान गर्न पनि गुणस्तरीय र व्यावहारिक शिक्षा आवश्यक रहेको उनले बताए । शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापनले मात्रै नेपाली समाजमा समानता, सामाजिक न्याय र अवसरहरू सृजना हुने उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि राज्य, गैरसरकारी संस्था र जनसमुदायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै, मन्त्री गुप्ताले टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । विगतको आठ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको क्लबले थुप्रै काम गरेको स्मरण उनले गरे । बालबालिकाले विद्यालयमा शिक्षकसँग ज्ञान लिएर मात्रै उसको शिक्षा पूरा नहुने चर्चा गर्दै मन्त्री गुप्ताले बालबालिकाहरूलाई अभिभावकले पनि घरमा उचित शिक्षा दिनुपर्ने आवश्कता औंल्याए । यस्तै, उनले सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बाध्यता रहेको बताए । ‘देश दिनप्रतिदिन गरिब हुँदै गएको छ । थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्थामा हामी छौँ,’ मन्त्री गुप्ताले भने, ‘कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी ठाकुर, पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति थियो ।

शिक्षाविद् शर्माको निधन, छोरा क्यानडा भएकोले शनिबार मात्रै अन्त्यष्टि गरिने

काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा. देवराज अर्यालले जानकारी दिए । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा भएकोले र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ । प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए । उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए । यसैगरी प्रा. शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए । उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए । रासस

सदीक्षासँग शिक्षा र व्यवसायका कुरा, ‘विद्यार्थीलाई बिजनेससँग जोड्छु’

काठमाडौं । मिस नेपाल भन्नेबित्तिकै हामी उसको शारीरिक सुन्दरतालाई हेर्छौं । अझ उनीहरूले गर्ने काम भनेको मनोरञ्जन क्षेत्रमात्र हो भन्ने बुझ्छौं । नेपालका मिस नेपाल (सुन्दरीहरूलाई) हेर्ने हो भने यो स्वाभाविक पनि हो । मिस नेपालको काम भनेको अभिनय गर्नुमात्र हो भन्ने भाष्य नेपाली समाजमा स्थापित भएको छ । कतिपय मिस नेपालहरूले सामाजिक विकृतिविरुद्ध आवाज उठाइरहेका भएपनि धेरैजसो भने मनोरञ्जन क्षेत्रमै लागेको पाइन्छ । शिक्षा क्षेत्र जसलाई हामी बौद्धिक क्षेत्र भन्छौं, अझ यो क्षेत्रमा भने सुन्दरीहरू लागेको पाइँदैन । सुन्दरीहरूले मनोरञ्जन क्षेत्रमै मात्र काम गर्ने भन्ने मानसिकतालाई चिर्दै चर्चित मोडल, उद्घोषिका एवं पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बौद्धिक क्षेत्रको यात्रा सुरुवात गरेकी छन् । उनी अहिले बागबजारमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) मा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशको रूपमा नियुक्त भएकी छन् । जीवनमा सबैभन्दा पहिलो आवश्यक्ता शिक्षा ठान्ने उनी शिक्षालाई व्यवसायसँग जोडेर लाँदा अझै उत्कृष्ट हुने बताउँछिन् । कार्यक्रम निर्देशकको जिम्मेवारीमा रहेकी उनी आफ्नो पहिलो प्राथमिकता शिक्षालाई व्यवसायसँग जोड्ने रहेको बताउँछिन् । इन्टरनेशनल अमेरिकन यूनिभर्सिटी आईयूसँगको सहकार्यमा काठमाडौंको बागबजारमा सञ्चालनमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी)ले ले सदीक्षालाई केही दिन अगाडिमात्र यो पदमा नियुक्त गरेको हो । यहाँ बीबीए र एमबीए कार्यक्रम चलिरहेका छन् । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गरी उच्च शिक्षामा व्यवस्थापन र सूचना प्रविधि (आईटी)का कार्यक्रमहरू सञ्चालन गरिरहेको कलेजमा आफू जोडिन पाउनु अवसर भएको बताउँदै उनले अब शिक्षालाई उद्याेगसँग जोड्न पहल गर्ने उल्लेख गर्छिन् । यो काम पहिले गरिरहेको भन्दा नयाँ भएकाले चुनौतीसँग लड्दै उत्कृष्ट बनाउन पहल गर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रमा आउनु स्वाभाविक कि जीवनको ट्रनिङ प्वाइन्ट हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म यसलाई नेचुरल ट्रान्जेसन भन्छु ।’ सदीक्षाको परिवारमा पढाइलाई धेरै प्राथमिकता दिइन्छ । सानैदेखि यही वातावरणमा हुर्केपछि उनलाई पनि जीवनको पहिलो आवश्यकता शिक्षा लाग्छ । यसै कारण पनि उनले पढाइमा निकै मिहिनेत गरिन् । आइएस्सी गरिसकेपछि सदीक्षाले सन् २०१० मा मिस नेपालमा भाग लिएर उपाधि चुमिन् । त्यसपछि उनलाई पढाइ अझ महत्त्वपूर्ण लाग्यो । ‘मैले कति पनि समय खर्च गरिनँ, मिस नेपाल भइसकेपछि आफ्नो स्वाभाविक डिग्रीमा लागें,’ उनी भन्छिन्, ‘मिस वर्ल्डमा भाग लिन चीन गएँ, त्यसपछि ब्याच्लर्स गरें अनि मास्टर्स गर्न विदेश गएँ ।’ विदेश जानुअघि सदीक्षाले कुन देश, कुन कलेज पढ्नै भन्दै खोजी गरिन् । एमबीए डिग्री कहाँ लिने भन्ने खोजी गर्दैगर्दा उनलाई केही समय लाग्यो । त्यो समयमा उनले नेपालमै पनि ६ महिना एमबीएस अध्ययन गरिन् । आफूले पढाइबाट आफ्नो साथ कहिल्यै नछुटेको भन्दै सदीक्षाले यसलाई टर्निङ प्वाइन्टभन्दा पनि जीवनलाई लेभल अप गर्ने एउटा अवसरको रूपमा लिएको बताउँछिन् । धेरैजसो सुन्दरीहरू अहिले गुमनाम छन् । सदीक्षा भने आफूलाई कुनै न कुनै रूपमा समाजमा प्रस्तुत गराइहाल्छिन् । उनी सबैभन्दा पहिला कुनै पनि काम गर्न चाहना र इच्छा हुनुपर्ने बताउँछिन् । ‘कतिपय मिस नेपाललाई समाजमा देखिन मन छैन होला, उहाँहरू मिडियाभन्दा बाहेक उद्यमी भएर होस् वा समाजसेवी भएर होस्, विभिन्न कार्य गरिरहनुभएको छ,’ उनी भन्छिन्, ‘म आफै पनि मिडिया फिल्डमा भएकाले चाहेर या नचाहेर पनि सधैं क्यामेरा अगाडि आउनुपर्ने भएकाले नेचुरल नै यस्तो हुन गयो होला भन्ने लाग्छ ।’ शिक्षा क्षेत्रका चुनौती एमआईटीमा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशकाे रूपमा नियुक्त भएपछि अहिले सदीक्षा आफ्नो पूरा समय विद्यार्थी र कलेजमा बिताउँछिन् । बाँकी रहेको समयमा भने अभिनय अनि उद्घोषलाई छुट्याउँछिन् । शिक्षा क्षेत्रमा पाइला  अगि बढाएकी उनी शिक्षा क्षेत्रमा अहिले धेरै किसिमका चुनौती रहेको बताउँछिन् । शिक्षा भनेको बेसिक फाउन्डेसन राइट हो तर विभिन्न कारणले गुणस्तरीय शिक्षाबाट धेरैजसो विद्यार्थी वञ्चित भइरहेका छन् । अहिले ब्याचलर्स गर्न चाहने विद्यार्थीको लागि ठूलो कन्फ्युजन भनेको नेपालमै ब्याचलर्स डिग्री गरौं कि विदेश जान्ने भन्ने छ । सदीक्षा आफूले कलेज जाेइन गरेको मुख्य उद्देश्य पनि शिक्षा र सोचको ठूलो खाडल ग्याप रहेकाले सबैभन्दा पहिले यो विषयमा काम गर्नु हो । उनी मास्टर्स डिग्री विदेशमा गएर गर्ने विद्यार्थीलाई नेपालमै बस भन्नु उपयुक्त नहुने बताउँछिन् । ‘म आफैंले पनि एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआइटी) थाइल्याण्डमा अध्ययन गरेकी हुँ, विद्यार्थीलाई विदेश जान हुँदैन, कोही नजानू, नेपालमै बस्नू भन्ने कुरा म गर्दिनँ,’ सदीक्षा भन्छिन्, ‘कुन ठाउँ के पढ्ने भन्ने विद्यार्थीको अधिकार हो, तपाईं सक्नुहुन्छ, इच्छा छ, म इन्टरनेशनल डिग्री लिन चाहनुहुन्छ भन्ने अठोट छ भने अवश्य जानूहोस्, त्यो सबैभन्दा सुन्दर अनुभवमध्ये एक हुनेछ ।’ जबसम्म बच्चाहरू आमाबुवाको छत्रछायामा हुर्किन्छन् त्यतिबेलासम्म आफूलाई विकास गर्ने अवसर पाउँदैनन् । जब तपाईं घर पुग्दा तातोभात तयार हुन्छ, तपाईं बिहान उठेर गएको ओच्छयान चटक्क मिलेको पाउनुहुन्छ त्यतिसम्म जीवन के हो भन्ने कुरा बुझिँदैन । ब्याचलर्समा होस् या मास्टर्समा होस् नेपालभन्दा बाहिर डिग्री लिन चाहनेहरूको अहिले ठूलो जमात छ । तर, त्यसका लागि प्रक्रिया त्यति सजिलो छैन । विद्यार्थीले बैंक ब्यालेन्सदेखि आफ्नो डिग्री, भाषा परीक्षणलगायतका कुराहरू देखाउनुपर्छ, जसका लागि समय लाग्छ । विदेश पढ्न जाने तयारीका लागि लाग्ने समयमा नेपालमै अध्ययन गर्दा विद्यार्थी थप सजिलो हुने सदीक्षाकाे अनुभव छ । उनी यसका लागि उपयुक्त ठाउँ एमआइटी रहेको बताउँछिन् । यहाँ अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालय आईएयु क्वालिफोर्नियासँग एशोसिट भएको कारण जसलाई बाहिर गएर डिग्री लिन मन छ, समय लागिरहेको छ भने यहाँ आएर आफ्नो समय सदुपयोग गर्न सकिने उनी बताउँछिन् । यसो गर्दा समय र पैसा नाश नहुने उनकाे भनाइ छ । अहिले धेरैजसो नेपाली विद्यार्थी पढाइको लागि स्वदेशभन्दा विदेश रोज्छन् । नेपालमा १२ पास गरिसकेपछि धेरैको सपना बाहिरकै हुन्छ । कतिपय विद्यार्थी पढ्नकै लागि जाने भएपनि कतिपय भने विद्यार्थी भिषामा गएर पढाइ छोडेर काम गरिरहेको पाइन्छ । कतिपय विद्यार्थी भने विदेशी विश्वविद्यालयको राम्रो शिक्षा ग्रहण गरेर आफ्नै देश फर्केर केही गर्ने आश राख्छन् । यही आशाराख्ने मध्येकी एक सदीक्षा पनि हुन् । विदेश पढेर काम गर्न नेपाल आउनुपर्छ भन्ने सदीक्षाको मत छ । उनी विदेश गइसकेका विद्यार्थी नेपाल फर्कनु/नफर्कनुमा उनीहरूकै व्यक्तिगत इच्छामा भर पर्ने बताउँछिन् । भन्छिन्, ‘आफूलाई जन्म दिने आमाबुवाले त हाम्रो जीवनमा यस्तो गर भनेर आदेश दिन सक्दैनन्, यसमा पढ्न जाऊ नानीबाबुहरू हो, फिर्ता चाहिं स्वदेशमै हौ भन्ने अधिकार हामीलाई छैन ।’ सदीक्षा मुलुकका सहज नीति बनाउन सकियाे भने ४०/५० वर्ष विदेशमा बसेकाहरू पनि नेपाल फर्कन तयार हुने बताउँछिन् । अहिले विदेशमा अध्ययन गरिरहेका विद्यार्थी राम्रो अवसर पायो भने नेपाल फर्कन तयार छन् । विदेशमा लिएको डिग्री र सीप नेपालमा प्रयोग गर्न सके नेपालमै राम्रो भविष्य रहको उनको दाबी छ । उनी सुन्दरीको उपाधिपछि आफ्ना लागि सुनौलो अवसर नेपालमै छ भन्ने लागेकाले विदेशमा डिग्री गरेर नेपालमा काम गरेको सुनाउँछिन् । भूमिका र जिम्मेवारी मनोरञ्जनजस्तो फरक पेशाबाट शिक्षाको यात्रामा आएकी सदीक्षा बीबीए तथा एमबीएका कार्यक्रमलाई प्रमोट गर्नुको साथै प्रभावकारी तरिकाले अगाडि बढाउने आफ्नो योजना रहेको बताउँछिन् । उनको अर्को योजना विद्यार्थीलाई राम्रो उद्योग र शिक्षाको सन्तुलन, अनुभव दिनु पनि हो । उनी भन्छिन्, ‘विद्यार्थीको सबै किसिमको सिकाइ अनुभव राम्रो होस् र पढाइ सकिएपछि डिग्रीमात्र नभइकन धेरै जीवनाेपयोगी सीप पाए भन्न सक्ने हुन् भन्ने मेरो जिम्मेवारी हो ।’ सदीक्षाले यो कलेजमा काम सुरु गर्नुभन्दाअघि विभिन्न कलेजमा गएर ब्याचलर्स तहका विद्यार्थीहरूलाई सार्वजनिक स्थलमा कसरी बोल्ने, कुन व्यक्तिसँग कुन कामको लागि बोल्दा कसरी बोल्ने भन्नेबारे क्लास दिन्थिन् । क्लासमा सबैभन्दा पहिले उनको प्रश्न हुन्थ्यो- तपाईंहरूमध्ये कति जना काम गर्नुहुन्छ ? उनले सोध्दा फाट्टफुट्ट विद्यार्थीको मात्र हात उठ्थ्यो । जब कि यो समयमा विद्यार्थीसँग प्रशस्त समय हुन्छ । बिहान कलेज जाँदा दिनभरिको समय खाली हुन्छ । कमैले मात्र काम गरिरहेको सुन्दा उनलाई नमज्जा लाग्थ्यो । बाँकी समय के गर्नुहुन्छ भनेर सोध्दा धेरैको उत्तर हुन्थ्यो- ‘दिनभर सुत्छौं अनि कसैको यतिकै बस्ने ’ हुन्थ्याे । त्यसैबेला उनकाे दिमागमा एउटा कुरा खेल्याे- नेपालमा ब्याचलर्समा पढ्ने विद्यार्थीलाई काम गर्ने मौका, इन्टर्नसीप, जागिर दिने किन हुँदैन ? सदीक्षा अब एमआइटीमा पढ्ने विद्यार्थीका लागि पढाइसँग काम र इन्टर्नसीपको अवसर सिर्जना गर्ने दाबी गर्छिन् । माग अनुसारको उत्पादन छैन अहिले बजारमा सबैभन्दा धेरै सुनिने कुरा हो, दक्ष जनशक्ति नपाइनु । उद्योग, संस्थाहरूले दक्ष जनशक्त नपाएको गुनासो गरिरहँदा यता उत्पादन भएको जनशक्तिले काम नपाएर विदेशिनु परेको अर्को गुनासो छ । बजारमा माग पनि छ, कलेजले उत्पादन पनि गरिरहेको छ तर किन तालमेल मिलेन भन्नेमा ठूलो प्रश्न छ । कुनै पनि कम्पनीले कामदार खोज्दा सबैभन्दा पहिले उसको कामको अनुभव खोज्छ । तर, नेपालको सन्दर्भमा डिग्री भएपनि विद्यार्थीसँग अनुभव हुँदैन । सदीक्षा एउटा विद्यार्थी ब्याचलर्समा भर्ना हुँदा जागिर गर्न सुरु गर्‍याे भने ब्याचलर्स सक्दा उसँग ४ वर्ष कामको अनुभव हुने बताउँछिन् । ‘नेपालमा उद्योगले हामीले काम गर्ने मानिस पाइरहेका छैनौं भन्छन्, काम गर्ने विद्यार्थीले हामीले जागिर पाइरहेका छैनौं भन्छन्,’ उनी भन्छिन्, ‘यसको मतलब माग पनि छ उत्पादन पनि छ तर यसलाई जोड्न सकिरहेको छैन । यहाँनेर देखिएको ठूलो दूरीलाई भर्नैपर्छ।’ सदीक्षाका अनुसार विद्यार्थीले  पनि कुन काम सानो, ठूलो भनेर हेर्न हुँदैन । अभिभावकले पनि आफ्ना बच्चाहरूलाई सानो ठूलो जस्तो भए पनि काम गर्न प्राेत्साहित गर्नुपर्छ । उनी यसका लागि आफूले विद्यार्थीको इन्टर्नसीपका लागि जोड दिने बताउँछिन् । ‘मैले चिन्ने, मसँग जोडिएका विभिन्न संघसंस्थामा जोड्ने प्रयास गर्छु,’ भन्छिन्, ‘सानो इन्टर्नसीपदेखि सुरुवात किन नहोस्, यो गर्न इनकरेज पनि गर्छौं र उहाँलाई त्यो वातावरण मिलाउन प्रयास गछौं । ’ नेपालका उद्योग कारखानाले नेपालमा राम्रो कामदार नपाउँदा बाहिरबाट ल्याउने गरेको पाइन्छ । कामदारदेखि मेनेजरसम्म बाहिरबाट ल्याइरहेको सुनिन्छ ।  अब एमआइटीमै यस्तो किसिमको जनशक्ति उत्पादन गर्ने सदीक्षा बताउँछिन् । नेपालमा पढाउने शैली पहिलाकाे भन्दा धेरै सुधार भएको उनकाे बुझाइ छ । अन्य देशभन्दा स्कुल तहको शिक्षामा नेपालीको शिक्षा उत्कृष्ट नै रहेको विज्ञहरू बताउँछन् । अन्य देशका तुलनामा नेपालका विद्यार्थी पढाइमा पनि उत्कृष्ट हुन्छन् । सदीक्षा आफैं पनि थाइल्यान्ड एआइटीबाट एमबीए गर्दा कक्षाको सबैभन्दा टप हुने विद्यार्थी थिइन् । कक्षामा टप हुँदा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोल्ड मेडल पाइन् । यस्तो राम्रो धेरै विद्यार्थीले गरिरहेका छन् । उत्कृष्ट विद्यार्थी र शिक्षा हुँदा पनि विद्यार्थीले अवसर पाउने अवस्था नभए उनको भनाइ छ । यसका लागि कलेजहरू पनि विभिन्न संघसस्थासँग पार्टनरसीप गरेर अगाडि बढ्दा समस्या समाधान हुने सदीक्षाकाे विश्वास छ । एउटा ग्राजुएट भएको विद्यार्थी हायर गर्न खोज्दा ऊसँग पढाइभन्दा बाहेक अरू हुँदैन, जब पढाइसँग काम गर्ने विद्यार्थी छ भने उसले हरेक काम राम्रो गर्छ । नेपालमा जति पनि उद्योगहरू छन् ती चल्न राम्रो मेनपावर चाहिने भएकाले एमआइटी एकेडेमी र इन्ड्रष्टीको काेलाब्रेसनतर्फ एमआइटी द्रूतरूपमा अगाडि बढ्ने उनको दावी छ । म्यानेजमेन्ट आवश्यक नेपालमा अहिले देखिएको पहिलो चुनौती भनेको बीबीए र एमबीए गर्ने विद्यार्थीको संख्या घट्दै जानु हो । आजभोलि मान्छेलाई मन पर्ने चाहना भएको लिन खोज्ने डिग्री भनेको आइटीका डिग्री हुन् । तर, सदीक्षा ‘ब्याच्लर्स इन बिजनेस स्टडिज’ र ‘मास्टर इन बिजनेस एड्मिनेस्ट्रसन’ सबैभन्दा महत्त्वपूर्ण र आवश्यक भएको बताउँछिन् । व्यवस्थापन (म्यानेजमेन्ट) बिना जतिसुकै ठूलो कम्पनी खडा गर्दा पनि यसलाई राम्रोसँग चलाउन सकिँदैन । हस्पिटालिटी क्षेत्र हेर्ने हो भने करोडौं, अरबौं संरचना तयार पारे पनि तर त्यसलाई व्यवस्थापन गर्न कुशल व्यवस्थापक आवश्यक पर्छ । त्यसैले यस्ता विषयहरू त्यतिकै आवश्यक छन् । व्यवस्थापनले समयको सदुपयोग कसरी गर्ने भन्नेबारे सिकाउँछ । जब व्यक्तिलाई कुनै कुरा चाहिन्छ तब इनोभेटिभ बाटाहरू आफै निकाल्न सुरु गरिन्छ । उदाहरणका लागि कोही मान्छे मोटो छ, उसले आफ्नो तौल घटाउनु छ भने ऊ खाना कम खान्छ, हिँड्न अथवा दाैडन सुरु हुन्छ, शारीरिक व्यायाम गर्न सुरु गर्छ । इच्छा हुनुपर्‍याे योभन्दा माथि आवश्यकता हुनुपर्‍याे । डिग्रीसँगै काम गर्न आवश्यक छ भन्ने लाग्छ भने त्यो जस्तो ठूलो कारण केही पनि हुँदैन । अभिभावकले पनि आफ्नो बच्चालाई आफै कमाऊ भन्ने सिकाउनुपर्छ । कुनै पनि बच्चा आफै कमाउँछ भने उसलाई अभिभावकले पैसा कमाउन गरेको दुःख थाहा हुन्छ र उसलाई पनि केही गर्नुपर्छ भन्ने सोच आउँछ । आफैले पनि पैसाको लागि नभए पनि अनुभवका लागि भए पनि केही काम गर्नुपर्छ । नेपालको उदेकलाग्दो शिक्षा नेपालको स्नातक र स्नातकोत्तरमा अहिले पनि ठूलो समस्या छ । समयमा परीक्षा नहुने, रिजल्ट समयमा नआउनेलगायतका थुप्रै समस्या छन् । सदीक्षा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउँछिन् । समयमै रिजल्ट नआउँदाको परिणाम सदीक्षा आफैंले पनि भोग्नुपरेको छ । नेपालमै ‘ब्याचलर्स इन बिजनेस स्टडी’ गर्दा ३ वर्षको कोर्समा उनलाई हातमा रिजल्ट आउन ५ वर्ष लाग्यो । ‘यत्रो दुई वर्ष भनेको जोक होइन, यो २ वर्षमा मैले कतिधेरै काम गर्न सक्थें , एउटा डिग्री पनि लिन सक्थें, यो विषयमा अहिले पनि ठूलो कम्जोरी छ,’ उनी यो विषयमा सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउँछिन् । शिक्षा र सुन्दरता सुन्दरता भन्ने बित्तिकै धेरैजसो शारीरिक सुन्दरतालाई हेरिन्छ । सुन्दरता के हो भन्ने प्रश्नमा सदीक्षा भन्छिन्, ‘शिक्षित मान्छे सुन्दर पनि हुन सक्छ, सुन्दर मान्छे पनि शिक्षित हुन सक्छ, शिक्षा छ भने सुन्दर हुन सकिँदैन भन्ने होइन ।’ उनी सुन्दरताको परिभाषा मान्छेपिच्छे फरक हुने बताउँछिन् । ‘धेरैलाई मलाई देख्दा ओहो कस्तो राम्री भन्ने लाग्न सक्छ, कसैलाई यो कस्तो मान्छे कति बोलिरहेको होला भन्ने लाग्ला,’ उनी आफूलाई सुन्दरताभन्दा शिक्षालाई धेरै महत्त्व दिने बताउँछिन् ।

सिटिजन्स क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलको कार्तिक १२ गते सिन्धुलीेस्थित सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली उघोग वाणिज्य संघमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीे तथा शिक्षकहरूको संम्लग्नता रहेको थियो । त्यस्तै सिन्धुली उघोग वाणिज्य संघमा स्थानीय व्यवसायीहरूको संम्लग्नता रहेको थियो । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

हिमालयन क्यापिटलको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन क्यापिटलको गानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएको छ । पुँजी बजारको दिगो विकासमा सदैव प्रतिबद्ध रहेको हिमालयन क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा कात्तिक ९ गते शुक्रबारका दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । आफ्नो स्थापनाकालदेखि नै पुँजी बजारको विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ । क्यापिटलका प्रमुख संचालन अधिकृत राम प्रसाद भट्टराईले कार्यक्रममा सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी गराएका थिए । साथै पुँजी बजारको निरन्तर विकासका लागि भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको बारेमा उनले जानकारी गराए । कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने विश्वास रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यसप्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरेको बताएका छन् । साथै सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको बुझाइ छ । हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अप सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

सनलाइफ क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो । साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा सनलाइफ क्यापिटलले कार्तिक ११ गते एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो । जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई

पाटन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् । नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकास गर्दा विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउँदै समाज रुपान्तरण गर्दै जानुपर्ने बताइन् । उनले हामीले अन्तर्राष्ट्रियकरणलाई ध्यान दिँदै नेपाली समाज र परिवेश अनुसार प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिइन् । नेपालीपन र नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राख्दै उनले विज्ञान र प्रविधिको विकास पनि समाज र परिवेश अनुसार गर्नुपर्ने उल्लेख गरिन् । ‘वर्तमान विश्व प्रविधिमैत्री गतिविधिमा केन्द्रित भइरहेको छ । हामी प्रविधि केन्द्रित भइरहँदा विज्ञानलाई व्यवहारमा लागू गर्ने गरी काम गर्नुपर्ने र सोही अनुसार शिक्षाको व्यवस्था हुनु जरुरी छ’, मन्त्री भट्टराईले भनिन् । उनले विज्ञानलाई विचारमा मात्रै सीमित नराखेर जनजीवन, दैनिकी र उद्यमशीलतासँग जोड्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । ‘यस्ता सम्मेलनबाट निकालिएका निष्कर्ष र प्रतिबद्धतालाई नेपाली समुदाय र अन्तर्रष्ट्रियस्तरसम्म पुर्याउन आवश्यक छ । इसका लागि मन्त्रालय सरोकार भएका निकायसँग समन्वय गर्न तयार छ’, मन्त्री भट्टराईले भनिन् । चीनका प्रतिनिधि प्राध्यापक बिङ डिङले नेपालको शैक्षिक संस्थाले गरिरहेका काम र प्रयासको प्रशंसा गरे । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्वपूर्ण मञ्चका रुपमा उपयोग गरिने जानकारी गराए । मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक टंक मुखियाले सहभागीलाई स्वागत गर्दै सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौतीकाबारेमा छलफल गरिने बताए । सम्मेलनको अध्यक्षता गरेका प्रा डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यलगायत क्षेत्रका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताए । शुक्रबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाउँदै उनले सम्मेलनमा विज्ञान तथा प्रविधिका क्षेत्रमा देखाएका समस्या र चुनौतीको दिगो समाधान खोज्न प्रतिबद्धतासहित सबैलाई आह्वान गरे । सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिकालगायत विभिन्न १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता छ । आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारका क्षेत्रमा भएका गतिविधिबारे छलफल हुने जनाइएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजनामा सुरु भएको सम्मेलनको सहआयोजकमा त्रिभुवन विश्वविद्यालय, पुल्चोक र सुदूरपश्चिम विश्वविद्यालय रहेका छन् ।

शिक्षामन्त्री मन्त्री विद्या भट्टराईका १०० दिन, ४२ उपलब्धि सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्वजनिक गरेकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी मन्त्री भट्टराईले आफ्नो १०० दिनका विभिन्न ४२ बुँदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर सार्वजनिक गरेकी हुन् । उपलब्धिमा पाठ्यक्रम परिमार्जनको पहलदेखि दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकतासम्म समेटिएका छन् । अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्यांकन प्रणाली सुधारको कार्ययोजना बनाएको मन्त्री भट्टराईले उल्लेख गरिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मुख्य उपलब्धि स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको विद्यालय तहको परीक्षा तथा मूल्याङ्‌कन प्रणालीमा सुधारको कार्ययोजना तयार भएको ख्वप विश्वविधालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्‍मा पठाइएको उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको। ९२४ वटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूको नवीकरण गरिएको, उक्त संस्थाहरूको आवश्यकताअनुसार आकस्मिक निरीक्षण अनुगमन गर्ने र नवीकरण पत्र दिँदा स्वीकृति पत्र, राजस्व समेतका कागजातको परीक्षण गर्ने निर्णय गरिएको रेडियोधर्मी पदार्थ तथा विकीरण सुरक्षा सम्बन्धमा मापदण्ड कार्यान्वयनका लागि ६ वटा स्वास्थ्य संस्थाको अनुगमन सम्पन्न भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार भएको विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको सीटीईभीटीका आङ्‌गिक शिक्षालयहरूबाट सरकारी अस्पतालसँग सम्झौता गरी मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा फार्मेसी र नर्सिङको कक्षा सञ्चालन गर्ने गरी निर्णय भएको सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र साझेदारीका लागि सातै प्रदेशका सामाजिक विकास मन्त्री, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ सम्मिलित विषयगत समितिका तीनओटा बैठक सम्पन्न गरिएको मौजुदा विधालय शिक्षक दरबन्दीको पुनरावलोकन गरी अपुग दरवन्दीको विश्लेषण साथ प्रस्ताव गर्न कार्यदल गठन गरिएको। शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयनमा रहेको प्राविधिक धार कक्षा (९-१२) मा अध्यापन गराउने शिक्षकहरूको बिषयगत योग्यता निर्धारण गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५०-५० सिट निर्धारण गरी एमबीबीएस कार्यक्रम सुरु गरिएको मागको आधारमा २८८४ जनाको सिप परीक्षण सम्पन्न भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि ओपन डेटा प्लेटफर्मको अवधारणा पत्र तयार भएको विद्यालय तह‌को पाठ्यक्रम परिमार्जन कार्य थालनी भएको राष्ट्रिय परीक्षा बोर्डको पुनःसंरचनामार्फत समग्र परीक्षा प्रणालीमा सुधारका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको प्रारम्भिक बाल कक्षाको समयावधि र निजी विधालयद्वारा लिने गरेको शुल्कलाई व्यवस्थित गर्न सुझाव कार्यदल गठन भएको पुस्तक नीतिको मस्यौदा स्वीकृतिको चरणमा रहेको। १२ वटा राष्ट्रिय सिप प्रमाणिका/राष्ट्रिय दक्षता प्रमाणिका निर्माण कार्य सम्पन्न भएको। विद्यार्थीका लागि खुला तथा अनलाइन सिकाइको अवसर अभिवृद्धि गर्न दूर शिक्षा तथा खुला सिकाइ र सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित सिकाइ चौतारीलाई व्यवस्थित गरी गरिएको सबै स्थानीय तहले एक वर्षभित्र स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्नका लागि प्रशिक्षक प्रशीक्षण कार्यक्रम सञ्चालन गरिएको मातृभाषामा शिक्षासम्बन्धी मापदण्डको मस्यौदा तयार पारिएको दृष्टिविहीन बालबालिकालाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, बाल बिकास केन्द्रका सहजकर्ताका लागि बुटक्याम्प तालिम सञ्चालन, मेगा किचन सञ्चालन र बालबालिकाका लागि अनलाइन तथा श्रव्यदृश्य सामग्री विकासका लागि कार्यविधिका मस्यौदा तयार पारिएको विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालय पुनर्निर्माण कार्यविधि २०८१ स्वीकृत भई जिल्लागत कोटा निर्धारण गरी रकम पठाउने चरणमा रहेको विद्यालयको भौतिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई विनियोजन ऐन, २०८१ बमोजिम परिमार्जन गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलबाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयहरूको व्यबस्थापन, गुणस्तर र भौतिक सुधारका लागि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र सम्पूर्ण विश्वविद्यालयसँग छलफल गरी सुधारको कार्य सुरु गरिएको, सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण गरिएको असोज ११/१२ को वर्षाबाट प्रभावित विद्यालयहरूको क्षतिको विवरण संकलन गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट कात्तिक ५ गतेभित्र र प्रदेश शिक्षा विकास निर्देशनालयबाट सो सम्बन्धमा द्रुत सर्वेक्षण गरी कात्तिक मसान्तभित्र प्रतिवेदन पेस गर्ने गरी निर्णय गरिएको विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशका शिक्षा हेर्ने मन्त्रालयमा विनियोजित रु २ करोड र प्रत्येक पालिकामा विनियोजित ४-६ लाखसम्मको बजेटबाट तत्कालीन रूपमा विद्यालयको सरसफाइ र वैकल्पिक सिकाइ व्यवस्थालगायतका काम तुरुन्त प्रारम्भ गर्ने गरी योजना बनाइएको श्रमबजारको मागका आधारमा प्राविधिक शिक्षालयको नक्साङ्कनका लागि काम अघि बढाइएको मुगु जिल्ला साक्षर जिल्ला घोषणा भई साक्षर घोषणा हुने जिल्लाको सङ्‌ख्या ६५ पुगेको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित विद्यालयको पुर्ननिर्माणको लागि प्रक्रिया अघि बढाइएको सीटीईभीटीका सम्बन्धमा प्राप्त गुनासाको तत्काल सम्बोधन गर्नका लागि संयन्त्र तयार गरिएको पाठ्‌यक्रम विकास केन्द्रबाट प्रदान गरिने समकक्षता प्रमाणपत्र अनलाइन आवेदन पेस गरेपश्चात् लाग्ने १८ दिनको अवधिलाई घटाएर पाँच दिनभित्रै प्रदान गरिने व्यवस्था गरिएको चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेका र नतिजामा नन ग्रेडेड (एनजी) मा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगवाट फिर्ता गरिएको त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको। कक्षा १० उत्तीर्ण गरेका विद्यार्थी मध्ये २५०० जनालाई औद्योगिक प्रशिक्षार्थी तालिम प्रदान गर्न प्रवेश परीक्षा सञ्चालनका लागि सूचना प्रकाशन गरिएको

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् । कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् । कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् । ‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् । हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । ‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’ टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । ‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी दिन एकदिने शैक्षिक मेलाको आयोजना हुँदै

  काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले बृहत शैक्षिक मेला गर्ने भएको छ । काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्न लागेको साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हाे । विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जनाइएको छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न स्वदेश, विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।   शैक्षिक मेलामा १५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको बताए । उनले भने, ‘मेलाले नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह हुनेछ । शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी पाउन सजिलो होस् भनेर आयोजना गर्न लागिएको हो ।’ अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्त्वपूर्ण माध्यम हुने बताए । मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् । उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिकसंस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ ।’ मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसैगरी, विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् । मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करिअरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा आयोजकले गरेको छ । शैक्षिक परामर्शदाताहरूको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको छन्

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले सोमबार प्रतिवेदन पेश गरेको छ । पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्य कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्याङ्कन गरी अन्तर पत्ता लगाउनु र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको माग र आवश्यकतासँग पाठ्यक्रमको समायोजन तथा सान्दर्भिकता बढाउने उपायहरूको पहिचान गर्न लगाइएकाे थियाे । यसैगरी, पाठ्यक्रम निर्माण प्रक्रिया सुधार गरी श्रम बजार प्रवृत्तिहरूसँग अनुकूलन गर्न सुझावहरू सिफारिस गर्ने, कक्षा ९-१२ को प्राविधिक धार र प्री-डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रमको एकरूपता कायम गर्न उपयुक्त सुझावहरू सिफारिस गर्ने र उत्पादित जनशक्तिलाई रोजगारी प्राप्तिमा सहयोग हुने गरी पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि अन्य राय सुझाव दिने कार्यादेश दिइएको थियो । कार्यदलले श्रम बजारको माग अनुकूल विभिन्न स्तरका सिपयुक्त जनशक्ति तयार गर्ने, टिभीइटी कार्यक्रमको मुख्य उद्देश्यमा केन्द्रित भई डिप्लोमा र प्रि-डिप्लोमा पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुन:संरचना गर्ने, पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा वास्तविक पेसागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पाठ्यक्रम विकास प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउने, पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ सीटीइभीटी कार्यक्रमको स्वरूपअनुसार पाठ्यक्रमको संरचनालाई परिमार्जन गर्ने, प्राविधिक धार र सीटीइभीटीबाट सञ्चालित कार्यक्रमहरूबीच समन्वय गर्ने, कक्षा ९ र १० मा प्राविधिक धारको सट्टामा व्यावसायिक शिक्षा अभिमुखीकरण हुने, पेसा, व्यवसाय, वृत्ति परामर्शजस्ता विषयहरू ऐच्छिक विषयहरूको रूपमा समावेश गर्ने र कक्षा १० पछि मात्र प्राविधिक धार सञ्चालन गर्ने, पाठ्क्रमसम्बन्धी नीति, कार्यनीतिसहित पाठ्यक्रमको समग्र मार्गदर्शक दस्तावेज विकास गर्ने लगायतका सुझाव प्रस्तुत गरेको छ । आजै मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयसँग शैक्षिक सुधारका विषयमा अन्तरक्रिया गरेको छ ।

शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्न आइतबारबाट सुरु भएकाे अन्तरक्रिया आज पनि जारी छ । मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भयाे । कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान केन्द्रित गर्न आग्रह गरिन् । उनले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण विषयलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने बताइन् । उनले विद्यमान शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिइन् । मन्त्री भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षाको प्रभावकारी संचालन र व्यवस्थापन, सम्बन्धनजस्ता योजनाहरू समेट्न अनुरोध गरिन् । उनले नेपालका विश्वविद्यालयहरूले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विशेष योजना बनाउन पनि आग्रह गरिन् । असोज १० गतेसम्म जारी रहने यस अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, विद्यार्थी र प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्यक्रम निर्माण र परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, र जग्गा व्यवस्थापनजस्ता विषयमा छलफल भइरहेको छ । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता रहेको छ । यसअघि आइतबार सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग पनि अन्तरक्रिया सम्पन्न भएको थियो ।

यी हुन् राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको छ । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेकाे थियाे । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् । नेपालका उत्कृष्ट क्याम्पस सरकारले देशभरका उत्कृष्ट क्याम्पस छनोट गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा छनोट गरिएका तीनवटा क्याम्पस उत्कृष्ट ठहर्दै पुरष्कृत गरेको छ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस क्याम्पस, कास्की, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनभावना क्याम्पस, ललितपुर र विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी क्याम्पसहरूमध्ये  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज, सोल्टीमोड उत्कृष्ट भएका छन् । राष्ट्रिय स्तरमा उत्कृष्ट भएको क्याम्पसलाई २ लाख ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय सरकारले देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय छनोट गरी पुरष्कृत गरेको छ । स्कुललाई २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालयलाई छनोट गरिएको हो । जसमा दाङको तुलसीपुरमा रहेको श्री मा.वि. प्रथम, काठमाडौंको विश्व निकेतन मावि द्वितीय भएको छ भने दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालय तृतीय बनेका छन् । प्रथम भएको विद्यालयलाई शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र, द्वितीयलाई शिल्ड, ध्वजा र दुई लाख नगदसहित प्रमाणपत्र र तृतीयलाई शिल्ड, ध्वजा  र एक लाख नगदसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट निजी विद्यालय सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका- १५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुल भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट प्राविधिक शिक्षालय प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएको छ । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भर्‍याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट गरिएको हो । सबै शिक्षालयलाई एक लाख रकमसहित प्रमाणपत्र दिइएको छ । यस्तै, समाजमा रहेका बालबालिकालाई शिक्षा दिने संस्थालाई पनि पुरष्कृत गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालवालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरिरहेको काठमाडौंको मनोहरामा रहेको ‘युवा क्रियाकलाप उत्थान केन्द्र’ र ललितपुरको सी आशा फाउण्डेशनलाई सरकारले दुई लाख नगदसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट शिक्षक कर्मचारी शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारी पनि सम्मान भएका छन् । जसमा विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी ५ जना, सार्वजनिक विद्यालयका ७४ जना, निजी लगानीका ३२ जना, विद्यालय ववस्थापन समिति, बालविकास सहजकर्ता ३५ जना रहेका छन् । तीन सय विद्यार्थी विभूषित आज तीन सय विद्यार्थीलाई नेपाल विद्याभूषणबाट विभूषित गरिने भएकाे  छ । उच्च शिक्षातर्फ करिब तीन सय जना विद्यार्थी विभूषित गरिएको छ । जसमा नेपाल विद्याभूषण ‘क’ २ सय ६४ जना, नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रापदक ‘क’ १५ जनालाई दिइएको छ ।

महामन्त्री थापा दावी : शिक्षा ऐन छिटै टुंग्याउँछौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसदको सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको जानकारी दिए । उनले शिक्षा ऐन दशैंतिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए । महामन्त्री थापाले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउन सके छिटै शिक्षा विधेयक पारित हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । आईतबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताइन् । उनले हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिइन् । उनले मुलुकभर सञ्चालनमा रहेका यि संस्थाहरुलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको बताइन् । सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको जानकारी दिइन् । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको बताइन् । माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताइन् । मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिइन् । शिक्षालाई मान्व पुँजी निर्माण गर्ने मात्रै नभइ सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने बताइन् । उनले शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताइन् ।

शिक्षामा नेपाल अब अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताए । शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गरे । उनले नयाँ पुस्ताका बालबालिकाहरू असक्षम नरहेको भन्दै उनीहरूले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिए । शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताए । ‘अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ’, उनले भने । प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताए । शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने जानकारी दिए ।

शिक्षा दिवस : सिप र उद्यम नारामै सीमित, विद्यार्थी विदेश जान विवश

काठमाडौं । सरकारले बुधबार राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित विभिन्न ठाउँमा शिक्षा दिवस मनाइँदैछ । सरकारले यस वर्षको शिक्षा दिवसमा जुन किसिमको नारा राखेको छ त्यो भने नारामै सीमित छ । नेपालका शिक्षा प्रणाली न सिपमूलक देखिन्छ नत उद्यमशिलतामा जोड नै । परिणामस्वरूप कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीहरू सिप र पैसाका लागि विदेश जान विवश भइरहेका छन् । पछिल्लो समय नेपालको शिक्षा पद्धतिमै प्रश्न उठिरहेको बेला सरकारले यस पटकको शिक्षा दिवसमा ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारालाई अगाडि सारेको छ । शिक्षा क्षेत्रमा सिप र उद्यमको विषय जोडतोडका साथ उठिरहे पनि व्यवहारमा सार्थकता पाउन सकेको छैन । कतिपय निजी विद्यालय तथा कलेजले केही अभ्यास थाले पनि त्यो पर्याप्त छैन । सरकारी तथा सामुदायिक विद्यालयले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित राखेर किताबको कुरा घोकाउने परम्परागत शैली अपनाइएको छ । वर्षभरि लगाएर पाठ्यपुस्तक सकाउने र त्यसको परिणाम तीन घण्टाको परीक्षाबाट दिने प्रवृतिले सिप, उद्यम र मौलिकतालाई जोड दिएको पाइँदैन । आजभोलि प्रविधिसहितको शिक्षासँगै सिप र उद्यमशीलतासहितको शिक्षामा जोड दिइएको खासै पाइँदैन । कतिपय शैक्षिक संस्थाले सीप सिकाएपनि प्रयोग गर्ने ठाउँ नहुँदा अर्काे समस्या छ । यस्ता विविध कारणले विद्यार्थी विदेश पलायन हुनेक्रम बढिरहेको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक टीकाराम पौडेल धेरैजसो विद्यार्थीलाई भाषाकै कारण पनि पढाइमा समस्या भएको बताउँछन् । ‘एउटा बालकले घरमा बाआमाले जुन भाषा बोलेको छ, त्यही बुझ्छ । यहाँ घरमा एउटा, विद्यालयमा अर्को भाषा हुँदा बच्चाको बुझाइमा फरक पर्छ,’ उनी भन्छन्, ‘हामीले मौलिकताको कुरा गर्दा कला, भाषा र संस्कृति शिक्षामा समावेश गरेको पाइँदैन ।’ उनी सुदूरपूर्व र सुदूरपश्चिमका विद्यार्थी एसईई दिएर शहर पस्दा भाषाकै कारण एक वर्षसम्म समस्यामा पर्ने गरेको बताउँछन् । अहिले विद्यालयमा पनि मातृभाषाबाट पढाइ हुने कुराको चर्चा भएपनि विद्यालयमा लागु नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको प्राध्यापक पौडेल बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान आवश्यक पर्छ । पढाइ सकी सर्टिफिकेट लिने र पछि काम खोज्ने दिन अहिले नरहेको बताउँदै विज्ञहरू पढाइसँगै काम गर्नसक्ने सीप क्षमता विद्यार्थीमा हुनुपर्नेमा जोड दिन्छन् । शिक्षाविद् विद्यानाथ कोइराला अहिले पनि धेरै शैक्षिक संस्थामा पाठ्यक्रममा भन्दा पनि पाठ्यपुस्तकमा जोड दिएर सिकाइ हुने गरेको बताउँछन् । अहिले केही स्थानीय तहले आफ्नो परम्परागत, सिप र प्रविधि यस्तो छ भन्दै पाठ्यक्रम बनाएर सिकाएको बताउँदै शिक्षाविद् कोइरालाले केही संस्थाले प्रयास गरिरहेको जानकारी दिए । अर्का शिक्षाविद् विनय कुशियत नेपालको शैक्षिक प्रणालीमा शिक्षण सिकाइ हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी ज्ञान संज्ञानात्मकसँग मात्र जोड्ने गरेको बताउँछन् । उनले शिक्षाले सिप, अभिव्यक्ति, समालोचानात्मक सोंच विचारसँग जोड्नुपर्नेमा शैक्षिक संस्थाहरू ल्याब सामग्री, फिल्ड स्टडीमा अझै जान नसकेको उनी बताउँछन् । कोर्स पूरा गर्ने, शिक्षकले जानेको कुरा भटभट्याउने यसबाट विद्यार्थीले सिक्ने परम्पराबाट नेपालका शैक्षिक संस्था अझै चलेको बताउँदै शिक्षाविद् कुशियत यस्तो सिकाइबाट विद्यार्थी सिपमूलक शिक्षाबाट टाढिएको बताउँछन् । ‘शिक्षा प्रणालीमा जुन खालको सिकाइको प्रणाली छ, यसमा परिवर्तन गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि शिक्षकलाई त्यहीअनुसारको तालिम दिनुपर्छ, त्यहीअनुसारको सामग्री निर्माण गर्नुपर्छ । त्यो नहुँदासम्म सिकाइ राम्रो हुँदैन ।’ केही शैक्षिक संस्थाको प्रयास प्राध्यापक टीकाराम पौडेल पहिलेको भन्दा अहिले सरकारी र निजी विद्यालयले सिपलाई जोड दिन थालेको बताउँछन् । उनी १० वर्षयता हेर्दा सिकाइमा सुधार भएको बताउँछन् । काठमाडौं महानगर, बुटवल उपमहानगरलगायत केही ठाउँमा विद्यालय तहको शिक्षा राम्रो भइरहेको बताउँदै उनले ती ठाउँका विद्यार्थीको एसईईको नतिजा पनि राम्रो आएको बताए । प्राध्यापक पौडेलले भने, ‘केही ठाउँका विद्यालयमा अपेक्षा गरेअनुसारको सुधार हुन सकेको छैन । तर, पहिलेको भन्दा अहिले व्यावहारिक शिक्षामा जोड दिएको पाइन्छ ।’ अक्सब्रिज कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगाना अहिले धेरैजसो संस्थाले विद्यालय शिक्षादेखि नै उद्यमशीलता र सीपसँग जोडेर अध्यापन गराइरहेको बताउँछन् । सीप, संस्कार अनि प्रविधिसहितको शिक्षा आजको आवश्यकता भन्ने प्याब्सनकै नारा रहेको बताउँदै उनले विद्यार्थीको प्रविधिसहितको सिपमा बढी जोड दिएको बताए । ‘अहिले पाठ्यक्रममै प्राक्टिकल नम्बर राख्नुपर्ने तय छ, यसो हुँदा पनि विभिन्न शैक्षिक संस्थाले सिपलाई जोड दिएका छन्,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘यो कुरालाई विद्यार्थीको व्यवहारमा उतार्ने किसिमले विभिन्न विधाजस्तै खेलकुदका विधा, गीत संगीतका विधा जहाँबाट विद्यार्थी गरिखान सक्छन्, त्यही विधामा संस्थाले जोड दिएका छन् ।’ उनी अहिले कक्षाकोठाको पठनपाठन मात्र सिकाइको आधार हो भन्ने कुराबाट बाहिर आएर विद्यार्थीसँग सीप आवश्यक छ भन्ने कुरामा सञ्चालकहरूको ध्यान दिएको बताउँछन् । अहिले निजी क्षेत्रमा अधिकांश विद्यालयले शैक्षिक क्यालेण्डरमा र वार्षिक शैक्षिक योजनामा सीपसँग जोडिएका पाठ्यक्रम डिजाइन गरेर अघि बढिरहेको जानकारी दिए । केही वर्षभित्र सबै विद्यालयले यसको सिको गर्ने अध्यक्ष ढुंगानाको दाबी छ । ’सबै ठाउँ एकनास नहुन सक्छ,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘शहरमा प्रविधिको कुरा, ग्रामीण क्षेत्रमा कृषिका कुरा, हिमाली भेगमा जडीबुटीका विषय होलान् । सीप विकाससँग जोड्ने ठाउँ अनुसारका कुरा बिस्तारै आउँछन्, अहिले एक किसिमको सुरुवात चाहिं भएको छ । ’ हुनुपर्ने के हो ? अहिले सिप र सिकाइको कुरा गर्दा प्रविधिको कुरा धेरै सुनिन्छ । यो अहिलेको आवश्यकता पनि हो । सिप प्रविधिभित्रको विज्ञान के हो ? गणित के हो ?, सामाजिक के हो ?, अर्थशास्त्र के हो ? त्यसको राजनीति के हो ? त्यसको सांस्कृतिक के हो ? भन्नेबारे जानकारी हुन आवश्यक हुने जानकारहरू बताउँछन् । विद्यार्थीलाई आफ्नो मौलिक ज्ञान जुन छन् ती के–कस्ता छन् ?, कृषिमा के ज्ञान छ ? शिक्षा, स्वास्थ्य , प्रविधि, विज्ञानमा के छन् वा नैतिकताको कुरामा के छन् भन्ने विषयमा जानकारी गराउनु उत्तिकै आवश्यक छ । शिक्षाविद् कोइराला अहिले केही न केही मानिसले आंशिक रूपमा खोज्ने प्रयास गरिरहेको बताउँछन् । ‘चाहे संगीतको कुरा होस् या वाद्यवादनको या कुनै अरू क्षेत्र । केहीले प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘ती छुटफुट मान्छेले खोजिरहेका कुरालाई संकलन गरेर त्यसलाई अगाढि बढाउने ठाउँ नहुँदा झन समस्या हुने गरेको छ ।’ कतिपय नेपालीले वाद्यवादनका थुप्रै कुरा संकलन मात्र नभइ मौलिक सामग्रीको संकलन गर्दा पनि लगेर राख्ने कहाँ भन्ने टुंगो नभएको उनले बताए । पीएचडी गरिरहेका केही व्यक्तिले भने अहिले यस्ता खालका खोज गरिरहेका छन् । छिटफुटरूपमा कुनै व्यक्तिले यस्तो खोजी गरेको भएपनि शैक्षिक संस्थाबाट भने यस्तो कुनै काम गरेको पाइँदैन । के हुन्छ स्थानीय तहको भूमिका ? अहिले शिक्षालाई कस्तो बनाउने, कस्तो सिप आफ्नो पालिकाभित्रका विद्यार्थीलाई आवश्यक छ भन्ने विषयमा जानकार हुन स्थानीय तहलाई आवश्यक देखिन्छ । कस्ता विद्यालय बनाउने ? ती विद्यालयबाट कस्ता विद्यार्थी बनाउने ? भन्ने अधिकार स्थानीय तहलाई छ । यस्तो कार्यको चासो जो सुकैले गर्दा हुन्छ । तर यसको संयोजन पालिकाले गर्नुपर्छ । संविधानले यो अधिकार अहिले स्थानीय तहलाई दिएको छ । यो अधिकारबाट स्थानीय तहले ज्ञान, सीप र प्रविधिको कुरा खोज्नुपर्ने शिक्षाका जानकारहरू बताउँछन् । नेपालको संविधानको धारा ४० ले दलितका सीपहरूमा भएको सीपलाई उद्यमीकरण अनि आधुनिकीकरण गर्ने आदि इत्यादि भनेको छ । यो कार्यान्वयन गर्नुपर्ने काम पालिकाको हो । पालिकाले विद्यालय, शिक्षकहरूसँग सहकार्य गरेर यो काम गर्न सक्यो भनेमात्र विद्यार्थीले सीप सिक्न सक्ने कोइरालाको सुझाव छ । शिक्षाविद् कुशियत यो सबै कुरा गर्नुपर्ने काम भनेको स्थानीय तह र शिक्षकको भएको बताउँछन् । उनी भन्छन्, ‘शिक्षक मोटिभेट हुनुपर्‍याे, आफैले पनि विधि छान्नुपर्‍याे‍ र पाठ्यक्रमले पनि त्यहीअनुसारको सामग्री निर्माण गर्नुपर्‍याे र तिनै सामग्रीबाट सिकाइनुपर्‍याे । यसो गर्न सक्यो भने हामीले सोंचेजस्तो र चाहेजस्तो शिक्षासहितको सीप दिन सकिन्छ ।’

भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै, उत्कृष्ट विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइने

काठमाडौं । नेपाल सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ । दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचारप्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । २०८० सालको कक्षा १२ को नतिजा मूल्यांकनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइनेछ । राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्डसहित क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार दिइने छ । साथै, प्रमाणपत्र पनि वितरण गरिनेछ । प्राविधिक शिक्षालयलाई पनि पुरस्कृत गरिने भएकाे छ । प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षालयलाई पुरस्कृत गरिने भएकाे हाे । परिषद्‌ले गरेको मूल्याङ्‌कन तथा सिफारिसको आधारमा विभिन्न चारवटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालयअन्तर्गत आङ्गिक¸ सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीनवटा क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएकाे छ । त्यस्तै, उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक १५ जनालाई प्रदान गरिनेछ । यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा शिक्षालाई ज्ञानमा आधारित, विज्ञानमैत्री, सिप विकासमा केन्द्रित, उद्यमशीलता प्रवर्द्धन गर्ने र मौलिकतालाई जोगाउनेतर्फ उन्मुख गर्ने, शिक्षा प्रणालीले शिक्षालाई समयानुकूल बनाउने र २१औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।