हराएको एउटा तस्बिर, बाँचेको एउटा स्मृति

समय यस्तो थियो, जतिबेला घरमा कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको एउटा सानो तस्बिर राख्नु पनि अपराधसरह मानिन्थ्यो । आजका पुस्तालाई त्यो कुरा अविश्वसनीय लाग्न सक्छ ।  तर पञ्चायती व्यवस्थाको त्यो कालखण्डमा पुष्पलालको नाम लिनु, उनको विचारबारे खुलेर बोल्नु वा घरमा उनको तस्बिर राख्नु मात्र पनि राज्यको निगरानीमा पर्न पर्याप्त कारण हुन्थ्यो । प्रहरीको सोधपुछ, निगरानी, यातना र सामाजिक ताडना त्यतिबेला असामान्य होइन, सामान्यजस्तै थियो । राज्यको डर यति धेरै थियो कि पुष्पलालको मृत्यु भएपछि पनि उनको अस्थि नेपाल ल्याउन प्रतिबन्ध लगाइएको थियो ।  एउटा विचारसँग यति धेरै त्रसित थियो त्यो व्यवस्था कि मृत्युपछि पनि उसले एउटा नेताको अस्तित्वसँग लडिरह्यो । तर विचारहरू प्रतिबन्धले मर्दैनन् । तस्बिर लुकाउन सकिन्छ । पुस्तकहरू जफत गर्न सकिन्छ । मानिसहरूलाई जेल हाल्न सकिन्छ तर स्मृतिलाई कैद गर्न सकिँदैन । साउन ७ गते नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस हो । हरेक वर्ष साउन ७ आउँदा मेरो मनमा भने एउटा फरक स्मृति जाग्छ । एउटा यस्तो घटना जसले पुष्पलाललाई मात्र होइन, मेरो आफ्नै बाल्यकाललाई पनि सधैंका लागि बाँधेर राखेको छ । सम्भवतः त्यो २०४४ सालको साउन ७ थियो । त्यतिबेला म ९ वर्षको थिएँ । विद्यालयमा बर्खेबिदा थियो । हाम्रो गाउँको जीवन अहिलेको जस्तो सहज थिएन । बिहान घाँस काट्ने, दिउँसो गाईबाख्रा चराउन जंगल जाने, बेलुका घरको काममा सघाउने यही हाम्रो दिनचर्या थियो । बाल्यकालका खेल, साथीभाइ र प्रकृतिको सान्निध्यबीच जीवन सरल थियो, तर गाउँको राजनीतिक वातावरण भने असाध्यै जटिल थियो । त्यो दिन घरमा बुबा हुनुहुन्थेन । अहिले सम्झँदा लाग्छ, उहाँ कतै भूमिगत शैलीमा आफ्ना श्रद्धेय नेता पुष्पलालको स्मृति दिवस मनाउन जानुभएको हुनुपर्छ । गाउँका अन्य कमरेडहरूसँग गोप्य रूपमा कार्यक्रम भइरहेको हुनुपर्छ । त्यतिबेला खुला रूपमा स्मृति सभा गर्ने अवस्था थिएन । सबै कुरा लुकाएर, विश्वासपात्र मानिसबीच मात्र कार्यक्रम आयोजना हुन्थ्यो । घरमा हजुरआमा हुनुहुन्थ्यो । त्यही बेला एक जना कमरेड घरमा आउनुभयो । उहाँले हजुरआमासँग पुष्पलालको तस्बिर माग्नु भयो । तर उहाँले कुन पुष्पलाल भनेर स्पष्ट गर्नुभएन । हजुरआमाले पनि थप केही सोध्नुभएन । उहाँलाई थाहा थियो घरमा एउटा पुष्पलाल त म नै थिएँ । त्यसैले उहाँले खुरुक्क मेरो तस्बिर निकालेर ती कमरेडलाई दिनुभएछ । उहाँहरूले खोजेको त नेता पुष्पलाल श्रेष्ठको तस्बिर थियो । तर हातमा परेको थियो एउटा सानो बालक पुष्पलालको तस्बिर । नेता पुष्पलालको तस्बिर घरको कतै सुरक्षित ठाउँमा लुकाएर राखिएको थियो । सम्भवतः त्यो कहाँ छ भन्ने कुरा बुबाबाहेक घरका अरूलाई पनि थाहा थिएन । किनभने त्यतिबेला एउटा तस्बिर सुरक्षित राख्नु पनि डरलाग्दो अवस्था थियो । प्रहरीले घर खानतलासी गर्न सक्छ भन्ने डर सधैँ रहन्थ्यो । अझ हाम्रो त नेताको घर जिल्लामा कतै केही भए पहिलोपटक हाम्रै घर खानतलासीमा पर्दथ्यो । त्यसैले कमरेडले नेताको तस्बिर मागे, हजुरआमाले बालकको तस्बिर दिनुभयो । कति सरल थियो त्यो भ्रम । तर त्यही सरलताले एउटा जीवनभरि सम्झिने स्मृति बनाइदियो । त्यो बालक म थिएँ । त्यो बालक जसले आफ्नो नामसँगै पुष्पलाल पढ्दै हुर्किरहेको थियो । जसले अक्षर चिन्न थालेदेखि नै घरमा भएका पुष्पलालसम्बन्धी पुस्तक पल्टाउन खोज्थ्यो । सबै कुरा बुझ्दैनथ्यो, तर पढ्न खोज्थ्यो । नेताको तस्बिर हेरेर मोहित हुन्थ्यो । विचारको गहिराइ थाहा थिएन, तर घरको वातावरणले पुष्पलालप्रति एउटा सम्मान मनमा बसिसकेको थियो । सायद त्यसैले मेरो बाल्यकालको स्मृतिमा पुष्पलाल एउटा राजनीतिक नेता मात्र होइन, घरको सदस्यजस्तै हुनुहुन्थ्यो । कमरेड मेरो तस्बिर लिएर कार्यक्रमतर्फ लाग्नुभयो । तर त्यो कार्यक्रम पूरा हुन पाएन । पञ्चायती प्रहरीले कार्यक्रमको सूचना पाएछ । अचानक प्रहरी पुगेछ । कार्यक्रम बिथोलियो । सहभागीहरू भागाभाग भए । कोही खेततिर दौडिए, कोही जंगल पसे, कोही खोल्सामा लुके । त्यही भागदौडमा मेरो तस्बिर पनि हरायो । प्रहरीले जफत ग‍र्‍यो कि भाग्ने क्रममा कतै झ‍र्‍यो, आजसम्म कसैलाई थाहा छैन । तर हराएको केवल एउटा कागजको फोटो थिएन । त्यो मेरो जीवनको पहिलो तस्बिर थियो । त्यतिबेला गाउँमा फोटो खिच्नु आफैमा ठूलो कुरा थियो । अहिले जस्तो मोबाइल थिएनन्, क्यामेरा थिएनन् । एउटा तस्बिर खिच्न वर्षौं कुर्नुपर्ने अवस्था थियो । गाउँमा अमेरिकी पिस कोर कार्यक्रममार्फत आएका मिस्टर माइकलले त्यो तस्बिर खिचिदिनुभएको थियो । टोपी, कमिज र सुरुवाल लगाएको स्यामस्वेत फोटो । सानो उमेरको निष्कपट अनुहार । त्यो मेरो पहिलो परिचय थियो, जसलाई मैले आफ्नै आँखाले धेरैपटक हेरेको थिएँ । तर त्यो तस्बिर पनि अन्ततः पुष्पलालको स्मृतिमा हरायो । त्यो दिनपछि मैले त्यो फोटो कहिल्यै हेर्न पाइनँ । समय बित्दै गयो । पञ्चायत ढल्यो । बहुदलीय व्यवस्था आयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । आज त पुष्पलालको तस्बिर खुला रूपमा कार्यालयमा झुन्ड्याइन्छ । मञ्चमा राखिन्छ । फूलमाला अर्पण गरिन्छ । जुन तस्बिर कुनै बेला लुकाएर राख्नुपथ्र्याे, आज त्यही तस्बिर सार्वजनिक सम्मानको प्रतीक बनेको छ ।  समयले धेरै कुरा बदल्यो । तर मेरो एउटा स्मृति भने बदलिएको छैन । हरेक साउन ७ आउँदा म अनायास त्यही हराएको तस्बिर सम्झिन्छु । मलाई लाग्छ, त्यो तस्बिर कतै पुरानो किताबको बीचमा अझै बाँचेको होला । कुनै पुरानो झोलामा थन्किएको होला । कुनै कमरेडको पुरानो सन्दुकमा सुरक्षित होला वा सायद त्यो भागदौडमै माटोमा पुरियो होला अनि समयसँगै कुहियो होला । तर सम्झना भने अझै हराएको छैन । कहिलेकाहीँ लाग्छ, त्यो तस्बिर भेटिए कस्तो हुन्थ्यो ? त्यो बालकलाई फेरि एकपटक हेर्न पाउँदा कस्तो अनुभूति हुन्थ्यो ? त्यो त केवल मेरो बाल्यकालको तस्वीर मात्र नभई एउटा युगको दस्तावेज हुने थियो । एउटा यस्तो समयको प्रमाण, जहाँ एउटा नेताको नाम, एउटा तस्बिर र एउटा विचारसँग जोडिनु नै जोखिम थियो । आजका पुस्ताले सायद कल्पना पनि गर्न सक्दैनन् कुनै समय एउटा फोटोले पनि राजनीतिक अर्थ बोकेको हुन्थ्यो । एउटा तस्वीरका कारण मानिसहरू पक्राउ पर्थे । एउटा पुस्तकका कारण प्रहरीको निगरानीमा पर्नुपर्थ्यो । एउटा स्मृति दिवस मनाउन पनि जंगल, खोल्सा र गोप्य स्थान रोज्नुपर्थ्यो । तर त्यही समयका मानिसहरूले लोकतन्त्रका लागि मूल्य चुकाए । उनीहरूले आफ्ना सपना, कहिलेकाहीँ आफ्ना निजी स्मृतिहरू पनि गुमाए । मैले पनि त्यही समयमा आफ्नो जीवनको पहिलो तस्बिर गुमाएँ । सायद त्यो इतिहासको दृष्टिले ठूलो घटना होइन । देशको राजनीतिक परिवर्तनमा त्यसको कुनै प्रत्यक्ष योगदान पनि छैन । तर मेरो व्यक्तिगत इतिहासमा त्यो सबैभन्दा ठूलो गुमाई हो । त्यसैले पुष्पलालको स्मृति दिवस मेरा लागि केवल एउटा राजनीतिक दिवस होइन । यो एउटा व्यक्तिगत सम्झनाको दिन पनि हो । एउटा यस्तो दिन, जसले मलाई हरेक वर्ष सम्झाइरहन्छ । विचारका लागि लडिएका संघर्षहरूले केवल शासन परिवर्तन मात्र गर्दैनन् । तिनले हजारौं मानिसका निजी जीवनमा पनि कहिल्यै नमेटिने कथा छोडेर जान्छन् । आज ३९ वर्षभन्दा बढी समय बितिसकेको छ । म अझै पनि कहिलेकाहीँ त्यो श्यामश्वेत तस्बिरको खोजी गर्छु । भेटिने आशा धेरै छैन । तर सम्झनाको संसारमा त्यो तस्बिर अझै जीवित छ । पुष्पलालका हरेक स्मृति दिवसमा म मेरा श्रद्धेय नेताप्रति श्रद्धाञ्जली अर्पण मात्र गर्दिन, आफ्नै बाल्यकालको त्यो हराएको तस्बिरलाई पनि सम्झन्छु । किनकि त्यो तस्बिर हराए पनि त्यसले बोकेको समय, संघर्ष र स्मृति आजसम्म हराएको छैन । बरु समयसँगै त्यो स्मृति अझ गाढा, अझ अर्थपूर्ण र अझ ऐतिहासिक बन्दै गएको छ ।