एम्बाप्पे बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६-४ ले पराजित हुने क्रममा उनले दुई गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् । २७ वर्षीय एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पु‍र्याउँँदै अर्जेन्टिनाका लियोनेल मेसी (२१ गोल) लाई पछि पारे । मेसीले आइतबार राति स्पेनविरुद्ध फाइनल खेल खेल्दैछन्, जुन सम्भवतः उनको अन्तिम विश्वकप खेल हुनेछ । त्यसको विपरीत एम्बाप्पेले भने कम्तीमा अर्को एक विश्वकप खेल्ने सम्भावना छ । तेस्रो विश्वकप यात्रा सकिँदा एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कायम राखेका छन् । उनी मेसीभन्दा दुई गोलले अघि छन् । यदि मेसीले फाइनलमा दुई वा त्यसभन्दा बढी गोल गरे भने उनले फेरि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको स्थान पुनः कब्जा गर्नेछन् । रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले २२ खेलमा २२ गोल गर्ने उपलब्धि हासिल गरेका हुन् । उनले २०१८ विश्वकपमा ४ गोल र २०२२ विश्वकपमा ८ गोल गरेका थिए । ती दुवै संस्करणमा फ्रान्स फाइनल पुगेको थियो, जसमा २०१८ मा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो भने चार वर्षपछि अर्जेन्टिनासँग फाइनलमा पराजित भएको थियो । यति कम समयमा विश्वकपको सर्वाधिक गोलकर्ता बन्नु आफैमा असाधारण उपलब्धि मानिन्छ । अर्कोतर्फ फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनको नाममा रहेको अर्को ऐतिहासिक कीर्तिमान भने अझै अटुट छ । उनले १९५८ को विश्वकपको एउटै संस्करणमा १३ गोल गरेका थिए, जुन आजसम्म पनि कुनै पनि खेलाडीले एकै विश्वकप संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान हो । एम्बाप्पेले भने, ‘मेस्सीले आइतबार गोल गर्नेछन्, त्यसमा मलाई कुनै शंका छैन । म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु । विश्वकपमा धेरै गोल गर्नु भनेको तपाईंलाई एउटा विशेष स्तरमा पु‍र्याउँछ ।’ उनले थपे, ‘म विश्वकपको सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि भोलिको खेल खेलिरहेको भए राम्रो हुन्थ्यो । इतिहासका हिसाबले यो ठूलो उपलब्धि हो, तर अहिले मेरो दिमागमा सबैभन्दा पहिले यही कुरा छैन ।’

तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको ऐतिहासिक प्रदर्शन, फ्रान्समाथि ६–४ को सनसनीपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै कांस्य पदक जितेको छ ।  मियामी स्टेडियममा भएको खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनेको थियो । इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो । त्यसपछि १८औं मिनेटमा एज्री कोन्साले अर्को गोल थप्दै टोलीलाई २–० को बलियो अवस्थामा पु‍र्याए । पहिलो हाफको ३७औं मिनेट र इन्जुरी समयमा बुकायो साकाले लगातार दुई गोल गर्दै इंग्ल्यान्डको अग्रता अझ फराकिलो बनाए । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास ग‍र्यो । किलियन एमबाप्पेले ४८औं र ६६औं मिनेटमा दुई गोल गरे भने ब्राड्ली बार्कोलाले ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे । तर, साकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे ।  फ्रान्सका लागि उस्मान डेम्बेलेले इन्जुरी समयमा एक गोल फर्काए । त्यसलगत्तै जुड बेलिङ्घमले एक गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । दुवै टोलीले फाइनल पुग्ने अवसर गुमाएपछि तेस्रो स्थानका लागि भएको खेलमा खुला आक्रमणात्मक शैली अपनाएका थिए । खेलमा कुल १० गोल भएको यो भेट विश्वकप २०२६ कै सबैभन्दा रोमाञ्चक तथा धेरै गोल भएको खेलमध्ये एक बनेको छ । यस जितसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्यो भने फ्रान्स चौथो स्थानमा सीमित भयो ।

इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा

काठमाडौं । अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै इङ्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको सेमिफाइनलमा इङ्ल्यान्डले ५५औं मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन ग‍र्यो । ८५औं मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो । तर इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए । इङ्ल्यान्डले अधिकांश समय बलमा राम्रो नियन्त्रण राखे पनि अन्तिम समयमा रक्षापंक्तिमा गरेको कमजोरी महँगो सावित भयो । अर्कोतर्फ अर्जेन्टिनाले अवसरको उत्कृष्ट सदुपयोग गर्दै लगातार अर्को विश्वकप फाइनलमा स्थान सुरक्षित ग‍र्यो । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना अब अर्को विश्व उपाधि जित्ने लक्ष्यसहित फाइनलमा उत्रिनेछ । उसले अब फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको हो । यता १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि अधुरै रह्यो ।