उत्तम भ्लोन लामा समूहबाट ६ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन लामा समूहको तर्फबाट विभिन्न पदका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार भ्लोनको समुहबाट उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल निर्विरोध निर्वाचित भएकी हुन् ।  सचिवहरुमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल, ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराई, ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल तथा तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सबै उम्मेदवार लामाको टिमका रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् । सात उम्मेदवारमध्ये पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन् । महासचिव पदका लागि टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल उम्मेदवार छन् । खुलातर्फ सात सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन सदस्य चयन हुने व्यवस्था रहेकामा चार जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा.भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन् ।  महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ ।  इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार (जेठ २९ गते) आयोजना हुँदैछ ।

इप्पानको नेतृत्व गर्न भ्लोन र खतिवडा समूहबीच भीडन्त

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । विधानको व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी अध्यक्ष बन्दैछन् । इप्पानको निर्वाचन आउन एक दिन मात्रै बाँकी रहँदा ऊर्जा व्यवसायीहरू दुई समूह बनाएर चुनावी मैदानमा छन् । जेठ २९ गते चुनाव हुँदैछ ।  वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा उम्मेदवार बनेर मैदानमा उत्रिएका हुन् । लामा सीईडीबी होल्डिङ्स लिमिटेडका अध्यक्ष तथा प्रबन्धक हुन् भने खतिवडा वराह मल्टिपावर लिमिटेडका अध्यक्ष हुन् ।  दुवै समूहका दाबेदारले उम्मेदवारी पनि दर्ता गरिसकेका छन् । लामा इप्पानका वर्तमान उपाध्यक्ष हुन् । उनीसँग पूर्वाधार परियोजनाको क्षेत्रमा डेढ दशकको अनुभव छ । व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका लामा १५ वर्षदेखि ऊर्जा क्षेत्रको विकासमा सक्रिय छन् । हाल सीइडीबी होल्डिङ्स लिमिटेडका सञ्चालक रहेका उनले नेपालभर सञ्चालनमा रहेका ६०० मेगावाटभन्दा बढी क्षमताका विभिन्न जलविद्युत् आयोजनाको रणनीतिक नेतृत्व गरिरहेका छन् ।  लामा ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आएकको एनएमबि बैंक लिमिटेडका सञ्चालक तथा एनएमबी माइक्रो फाइनान्सका संस्थापक अध्यक्षसमेत हुन् ।  यस्तै, उनी इप्पानका पदाधिकारीको अग्रसरतामा स्थापित नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) का सञ्चालकका रूपमा समेत काम गरिरहेका छन् । ऊर्जा क्षेत्रबाहेक उनी खाद्य प्रशोधन, व्यापार तथा कृषि क्षेत्रका विभिन्न व्यावसायिक गतिविधिमा समेत सक्रिय छन् ।  उनी आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षाको विषय नभएको बताउँछन् । ‘हामीले भोगेका चुनौती, पीडा, उपलब्धि, हार र जित सबैलाई सामूहिक अनुभवका रूपमा लिएर अगाडि बढ्ने सोचका साथ म यो जिम्मेवारीतर्फ आएको हुँ । ऊर्जा क्षेत्रका धेरै अनुभवी उद्यमी र वर्तमान कार्यसमितिका अधिकांश साथीहरूको विश्वास र समर्थनले मलाई अझ उत्साहित बनाएको छ,’ लामाले भने । जलविद्युत र समग्र ऊर्जा क्षेत्र नेपालका लागि गेम चेन्जर बन्न सक्ने क्षमता राख्ने भनाइ उनको छ । ‘म ऊर्जा क्षेत्रलाई नेपालको आशाको क्षेत्र, विदेशी मुद्रा कमाउने क्षेत्र र नयाँ पुस्ताका नेपाली उद्यमीहरूले देशको आर्थिक भविष्य बदल्न सक्ने क्षेत्रका रूपमा स्थापित गर्न चाहन्छु,’ उनले भने ।  उनको प्यानलबाट उपाध्यक्ष पदका लागि बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तर कुमार श्रेष्ठ, साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठक, मादमे खोला हाइड्रोपावर लिमिटेडकी अध्यक्ष सुसन कर्माचार्य (राजभण्डारी), इसुवा इनर्जी प्रा.लिमिटेडका विक्रम विष्ट, ठूलोखोला हाइड्रोपावर लिमिडेटका अध्यक्ष  नरेन्द्र बल्लभ पन्थ रहेका छन् ।  यस्तै, महासचिव पदमा भिजन ईनर्जी एण्ड पावर लिमिटेडका अध्यक्ष टेकनाथ आचार्य (टी.एन.) उपमहासचिवमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल, कोषाध्यक्षमा इन्भाइरोन्मेन्टल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशक तथा मध्य ताराखोला हाइड्रोपावर लिमिटेड अध्यक्ष शंकर बश्यालले उम्मेदवारी दिएका छन् ।  सचिवमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल र ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।  महिलातर्फ सचिव पदमा ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल तथा तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठले उम्मेदवारी दिएकी छन् । यद्यपि उनी दुवै समूहको सचिवमा आफ्नो नाम रहेको बताउँछिन् ।    यस्तै, लामोको प्यानलबाट खुला सदस्यहरुमा सेतीखोला हाइड्रोपावर लिमिटेड, एम.ए. पावर प्रालि तथा एम.ए. कन्स्ट्रक्सन प्रालिका अध्यक्ष अनुप आचार्य, दूधकोशी हाइड्रोपावर नेपाल लिमिटेडका अध्यक्ष कदम केसी, नार खोला जलविद्युत् आयोजनाका परियोजना निर्देशक वर्णन लामिछाने, बज्र इनर्जी भेन्चर प्रालिका कार्यकारी अध्यक्ष तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष जगतबहादुर पोखरेल, दुधपोखरी चेपे हाइड्रोपावर लिमिटेडका अध्यक्ष नारायण खनाल तथा हिमाली हाइड्रो फण्ड लिमिटेडका अध्यक्ष सोमनाथ कँडेलले उम्मेदवारी दिएका छन् । महिला सदस्यतर्फ मिजु ईनर्जी लिमिटेडकी अध्यक्ष ज्योति गैरे र आएसआर हाइड्रो लिमिटेड प्रतिभा ज्ञवालीले उम्मेदवारी दिएकी छन् ।  वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार बलराम खतिवडा इप्पानका वर्तमान महासचिव हुन् । उनी जलविद्युत क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय छन् । उनले हाल ५ वटा जलविद्युत आयोजनाहरूको नेतृत्व गरिरहेका छन् । खतिवडाले सानादेखि ठूला क्षमताका आयोजनाहरू मार्फत मुलुकको ऊर्जा क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउँछन् ।  खतिवडाका अनुसार उनले हेरिरहेका आयोजनाहरूमध्ये ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावर नेपाल लिमिटेड हाल सञ्चालनमा छ । यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत (आईपीओ जारी गरिसकेको) कम्पनी समेत हो ।  यस्तै, उनले अन्य चारवटा आयोजनाहरूलाई निर्माण र विकासको विभिन्न चरणमा अगाडि बढाइरहेका छन् । जसमध्ये ३० मेगावाट क्षमताको सुष्मा खोला जलविद्युत आयोजनामा उनी प्रत्यक्ष आबद्ध छन् । निर्माणाधीन आयोजनाहरूमा १५.५ मेगावाटको इर्खुवा खोला बी र ८ मेगावाटको तादी–ऐंखुवा जलविद्युत आयोजना रहेका छन् । यी दुवै आयोजनाहरू अहिले निर्माणको चरणमा रहेको उनी बताउँछन् ।  यसका साथै रोल्पामा रहेको ९.६ मेगावाट क्षमताको अर्को जलविद्युत आयोजनाको काम पनि उनकै नेतृत्वमा अगाडि बढिरहेको छ ।  ‘म विगत २५ वर्षदेखि यही क्षेत्रमा लागिरहेको छु र अहिले यी विभिन्न आयोजनाहरूलाई सफल बनाउन केन्द्रित छु,’ उनले भने ।  खतिवडाको प्यानलमा उपाध्यक्ष पदका लागि सल्क पावर प्रालिका अध्यक्ष कुमार खरेल, सानीभेरी हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष दीपक पौडेल, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका अध्यक्ष भरत प्रसाद नेपाल, आरती पावर कम्पनी लिमिटेडका अध्यक्ष भरत बहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।  महासचिव पदका लागि फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक प्रकाश चन्द्र दुलाल रहेका छन् । उप–महासचिवमा भने खतिवडाको प्यानलबाट कसैले उमेद्वारी दिएको छैनन् । सचिव पदका लागि विकास हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्धक कृष्णप्रसाद घिमिरे तथा रंगुन खोला हाइड्रोपावरका वीरेन्द्र बहादुर मल्ल चुनावी मैदानमा छन् । कोषाध्यक्षका पदका लागि देव ढुङ्गा मालिका हाइड्रोपावरका प्रबन्धक मिथुन चक्रवर्तीप्रसाद पौडेल मैदानमा छन् ।  खतिवडाको समूहबाट खुला सदस्यतर्फ वाटर ईनर्जी सोलेसन लिमिटेडका अध्यक्ष जगदिश सिवाकोटी, दुध पोखरी चेपे हाइड्रोपावर लिमिटेडका अध्यक्ष नारायण कँडेल, स्यार्पू पावर कम्पनीका अध्यक्ष प्रदिप ओली, बरुण हाइड्रोपवर कम्पनीका सञ्चालक डा. भुषण गुरागाईं, अरुण भ्याली डेभलमेन्ट हाइड्रोपावरका अध्यक्ष मिलन खड्का, अभियान हाइड्रोपावरका अध्यक्ष बाबुराम थापा, सानिमा जुम हाइड्रोपावर लिमिटेडका अध्यक्ष सकुन्द ओझा, एक्सपर्ट हाइड्रोपावर इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष सन्तोषराज नेपाल  र कालिन्चोक  हाइड्रोपावर लिमिटेडकी अध्यक्ष ईन्दिरा पन्तले उम्मेदवारी दिएका छन् ।  महिला सदस्यतर्फ हार्मोनी इनिसिएटिभ्स प्रालिकी अध्यक्ष सिर्जना खड्का र अपि पावर कम्पनीकी अध्यक्ष संगीता धमलाले उम्मेदवारी दिएकी छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न २ लाख रुपैयाँ, अन्य पदमा कति ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । संस्थाको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको इप्पानले जनाएको छ । संस्थाको विधानको धारा १५ (१२) बमोजिम जेठ २५ गते अर्थात् सोमबार बसेको कार्यसमितिको बैठकले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्कसमेत निर्धारण गरेको थियो । सोही बमोजिम १ जना वरिष्ठ उपाध्यक्षका लागि २ लाख रुपैयाँ तथा ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप-महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि जनही १ लाख ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।  त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मनोनयन फारम दस्तुर छुट्टै १०० रुपैयाँ लाग्ने जानकारी दिएको छ । इप्पानको २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ ।

उत्तम भ्लोनको टिमलाई अध्यक्ष कार्कीको समर्थन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औं साधारण सभा तथा आठौं अधिवेशनको पूर्वसन्ध्यामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा मार्फत् वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम ब्लोनको टिमले “इप्पान भिजन २०२९” सार्वजनिक गर्दै ऊर्जा क्षेत्रका लागि नीतिगत एजेण्डा अघि सारेको छ ।  जसमा रोकिएका करिब १२ हजार मेगावाटका परियोजनाको पीपीए तत्काल खुलाउने, “टेक एन्ड पे” व्यवस्था हटाउने, निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा प्रवेश दिने, ग्रिड एक्सेसलाई डेभलपर(मैत्री बनाउने तथा प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतालगायतका मागहरु रहेका छन् ।  कार्यक्रममा इप्पानका सल्लाहकार तथा प्रतिनिधि सभा सदस्य एलबी सावा लिम्बुले छिमेकी मुलुकहरूको उदाहरण दिँदै भारतमा ५ लाख ३९ हजार मेगावाट, चीनमा ३९ लाख ६० हजार मेगावाट र बंगलादेशमा ३२ हजार मेगावाट बढी विद्युत उत्पादन हुँदा पनि नेपालमा हाल करिब ४ हजार मेगावाट मात्र उत्पादन हुनुले अझै धेरै काम गर्न बाँकी रहेको औंल्याए । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको र यो ऊर्जा व्यवसायीहरूका लागि ठूलो अवसर र चुनौती दुवै भएको उनले बताए ।  लिम्बुले नेपाल हाल ‘ग्रे लिस्ट’ मा रहेको र एक्सपोर्ट क्रेडिट एजेन्सीमा न्यून रेटिङ रहेका कारण वैदेशिक पुँजी भित्र्याउन चुनौती रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले सरकार र नागरिकसँग संवाद गरी निजी क्षेत्रको तर्फबाट देशको समृद्धिको अगुवाइ गर्नुपर्नेमा जोड दिए ।  विधानको विवादबारे बोल्दै उनले नयाँ विधान पास गरेर प्रकृया अघि बढाउने समय अनुकूल नरहेकाले हाल इप्पानसँग उपलब्ध पुरानै विधान अनुसार नै सुरक्षित रूपमा साधारण सभा र नेतृत्व चयन सम्पन्न गर्न सबै ऊर्जा उद्यमीहरूलाई आग्रह गरे ।  त्यसैगरी, वर्तमान कार्यसमितिका अध्यक्ष गणेश कार्कीले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनद्वारा प्रस्तुत प्रतिबद्धता र एजेन्डाहरूलाई पूर्ण समर्थन गर्दै इप्पानलाई सोही दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । सन् २०५७ मा जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यबाट सुरु भएको इप्पान आज ६८८ कर्पोरेट सदस्यहरू (मतदानको अधिकार भएका) र नवीकरण हुन बाँकी सहित ८०० भन्दा बढी कम्पनीहरूको विशाल र बलियो संस्था बनिसकेकोमा उनले खुसी व्यक्त गरे ।  एसोसिएट सदस्यहरूको हकमा भने विधानतः भोटिङ अधिकार नरहेको उनले प्रष्ट पारे । अध्यक्ष कार्कीले अहिले चर्चामा रहेको विधान संशोधनको विषयमा थप प्रष्ट पार्दै इप्पानको विधान २०५७ पछि २०६७, २०७६ र २०७८ मा संशोधन भएको जानकारी दिए ।  यसअघि उद्योग वाणिज्य महासंघको वस्तुगत संघका रूपमा रहँदा कडा व्यवस्था भएको महसुस गरी नयाँ साथीहरूलाई नेतृत्वमा आउन सहज बनाउनका लागि कार्यसमितिले विधान संशोधन गरिसकेको र अर्को कार्यकालदेखि कार्यसमिति सदस्य भएको व्यक्ति पनि सिधै वरिष्ठ उपाध्यक्ष वा अध्यक्ष उठ्न पाउने गरी बाटो खुला गरिएको उनले स्पष्ट पारे ।  आगामी २४ वटा पदका लागि हालसम्म १२५ वटा मनोनयन दर्ता फारम लिइसकिएको जानकारी दिँदै उनले यसले स्वच्छ प्रतिस्पर्धाको संकेत गरे तापनि भोलि मनोनयन दर्ता र फिर्ताको समयसम्म सर्वसम्मतिको प्रयास जारी रहने बताए ।  उनले उत्तम भ्लोनको नेतृत्वमा घोषित टिम ऊर्जावान्, व्यावसायिक र समावेशी (सोलार, हाइड्रो, विन्ड समेटिएको) भएको भन्दै आफ्नो व्यक्तिगत मत समेत यही टिमलाई दिने घोषणा गरे ।  लामाले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेका छन्  । मुलुकमा दुई तिहाइ नजिकको बलियो सरकार भएको यो समयमा आवश्यक ऐन-कानुन निर्माण गर्न र ऊर्जा क्षेत्रलाई मर्यादित बनाउन यो टिमले आगामी ३ वर्षको कार्यकालमा परिणाम दिने विश्वासका साथ अध्यक्ष कार्कीले सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै अग्रिम शुभकामना व्यक्त गरे । आगामी असार २९ गते अर्थात् शुक्रबार हुने अधिवेशन र नेतृत्व चयनका विषयमा केन्द्रित सो कार्यक्रममा ऊर्जा उद्यमी, पूर्वअध्यक्षहरू तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।  यस्तो छ उत्तम भ्लोन लामाको टिम:  उत्तम भ्लोन लामा  वरिष्ठ उपाध्यक्ष उत्तरकुमार श्रेष्ठ उपाध्यक्ष हिमप्रसाद पाठक उपाध्यक्ष सुसन कर्माचार्य (राजभण्डारी) उपाध्यक्ष विक्रम बिष्ट उपाध्यक्ष  नरेन्द्र बल्लभ पन्थ उपाध्यक्ष टी.एन. आचार्य महासचिव कविता पोखरेल उपमहासचिव शंकर बश्याल  कोषाध्यक्ष  कुबेरमणि नेपाल सचिव विजयमोहन भट्टराई सचिव सुमन जोशी  सचिव  अभिज्ञा मल्ल सचिव ईशा श्रेष्ठ  सचिव अनुप आचार्य कार्यसमिति सदस्य प्रतिमा ज्ञवाली कार्यसमिति सदस्य कदम केसी कार्यसमिति सदस्य वर्णन लामिछाने कार्यसमिति सदस्य जगतबहादुर पोखरेल कार्यसमिति सदस्य सरिता शाक्य कार्यसमिति सदस्य  ज्योति गैरे  कार्यसमिति सदस्य नारायण खनाल कार्यसमिति सदस्य  सोमनाथ कँडेल कार्यसमिति सदस्य

बलराम खतिवडाको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ चुनावी प्यानलको घोषणा गरिएको छ । यहि जेठ २९ गते हुने निर्वाचनका लागि खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन् । यस समूहबाट ५ वटा उपाध्यक्ष पदमा भरत बहादुर खत्री (वर्तमान उपाध्यक्ष), भरत प्रसाद नेपाल (वर्तमान सचिव), कुमार खरेल, ​​​​​​​दीपक पौडेल र सिर्जना खड्काले उम्मेदवारी दिने भएका छन् ।    वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाशचन्द्र दुलाललाई यस टिमले महासचिवको उम्मेदवार बनाएको छ  । ५ सदस्यीय सचिव पदमा ​​​​​​​कृष्ण प्रसाद घिमिरे, ​​​​​​​तारा बहादुर इस्वो लिम्बु, बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, ​​​​​​​इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेलले उम्मेदवारी दिने गरी चुनावी समूह  घोषणा गरिएको  छ ।    त्यस्तै टिमको कार्यसमिति सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं, सन्तोष राज नेपाल, मिलन खड्का, ​​​​​​​जगदिश शिवाकोटी, नारायण कडेल, ​​​​​​​सुकुन्द ओझा, प्रदीप ओली, ज्योति गैरे, इन्दिरा पन्तले उम्मेदवारी दिने महासचिवका उम्मेदवार प्रकाश दुलालले जानकारी दिए ।