मर्मत शुल्क तिरेर गाडी लैजान गो अटोकेयरको ताकेता, १५ दिनभित्र नलिए कवाडीमा मिल्काइने

काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो । कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ । उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च (मर्मत शुल्क, पार्किङ शुल्क) भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ । यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ । कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् ।

हस्तलिखित बैंकिङदेखि अटोमेसनसम्म, आधा खर्ब पुग्यो राष्ट्रिय वाणिज्य बैंकको पुँजी कोष

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ । यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुआत गरेको छ । वित्तीय सुधार कार्यक्रम कार्यान्वयनमा आएपछि  निरन्तर मुनाफा हासिल गर्न सफल भएको बैंकद्वारा बुधबार जारी विज्ञप्तिमा सो जनाइएको छ  । बैंकको सञ्चालनगत एवम् व्यवस्थापकीय कार्यदक्षतालाई वार्षिकरूपमा आर्जन हुने नाफाले प्रतिविम्बित गर्दछ । विसं २०५८ मा लागू भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रमुख परिसूचकहरूमा बैंकले उल्लेख्य सुधार गर्दै आइरहेको  विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंक लि विसं २०२२ माघ १० गते स्थापना भएको बैंक साविक राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापना भई बैंकसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार विसं २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यस बैंकले वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्दै आएको छ । गत आव २०८०/८१ मा रु दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकले आव २०७५/७६ देखि नै बैंकिङ क्षेत्रमा उल्लेखनीय मुनाफा आर्जन गर्दै मुनाफा आर्जनलाई निरन्तरता दिएको छ । आर्जित नाफाबाट आव २०७५/७६ मा १२.० प्रतिशत नगद लाभांश, आव २०७६/७७ मा ४.५० प्रतिशत (२ प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश), आव २०७७/७८ मा ३३.० प्रतिशत (३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश), आव २०७८/ ७९ मा १२.५० प्रतिशत (५.० बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश) र आव २०७९/८० मा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनीलाई समेत प्रतिफल दिन सफल भएको बैंकले जनाएको छ । बैंकका अनुसार २०८१ असार मसान्तमा बैंकको अधिकृत सेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी रु. १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । व्यवसाय विस्तारको परिणामस्वरूप हासिल गरिएको नाफाको बाँडफाँट तथा सम्पत्तिको पुनःमूल्याङ्कनबाट कोषहरूको वृद्धिसँगै २०८१ असार मसान्तमा बैंकको पुँजी कोष रु ५२ अर्ब चार करोड पुगेको बैंकले जनाएको छ । निक्षेपको आयतन नै बैंकउपर निक्षेपकर्ताले गरेको विश्वासको प्रतिविम्ब भएको विज्ञप्तिमा उल्लेख छ । बैंकले सर्वसाधारण तथा संस्थागत गरी करिब ४५ लाख ५० हजारभन्दा बढी निक्षेपकर्ताहरूबाट आव २०८१/८२ को पुस मसान्तसम्ममा रु चार खर्ब ४७ अर्ब ३२ करोड निक्षेप परिचालन गरेको छ । बैंकले समाजका हरेक वर्गका सर्वसाधारण तथा उद्यमी व्यवसायीसम्म वित्तीय सेवा पुर्‍याउने हेतुले राष्ट्रव्यापी शाखा सञ्जालद्वारा भौतिक एवम् डिजिटल प्रविधिमार्फत विभिन्न वर्ग, पेसा, व्यवसाय, लिङ्ग आदि लक्षित आकर्षक र नवीनतम बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । सरकारको प्रमुख सहयात्री  सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखानियन्त्रक कार्यालयमध्ये ५०, प्रदेश सरकारका ७७ मध्ये ५१, एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार यसै बैंकमार्फत हुने गरेको जनाएको छ । यस्तै बैंकले राजस्व सङ्कलन गर्ने प्रयोजनका लागि शाखा तथा विस्तारित काउन्टरका साथै अन्य सबै शाखा सञ्जालमार्फत सरकारको राजस्व सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । समग्रमा नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यसै बैंकमार्फत हुँदै आएको छ । सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट सेवानिवृत्त एक लाख ६० हजारभन्दा बढी व्यक्तिहरूको निवृत्तिभरण भुक्तानी गर्ने सो बैंकको निवृत्तिभरण भुक्तानीमा ६० प्रतिशतभन्दा बढी हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ । समयानुकूल प्रविधिमैत्री प्रणालीमार्फत कारोबार गर्दै जाने नेपाल सरकारको योजनामा हातेमालो गर्दै बैंकले आफ्नो बैंकिङ प्रणालीलाई सोहीअनुरूप परिमार्जन गर्दै लगेको छ । साथै सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको भुक्तानीसम्बन्धी अधिकांश कारोबार यसै बैंकमार्फत हुने गरेको छ । पञ्चवर्षीय राणनीतिक योजना २०२०-२०२५ तयार गरी कार्यान्वयनमा ल्याइसकेको बैंकले आर्जन गरेको नाफाबाट प्रचलित कानुनबमोजिम सरकारलाई आयकर भुक्तानी गर्नुका साथै ब्याज कर तथा स्रोतमा करकट्टीलगायतका कार्य गरी सरकारको राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्दै आएको छ । आयकरबापत सरकारलाई गत आव २०८०/८१ मा रु एक अर्ब ७५ करोड, आव २०७९/८० मा रु दुई अर्ब १८ करोड, आव २०७८/७९ मा रु एक अर्ब ७९ करोड ४० लाख दाखिला गरेको छ भने आव २०७४ / ७५ मा बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्येमा सबैभन्दा बढी आयकर दाखिला गरेबापत आठौं राष्ट्रिय कर दिवस २०७६ का अवसरमा सरकारबाट सम्मानप्राप्त गरेको छ । सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुई सय ९४ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ शाखारहित बैंकिङ एकाइमार्फत बैंकले आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संरचनाअनुरूप सातै प्रदेशमा प्रादेशिक कार्यालयमार्फत ग्राहक सेवालाई छिटो र प्रभावकारी बनाइएको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरूप चालु आवसम्ममा शाखा सङ्ख्या ३३० पु¥याउने लक्ष्य रहेको बैकले जनाएको छ । ग्राहक, विभिन्न तहका सरकार, नियामक निकाय तथा सर्वसाधारणको सहयोग तथा भरोसाका कारण यो बैंक ठूलो शाखा सञ्जालसहित अग्रणी वाणिज्य बैंकका रूपमा सञ्चालित छ । रोजगारी सिर्जनामा योगदान प्रत्यक्षरूपमा करिब तीन हजार जनशक्तिलाई रोजगारी प्रदान गरेको यस बैंकले स्थापनाकालदेखि नै बैंकका लागि आवश्यक जनशक्ति परिपूर्तिमार्फत रोजगारी सिर्जना गर्दै आएको छ । बैंकले प्रवाह गरेको कर्जामार्फत राष्ट्रिय उत्पादनको वृद्धि तथा बढ्दो आर्थिक गतिविधिकोे परिणामस्वरूप अप्रत्यक्षरूपमा रोजगारी सिर्जना हुन गई गरिबी निवारणमा समेत सकारात्मक योगदान गरेको बैंकले जनाएको छ । बैंकले लघु, साना, कृषि तथा सहुलियतपूर्ण कर्जा लगानीमार्फत ऋणी तथा निजका परिवारलाई स्वरोजगार बनाउँदै लगेको छ । चालु आवको कार्यक्रममा स्थानीय सीपको प्रयोगमार्फत ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सिर्जना तथा स्थानीय जीवनस्तर सुधारका लागि ‘ग्रामीण जीवनमा सुधार, एसएमई कर्जाको विस्तार’ कार्यक्रम तय गरी कार्य प्रारम्भसमेत गरिसकेको जनाइएको छ । बैंकले स्थापनाको सुरुआतदेखि लामो समयसम्म हस्तलिखित खाता प्रणालीबाट कारोबारको हिसाबकिताब राख्दै आएकोमा विसं २०६० देखि आरबिबी एसवाइएस बाट कारोबारलाई कम्प्युटर प्रणालीमार्फत अटोमेसन गर्ने कार्य सुरु गरेको र हालको कारोबार प्रणालीलाई समेत समयसापेक्ष सुधार गर्न आइटी इन्हासमेन्ट रोडम्याप तयार गरी सोको कार्यान्वयनमार्फत कारोबार प्रणालीको स्तरवृद्धि गर्ने चरणमा रहेको छ । प्रविधिमा आधारित अत्याधुनिक वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिई मौजुदा प्राविधिक पूर्वाधारको स्तरोन्नतिका लागि बैंकले योजनाबद्ध रूपमा लगानी वृद्धि गर्दै आएको बैकले जनाएको छ । आव २०७९/८० र आव २०८०/८१ मा समेत बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी डिजिटल कारोबार( सरकारी कारोबार समेत) गरेबापत नेपाल क्लियरिङ हाउसबाट प्रोत्साहन प्राप्त गरिरहेको छ । बैंकले समाजप्रतिको बृहत्तर उत्तरदायित्व निर्वाह गर्ने क्रममा दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, देशको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा वातावरण सम्वद्र्धन तथा संरक्षण, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिक स्तरवृद्धिका लागि विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम, सामाजिक संस्था/पार्क व्यवस्थापन कार्यमा सहकार्य, स्थानीय निकाय, क्लब तथा सामाजिक संस्थासँगको सहकार्यमा अन्य सामाजिक कार्यमा उल्लेखनीय आर्थिक सहयोग पुर्‍याउँदै आएको छ । यसै वर्ष असोज महिनामा आएको बाढीबाट प्रभावितलाई राहत तथा उद्धारका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड रकम सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमबमोजिम राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि, जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि पुँजी उपलब्ध गराउने, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका लागि महिला उद्यमशील कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जालगायतका विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा तथा आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै पक्षलाई समेट्ने गरी व्यावसायिक/परियोजना कर्जा तथा उपभोक्ता कर्जा योजनाहरूमार्फत २०८१ पौष मसान्तसम्ममा दुई लाखभन्दा बढी ग्राहकलाई रु दुई खर्ब ७९ अर्ब ५७ करोड कर्जा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जा विगत वर्षहरूदेखि क्रमिकरूपमा घट्दै गइरहेकोमा हाल बैंकिङ प्रणालीमा नै निष्क्रिय कर्जाको अनुपात वृद्धि भइरहेको अवस्थामा २०८१ असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत बिन्दुमा रहेकोे बैकले जनाएको छ । विज्ञप्तिमा वित्तीय बजारमा प्रतिस्पर्धी रहिरहन बैंकले पुँजी आधार तथा व्यावसायिक क्षमता विस्तार, बैंकिङ सेवाको गुणस्तरमा वृद्धि, आवश्यक नीति नियमको तर्जुमा, सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष सुदृढीकरण, बैंकिङ तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, डिजिटल तथा भौतिक माध्यममार्फत वित्तीय सेवा पहुँचमा विस्तार, सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण, कर्मचारीको कार्यदक्षता अभिवृद्धि, रेमिट्यान्स कारोबारमा बैंकको हिस्सा वृद्धि,  सरकार तथा नियामक निकायका नीति नियमको पूर्णपालना गरी सरल, पारदर्शी, प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको  उल्लेख छ ।

अमेरिकामा दुई अटोमेकरमाथि भेदभाव र दुर्व्यवहारको आरोपमा मुद्दा दायर

काठमाडौं । अमेरिकी समान रोजगार अवसर आयोग (ईईओसी) ले शुक्रबार दुई ठूला अटोमेकरविरुद्ध मुद्दा दायर गरेको छ । जनरल मोटर्स (जीएम) र युनाइटेड अटो वर्क्सर (यूएडब्लू) माथि उमेरका आधारमा भेदभाव गरेको र स्टेलान्टिसको क्राइस्लर एकाइले महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । जीएम र यूएडब्लूमाथि अक्टोबर २०१९ देखि सामूहिक बार्गेनिङ सम्झौताअन्तर्गत बिरामी र दुर्घटना लाभको नीति कायम राखेको आरोप छ, जसले सामाजिक सुरक्षा लाभ पाउने वृद्ध कर्मचारीहरूलाई कम भुक्तानी गर्छ । ईईओसीले भनेको छ कि राष्ट्रव्यापी रूपमा कम्तीमा ५० जीएम सुविधाहरूलाई समेट्ने यो नीतिले ६६ वर्ष र सोभन्दा माथिका कर्मचारीहरूमाथि भेदभाव गर्छ, जुन संघीय रोजगारमा उमेर भेदभाव ऐनको उल्लंघन हो । यसैबीच, स्टेलान्टिसको एफसीए यूएस एकाइमाथि डिसेम्बर २०२० देखि डेट्रोइटको एक एसेम्बली प्लान्टमा महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको र नेतृत्व भूमिकामा रहेका केही पुरुष सुपरभाइजर र सहकर्मीहरूबारे उनीहरूको गुनासो नियमित रूपमा बेवास्ता गरेको आरोप लागेको छ । ईईओसीले कथित दुर्व्यवहारमा अनुपयुक्त छुवाइ र यौनजन्य टिप्पणीहरू समावेश भएको र एफसीएले पुरुष दुर्व्यवहारकर्ताहरूलाई अनुशासनमा नल्याएकोले नागरिक अधिकार ऐन १९६४ को शीर्षक भीआईआई उल्लंघन भएको जनाएको छ । जीएमले आफ्नो उजुरी समीक्षा गर्न बाँकी रहेको भन्दै तत्काल कुनै टिप्पणी गरेको छैन । जीएम र यूएडब्लूविरुद्धको मुद्दाले ६६ वर्ष र माथिका कामदारहरूले पाउनुपर्ने तर नपाएका लाभहरू फिर्ता दिलाउन खोजेको छ भने एफसीएविरुद्धको मुद्दाले डेट्रोइट प्लान्टका महिला कर्मचारीहरूका लागि क्षतिपूर्ति र दण्डात्मक क्षतिपूर्ति खोजेको छ । दुवै मुद्दाले थप गलत आचरणविरुद्ध स्थायी निषेधाज्ञा पनि खोजेका छन् । जीएम र यूएडब्लूविरुद्ध न्यू अल्बानी, इन्डियानाको संघीय अदालतमा मुद्दा दायर गरिएको छ भने एफसीएविरुद्ध डेट्रोइट संघीय अदालतमा मुद्दा दायर गरिएको छ । यी मुद्दाहरू बाइडेन प्रशासनको अन्तिम दिनहरूमा विभिन्न संघीय एजेन्सीहरूले गरेका कानुनी कारबाहीको श्रृंखलाको हिस्सा हुन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि ईईओसीको कार्यान्वयन प्राथमिकताहरू कसरी परिवर्तन हुन्छन् भन्ने कुरा अस्पष्ट छ ।

नेक्स्ट जेनेरेसन फ्लाइङ कार विकास गर्न ईहांग र चांगान अटोमोबाइलबीच रणनीतिक साझेदारी

काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (यूएएम) टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवं दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ । चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ (इभीटीओएल) विमान र नवीन हवाई कारहरूसहित फ्लाइङ कारका उत्पादनहरूको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने छ । हवाई सवारीसाधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर-उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै ईहांगको इभीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ । चीनको दोस्रो ठूलो अटोमेकर चांगान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरू र बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । ईहांगले इभीटीओएलको विमान डिजाइन, उत्पादन, प्रमाणीकरण र सञ्चालनको नेतृत्व गर्दछ । यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्यउन्मुख डिजाइन र बजार प्रतिस्पर्धाको साथमा उड्ने कारहरूको विकासको मार्गप्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवर्द्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको इभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रूत बनाउने उल्लेख छ । चांगानको बारेमा दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता चांगान अटोमोबाइल १६० वर्षभन्दा बढीको विरासत भएको सबैभन्दा पुरानो कार निर्माता हो । १० विश्वव्यापी उत्पादन आधारहरू र ३५ विश्वव्यापी अनुसन्धान र विकास केन्द्रहरू भएको चांगानले ४ मिलियन एनईभी (नयाँ ऊर्जा वाहन) सहित २२ मिलियनभन्दा बढी सवारीसाधनहरूको उत्पादन गरेको छ । आफ्नो अत्याधुनिक प्रविधि, सुरक्षा आविष्कार र प्रिमियम डिजाइनहरूका लागि प्रख्यातचांगान स्मार्ट र उच्च प्रदर्शन गर्ने सवारीसाधनहरूको साथमा दिगो गतिशीलताको भविष्यलाई चलायमान बनाउन समर्पित छ ।

अटोमेटिक गाडीको प्रवर्धनमा कम्पनीलाई संघीय सरकारको आवश्यकता, बाधा हटाउने ट्रम्पको चाहना

काठमाडौं । स्वचालित सवारीसाधन कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक समूहले मंगलबार अमेरिकी सरकारलाई स्वचालित सवारीसाधनहरूको विकासलाई तीव्र बनाउन र अवलम्बनमा रहेका अवरोधहरू हटाउन थप कदम चाल्न आग्रह गरेको छ। स्वचालित सवारीसाधन उद्योग संघका प्रमुख जेफ फराहले भने, ‘सवारीसाधनको डिजाइन, निर्माण र प्रदर्शनको सन्दर्भमा संघीय सरकारले नेतृत्व गर्नुपर्छ र हामीले पछिल्ला वर्षहरूमा संघीय सरकारबाट पर्याप्त कार्य देखेका छैनौं।’ यस समूहमा भोल्क्सवागन, फर्ड, अल्फाबेटको वेमो, अमेजनको जूक्स, उबर लगायतका कम्पनीहरू समावेश छन् । समूहले अमेरिकी यातायात विभागलाई स्वचालित सवारीसाधनहरूको डिजाइन, निर्माण र प्रदर्शनमा आफ्नो जिम्मेवारी लिन र मुख्य क्षेत्रहरूमा आफ्नो प्रयासहरू बढाउन आग्रह गर्दै एक नीति रूपरेखा जारी गरेको छ। समूहले संघीय स्तरमा कार्यको अभावले नियामक अनिश्चितता सिर्जना गरेको र चीनले स्वचालित सवारीसाधन प्रविधिमा अमेरिकाको अग्रता लिन दृढ रहेको चेतावनी दिएको छ । फराहले भने, ‘हामी सुनिश्चित गर्न चाहन्छौं कि यी नयाँ पुस्ताका सवारीसाधनहरू सडकमा ल्याउन स्पष्ट मार्ग होस्। हामी प्रगतिमा भएको अभावबाट निराश छौं ।’ डिसेम्बर २०२३ मा समूह र अन्यहरूले अमेरिकी यातायात विभागलाई थप कार्य गर्न आग्रह गरेका थिए । यातायात सचिव पीट बुटिगिगले सोमबार एक अन्तर्वार्तामा सरकार स्वचालित सवारीसाधनहरू मानव चालकहरूभन्दा धेरै राम्रो बनाउन सुनिश्चित गरिरहेको बताएका थिए । अक्टोबर २०२३ मा जनरल मोटर्सको क्रूज सवारीसाधनले एक पैदल यात्री गम्भीर घाइते बनाएपछि उद्योगले निगरानीको सामना गरिरहेको छ । अमेरिकी यातायात विभागले क्रूज, वेमो, र जूक्सद्वारा सञ्चालित स्वचालित सवारीसाधनहरूको अनुसन्धान सुरु गरेको छ । स्वचालित सवारीसाधन समूहले युनाइटेड स्टेट कंग्रेसलाई प्रदर्शन मापदण्डहरू पूरा गर्ने स्वचालित सवारीसाधनहरूमा मानव नियन्त्रण आवश्यक नभएको स्पष्ट पार्न र कम्पनीहरूलाई स्वचालित सवारीसाधनहरूको म्यानुअल नियन्त्रणलाई निष्क्रिय गर्न अनुमति दिन चाहन्छ । यसले राज्य यातायात एजेन्सीहरूलाई उपलब्ध गराउन राष्ट्रिय स्वचालित सवारीसाधन सुरक्षा डाटा भण्डार सिर्जना गर्न पनि आह्वान गरेको छ । विभिन्न सञ्चारमाध्यमहरूले ट्रम्पले स्वचालित सवारीसाधनहरूको विकासका लागि बाधाहरू हटाउन चाहन्छन् भनेर रिपोर्ट गरेका छन् ।  ट्रम्पका निकट सल्लाहकारसमेत रहेका टेस्लाका सीईओ एलन मस्कले अक्टोबरमा अटोमेकरले २०२५ मा चालकविहीन राइड-हेलिङ सेवाहरू सुरु गर्ने बताएका थिए । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको छ । गत वर्ष कम्पनीको बिक्री ४१ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवधिमा कम्पनीले कूल ४२ लाखभन्दा बढी गाडी बिक्री गरेको छ । यो कम्पनीले विद्युतीय र हाइब्रिड सवारीसाधन उत्पादन गर्दै आइरहेको छ । गत वर्ष कम्पनीले १७.९ लाख ईभीहरू बेचेको थियो र एलन मस्कको टेस्लालाई उछिन्न नजिकै पुगेको थियो । टेस्लाको बिक्री १० वर्षभन्दा बढीमा पहिलो पटक घटेको छ । कम्पनीले यस अवधिमा १७.९ लाख सवारीसाधन बिक्री गरेको थियो भने सन् २०२३ मा १८ लाख सवारीसाधन बिक्री गरेको थियो । बीवाईडीको उदयले संसारभरका अटो कम्पनीहरूको निद्रा बिथोलेको छ । हालै जापानका दुई ठूला कम्पनीले मर्जरको घोषणा गरेका छन् । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । चीनमै ९० प्रतिशत बिक्री बीवाईडीले आफ्ना ९० प्रतिशत कार चीनमा बेच्दै आइरहेको छ, जुन टेस्लाका साथै जर्मनीको फक्सवागन र जापानको टोयोटाका लागि महत्त्वपूर्ण बजार हो । चीनमा कडा प्रतिस्पर्धा र सरकारी अनुदानका कारण ईभीको माग बढिरहेको छ । फक्सवागन, फर्ड र जनरल मोटर्सले बिक्री लक्ष्य घटाएका छन् । हालै जापानी अटो कम्पनी होन्डा र निसानले मर्जरका लागि वार्ता सुरु गरेका छन् । चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता अक्टोबरमा युरोपेली संघ (इयू) ले चीनबाट ईभी आयातमा ४५.३ प्रतिशत ट्यारिफ लगाएको थियो । अमेरिकाले पनि चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अझै बढाउने धम्की दिएका छन् । यसका बावजुत पनि बीवाईडी धेरै देशमा आफ्नो उपस्थिति बढाउँदैछ । यो कम्पनीमा के छ जसले विश्वव्यापी अटो उद्योगको निद्रा बिथोलेको छ ? कम्पनीले ब्राजिल, हंगेरी, थाइल्याण्ड र उज्वेकिस्तानमा एसेम्बली लाइन निर्माण गरिरहेको छ । यसले इन्डोनेसिया र मेक्सिकोमा पनि एसेम्बली लाइन खोल्ने योजना बनाएको छ । गत वर्ष मस्कले चिनियाँ कम्पनीसँग विश्वका अधिकांश कम्पनी ध्वस्त पार्ने क्षमता रहेको बताएका थिए । बीवाईडीको स्थापना बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो । अमेरिकी अधिकारीको अपमान २००३ मा बीवाईडीले कार निर्माण गर्ने एउटा कारखाना किन्यो । सुरुवातमा उसले धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो । २००७ को कुरा हो, बीवाईडीले कार निर्माण गर्दै थियो  । उसले आफ्नो सबैभन्दा नयाँ मोडेल ग्वाङ्झाउ अटो शोमा प्रदर्शनीका लागि राखेको थियो । त्यतिबेला अमेरिकी अधिकारीहरूले यसको धेरै मजाक उडाएका थिए । कारण थियो कि उक्त कारमा रंग पनि ठीकसँग लगाइएकाे थिएन र यसको ढोका पनि ठीकसँग फिट भएको थिएन । बीवाईडीको लोकप्रियता २००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजनासमेत बनाइसकेको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीको छ । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा कृत्रिम बौद्धिकता  (एआई)लाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिब १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । सम्बन्धित सामग्री :  होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी

अटोमोबाइलका १९ व्यवसाय बन्द, व्यवसायी पलायन हुँदा सङ्कटमा अटो क्षेत्र

काठमाडौं । आर्थिक लगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् । सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सङ्घ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन् । ‘अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्,’ उनले भने, ‘पहिले करिब ५ सय जना यस क्षेत्रमा कार्यरत थिए, अहिले जम्मा २२५ जनाले मात्र रोजगारी पाएका छन् ।’ खस्कँदो व्यापारका कारण व्यवसायी पलाउन हुने क्रम अझै नरोकिएको अध्यक्ष शाहले बताए । अटोमोबाइल क्षेत्रका व्यवसायीको संरक्षणका लागि राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने उनको माग छ । व्यवसायी पलायन हुने अवस्था कायमै रहेका कुनै दिन अटोमोबाइल व्यवसाय नै सङ्कटमा पर्ने धेरैको भनाइ छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न थोरै भए पनि योगदान पुर्‍याइरहेका अटोमोबाइल व्यवसायीको हितमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ । ‘व्यवसायी पलायनको दर हेर्दा चिन्ताजनक अवस्था छ । सङ्घमा गाडी, मोटरसाइकललगायत अटो क्षेत्रका व्यवसायी आबद्ध छन् । अटोमोबाइल मात्र नभएर अन्य क्षेत्रमा पनि आर्थिक मन्दीले प्रत्यक्ष असर पुर्‍याएको छ । सटर भाडासमेत तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा कतिपय व्यवसायी पुगेका छन् । त्यसैले सरकारले सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएर व्यवसाय संरक्षण गर्न आवश्यक छ,’ उनले भने । बुधबार सङ्घले सदरमुकाममा सञ्चालित ग्यारेज र वर्कशपहरूलाई सरसफाइका लागि डस्टबिन वितरण गर्ने कार्यक्रममा धेरैजसो व्यवसायीले यस्तै गुनासो गरेका थिए । त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले ‘सफा बागलुङ नगर’को अभियानलाई सघाउन नगरवासीसमक्ष आग्रह गर्नुभयो । उनले व्यवसायीका समस्याबारे आफूहरूको ध्यानाकर्षण भएको बताए ।

टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो । गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ । यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्‍यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो । यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ । चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ । इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ। भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ । टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।

होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने

काठमाडौं । जापानी अटोमोबाइल  कम्पनी निसान मोटरका सेयर बुधबार ऐतिहासिक उचाइमा पुगेको छ । वित्तीय समस्यामा रहेको निसान मोटर होन्डा मोटरसँग मर्जरको तयारी गरेको मिडिया रिपोर्टपछि सेयर बढेको हो । यस्तो मर्जरले ठूला प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो बजारमा लगानी गर्न सक्षमता प्रदान गर्ने बुझिएको छ । फ्याक्टसेटको डाटाअनुसार निसानका सेयर २३.७ प्रतिशतले वृद्धि भएको हो, जुन सन् १९८५ पछि अहिलेसम्मकै उच्च वृद्धि हो । यसैबीच, होन्डाको सेयर भने ३ प्रतिशतले घट्यो । निक्केई पत्रिकाको रिपोर्टअनुसार निसान र होन्डा एक होल्डिङ कम्पनीअन्तर्गत सञ्चालन गर्ने र मित्सुबिशी मोटर्सलाई समेत समेट्ने सोचमा छन् । मित्सुबिशीमा निसानसँग २४ प्रतिशत सेयर छ । सीएनबीसीसँग कुरा गर्दै फ्रोस्ट एण्ड सुलिभान अनुसन्धान फर्मका ग्लोबल क्लाइन्ट लिडर फर मोबिलिटी विवेक वैद्यले निसानको कमजोर वित्तीय प्रदर्शन मर्जरको प्रमुख कारण भएको बताए । गत नोभेम्बरमा निसानले आफ्नो राजस्व र सञ्चालन लक्ष्य घटाएको थियो । प्रमुख बजारहरूमा बढ्दो प्रतिस्पर्धाको कारण कम्पनीले ९ हजार जागिर कटौती गर्ने र उत्पादन क्षमतामा २० प्रतिशत कटौती गर्ने योजना पनि सार्वजनिक गरेको थियो । अटोफोरकास्ट सोल्युसन्सका अध्यक्ष तथा सीईओ जो मकेबले रेनोसँगको सम्बन्ध डगमगिएपछि निसानले नयाँ बाटो खोजेको बताए । एक विज्ञप्तिमा निसानले होन्डासँग ‘मर्जर हुने कुरा’ कम्पनीको घोषणामा आधारित नभएको बताएकाे छ । निसानले होण्डा र मित्सुबिशी मोटर्ससँग भविष्यमा सहकार्यका विभिन्न सम्भावनाहरू विचार गरिरहेको तर कुनै निर्णय ‍नभएको जनाएको छ । वैद्यले भने, ‘मर्जरले तीन अटोमेकरहरूलाई प्रविधिमा पहुँच, नवीनताका जोखिम न्यूनीकरण र लागत सुधार गर्न सहयोग गर्नेछ ।’ साथै, मर्जरले पेट्रोल इन्जिन सवारीसाधन, हाइब्रिड, विद्युतीय र हाइड्रोजन सवारीसाधनहरूमा काम गर्ने बताइएको छ । वैद्यले कार निर्माताहरूले हाल आईसीई भेहिकल र ब्याट्रीबाट चल्ने ईभी दुबैमा लगानी गरिरहेको अवस्थामा जापानको दोस्रो ठूलो कार निर्माता हुण्डाई र तेस्रो निसानबीचको मर्जरले नवप्रवर्तनबाट हुने जोखिम कम गर्ने बताए । निक्केईको रिपोर्टअनुसार संयुक्त निसान-होण्डा-मित्सुबिशी उद्यमले वार्षिक रूपमा ८० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्नेछन् । यसले कम्पनीलाई विश्वको सबैभन्दा ठूलो कार निर्मातामध्ये एक बनाउनेछ । तर ‍‍पनि जापानी कार निर्माता टोयोटा मोटर (२०२३ मा १ करोड १२ लाख) र जर्मन कार निर्माता फक्सवागन (गत वर्ष ९२ लाख सवारीसाधन बिक्री) भन्दा कम हुनेछ । होन्डा र निसान यस वर्षको सुरुवातमा साझा अटोमोटिभ कम्पोनेन्ट र सफ्टवेयरमा आधारित रणनीतिक साझेदारीमा प्रवेश गरेपछि यो मर्जरको रिपोर्ट आएको हो । यो हालसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ उद्योगको मर्जर हुनेछ । यसअघि २०२१ को जनवरीमा फियाट क्रिस्लर र फ्रान्सको पीएसए ग्रुप मर्ज भई स्टेलान्टिस बनेको थियो । स्टेलान्टिसको मार्केट क्याप ३८.६७ बिलियन डलर रहेको छ भने निसान र होण्डाको मर्जरपश्चात् ५४ बिलियन डलरको कम्पनी बन्नेछ । यस्तो मर्जरले विद्युतीय सवारीसाधनको विकासलाई अघि बढाउन र विभिन्न चुनौतीहरूसँग सामना गर्न सघाउनेछ। वैश्विक अटो उद्योग हाल विद्युतीय सवारीसाधन (ईभी) तर्फ रूपान्तरण हुँदै गर्दा धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमा टेस्ला र चीनको बीवाईडीजस्ता कम्पनीहरूको प्रभुत्व छ । उदाहरणका लागि फक्सवागनले जर्मनीमा कारखाना बन्द गर्ने र हजारौं जागिर कटौती गर्ने योजना बनाएको छ भने जनरल मोटर्सले हालै आफ्नो सेल्फ-ड्राइभिङ रोबोट्याक्सी कम्पनी क्रुज बन्द गरिसकेको छ । होन्डा र निसानको लागि अर्को चुनौती भनेको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ट्यारिफ हो, जसले वैश्विक आपूर्ति श्रृंखलामा ठूलो पुनर्संरचनाको आवश्यकता पर्न सक्छ । यी पनि पढ्नूहोस् :  स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी बेलायतमा ईभीको वर्चश्व बढ्दै, आगामी दशकसम्म पेट्रोलबाट चल्ने कारको संख्या आधा घट्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए । उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगारी १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत छ । तर, यति ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो । अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेकोमा गुनासो गरेका थिए ।

नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी अटो) बीच सम्झौता भएको छ । अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन नाडा र सीसीपीआईटी अटोबीच सम्झौता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडाको प्रतिनिधित्व गर्दे अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेत चीन भ्रमणमा छन् । सोहि क्रममा सीसीपीआईटी अटोसँग उक्त सम्झौता भएको नाडाले जनाएको छ । यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले उल्लेख गरेको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । यस्तै, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने सम्झौतामा उल्लेख छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव

काठमाडौं । युरोपका धेरै अटो कम्पनीहरू अमेरिकी शुल्कको खतराबाट दबाबमा छन् । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो कार्यकालको सुरुवातमै चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने वाचा गरे, जसले अटो उद्योगका आपूर्ति श्रृंखलामा खलल पुर्‍याउने र लगानीकर्ताहरूलाई उच्च लागतबारे चिन्ता जगाउने सम्भावना छ । ट्रम्पले प्रस्ताव गरेका उपायहरूमा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत थप शुल्क र क्यानडा तथा मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क समावेश छ । ट्रम्पले ट्यारिफ लगाउने कुरा गरेसँगै अटो सेयरहरू घटे । यसले अमेरिका र युरोपका निर्माताहरूका लागि गम्भीर परिणामहरू निम्त्याउन सक्छ । तीमध्ये धेरैले मेक्सिकोमा कारखाना बनाएका छन् र अटो पार्ट्स आपूर्तिकर्ताहरूमा निर्भर छन् । ट्रम्पको पहिलो शुल्क घोषणामा युरोपको उल्लेख नभएको कुरा युरोपेली संघका नीति निर्माताहरूका लागि सुखद समाचार मानिनेछ । तर २७ राष्ट्रको यो समूहले ट्रम्पले चाँडै नै युरोपको अटो क्षेत्रमा ध्यान दिने सम्भावनाबारे चिन्ता गरेको छ । यता फरारी भने अधिकांश असरबाट सुरक्षित रहने अपेक्षा गरिएको छ । ‘चाहे शुल्क जुनसुकै होस्, उनीहरूले फरारी अमेरिकामा उत्पादन सुरु गर्ने छैनन् । सबै कुरा इटालीको मारानेल्लोमै हुन्छ,’ मर्निङस्टारकी इक्विटी विश्लेषक रेल्ला सस्किनले सीएनबीसीलाई बताइन् । ‘फरारीको कुरा गर्दा चाहे १० प्रतिशत, २० प्रतिशत वा ३० प्रतिशत शुल्क भए पनि उनीहरूले सजिलै उपभोक्ताहरूमा मूल्य हस्तान्तरण गर्न सक्छन् । किनभने गाडीको मूल्य पहिलै नै महँगो भए पनि उनीहरूका लक्षित ग्राहकहरू छन्,’ उनले थपिन् । मर्निङस्टारकी सस्किनका अनुसार युरोपबाट आउने सबै सामानमाथि ३० प्रतिशत जति उच्च अमेरिकी शुल्कले पनि सम्भावित ग्राहकहरूलाई फरारी किन्नबाट रोक्न सक्दैन । ‘यो हास्यास्पद छ, तर यस्तै हो,’ उनले भनिन् । आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल अटो विश्लेषक टम नारायणले यस विचारलाई दोहोर्‍याउँदै फरारीले मूल्य वृद्धिलाई सजिलै ग्राहकमाझ हस्तान्तरण गर्न सक्ने देखिने बताए । ‘यो समयले मात्र बताउने कुरा हो, तर यो सहीजस्तो देखिन्छ,’ केप्लर चुभ्रेक्सका थमस बेसनले बताए । फरारी यस वर्ष युरोपमा आफ्ना प्रतिस्पर्धी कार निर्माताहरूलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मिलान-सूचीबद्ध कम्पनीको सेयर मूल्य यस वर्ष ३४ प्रतिशतभन्दा बढीले बढेको छ, जुन फ्रान्सको रेनल्ट वा जर्मनीको मर्सिडिज-बेन्ज ग्रुपजस्तै अन्य कम्पनीहरूसँगको तुलनामा निकै बढी हो । ‘हामी फरारीले अमेरिकामा उत्पादन सुरु गर्ने अपेक्षा गर्दैनौं,’ ओड्डो बीएचएफका अटो विश्लेषक एन्थोनी डिकले बताए । पोर्शे केही फरक जर्मनीको पोर्शेका लागि भने थप अमेरिकी शुल्क ‘धेरै ठूलो चुनौती’ हुने सम्भावना रहेको बेसन बताउँछन् । फरारीजस्तै, पोर्शे पनि केवल इटालीमा उत्पादन हुन्छ, फक्सवागन स्वामित्वमा रहेको पोर्शेले परम्परागत रूपमा जर्मनीमा आफ्नो लक्जरी मोडलहरू उत्पादन गर्दै आइरहेकाे छ । ‘पोर्शे केही फरक छ,’ मर्निङस्टारकी सस्किनले भनिन् । ‘उनीहरूले १० प्रतिशत शुल्क हस्तान्तरण गर्न सक्नेछन् । तर ३० प्रतिशतजस्तो ठूलो शुल्क ग्राहकमा हस्तान्तरण गर्न केही कठिन हुन सक्छ,’ उनले भनिन् । पोर्शेको सेयर मूल्य यस वर्ष झण्डै २६ प्रतिशतले घटेको छ ।

लक्ष्मी अटोकम्पद्वारा टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ आयोजना

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको ‘च्यानल पार्टनर मिट’ सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्पले यो कार्यक्रम आयोजना गरेको हो । शुक्रबार सम्पन्न कार्यक्रममा १५० जना सहभागी भएको कम्पनीले जनाएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्पका बजार प्रमुख उत्सव बनर्जीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बनर्जीका साथै टाटा अटोकम्पका निर्यात व्यवस्थापक अनिस सिंहले टाटा ग्रिनको इतिहास र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । लक्ष्मी अटोकम्पका बिक्री प्रमुख उमेश घिमिरेले नेपाली बजारमा रहेका टाटा ग्रिनको ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाबारे बताएका थिए । सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको आफूहरूको धारणा र अनुभव आदानप्रदान गरेको जनाउँदै लक्ष्मी अटोकम्पले सो अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्रीसमेत लन्च गरिएको बताएको छ । नेपाली बजारमा अब ८५० भीए, एक हजार भीए र एक हजार ४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध हुनुका साथै ७.२, ९ र १२ एएचका औद्योगिक ब्याट्री समेत उपलब्ध रहेको जनाइएको छ । जापानी ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो । हाल यो कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गर्दै आएको छ । यो कम्पनीले वार्षिकरूपमा १४ चार पाँग्रे र २४ लाख दुई पाँग्रे सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ ।

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भीजी सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने साझेदारी भएकाे हाे । साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ । यो सम्झौतामा ग्राहकहरूले २४ महिनासम्मको किस्ताबन्दीमा ईएमआईविकल्पमार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रूपमा फाइनान्सिङ सुविधाको लाभ प्राप्त गर्न सक्दछन् । कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी-स्ट्रोम, जिक्सर, हयाते, ईन्ट्रूडर, एभीनीस, एसेस, बर्गम्यान आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

टर्किएको अटोमोटिभ निर्यात सेप्टेम्बरमा २०.९ प्रतिशतले बढ्यो

काठमाडौं । सेप्टेम्बरमा टर्किएको अटोमोटिभ निर्यात गत वर्षको तुलनामा २०.९ प्रतिशतले बढेर ३.४ बिलियन अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । टर्की निर्यातकर्ता सभाको तथ्याङ्कले वर्षको पहिलो नौ महिनामा उद्योग निर्यातमा ५.३ प्रतिशत वृद्धि भएको छ । जर्मनी शीर्ष निर्यात बजार रहेको छ । जसले ३.२ बिलियन डलरको टर्की अटोमोटिभ सामानहरू प्राप्त गरेको छ । बेलायतले ३.२ अर्ब डलर र फ्रान्सले ३ अर्ब डलर लिएको छ । इटाली र स्पेनले क्रमशः २.५ बिलियन डलर र १.८ बिलियन डलर आयात गरी शीर्ष ५ मा छन् । बेलायतले टर्किएबाट अटोमोटिभ आयातमा ७९६.७ मिलियन डलरको वृद्धिको साथ सबैभन्दा महत्त्वपूर्ण वृद्धि अनुभव गरेको  छ । रोमानिया, इटाली, स्लोभेनिया र संयुक्त राज्य अमेरिकामा पनि उल्लेख्य वृद्धि भएका अन्य हुन् ।

दिगो अटो कार्निभल २०२४ सम्पन्न, ३ सयभन्दा बढीको सहभागी

काठमाडौं । नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आइरहेको नेपालको अग्रणी संस्था दिगाे ग्रुपले दिगो अटो कार्निभल २०२४ सम्पन्न गरेकाे छ । भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको उपस्थिति रहेको थियो । सोही कार्निभलबाट दिगोले ५ वटा ११ सिटर इभी भ्यान डिएफएसके डाँफाेको हस्तान्तरण र ३३ वटा गाडीको बुकिङ्ग भएको दिगाेले जनाएकाे छ । कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेन्ज (सट्टापट्टा) अफर गर्ने सुविधासमेत पाएका थिए । साथै सहभागीहरूलाई नगद छुट, एक्सचेन्जमा थप मूल्याङ्कन, इन्स्याेरेन्स र सरल वित्तीय योजनाहरू लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइएकाे थियाे । चार दिनसम्म चलेको कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युती गाडीहरूको प्रदर्शनी गरेकाे थियाे । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाएका थिए । दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग सहकार्य गरेर कार्निभलकाे आयाेजना गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ। दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

नाडा अटो शोको ‘ह्याप्पी इन्डिङ’, १५ अर्बको कारोबार

काठमाडौं । अटो व्यवसायीहरूकोे कुम्भ मेलाका रूपमा परिचित नाडा अटो शो २०२४ समापन भएको छ । करिब एक सातासम्म चलेको अटो शो आइतबार समापन भयो । यस पटकको नाडा अटो शोमा ८० प्रतिशत विद्युतीय गाडी (ईभी)को बाहुल्यता देखियो । ईभीमा पनि चिनियाँ गाडीको दबदवा रह्यो । अटो शोमा हजारभन्दा धेरैले अवलोकन गरेको नाडा अटो शोले जानकारी दिएको छ । ६ दिनको अवधिमा १५ अर्ब रुपैयाँबराबरका सवारी साधनहरू बुकिङ भएको नाडाले जानकारी दिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ६ दिनमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको र करिब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए । उनका अनुसार ३ हजार ६ सय चार पाँग्रे र ६ सय दुई पाँग्रे सवारी साधन बुकिङ भएका छन् । आयोजकले यस वर्ष २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको भएपनि १५ अर्ब रुपैयाँबराबर कारोबार भएको हो । उनले नाडामा बुकिङ भएका अधिकांश सवारी साधन विद्युतीय रहेको बताए । नाडा अटो शोमा नयाँ सवारी साधन खरिद गर्न चाहनेका लागि बैंकहरुले ८० प्रतिशतसम्म ऋण समेत उपलब्ध गराएका थिए । विभिन्न ७ वटा बैंकको नाडामा स्टल रहेको थियो । बैंकहरूले उपलब्ध गराएको तथ्यांकअनुसार दुई हजार बढी जनाले गाडी खरिदका लागि नाम टिपाएका छन् । यो अवधिमा ८२ हजार जनाले नाडा अटो शो अवलोकन गरेका छन् । शनिबार मात्रै साढे १८ हजार जनाले नाडा अटो शो अवलोकन गरेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन त्यसको दोब्बर र तेस्रो दिन १७ हजार मानिसले अटो शोको अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार जनाले अवलोकन गर्न सक्ने अनुमान गरे पनि अवलोकनकर्ताको संख्या अनुमानभन्दा ७ हजारले बढेको हो नाडा अटो शो हेर्न नेता, राजदूत, कलाकार, पत्रकार, उद्योगी र सर्वसाधारणहरूको भीड थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमेतले नाडा अटो शोको अवलोकन गरेका थिए । कुन गाडी कति बुकिङ ? कम्पनीहरूले सवारीसाधन बुकिङ सम्बन्धमा आ–आफ्नै दाबी गरेका छन् । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको बताएको छ । त्यस्तै, एमएडब्लू वृद्धि अटोकर्पले नामी इभी ७१७ वटा गाडी बुकिङ भएको बताएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदीले पन्च ईभी ४७५ र टियागो ईभी १६९ वटा बुकिङ गराएको दाबी गरेको छ । जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२३ युनिट गाडी बुकिङ भएको दाबी गरेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १५० गाडी बुकिङ भएको बताएको छ । नेटा ४०, रिडारा २०, एक्स्पेङ ९, आयोन १६, लिपमोटर सी १० को १७६, काइयी ४०, किङलङ १५ र केवाइसी २५ र स्काइवेलको गाडी १२६ वटा बुकिङ भएको दाबी गरेको छ । यस पटकको नाडा अटो शो सफल भएको दाबी नाडाले गरेको छ । नाडा अटो शोमा उत्कृष्ट चार पाँग्रे सवारी साधनको स्टल सीजी मोेटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाँग्रेतर्फको स्टल बैैद्य इनर्जी प्रालिको एथेरले जितेको छ । लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लूले जितेको छ भने बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।

नाडा अटो शोमा ‘स्काइवेल’को १२६ युनिट बुकिङ

काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएको हो । आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको छ । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ, शो निकै उत्साहजनक रह्यो’, उनले भनेका छन् । उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरेको थियो । नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको थियो । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजार, ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजार र ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा उपलब्ध गराइएको थियो । १ सय ५० किलोवाट मोटर क्यापासिटी भएका गाडीहरूमा सेफ्टी फिचरसहित विभिन्न सुविधा पनि उपलब्ध गराइएको थियो । गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषताहरू रहेको कम्पनीले जनाएको छ । स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ । स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् ।

पहिले दशैं ठूलो चाड लाग्थ्याे तर अटो शो पो ठूलो रहेछ : नाडा अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो दशैं भन्दा ठूलो चाड रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो शोमा मानिसहरूको किनमेल देख्दा दशैं आएको जस्तै लागेको बताएका हुन् । साथै नाडा अटो शोले दशैंलाइ स्वागत गरेको समेत उनको भनाइ छ । ‘पहिले दशैं ठूलो चाड हो जस्तो लाग्थो । तर, अटो क्षेत्रमा लागेदेखि नाडा अटो शो पो ठूलो रहेछ,’ उनी भन्छन्, ‘अटो शोमा मानिसहरूको किनमेल देख्दा साँच्चै नै दशैं आएको जस्तो लाग्यो ।’ उनका अनुसार नाडा अटो शो २०२४ मा ७४ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अध्यक्ष चौधरीले नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको बताउँदै नेपाली अटो क्षेत्र शोमा रहेको बताए । शोले अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए । ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनको भनाइ छ । ‘अहिले अटो क्षेत्र शोकमा छ, हामीले चाहिने जति लगानी पनि गर्न सकेका छैनौं, यस्तोमा मैले गर्न सक्ने भनेको अटो व्यवसायीको यही समस्या सरकारसँग राख्नु हो, जुन समस्या मैले राखेको छु,’ उनले भने । भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको हो ।

ईभीमय नाडा अटो शोप्रति बैंकिङ क्षेत्र हर्षित, सरकार र राष्ट्र बैंकको प्राथमिकतामा ईभी

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रल नियामकले गरेका केही व्यवस्थाले अटो र सेयर बजारमा सकारात्मक प्रभाव परेको बताएका हुन् । अहिले एनपीएको वृद्धि समस्याका रुपमा देखिएको उनले बताए । साथै घरजग्गामा केही पैसा गयो भने त्यो पनि घट्ने उनको भनाइ छ । आईसीईको व्यवसाय धेरै नै प्रभावित हुने अवस्था आएमा राष्ट्र बैंकले नीतिगत पुनरावलोकन गर्ने उनले बताए । ‘अहिले ईभीमा २० प्रतिशत र आईसीईमा ४० प्रतिशत डाउन पेमेन्टको व्यवस्था छ,’ डेपुटी गभर्नर मिश्रले भने, ‘राष्ट्र बैंकको पोलिसी डाइनामिक हुन्छ, बिक्री नै ठप्प भएछ भने त्यसमा छलफल गरौंला ।’ उनका अनुसार वातावरणका हिसाबले ईभीलाई सरकार र राष्ट्र बैंकले प्राथमिकतामा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो भएको धारणा राखे । ईभीको उपभोग वृद्धिले अहिलेका लागि राजस्व घटाएको भएपनि दीर्घकालमा पेट्रोलियम आयात घट्ने अवस्था आउने उनले बताए । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई आत्मसात गर्नका लागि हाल भइरहेको कार्य उपयुक्त रहेको उनको भनाइ छ । ‘ईभी आयातकर्ताले सवारी साधनको गुणस्तरमा ध्यान दिनुपर्छ, ताकि बैंकहरुले १०÷१५ वर्ष अवधिको कर्जा प्रवाह गर्न सकुन्,’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले वातावरणीय सन्तुलनका विषयमा सचेत भएर सरकारले लिएको नीति नाडा अटो शोमा प्रकट भएको टिप्पणी गरे । अर्थतन्त्र सुस्ताएको बेला नाडा अटो सोले बैंकिङ क्षेत्रलाई भाइब्रेन्ट गरेको उनले बताए । ‘बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्, उत्पादित ऊर्जाको उपभोगको कुरा पनि छ, ईभीको बढ्दो आयात र बिक्रीले इकोसिस्टमलाई सपोर्ट गर्छ,’ उनले भने, ‘चार्जिङ स्टेसनलगायतका पूर्वाधार खडा गरेर विद्युतीय सवारीको व्यवसायलाई दीगो बनाउनेतर्फ सम्बद्ध व्यवसायी लाग्नुपर्छ, बैंकिङ क्षेत्र सँगै अगाडि बढ्न तयार छ ।’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं सांग्रिला बैंकका सीईओ सुयोग श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र पनि प्रभावित भएको बताए । नाडा अटो शो २०२४ मा करिब ९५ प्रतिशत विद्युतीय सवारी साधनका स्टल रहेको र अवलोकनकर्ताले पनि सोही अनुपातमा विद्युतीय सवारी साधन नै बुक भएको पाइएको उनले बताए । ‘नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारले बुलिस ट्रेन्ड समातेको देखिएको छ, सेयर बजार बढेको कुराको संकेतका रुपमा नाडामा गाडी बुक भएको अवस्थालाई लिन सकिएला,’ उनले भने, ‘त्यसकारण अर्थतन्त्र माथि नगई कुनै एउटा मात्र क्षेत्र माथि जान्छ जस्तो लाग्दैन ।’